‘तँ कहाँ गइस्?’ ‘तिमी कहाँ गयौ?’ ‘तपाईँ कहाँ जानुभयो?’ तीनै प्रश्नको अर्थ एउटै छ, तर सुन्ने व्यक्ति फरक छन्: पहिलो घरको सानो भाइ वा धेरै मिल्ने साथी, दोस्रो साथी वा आफूभन्दा सानो, तेस्रो आफूभन्दा ठुलो वा अपरिचित। बोल्ने र सुन्नेबिचको यही सम्बन्ध नेपालीमा सर्वनाम, क्रियापद र विशेषणको रूपले देखाउँछ। यस अध्यायमा त्यसैको अध्ययन छ।
आदरका तीन तह कक्षा ४–५ देखि नै पढिन्छन्। कक्षा ६ मा आदरअनुसार विशेषण र क्रियापद मिलाउने र उच्च आदरमा लिङ्ग नछुट्टिने कुरा, कक्षा ७ मा तीनै तहको तालिका, अनि कक्षा ८ देखि १२ सम्म आदरका आधारमा वाक्य र अनुच्छेद बदल्ने अभ्यास आउँछ। लिङ्ग, वचन र पुरुषको कुरा लिङ्ग, वचन र पुरुष अध्यायमा छ; आदर मिलाउने नियम पदसङ्गति अध्यायमा।
आदरका तीन तह
बोल्नेले सुन्ने वा अरू व्यक्तिप्रति देखाउने सम्मानलाई व्याकरणमा आदर भनिन्छ। पाठ्यपुस्तकले आदरका तीन तह छुट्याउँछ: सामान्य आदर, मध्यम आदर र उच्च आदर।
| तह | द्वितीय पुरुष (सुन्ने) | तृतीय पुरुष (अरू) |
|---|---|---|
| सामान्य | तँ लेख्छस्। | ऊ लेख्छ। |
| मध्यम | तिमी लेख्छौ। | उनी लेख्छन्। |
| उच्च | तपाईँ लेख्नुहुन्छ। हजुर लेख्नुहुन्छ। | उहाँ लेख्नुहुन्छ। |
आदर सर्वनाममा मात्र होइन, नामसँग आउने क्रियापदमा पनि देखिन्छ: भाइ खेल्न गयो (सामान्य), दिदी खेल्न गइन् (मध्यम), बुबा खेल्न जानुभयो (उच्च)। उच्च आदरको क्रियापद धातुमा -नु र हु जोडिएर बन्छ: पढ्नुहुन्छ, पढ्नुभयो, पढ्नुहुने छ।
कसलाई कुन तहमा बोल्ने भन्ने कुरा सम्बन्ध, उमेर र ठाउँमा भर पर्छ। सामान्य आदर प्रायः घरका साना केटाकेटी वा धेरै नजिकका साथीलाई प्रयोग हुन्छ; अरूलाई यसरी बोल्दा अनादर हुन्छ। मध्यम आदर साथी, आफूभन्दा साना वा उस्तै उमेरकालाई प्रयोग हुन्छ। आफूभन्दा ठुला, शिक्षक, अपरिचित र सम्मान गर्नुपर्ने सबैलाई उच्च आदर दिइन्छ।
प्रथम पुरुष (म, हामी) मा आदरको भेद हुँदैन: आफूलाई आफैँ आदर गरिँदैन, त्यसैले म लेख्छु, हामी लेख्छौँ को एउटै रूप हुन्छ। (कतिपय अभ्यासले यसलाई सामान्य आदरमा राखेका छन्; उत्तरमा ‘प्रथम पुरुषमा आदरको भेद हुँदैन’ लेख्नु सुरक्षित हुन्छ।)
‘उनी हिजो मामाघर गए।’ मा कर्ता कुन आदरमा छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
आदरमा लिङ्ग र वचन
आदरको तहअनुसार क्रियापदले लिङ्ग र वचन देखाउने तरिका पनि फरक हुन्छ:
| तह | पुलिङ्ग | स्त्रीलिङ्ग | बहुवचन |
|---|---|---|---|
| सामान्य | ऊ आयो। तँ पढ्छस्। | ऊ आई। तँ पढ्छेस्। | उनीहरू आए। |
| मध्यम | उनी आए। तिमी पढ्छौ। | उनी आइन्। तिमी पढ्छ्यौ। | उनीहरू आए। तिमीहरू पढ्छौ। |
| उच्च | उहाँ आउनुभयो। | उहाँ आउनुभयो। | उहाँहरू आउनुभयो। |
- उच्च आदरमा लिङ्ग छुट्टिँदैन: फुपाजु मेला हेर्न जानुभयो, फुपू मेला हेर्न जानुभयो। ‘आमा आउनुभइन्’ भन्नु गल्ती हो। महिला हो कि पुरुष भन्ने कुरा नाम वा विशेषणले मात्र देखाउँछ।
- उच्च आदरमा वचन पनि छुट्टिँदैन: तपाईँ बस्नुहुन्छ, तपाईँहरू बस्नुहुन्छ; उहाँ आउनुभयो, उहाँहरू आउनुभयो। धेरै जना भन्ने कुरा ‘हरू’ ले मात्र देखाउँछ।
- मध्यम आदरमा स्त्रीलिङ्ग छुट्टिन्छ: बहिनी भोलि पोखरा जान्छिन्, तिमी कहाँ जाँदै छ्यौ?
- मध्यम आदरमा एक जनालाई पनि बहुवचन जस्तो रूप: उनी आए एक जना पुरुषका लागि पनि भनिन्छ। त्यसैले मानिसका लागि धेरै जना भन्नुपर्दा ‘हरू’ लगाइन्छ: उनीहरू आए, शिक्षकहरू आए (लिङ्ग, वचन र पुरुष)।
कुन वाक्य शुद्ध छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
आदरले विशेषण र भेदक पनि फेर्छ
आदर गरिने व्यक्तिका लागि ओकारान्त विशेषण र को, रो, नो लाग्ने भेदक एक जना भए पनि बहुवचनकै जस्तो आ मा टुङ्गिन्छन्: मेरा बुबा आउनुभयो, माइला काका सुत्नुभयो, आफ्ना गुरु आउनुभयो। स्त्रीलिङ्गमा भने ई नै रहन्छ: मेरी आमा, ठुली दिदी। यसको विस्तार विशेषण अध्यायमा छ; भेदकको कुरा त्यही अध्यायको भेदक र भेद्य खण्डमा।
क्रियापदबाट बनेका विशेषण (कृदन्त) मा उच्च आदर देखाउनु ऐच्छिक हुन्छ: बुबाले ल्याइदिनुभएको किताब र बुबाले ल्याइदिएको किताब दुवै शुद्ध छन्। पहिलोमा आदर बढी सुनिन्छ।
कर्ताबाहेकका पदमा पनि आदर देखाइन्छ, तर क्रियापदले होइन, सर्वनाम, भेदक र ओकारान्त विशेषणले: मैले आफ्ना गुरुलाई बाटोमा भेटेँ। उहाँलाई मेरा साथीहरू पनि चिन्छन्। यहाँ भेटेँ र चिन्छन् कर्ताअनुसार छन्; गुरुको आदर आफ्ना र उहाँलाई ले देखाएका छन्। तर कर्ताबाहेकका पदमा यस्तो आदर कुन तहको हो भन्ने कुरा क्रियापदले नदेखाउने भएकाले सधैँ स्पष्ट हुँदैन।
कुन वाक्यमा आदर मिलेको छैन?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
अनुपस्थित र इतिहासका व्यक्तिलाई आदर
अगाडि नभएका वा इतिहासका व्यक्तिको कुरा लेख्दा प्रायः मध्यम आदर प्रयोग हुन्छ, उच्च आदर दिइने व्यक्ति भए पनि: भानुभक्त आचार्यले नेपालीमा रामायण लेखे, लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेखे। समाचार र जीवनीमा पनि यही चलन छ: प्रधानमन्त्रीले पत्रकारसँग कुरा गरे। यसलाई अनादर मानिँदैन; लेख्य भाषाको चलन हो।
आमनेसामने बोल्दा भने उच्च आदर नै दिइन्छ: प्रधानमन्त्रीज्यू, तपाईँ भोलि कहाँ जाँदै हुनुहुन्छ? एउटै व्यक्तिलाई प्रसङ्गअनुसार फरक आदर दिन सकिन्छ, तर एउटै लेख वा अनुच्छेदभित्र तह फेर्नु हुँदैन।
सम्बोधन र आदर देखाउने शब्द
आदर सर्वनाम र क्रियापदबाहेक बोलाउने तरिकाले पनि देखाइन्छ:
- नाताका शब्द: नाता नभएकालाई पनि उमेरअनुसार दाइ, दिदी, काका, आमा, बुबा भनेर बोलाइन्छ। आफूभन्दा ठुलालाई नाम मात्र लिएर बोलाउनु अशिष्ट मानिन्छ।
- पद र ‘ज्यू’: पद वा नामपछि ज्यू लगाएर सम्मान थपिन्छ: गुरुज्यू, अध्यक्षज्यू, सम्पादकज्यू। ‘ज्यू’ लगाइएको व्यक्ति उच्च आदरमै पर्छ, त्यसैले क्रियापद पनि उच्च आदरको हुन्छ।
- ‘जी’ र ‘साहेब’: थर वा नामपछि प्रायः जी लाग्छ: रमेशजी, थापाजी, श्रेष्ठजी; नाताका शब्दमा जी र ज्यू दुवै भेटिन्छन्: सम्धीजी, सम्धीज्यू। अङ्ग्रेजी वा अरू भाषाबाट आएका पदपछि भने साहेब लगाइन्छ: डाक्टर साहेब, इन्जिनियर साहेब, वकिल साहेब। ज्वाइँ साहेब र बाबु साहेब जस्ता नाता र घरायसी सम्बोधनमा पनि साहेब आउँछ। ज्यू जस्तै यी शब्द लागेको व्यक्ति पनि उच्च आदर वा त्योभन्दा माथिको तहमै पर्छ।
- सभामा सम्बोधन: वक्तृता वा भाषण सुरु गर्दा सभामा भएका व्यक्तिलाई पदअनुसार क्रमैसँग सम्बोधन गरिन्छ: आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, शिक्षकवृन्द र साथीहरू।
- ‘हजुर’: हजुर सर्वनाम मात्र होइन; कसैले बोलाउँदा विनम्र भएर ‘हजुर?’ भनेर उत्तर दिइन्छ, र कुरा मानेको जनाउन पनि ‘हजुर’ भनिन्छ।
- ‘ए’ र आदरको तह: ए लगाएर बोलाउने चलन सामान्य र मध्यम आदरमा मात्र छ: ए सुमन, मेरो झोला ल्याइदे। ए बहिनी, पानी ल्याऊ त। उच्च आदर दिनुपर्ने व्यक्तिलाई ए भनेर बोलाइँदैन; नाताको शब्द वा पद मात्र भनिन्छ, वा बोलाउने शब्दै नराखी सोधिन्छ: दाइ, एकछिन यता आउनुहोस् न। सर, भोलि परीक्षा हुन्छ? आदर जति माथि जान्छ, नाम लिएर बोलाउने चलन त्यति घट्छ।
- पूरकमा आदर: हुनु सँग आउने पूरकको भेदक र ओकारान्त विशेषण पनि आदरअनुसार प्रायः आ मा टुङ्गिन्छन्: उहाँ हाम्रो विद्यालयका पुराना शिक्षक हुनुहुन्छ। उनी यस गाउँका पहिला डाक्टर हुन्।
आफू, यहाँ र बक्सनु
पाठ्यपुस्तकको उच्च आदरभित्रै केही शब्द अझ विशेष सम्मान वा आत्मीयता जनाउन प्रयोग हुन्छन्। यी परीक्षामा सोधिँदैनन्, तर पढ्दा र सुन्दा भेटिन्छन्:
| शब्द | कहिले | उदाहरण |
|---|---|---|
| आफू (सुन्नेका लागि) | धेरै नजिकको तर आदर गर्नुपर्ने व्यक्तिसँग, प्रायः प्रश्नमा | आफू पनि भोलिको भेलामा आउनुहुन्छ? |
| यहाँ (सुन्नेका लागि) | औपचारिक भेट, सभा र चिठीमा, तपाईँ भन्दा बढी सम्मान | यहाँले दिनुभएको सुझाव हामीले मान्यौँ। |
| पाल्नु (आउनु, जानुको सट्टा) | यहाँ वा उहाँ भनिने व्यक्ति र ठुला पाहुनासँग | यहाँ भोलिको कार्यक्रममा पाल्नुहुन्छ कि? |
| हजुर + बक्सनु | केही परिवार र पुरानो दरबारिया बोलीमा, तपाईँ भन्दा माथिको तह, सुन्नेका लागि मात्र | हजुर भोलि कति बजे उठिबक्सिन्छ? |
आफू सुन्नेका लागि मात्र होइन, अरू व्यक्तिका लागि पनि आउँछ: त्यतिबेला आफूहरू जनकपुरमै हुनुहुन्थ्यो। कतै पत्नीले पतिलाई वा धेरै आत्मीय व्यक्तिलाई आफू भन्ने चलन पनि छ। यहाँ र उहाँ को जोडी पनि छ: सुन्नेलाई यहाँ, अरूलाई उहाँ (यहाँ अहिले कुन विद्यालयमा पढाउनुहुन्छ? उहाँ अहिले कुन विद्यालयमा पढाउनुहुन्छ?), र यहाँ ले कहिलेकाहीँ नजिकै भएको अर्को व्यक्तिलाई पनि जनाउँछ। हजुर भने सुन्नेका लागि मात्र आउँछ; अरू व्यक्तिलाई त्यही तहमा भन्नुपर्दा बाबु साहेब, ज्वाइँ साहेब जस्ता सम्बोधनकै नाम प्रयोग हुन्छ: ज्वाइँ साहेब भोलि आइबक्सिन्छ। बक्सनु आफैँ ‘दिनु’ को अर्थमा पनि आउँछ: हजुरले भाइलाई एउटा कलम बक्सियो।
आफू, यहाँ र पाल्नु सँग क्रियापद उच्च आदरकै जस्तो हुन्छ; बक्सनु का आफ्नै रूप हुन्छन्। यी सबैमा उच्च आदरमा जस्तै लिङ्ग छुट्टिँदैन। कुन व्यक्तिलाई कुन शब्द भन्ने कुरा व्याकरणले भन्दा बोल्ने, सुन्ने र जसको कुरा हुँदै छ उनीहरूबिचको सम्बन्धले बढी तय गर्छ: एउटै साथीलाई कार्यालयमा तपाईँ र घरमा तिमी भनिन्छ, र मिल्ने साथीबिच ठट्टामा हजुर पनि भनिन्छ। उच्च आदर दिने मुख्य चार प्रसङ्ग हुन्: नाताले आफूभन्दा ठुला, पद वा प्रतिष्ठाले ठुला, औपचारिकता देखाउनुपर्दा साथी र सहकर्मी, अनि ठट्टामा धेरै मिल्ने साथी।
परीक्षामा
आदर लिङ्ग, वचन र पुरुषसँगै सोधिन्छ। प्रश्नको पूरा ढाँचा लिङ्ग, वचन र पुरुष अध्यायमा छ; छोटकरीमा:
- कक्षा ८: प्रश्न ८ (वाक्य परिवर्तन, ३ अङ्क) का तीन वाक्यमध्ये एउटा लिङ्ग, वचन, पुरुष वा आदरको हुन्छ, जस्तै ‘(उच्च आदर)’ भनेर कोष्ठकमा निर्देशन; त्यो वाक्य १ अङ्कको।
- कक्षा ९ र १० (एसइई): प्रश्न ८ (ख), २ अङ्क: अनुच्छेदलाई निर्देशनअनुसार, जस्तै ‘मध्यम आदरमा’, पुनर्लेखन; हरेक वाक्यको ०.५ अङ्क।
- कक्षा ११ र १२: प्रश्न ७, ४ अङ्क: चार वाक्यको अनुच्छेदलाई आदर वा अर्को कोटिका आधारमा रूपायन। कक्षा १२ को नमुना प्रश्नमा उच्च आदरको अनुच्छेदलाई सामान्य आदरमा बदल्न लगाइएको छ।
अभ्यास
तलका वाक्यलाई उच्च आदरमा बदल्नुहोस्:
- क.ऊ खाना खान्छ।
- ख.तिमी कहाँ जान्छौ?
- ग.उनी चिठी लेख्छिन्।
उत्तर
तलका सर्वनामलाई आदरका तहअनुसार छुट्याउनुहोस्: तपाईँ, ऊ, तिमी, उहाँ, तँ, उनी, हजुर।
उत्तर
तलका वाक्यलाई सामान्य आदरमा बदल्नुहोस्:
- क.दिदी गीत गाउनुहुन्छ।
- ख.तपाईँ भोलि बिहानै निस्कनुहोला।
- ग.उहाँहरू खेतमा काम गर्नुहुन्छ।
सङ्केत
उत्तर
तलका वाक्य शुद्ध गरी लेख्नुहोस्:
- क.आमा बजारबाट आउनुभइन्।
- ख.हाम्रो प्रधानाध्यापक सभामा बोल्नुभयो।
- ग.बुबा बिहानै उठ्नुभयो र दुध दुहे।
उत्तर
‘तिमी’ बाट सुरु हुने यो अनुच्छेदलाई उच्च आदरमा लेख्नुहोस्:
‘तिमी आज किन ढिलो आयौ? तिम्रो झोला पनि भिजेको छ। तिमी पहिले लुगा फेर।’
उत्तर
तलको अनुच्छेदलाई मध्यम आदरमा लेख्नुहोस्:
‘दिदी हरेक बिहान पाँच बजे उठ्नुहुन्छ। उहाँ एक घन्टा पढ्नुहुन्छ। त्यसपछि उहाँ विद्यालय जानुहुन्छ।’
उत्तर
तलको अनुच्छेदलाई सामान्य आदरमा रूपायन गर्नुहोस्:
‘कुमार बिहानै पसल खोल्नुहुन्छ। उहाँ सामान मिलाउनुहुन्छ। दिउँसो उहाँ खाना खान घर जानुहुन्छ र एकछिन आराम गर्नुहुन्छ।’
उत्तर
किन ‘भानुभक्तले रामायण लेखे’ लेख्दा अनादर मानिँदैन? अनि भानुभक्तसँगै कुरा गर्न पाइएको भए कसरी सोधिन्थ्यो?
उत्तर
पाठ्यपुस्तकमा
यी तथ्य कहाँबाट लिइएका हुन्
- कक्षा ४ र ७ (६): नेपाली, कक्षा ४, शब्दभण्डार, PDF पृष्ठ ३८ (नाता र सम्बोधन, सम्मान र शिष्टाचार जनाउने शब्द: आदरणीय, श्री, ज्यू); नेपाली, कक्षा ७, शब्दभण्डार, PDF पृष्ठ ७२ (सभाध्यक्ष महोदय, प्रधानाध्यापकज्यू)। कक्षा ४–५ देखि नै पढिने भएकाले ‘सम्बोधन र आदर देखाउने शब्द’ कक्षा ६ मा राखिएको छ।
- कक्षा ६ (६): नेपाली, कक्षा ६, पाठ ३, पृष्ठ २९–३० (लिङ्ग, वचन र आदरअनुसार विशेषण); पाठ १४, पृष्ठ १७०–१७१ (उच्च र सामान्य आदरमा परिवर्तन) (पाठ्यक्रम विकास केन्द्र)। आदरका तीन तह कक्षा ४–५ देखि नै पढिन्छन्: नेपाली, कक्षा ४, पृष्ठ १५० (निम्न, मध्यम र उच्च आदरको तालिका, स्त्रीलिङ्गका रूपसहित)। उच्च आदरमा लिङ्ग नछुट्टिने कुरा (६): कक्षा ५, पृष्ठ १६३ (‘आमा बजार जानुभयो’ लाई पुलिङ्गमा) र कक्षा ६, पाठ १४, पृष्ठ १७१ को अभ्यास।
- कक्षा ७ (७): नेपाली, कक्षा ७, पाठ ११, पृष्ठ १२६–१२७ (मामा / माइजू आउनुभयो, बहिनी जान्छिन्); पाठ १२, पृष्ठ १३६–१३७ (आदरका तीन तहको तालिका, तपाईँहरू पढ्नुहुन्छ; प्रथम पुरुषलाई तहबाहिर राखेको)।
- कक्षा ८ (८): नेपाली, कक्षा ८, पाठ १२, पृष्ठ १४३–१४४ (तिमी … सोचिरहेकी छ्यौ, आदरका तहमा परिवर्तन)।
- कक्षा ९ (९): नेपाली, कक्षा ९, पाठ १०, पृष्ठ ११४–११५।
- कक्षा १० (१०): नेपाली, कक्षा १०, पाठ १३, पृष्ठ १८५–१८७।
- कक्षा ११ (११): नेपाली, कक्षा ११, पाठ १२ (PDF पृष्ठ १७१–१७३; हजुर लाई उच्च आदरमा राखेको)।
- कक्षा १२ (१२): नेपाली, कक्षा १२, पाठ ३, भाषातत्त्व (PDF पृष्ठ ४४–४६); माध्यमिक शिक्षा पाठ्यक्रम २०७७, कक्षा १२: ‘आदर (सामान्य, मध्यम, उच्च)’।
- परीक्षा: कक्षा ८ को विशिष्टीकरण तालिका र नमुना प्रश्न (२०८०), प्रश्न ८; कक्षा ९–१० अनिवार्य नेपालीको विशिष्टीकरण तालिका, प्रश्न ८ (ख); कक्षा ११ (२०७७) र कक्षा १२ (२०७८) का विशिष्टीकरण तालिका र नमुना प्रश्न, प्रश्न ७।
- थप (+): हेमाङ्गराज अधिकारी, समसामयिक नेपाली व्याकरण, अध्याय ३, आदर (आदरका छ तह; मध्यम आदर कसलाई; उच्च आदरमा लिङ्ग र वचन नछुट्टिने; उच्चतर र उच्चतम तहमा बक्सनु र सि, मौसुफ, सरकार, कर्तामा ‘बाट’, पृ. १०४–१०५ र १०८; कर्ताबाहेकका पदमा आदर, कृदन्तीय विशेषणमा ऐच्छिक आदर, सम्बोधन, प्रत्यक्ष र परोक्ष व्यक्तिमा आदर)। पृ. १०६ (नामपछि जी/ज्यू, आगन्तुक पदपछि र केही नातामा साहेब, उच्च आदरका प्रसङ्ग, विशेष आदर: आफू), पृ. १०७ (यहाँ र उहाँ, पाल्नु; उच्चतर: हजुर सुन्नेका लागि मात्र, बक्सनु र दानार्थक बक्सियो), पृ. १०९ (पूरकमा आदर), पृ. ११० (सम्बोधन, उच्च आदरमा ए नलाग्ने)। यस अध्यायका व्याख्या र उदाहरण हाम्रै हुन्। हिज्जे: नेपाली बृहत् शब्दकोश।
गल्ती भेटे हामीलाई भन्नुहोस्।
