Skip to content

← हाम्रो स्थानीय तह

मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद दर्ता

वडा कार्यालयमा, ३५ दिनभित्र

हजुरबुबा बित्नुभएको तीन हप्ता भयो। काजकिरिया सकियो, आफन्त फर्किए। अब घरको जग्गा नामसारी गर्नुपर्ने, हजुरआमाको भत्ता मिलाउनुपर्ने कुरा आउँछ, अनि कसैले सोध्छ: “मृत्युदर्ता गर्‍यौ?” धेरै परिवारले यो कुरा महिनौँपछि मात्र सम्झन्छन्, जब कुनै कार्यालयले मृत्युदर्ताको प्रमाणपत्र माग्छ।

जन्मजस्तै मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद पनि व्यक्तिगत घटना हुन्। पाँचैको दर्ता वडा कार्यालयमा हुन्छ र पाँचैको सूचना पैँतिस दिनभित्र दिनुपर्छ। जन्मदर्ताको छुट्टै पाना छ: जन्मदर्ता कसरी गर्ने। यस पानामा बाँकी चार घटना छन्।

वडा कार्यालयको ठेगाना र फोन नम्बर पालिकाको वेबसाइटमा हुन्छ; त्यसको लिङ्क माथिको बाकसमा छ।

कानुनले के भन्छ

व्यक्तिगत घटना दर्ताको मुख्य कानुन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र यसको नियमावली, २०७७ हुन्। वडाको प्रशासकीय प्रमुख स्थानीय पञ्जिकाधिकारी हुन्छन्।⁠ स्थानीय सरकार सञ्चालन ऐनले पनि व्यक्तिगत घटना दर्तालाई वडाको काममा राखेको छ।⁠

घटना सूचना कसले दिने कहाँ लेखिएको
मृत्यु बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी; उहाँहरू नभए परिवारको १८ वर्ष पुगेको सदस्य दफा १८(१)(ख)
विवाह पति र पत्नी दुवै दफा १८(१)(ग)
सम्बन्ध विच्छेद पति वा पत्नीमध्ये कुनै एक दफा १८(१)(घ)
बसाइँसराइ परिवारको १८ वर्ष पुगेको सदस्य दफा १८(१)(ङ)

यी कुरा चारै घटनामा लागु हुन्छन्:

  • म्याद: घटना भएको पैँतिस दिनभित्र।⁠ विदेशमा भएको घटना त्यहीँको नेपाली नियोगमा, वा नेपाल फर्केको पैँतिस दिनभित्र।⁠
  • आफू जान नसके: अधिकृत वारेसनामा दिएर अरूलाई पठाउन सकिन्छ।⁠
  • फाराम: दर्ताका फाराम निःशुल्क पाइन्छन्।⁠ पढ्न-लेख्न नजान्नेका लागि वडाका कर्मचारीले नै फाराम भरिदिन्छन्।⁠
  • ढिलो भए: दर्ता त हुन्छ, तर विलम्ब शुल्क लाग्छ: नेपालमा रु. २००, विदेशको नियोगमा २५ अमेरिकी डलर।⁠
  • प्रमाणपत्र: सूचना दिने व्यक्तिले पाउँछ।⁠ राष्ट्रिय परिचयपत्र लागु भएका जिल्लामा मृत्युबाहेकका प्रमाणपत्र राष्ट्रिय परिचयपत्र नम्बर लिएपछि मात्र दिइन्छन्।⁠
  • प्रतिलिपि: हरायो वा च्यातियो भने वडाबाट प्रतिलिपि लिन सकिन्छ; दस्तुर रु. ५००।⁠
  • गल्ती सच्याउने: प्रमाणपत्रको विवरण एक पटक मात्र सच्याउन पाइन्छ।⁠ कुन कागज चाहिन्छ भन्ने कुरा नियम २३ मा छ, जसलाई २०८२ मङ्सिर १ को दोस्रो संशोधनले फेरि लेखेको छ।⁠

मृत्युदर्ता

मृत्युदर्ता किन चाहिन्छ भन्ने प्रश्नको उत्तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसरी दिएको छ: मृत्युको कानुनी प्रमाण पाउन, बितेको व्यक्तिको सम्पत्ति हकवालाको नाममा सार्न, सामाजिक सुरक्षा भत्ता पाउन र विधवा प्रमाणित गर्न। त्यसैले नामसारी वा भत्ता चाहिन्छ भने मृत्युदर्ता नगरी काम अघि बढ्दैन।

के के लैजाने (विभागको प्रश्नोत्तर, प्रश्न २५):

  1. बितेको व्यक्तिको नागरिकताको प्रमाणपत्र (नभए परिचय खुल्ने अरू कागज);
  2. सूचना दिने व्यक्तिको नागरिकताको प्रमाणपत्र;
  3. अस्पताल वा स्वास्थ्य संस्थामा मृत्यु भएको भए त्यहाँको मृत्यु प्रतिवेदन;
  4. विदेशी नागरिकको हकमा राहदानी, भिसा र दूतावासको सिफारिस।

विवाहदर्ता

विवाहदर्ता पति र पत्नी दुवैले गराउने हो।⁠ एक जना विदेशमा भए त्यहाँको नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा पठाएर दर्ता गराउन सकिन्छ। विभागका अनुसार साथमा चाहिने:

  1. दुवैको नागरिकताको प्रमाणपत्र;
  2. दुवैको हालै खिचेको अटो साइजका दुई-दुई प्रति फोटो;
  3. अदालतबाट विवाह भएको भए अदालतको निर्णय।

दुईमध्ये एक जना दर्ता गराउन मान्दैनन् भने अदालतबाट नाता कायम भएको फैसला वा आदेशका आधारमा मात्र दर्ता हुन्छ। विवाह दर्ता नगर्दै पति वा पत्नीको मृत्यु भयो भने विवाहदर्ताको प्रमाणपत्र बन्दैन; वडाध्यक्षले विवाह भएको प्रमाणित गरिदिन सक्छन् (विभागको प्रश्नोत्तर, प्रश्न ३०–३१)।

बसाइँसराइ दर्ता

एउटा वडाबाट अर्को वडा, पालिका वा जिल्लामा सरेर बस्दा बसाइँसराइ दर्ता गराउनुपर्छ। यसमा दुई ठाउँको काम हुन्छ:

  1. बसाइँ सरी जाँदा (पुरानो वडामा): लगत हस्तान्तरण फाराम भर्ने। परिवारका सबै व्यक्तिगत घटना (जन्म, विवाह आदि) पहिले नै दर्ता भएका हुनुपर्छ; नभए पहिले तिनको दर्ता गराउनुपर्छ।⁠
  2. बसाइँ सरी आउँदा (नयाँ वडामा): पुरानो वडाबाट पाएको लगत हस्तान्तरणको सक्कल फाराम र घरमुलीको नागरिकता लिएर बसाइँ सरी आएको दर्ता गराउने।

बसाइँ सरी जाँदा पुरानो वडामा विभागले भनेका कागज: सूचना दिनेको नागरिकता, सोह्र वर्षमुनिकाको जन्मदर्ता प्रमाणपत्र र सोह्र वर्षमाथिकाको नागरिकता (प्रश्न ३५)। सरेपछि हुने नयाँ घटना नयाँ ठाउँमै दर्ता हुन्छन्।⁠

सम्बन्ध विच्छेद दर्ता

सम्बन्ध विच्छेद वडाले गर्ने काम होइन; त्यो अदालतले गर्छ। वडाले अदालतको फैसला हेरेपछि मात्र दर्ता गर्छ।⁠ सूचना पति वा पत्नीमध्ये जोसुकैले दिन सक्छन्।⁠ विभागका अनुसार साथमा:

  1. सूचना दिनेको नागरिकताको प्रमाणपत्र;
  2. अदालतको फैसला;
  3. विदेशमा सम्बन्ध विच्छेद भएको भए त्यसको सक्कल कागज, कन्सुलर सेवा विभागबाट प्रमाणित।

सम्बन्ध विच्छेद भएकी महिलाले त्यसपछिका आफ्ना घटना आफ्नो हालको स्थायी ठेगानामा दर्ता गराउन सक्छिन्।⁠

आफ्नो पालिकामा

कानुनले देशभर विलम्ब शुल्क र प्रतिलिपि दस्तुर तोकेको छ, तर कतिपय पालिकाले आफ्नो आर्थिक ऐनमा यिनलाई दोहोर्‍याउँछन् र सँगै लाग्ने सिफारिसका दस्तुर थप्छन्। आफ्नो वडाको नागरिक बडापत्रमा कागज र समय लेखिएको हुनुपर्छ।

गीताको विवाह भएको दुई महिना भयो। उनका श्रीमान् काम गर्न कतार गएका छन्। विवाहदर्ता कसरी हुन्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

यो पाना कानुनबारे जानकारी हो, कानुनी सल्लाह होइन। फरक अवस्थामा (विदेशी नागरिक, धेरै वर्ष ढिलो, अदालतको मुद्दा चलिरहेको) वडामै सोध्नुहोस्।

कानुनी आधार
यी तथ्य कहाँबाट

← हाम्रो स्थानीय तह