शब्दकोशमा केटो एउटा शब्द हो, तर वाक्यमा त्यो केटी, केटाहरू, केटाले, केटालाई बनेर आउँछ। त्यस्तै लेख्नु बाट लेख्छु, लेखिन्, लेख्नुहोस्, लेखेको थियो, लेखिँदैन जस्ता दर्जनौँ रूप बन्छन्। शब्दको अर्थ उही रहन्छ, तर उसको रूपले को, कति, कहिले र कसरी भन्ने कुरा थप्छ। यसरी एउटै शब्दका व्याकरणिक रूप बन्ने प्रक्रियालाई रूपायन भनिन्छ।
रूपायनका टुक्रा तल्ला कक्षादेखि नै पढिन्छन्: लिङ्ग, वचन, पुरुष र आदरअनुसार शब्द बदल्ने अभ्यास र एउटै धातुबाट धेरै क्रियापद बनाउने कुरा कक्षा ६ देखि, अनि धातु र त्यसका रूपको विस्तार कक्षा ९ मा। ‘रूपायन’ नाम र यसको परिभाषा कक्षा ११ मा आउँछ, र कक्षा ११ र १२ को परीक्षामा अनुच्छेदको रूपायन सोधिन्छ। धातुका रूप बनाउने नियम (+) पाठ्यपुस्तकभन्दा बाहिरका हुन्; धेरै धातुका पूरा रूप धातुरूपावली परिशिष्टमा छन्।
रूपायन भनेको के हो
लिङ्ग, वचन, पुरुष, आदर, कारक, काल, पक्ष, भाव, वाच्य र करण-अकरण जस्ता व्याकरणिक कोटि का आधारमा शब्दको रूप बदलिनुलाई रूपायन भनिन्छ। रूपायन हुँदा नयाँ शब्द बन्दैन; एउटै शब्दले वाक्यमा आफ्नो काम देखाउन रूप फेर्छ।
| कोटि | रूपायन | उदाहरण |
|---|---|---|
| लिङ्ग | पुलिङ्ग, स्त्रीलिङ्ग | छोरो → छोरी; अग्लो → अग्ली; गयो → गई |
| वचन | एकवचन, बहुवचन | घोडो → घोडाहरू; यो → यी; खेल्छ → खेल्छन् |
| पुरुष | प्रथम, द्वितीय, तृतीय | पढ्छु, पढ्छस्, पढ्छ |
| आदर | सामान्य, मध्यम, उच्च | बस्छ, बस्छन्, बस्नुहुन्छ |
| कारक | विभक्ति लाग्दा | छोरो → छोराले, छोरालाई, छोराबाट, छोराको, छोरामा |
| काल | वर्तमान, भूत, भविष्यत् | हिँड्छ, हिँड्यो, हिँड्ने छ |
| पक्ष | अपूर्ण, पूर्ण, अज्ञात, अभ्यस्त | हिँड्दै छ, हिँडेको छ, हिँडेछ, हिँड्थ्यो |
| भाव | आज्ञा, इच्छा, सम्भावना | हिँड, हिँडोस्, हिँड्ला |
| वाच्य | कर्तृ, कर्म, भाव | लेख्छन् → लेखिन्छ |
| करण-अकरण | हो, होइन | हाँस्छु → हाँस्दिनँ |
रूपायन र व्युत्पादन फरक हुन्। व्युत्पादनमा प्रत्यय लागेर अर्कै शब्द बन्छ, जसको शब्दकोशमा छुट्टै शब्द हुन्छ र अर्थ पनि फेरिन्छ: लेख् → लेखक, लेखाइ; पढ् → पढाइ। रूपायनमा शब्द उही रहन्छ, केवल व्याकरणिक रूप फेरिन्छ: लेख्छ, लेख्यो, लेख्दैन। व्युत्पादनको कुरा मूल र व्युत्पन्न शब्द र प्रत्यय अध्यायमा छ।
रूपायन पनि धातु वा शब्दमा प्रत्यय लागेरै हुन्छ। रूपायन गर्ने प्रत्ययलाई रूपायक प्रत्यय भनिन्छ: घोडाहरू को हरू, पढ्छु को छु, पढ्यो को यो। (अधिकारीको व्याकरणमा: रूपायक प्रत्यय; कक्षा १२ को भाषाविज्ञानले यो नाम नदिई ‘सर्ग प्रक्रिया: व्युत्पादन र रूपायन’ भन्छ।)
क्रियापदमा लाग्ने यस्ता प्रत्ययलाई परम्परागत व्याकरणमा तिङ् भनिन्छ, र तिङ् लागेर बनेको समापक क्रियापदलाई तिङन्त।
कुन जोडामा पहिलो शब्दबाट दोस्रो शब्द रूपायनले बनेको हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
नाम, सर्वनाम र विशेषणको रूपायन
नाम, सर्वनाम र विशेषणको रूपायन यी कोटिमा हुन्छ:
- नाम: लिङ्ग (केटो → केटी), वचन (केटो → केटाहरू) र कारक (केटो → केटाले)। ओकारान्त पुलिङ्ग नाममा विभक्ति वा ‘हरू’ लाग्दा ओ बदलिएर आ हुन्छ; अरू नाममा आधार उही रहन्छ: घर → घरमा, घरहरू।
- सर्वनाम: पुरुष र आदरका आफ्नै शब्द (म, तँ, तिमी, तपाईँ, ऊ, उनी, उहाँ), वचन (म → हामी, यो → यी) र कारक (म → मैले, मलाई, मेरो; ऊ → उसले; उनी → उनले)।
- विशेषण: ओकारान्त विशेषण मात्र, विशेष्यको लिङ्ग, वचन र आदरअनुसार: सानो → सानी, साना। अरू विशेषण फेरिँदैनन्: असल केटो, असल केटी।
यी रूपका पूरा नियम अन्य अध्यायमा छन्: लिङ्ग र वचन लिङ्ग, वचन र पुरुष, आदर आदर, विभक्ति लाग्दा बदलिने रूप कारक र विभक्ति, र विशेषणका रूप विशेषण अध्यायमा।
क्रियापदको रूपायन
क्रियापदमा सबैभन्दा धेरै रूपायन हुन्छ। धातुमा काल, पक्ष, भाव, वाच्य र करण-अकरण देखाउने प्रत्यय लाग्छन्, र तिनैमा कर्ताको लिङ्ग, वचन, पुरुष र आदर पनि मिसिन्छ। धातु चिन्ने तरिका र धातुका प्रकार क्रियापद अध्यायमा छन्।
एउटै धातु लेख् का केही रूप:
| के फेरियो | रूप |
|---|---|
| लिङ्ग | ऊ लेख्छ, ऊ लेख्छे |
| वचन | ऊ लेख्छ, उनीहरू लेख्छन् |
| पुरुष | म लेख्छु, तँ लेख्छस्, ऊ लेख्छ |
| आदर | ऊ लेख्छ, उनी लेख्छन्, उहाँ लेख्नुहुन्छ |
| काल | लेख्छ, लेख्यो, लेख्ने छ |
| पक्ष | लेख्दै छ, लेखेको छ |
| पक्ष (अज्ञात, अभ्यस्त) | लेखेछ, लेख्थ्यो |
| भाव | लेख, लेख्ला |
| भाव (इच्छा) | लेखोस् |
| वाच्य | लेखिन्छ, लेखियो |
| करण-अकरण | लेख्छ, लेख्दैन |
हरेक कोटिको विस्तार आफ्नै अध्यायमा छ: काल, पक्ष, भाव, वाच्य, करण र अकरण।
कक्षा ११ को पाठ्यपुस्तकले यिनै सबै कोटिलाई एकै ठाउँमा राखेर यिनका आधारमा हुने रूप परिवर्तनलाई रूपायन भनेको छ। त्यहाँ करण-अकरणलाई ध्रुवीयता भनिएको छ।
‘पढ्’ धातुको कुन रूपले काम पहिले नियमित रूपमा हुने गर्थ्यो भन्ने बुझाउँछ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
धातुको अन्त्यले रूप कसरी फेर्छ
सबै धातुमा एउटै प्रत्यय उस्तै गरी जोडिँदैन। धातुको अन्त्यमा व्यञ्जन छ कि स्वर, र स्वर भए कुन, भन्ने कुराले रूप बदल्छ। यहाँ वर्तमान र भूतका रूपबाट यो फरक देखाइएको छ:
| धातुको अन्त्य | धातु | वर्तमान | भूत |
|---|---|---|---|
| व्यञ्जन (हलन्त) | पढ्, गर्, बस् | पढ्छ, गर्छ, बस्छ | पढ्यो, गर्यो, बस्यो |
| एक अक्षरको स्वरान्त | खा, जा, दि, धु | खान्छ, जान्छ, दिन्छ, धुन्छ | खायो, गयो, दियो, धोयो |
| आउ मा टुङ्गिने | आउ, पकाउ, गाउ | आउँछ, पकाउँछ, गाउँछ | आयो, पकायो, गायो |
| इउ मा टुङ्गिने | पिउ | पिउँछ | पियो |
| अकारान्त | दौड, सम्झ | दौडन्छ वा दौडिन्छ, सम्झन्छ | दौड्यो, सम्झ्यो |
| इकारान्त | उभि | उभिन्छ | उभियो |
यस तालिकाबाट केही नियम निस्कन्छन्:
- व्यञ्जनान्त धातुमा प्रत्यय सिधै जोडिन्छ: पढ् + छ = पढ्छ, पढ् + यो = पढ्यो। लेख्य भाषामा छ अघि द थपिएको रूप पनि चल्छ: गर्दछ, बस्दछ।
- एक अक्षरको स्वरान्त धातुमा छ अघि न् थपिन्छ: खान्छ, जान्छ, दिन्छ, लिन्छ, धुन्छ, हुन्छ।
- आउ, इउ मा टुङ्गिने धातुमा छ अघि अनुनासिक लाग्छ: आउँछ, पिउँछ; भूतमा अन्त्यको उ हट्छ: आयो, पकायो, पियो।
- अकारान्त धातुमा छ अघि न् लाग्छ, र इ थप्न पनि सकिन्छ: दौडन्छ वा दौडिन्छ। भूतमा अन्त्यको अ हट्छ: दौड्यो, सम्झ्यो।
- अकरणमा स्वरान्त धातुमा अनुनासिक लाग्छ: पढ्दैन तर खाँदैन, आउँदैन।
भूतमा फेरिने धातु
केही धातु भूत कालमा अर्कै रूपमा बदलिन्छन्। धातु चिन्दा यिनमा झुक्किन सकिन्छ:
| धातु | वर्तमान | भूत |
|---|---|---|
| जा | जान्छ | गयो |
| हु | हुन्छ | भयो |
| छ | छ | थियो |
| लैजा | लैजान्छ | लग्यो |
धु, रु जस्ता धातुमा भने धातु अर्कै हुँदैन, उ मात्र ओ बन्छ: धोयो, रोयो। दि, लि को भूत (दियो, लियो) नियमित नै हो।
आदरअनुसार आज्ञाका रूप
आज्ञा दिँदा तीनै आदरमा रूप फरक हुन्छ, र धातुको अन्त्यले फेरि भूमिका खेल्छ:
| धातु | सामान्य (तँ) | मध्यम (तिमी) | उच्च (तपाईँ) |
|---|---|---|---|
| पढ् | पढ् | पढ | पढ्नुहोस् |
| खा | खा | खाऊ | खानुहोस् |
| दि | दे | देऊ | दिनुहोस् |
| आउ | आइज | आऊ | आउनुहोस् |
| हु | होस् | होऊ | हुनुहोस् |
मध्यम आदरमा व्यञ्जनान्त धातुमा अ लाग्छ (पढ, गर, भन), र खा, जा, आउ जस्ता स्वरान्त धातुमा ऊ (खाऊ, जाऊ, आऊ)। एक अक्षरका धातुमा इ ए मा र उ ओ मा बदलिन्छ (दि → देऊ, हु → होऊ)। बहुवचनमा व्यञ्जनान्त धातुको रूप उही रहन्छ (तिमीहरू भन), तर ऊ लाग्ने धातुमा ओ लाग्छ: तिमीहरू खाओ, तिमीहरू आओ। नकारात्मक आज्ञामा अगाडि न लाग्छ: नजा, नखाऊ, नबस्नुहोस्। आज्ञा र इच्छाको विस्तार भाव अध्यायमा छ।
‘तिमी यो किताब भाइलाई ___।’ मा ‘दि’ धातुको मध्यम आदरको आज्ञा कुन हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
रूप बन्दा हुने ध्वनि परिवर्तन
धातु र प्रत्यय जोडिँदा हुने परिवर्तनलाई छोटकरीमा यसरी राख्न सकिन्छ:
| परिवर्तन | उदाहरण |
|---|---|
| इ → ए | दि → देला, देऊ |
| उ → ओ | हु → होला, धु → धोयो, रु → रोयो |
| अ र इ मिलेर ऐ | छ + इन → छैन |
| अन्त्यको अ हट्ने | सम्झ → सम्झ्यो, दौड → दौड्यो |
| अन्त्यको उ हट्ने | आउ → आयो, पकाउ → पकायो |
| न् थपिने | खा → खान्छ, जा → जान्छ |
| अनुनासिक थपिने | आउ → आउँछ, खा → खाँदैन |
| द थपिने (ऐच्छिक) | गर् → गर्दछ, बस् → बस्दछ |
| अर्कै रूप आउने | जा → गयो, हु → भयो, छ → थियो, लैजा → लग्यो |
यी परिवर्तन सन्धि अध्यायका नियम जस्तै हुन्, तर शब्द र शब्दबिच होइन, धातु र प्रत्ययबिच हुन्छन्। (अधिकारीको व्याकरणमा: सन्धिगत परिवर्तन। उनले यिनलाई स्वर बदलिने वा हट्ने, न्, अनुनासिक, द / त, य र ए थपिने, अनि ग, भ, थि, लग् जस्ता आदेश का रूपमा वर्गीकरण गरेका छन्।)
परीक्षामा
- कक्षा ८, ९ र १० (एसइई): रूपायन शब्द प्रयोग हुँदैन, तर लिङ्ग, वचन, पुरुष र आदरमा वाक्य वा अनुच्छेद बदल्ने प्रश्न यही काम हो; ढाँचा लिङ्ग, वचन र पुरुष अध्यायमा छ। काल, पक्ष र भावका रूप पनि आफ्नै प्रश्नमा सोधिन्छन्।
- कक्षा ११: प्रश्न ७, ४ अङ्क: चार वाक्यका दुई अनुच्छेद, हरेकलाई लिङ्ग, वचन, पुरुष वा आदरमध्ये एउटाका आधारमा रूपायन गर्ने। हरेक वाक्यको रूप सही हुनुपर्छ।
- कक्षा १२: प्रश्न ७, ४ अङ्क, दुईमध्ये एक: (क) कारक, वा (ख) बढीमा चार वाक्यको अनुच्छेदलाई लिङ्ग, वचन, पुरुष वा आदरमध्ये एउटाका आधारमा शब्द रूपायन गर्ने।
अभ्यास
‘हिँड्’ धातुबाट तलका रूप बनाउनुहोस्: सामान्य भूत, अपूर्ण वर्तमान, पूर्ण भूत, अभ्यस्त भूत, सम्भावना।
उत्तर
तलका क्रियापदको धातु लेख्नुहोस्: गयो, भयो, पकायो, देला, रोयो।
सङ्केत
उत्तर
तलका जोडामा कुन रूपायन हो र कुन व्युत्पादन, छुट्याउनुहोस्: पढ्छ → पढाइ, पढ्छ → पढ्दैन, केटो → केटाहरू, केटो → केटालाई।
उत्तर
तलको अनुच्छेदलाई स्त्रीलिङ्गमा रूपायन गर्नुहोस्:
‘मेरो भाइ सानो छ। ऊ हरेक बिहान विद्यालय जान्छ। हिजो ऊ खेलमा प्रथम भयो। उसका शिक्षक खुसी हुनुभयो।’
सङ्केत
उत्तर
तलको अनुच्छेदलाई तृतीय पुरुषमा रूपायन गर्नुहोस्:
‘म बिहान छ बजे उठ्छु। म आफ्नो ओछ्यान आफैँ मिलाउँछु। त्यसपछि म आमालाई भान्सामा सघाउँछु।’
उत्तर
तलको अनुच्छेदलाई बहुवचनमा रूपायन गर्नुहोस्:
‘त्यो किसान बारीमा काम गर्दै छ। उसको गोरु थाकेको छ। ऊ एकछिन रुखमुनि बस्छ।’
उत्तर
तलका धातुको मध्यम आदरको आज्ञा लेख्नुहोस्: खा, लि, गर्, गाउ, हु।
उत्तर
‘आउ’ र ‘जा’ दुवै स्वरान्त धातु हुन्, तर वर्तमानमा आउँछ र जान्छ किन बन्छन्?
उत्तर
व्याकरण अभ्यासमा अभ्यास गर्नुहोस्: धातु र कृदन्त (कक्षा ९–१०)
पाठ्यपुस्तकमा
यी तथ्य कहाँबाट लिइएका हुन्
- कक्षा ६ (६): नेपाली, कक्षा ६, पाठ ६, पृष्ठ ६५ (पाठ्यक्रम विकास केन्द्र): धातुबाट क्रियापद बनाउने (पढ् बाट पढ्छ, पढ्छु, पढ्छौँ, पढ्छन्, पढ्नुहुन्छ को नमुना) र क्रियापदबाट धातु छुट्याउने (गयो, दिए …) अभ्यास। तालिकाका वाच्य, इच्छार्थ, अज्ञात र अभ्यस्त पक्षका पङ्क्तिका तह यस पुस्तकका पक्ष, भाव र वाच्य अध्यायअनुसार।
- कक्षा ९ (९): नेपाली, कक्षा ९, पाठ २, पृष्ठ २१–२२ (पाठ्यक्रम विकास केन्द्र): धातु पहिचान र एउटै धातुबाट क्रियापद बनाउने अभ्यास।
- कक्षा ११ (११): नेपाली, कक्षा ११, पाठ ४, भाषिक संरचना (PDF पृष्ठ ६२–६३): रूपायनको परिभाषा (लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, कारक, वाच्य र ध्रुवीयताका आधारमा शब्दको रूप परिवर्तन), भन्छन् → भनिन्छ, रुन्छु → रुँदिनँ जस्ता उदाहरण; पाठ १२ (PDF पृष्ठ १७१–१७३)। माध्यमिक शिक्षा पाठ्यक्रम २०७७: कक्षा ११, ‘शब्द रूपायन’।
- कक्षा १२ (१२): नेपाली, कक्षा १२, पाठ ३, भाषातत्त्व (PDF पृष्ठ ४४–४६); माध्यमिक शिक्षा पाठ्यक्रम २०७७, कक्षा १२: ‘रूपायन र पदसङ्गति’।
- कक्षा १२ (१२): भाषाविज्ञान (ऐच्छिक), कक्षा १२, माध्यमिक शिक्षा पाठ्यक्रम २०७६, भाग ३ (ऐच्छिक विषय), PDF पृष्ठ १३६: ‘३.८ पूर्वसर्ग, मध्यसर्ग, परसर्ग’ र ‘३.११ सर्ग प्रक्रिया: व्युत्पादन र रूपायन’ (रूपायन गर्ने प्रत्यय; ‘रूपायक प्रत्यय’ नाम चाहिँ प्रयोग भएको छैन)।
- परीक्षा: कक्षा ११ (२०७७) र कक्षा १२ (२०७८) का विशिष्टीकरण तालिका र नमुना प्रश्न, प्रश्न ७।
- थप (+): हेमाङ्गराज अधिकारी, समसामयिक नेपाली व्याकरण, अध्याय ६ (क्रियापदको रूपायन: रूपायक प्रत्यय, तिङ् र तिङन्त; व्यञ्जनान्त, एकाक्षरी र अनेकाक्षरी स्वरान्त धातुमा वर्तमान, भूत, सम्भावना र अकरणका रूप; न् र अनुनासिक आगम, ऐच्छिक द / त; जा, हु, छ, लैजा का आदेश; आदरअनुसार आज्ञाका रूप; सन्धिगत परिवर्तनको सूची)। नियम उनको व्याकरणसँग मिलाइएका छन्; व्याख्या, तालिका र उदाहरण हाम्रै हुन्। हिज्जे: नेपाली बृहत् शब्दकोश।
गल्ती भेटे हामीलाई भन्नुहोस्।
