Skip to content

← हाम्रो स्थानीय तह

कुन काम कहाँ?

वडा, पालिका, जिल्ला प्रशासन वा अरू कार्यालय

सरकारी काम गर्न जाँदा सबैभन्दा धेरै समय “यो काम यहाँ हुँदैन, अर्को कार्यालयमा जानुहोस्” भन्ने सुन्दा खेर जान्छ। नागरिकताका लागि सिधै जिल्ला प्रशासन कार्यालय गयो, वडाको सिफारिस मागियो। सम्पत्ति कर तिर्न मालपोत कार्यालय गयो, “यो त पालिकामा” भनियो।

यस पानामा धेरैलाई चाहिने चौँतिसवटा काम कुन कार्यालयमा हुन्छन् भन्ने सूची छ। जुन कामको यस शृङ्खलामा छुट्टै पाना छ, त्यसको नाम थिचे त्यो पाना खुल्छ; “अङ्ग्रेजीमा” लेखिएकामा अङ्ग्रेजीको छोटो सुझाव खुल्छ। धेरै कामको पहिलो पाइला वडा हो, त्यसैले आफ्नो वडा र पालिका चिनेर राख्नुहोस्।

वडा कार्यालयमा

काम के हुन्छ कहाँ लेखिएको
जन्मदर्ता ३५ दिनभित्र निःशुल्क; पछि विलम्ब शुल्क राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, दफा १७, १८
मृत्युदर्ता बितेको व्यक्तिको परिवारले ३५ दिनभित्र ऐन, दफा १८(१)(ख)
विवाहदर्ता पति-पत्नी दुवै उपस्थित भएर ऐन, दफा १८(१)(ग)
बसाइँसराइ दर्ता पुरानो वडाबाट लगत हस्तान्तरण, नयाँ वडामा दर्ता ऐन, दफा १८(१)(ङ); नियमावली, नियम १९
सम्बन्ध विच्छेद दर्ता अदालतको फैसलापछि मात्र ऐन, दफा १९(२)
नागरिकताको सिफारिस नागरिकता जिल्ला प्रशासन कार्यालयले दिन्छ, सिफारिस वडाले स्थानीय सरकार सञ्चालन ऐन, दफा १२(२)(ङ)
नाता, बसोबास र विपन्नताका सिफारिस वडाले लेखिदिने सिफारिस वा प्रमाणित दफा १२(२)(ङ)
सामाजिक सुरक्षा भत्ता नाम दर्ता र हरेक वर्ष असोज मसान्तभित्र नवीकरण सामाजिक सुरक्षा नियमावली, नियम ५ र ९
सम्पत्ति कर र भूमिकर तिर्ने वडाले निर्धारण र सङ्कलन गरी पालिकामा पठाउँछ स्थानीय सरकार सञ्चालन ऐन, दफा १२(२)(ग)(३३), ५५, ५६
बाटो, पहिरोको अवरोध, धारा, पाटी र कुलो वडाले बाटो चालु राख्छ, पहिरोको अवरोध पन्छाउँछ, साझा ठाउँको लगत राखेर संरक्षण गर्छ दफा १२(२)(ग)(२१), (२३), १२(२)(ख)(३)
छाडा चौपाया, मरेका जनावर र सडक अतिक्रमण वडाले छाडा चौपाया र मरेका जनावरको व्यवस्थापन गर्छ, सडकमा अतिक्रमण हुन दिँदैन दफा १२(२)(ग)(११), (१५), (२२)

पालिकामा

काम के हुन्छ कहाँ लेखिएको
घर बनाउनुअघि नक्सा पास पालिकाको प्राविधिक शाखाबाट चरणअनुसार अनुमति स्थानीय सरकार सञ्चालन ऐन, दफा ११(२)(छ)(६)
छिमेकीसँगको आलीधुर, बाली, घरभाडा जस्ता विवाद न्यायिक समितिमा उजुरी, पहिले मेलमिलाप दफा ४६–५३
बजेट, योजना वा आफ्नो फाइलको सूचना माग्ने सूचना अधिकारीलाई निवेदन, १५ दिनभित्र सूचनाको हक सम्बन्धी ऐन, दफा ६, ७
विद्यालय, ट्युसिन वा कोचिङ खोल्ने अनुमति वडाको सिफारिसपछि पालिकाको शिक्षा शाखाबाट स्थानीय सरकार सञ्चालन ऐन, दफा ११(२)(ज)(२), (१७)
होमस्टे, इ-रिक्सा वा टेम्पो, “घ” वर्गको निर्माण व्यवसाय पालिकाबाट दर्ता, अनुमति वा इजाजतपत्र स्थानीय सरकार सञ्चालन ऐन, दफा ११(४)(ट)(२), ११(२)(छ)(१०)
कडा रोगको उपचारमा विपन्नलाई सहायता वडाको सिफारिसपछि पालिकाको समितिले अस्पताललाई सिफारिस गर्छ विपन्न नागरिक औषधि उपचार निर्देशिका, दफा ४, ५
सेवा नपाएको वा ढिलाइको गुनासो गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखको काम स्थानीय सरकार सञ्चालन ऐन, दफा १६
पालिकाका ऐन, आर्थिक ऐन र नागरिक बडापत्र स्थानीय राजपत्रमा छापिएपछि मात्र कानुन लागु हुन्छ; सेवा दिने हरेक कार्यालयमा बडापत्र स्थानीय सरकार सञ्चालन ऐन, दफा १०२; सुशासन ऐन, दफा २५, ३६
तौल, मूल्य, बिल वा बिग्रिएको खानाको उजुरी पालिका र वडाले बजार अनुगमन गर्छन्; उपभोक्ता हित संरक्षण उपप्रमुखले समन्वय गर्छन् स्थानीय सरकार सञ्चालन ऐन, दफा ११(२)(ञ)(५), १२(२)(घ)(३), १६(४)(ख)(४)
नगर प्रहरीले सामान उठाए वा काम रोके नगर प्रहरी पालिकाले खटाउँछ; चित्त नबुझे पालिकाको कार्यविधिले तोकेको ठाउँमा निवेदन दफा ११(२)(क)
पशुपन्छीको उपचार, खोप र कृत्रिम गर्भाधान पालिकाको पशु सेवा शाखाबाट; सरुवा रोग देखिए नजिकको पशु सेवा केन्द्रमा खबर गर्नुपर्छ दफा ११(२)(ण); पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, नियम २०(१)
निजी वन दर्ता र काठ ओसार्ने स्वीकृति डिभिजन वन कार्यालयको सिफारिससहित पालिकामा दर्ता; अर्को पालिकामा काठ लैजान डिभिजन वन कार्यालयको स्वीकृति वन ऐन, दफा ३५, ३६(३), ३६(४)
सुकुमवासी र अव्यवस्थित बसोबासीको पहिचान र अभिलेख सुकुमवासीको पहिचान र अभिलेख पालिकाको काम; जग्गा नेपाल सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दिन्छ स्थानीय सरकार सञ्चालन ऐन, दफा ११(४)(झ); भूमि सम्बन्धी ऐन, दफा ५२क–५२ङ

जिल्ला प्रशासन कार्यालयमा

जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालयअन्तर्गतको सङ्घीय कार्यालय हो। तलका सेवा भक्तपुरको जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवासूचीमा राखेका हुन्; अरू जिल्लामा पनि यस्तै हुन्छन्।

काम के हुन्छ
नागरिकताको प्रमाणपत्र (अङ्ग्रेजीमा) वंशज, विवाहित महिला, बसाइँ सरेर आएका आदिका लागि छुट्टाछुट्टै प्रक्रिया; वडाको सिफारिस पहिले
नागरिकताको प्रतिलिपि (अङ्ग्रेजीमा) यही जिल्लाबाट वा बसाइँ सरेर आएकाको, विवरण संशोधन गरी, पतिको नाम राखी वा हटाई
नाबालक परिचयपत्र (१६ वर्षमुनि) (अङ्ग्रेजीमा) स्थानीय प्रशासन शाखाबाट
राहदानी (अङ्ग्रेजीमा) साधारण राहदानीको निवेदन, र द्रुत सेवाका लागि सिफारिस
संस्था दर्ता र नवीकरण पहिले वडाको सिफारिस। पालिकाको आफ्नै संस्था दर्ता ऐन भए पालिकामै दर्ता हुन्छ⁠; नभए यहाँ दर्ता, नवीकरण र विधान संशोधन

अरू कार्यालयमा

काम कार्यालय के थाहा पाउने
राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय, वा दर्ता स्टेसन भएको इलाका प्रशासन कार्यालय; दर्ता अभियान चलेका बेला आफ्नै वडामा पनि १६ वर्ष पुगेका र नागरिकता लिएकाले पाउँछन्; नागरिकताको सक्कल प्रमाणपत्र लिएर आफैँ जानुपर्छ, किनकि औँठाछाप, आँखाको नानी र फोटो लिइन्छ; फाराम विभागको वेबसाइटबाट अनलाइन पहिले भर्न सकिन्छ (राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रश्नोत्तर, प्रश्न ३, ४, ६–८)
स्थायी लेखा नम्बर (PAN) (अङ्ग्रेजीमा) आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय निवेदन घरबाटै अनलाइन दिन सकिन्छ, तर बायोमेट्रिक र दस्तखतका लागि कार्ड लिन आफैँ जानुपर्छ (आन्तरिक राजस्व विभागको प्रश्नोत्तर)
सवारी चालक अनुमतिपत्र (अङ्ग्रेजीमा) यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभागअन्तर्गत छापिएका अनुमतिपत्रको सूची विभागको वेबसाइटमा कार्यालयअनुसार निस्कन्छ
जग्गाको स्रेस्ता, रोक्का र घरजग्गा कारोबार मालपोत कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गत वार्षिक भूमिकर (मालपोत) भने यो कार्यालयमा होइन, आफ्नो पालिकामा तिरिन्छ⁠
वन्यजन्तुले गरेको क्षतिको राहत निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रमा भए त्यसको कार्यालय; अरू ठाउँमा डिभिजन वन कार्यालय हात्ती, बाघ, चितुवा, बाँदरजस्ता १६ किसिमका वन्यजन्तुले गरेको क्षतिमा; घटना भएको ३५ दिनभित्र निवेदन

आफ्नो पालिकामा

कुन वडा कहाँ छ, कुन शाखा कुन तलामा छ, अनि कुन सेवामा कति दस्तुर लाग्छ भन्ने कुरा पालिकाको नागरिक बडापत्र र वेबसाइटमा हुन्छ। जिल्ला प्रशासन कार्यालयको सेवासूची पनि उसको वेबसाइटमा हुन्छ (जिल्लाको नाम राखेर, जस्तै daobhaktapur.moha.gov.np)।

सुमनलाई नागरिकता बनाउनु छ। उनी सोह्र वर्ष पुगे। सबैभन्दा पहिले कहाँ जाने?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

यो पाना कानुनबारे जानकारी हो, कानुनी सल्लाह होइन। कार्यालयको नाम र काम फेरिन सक्छन्; जानुअघि सम्बन्धित कार्यालयको वेबसाइट वा बडापत्र हेर्नुहोस्।

कानुनी आधार
यी तथ्य कहाँबाट

← हाम्रो स्थानीय तह