विद्यालयको सूचनापाटीमा लेखिएको छ: ‘भोलि बिहान सबै विद्यार्थी कक्षा कोठा भित्र भेला हुनु पर्ने छ।’ शब्द सबै शुद्ध छन्, तर कुन जोड्ने र कुन छुट्याउने भन्ने कुरा मिलेको छैन। शुद्ध रूप हो: ‘भोलि बिहान सबै विद्यार्थी कक्षाकोठाभित्र भेला हुनुपर्ने छ।’ दुई पद जोडेर लेख्नुलाई पदयोग र छुट्याएर लेख्नुलाई पदवियोग भनिन्छ। यस अध्यायमा कुन शब्द कहिले जोडिन्छन् र कहिले छुट्टिन्छन् भन्ने नियम छन्, नेपाली बृहत् शब्दकोश र पाठ्यपुस्तकले लेख्ने तरिकाअनुसार।
पदयोग र पदवियोग कक्षा ६ को पाठ १५ देखि सुरु भएर हरेक कक्षामा दोहोरिन्छ; कक्षा ७ र ८ ले क्रियापदका रूप थप्छन्, कक्षा ९ ले नियम एउटै तालिकामा राख्छ।
पदयोग र पदवियोग भनेको के हो
वाक्यमा प्रयोग भएको हरेक अर्थपूर्ण एकाइ पद हो। ले, लाई, मा, हरू जस्ता अंश एक्लै उभिन सक्दैनन्, अर्को शब्दमा टाँसिएर मात्र काम गर्छन्, त्यसैले अघिको शब्दसँग जोडिन्छन्। भित्र, माथि जस्ता नामयोगी पनि नाममा लाग्दा त्यसैसँग जोडिन्छन्। अरू पद आफैँमा पूरा शब्द हुन्, त्यसैले छुट्टै लेखिन्छन्।
एउटा सजिलो जाँच: बिचमा अर्को शब्द राख्न सकिन्छ भने ती दुई पद प्रायः छुट्टै लेखिन्छन्। ‘राम्रो घर’ को बिचमा ‘सानो’ अटाउँछ (राम्रो सानो घर), त्यसैले छुट्टै; ‘घरमा’ को बिचमा केही अटाउँदैन, त्यसैले जोडेर।
विभक्ति र ‘हरू’ जोडिन्छन्
ले, लाई, बाट, देखि, को, का, की, मा, सँग, सित जस्ता विभक्ति र बहुवचनको हरू सधैँ अघिको शब्दसँग जोडिन्छन्:
- दिदीले, भाइलाई, पोखराबाट, बिहानदेखि, गाउँको, बारीमा, साथीसँग।
- केटाकेटीहरू, किताबहरूमा, तपाईँहरूलाई।
- सर्वनाममा पनि त्यस्तै: उसको, हामीले, उनीहरूसँग, यसमा।
कक्षा ६–१० का नेपाली पुस्तकमा हरू हजारभन्दा बढी ठाउँमा जोडिएको छ, छुट्टिएको तीन ठाउँमा मात्र। विभक्ति कसरी लाग्छन् भन्ने कुरा कारक र विभक्ति मा छ।
‘का लागि’ र ‘का निम्ति’ छुट्टै: को/का अघिको शब्दमा जोडिन्छ, तर लागि र निम्ति छुट्टै रहन्छन्: ‘बिरामीका लागि फलफूल’, ‘गाउँका निम्ति बाटो’। कक्षा ६–१० का नेपाली पुस्तकमा ‘का लागि’ ५५० पटकभन्दा बढी यसरी नै लेखिएको छ, जोडिएको एक पटक मात्र।
नामयोगी जोडिन्छन्
नाम वा सर्वनामपछि आएर अर्को शब्दसँग सम्बन्ध देखाउने नामयोगी पनि जोडिन्छन्: माथि, मुनि, भित्र, बाहिर, अघि, पछि, तिर, तर्फ, भन्दा, सम्म, बिना, बाहेक, समेत, अनुसार, मार्फत, बारे।
- टेबुलमाथि, खाटमुनि, झोलाभित्र, ढोकाबाहिर, खानाअघि, परीक्षापछि।
- पूर्वतिर, विद्यालयतर्फ, दाइभन्दा, साँझसम्म।
- नियमअनुसार, बैङ्कमार्फत, भाइबाहेक, आमासमेत, पानीबिना, वातावरणबारे।
नामयोगीको परिचय र सूची अव्यय अध्यायमा छ।
‘जस्तो’, ‘झैँ’ र ‘सरि’
तुलना देखाउने जस्तो, जस्तै, झैँ छुट्टै लेखिन्छन्: ‘ढुङ्गा जस्तो कडा’, ‘फूल झैँ कोमल’, ‘तिमी जस्तै’। कक्षा ६–१० का नेपाली पुस्तकमा जस्तो र जस्तै ५५० पटकभन्दा बढी छुट्टै छन्, जोडिएका एक पटक पनि छैनन्; झैँ पनि लगभग सधैँ छुट्टै छ (सयभन्दा बढी ठाउँमध्ये पाँच ठाउँमा मात्र जोडिएको)।
कुन वाक्यमा पदयोग र पदवियोग दुवै मिलेका छन्?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
निपात र संयोजक छुट्टै
वाक्यमा जोड, आग्रह वा भाव थप्ने निपात (पनि, त, नि, नै, मात्र, चाहिँ, रे, क्यारे) र दुई शब्द वा वाक्य जोड्ने संयोजक (र, तर, अनि, वा, किनभने) छुट्टै लेखिन्छन्:
- ‘म पनि आउँछु।’ ‘तिमी त आयौ।’ ‘पानी मात्र देऊ।’ ‘ठुलो चाहिँ मेरो हो।’
- ‘आमा र बुबा’, ‘खान्छौ कि खाँदैनौ?’
- दुईतिर छुट्याउने ‘न … न’ पनि छुट्टै: ‘न दाइ आए न भाइ।’ यो नकारको ‘न’ (नगर, नजाऊ) भन्दा फरक हो, जुन क्रियामा जोडिन्छ।
‘नै’ को दुई रूप: नै छुट्टै लेखिन्छ (‘आज नै जाऊ’), तर अघिको शब्दको अन्त्यमा गाभिएर ऐ बन्दा जोडिन्छ: घरमै, आफैँ, सबै, उतै। ‘घर मा नै’ लाई ‘घरमा नै’ वा ‘घरमै’ लेखिन्छ, ‘घर मै’ होइन। निपातको परिचय अव्यय अध्यायमा छ।
दोहोरिएका शब्द
पूरै दोहोरिएको शब्द छुट्टै लेखिन्छ, आधा दोहोरिएको वा अर्थ नभएको अंश थपिएको जोडिन्छ:
- पूरै द्वित्व छुट्टै: गाउँ गाउँ, को को, बिस्तारै बिस्तारै, नयाँ नयाँ।
- आंशिक द्वित्व जोडेर: आआफ्नो, ससाना, चियासिया, खानपिन।
- अनुकरणात्मक शब्द एउटै शब्दका रूपमा जोडेर: चकचक, झलमल, गडगड।
विस्तार द्वित्व अध्यायमा छ।
क्रियापद
क्रियापदमा पदयोग र पदवियोग सबैभन्दा धेरै गल्ती हुने ठाउँ हो, त्यसैले यहाँ पाठ्यपुस्तकले कसरी लेख्छन् भनेर गनिएको छ।
जोडिने रूप
- -इ पछिको सहायक क्रिया जोडिन्छ: खाइदियो, पढिसक्यो, बसिरहेको, लेखिहाल्यो, सुनाइदिनुहोस्, भनिदिन्छु। पाठ्यपुस्तकमा इदियो, इरहेको, इसकेको जस्ता रूप सयौँ ठाउँमा छन्, सबै जोडिएका।
- ‘नु’ पछिको पर्नु जोडिन्छ: गर्नुपर्छ, जानुपर्यो, पढ्नुपर्ने। कक्षा ६–१० का नेपाली पुस्तकमा नुपर्छ ४४० पटकभन्दा बढी जोडिएको छ, छुट्टिएको एक पटक मात्र।
- आदरार्थी रूप जोडिन्छन्: आउनुहुन्छ, आउनुभयो, बस्नुहोस्, गर्नुहुने। नुहोस् त हजारौँ पटक आएको छ, एक पटक पनि छुट्टिएको छैन।
- नकारको ‘न’ जोडिन्छ: नगर, नजाऊ, खाँदैन, गएन, नपढी। ‘न’ कहाँ लाग्छ भन्ने करण र अकरण मा छ।
छुट्टिने रूप
- -दै छ, -एको छ, -ने छ छुट्टै: ‘ऊ पढ्दै छ’, ‘मैले खाएको छु’, ‘उनी भोलि आउने छिन्’। शब्दकोशको संशोधन समितिले यिनलाई छुट्टै राख्ने निर्णय गरेको हो। कक्षा ६–१० का नेपाली पुस्तकमा एको छ ४०० भन्दा बढी ठाउँमा छुट्टै छ र जोडिएको एक पटक पनि छैन; दै छ १३० भन्दा बढी ठाउँमा छुट्टै छ, जोडिएको दुई पटक मात्र।
- ‘न’ पछिको सक्नु, थाल्नु, खोज्नु, दिनु छुट्टै: गर्न सक्छ, बोल्न थाल्यो, भाग्न खोज्यो, बस्न दिनुहोस्। पाठ्यपुस्तकमा ‘न’ पछिको सक्नु ५०० भन्दा बढी पटक छुट्टै छ, एक पटक पनि जोडिएको छैन।
- ‘ई’ (गरी, खाई) पछि छुट्टै: ‘खाई जान्छ’ (खाएर जान्छ), तर ‘खाइजान्छ’ (खाइहाल्छ भन्ने अर्थ)। संयुक्त क्रिया र सहायक क्रियाको भिन्नता क्रियापद मा छ।
कुन वाक्य शुद्ध छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
नाम र क्रियाको जोडी
नाम र क्रिया मिलेर एउटै अर्थ दिए पनि दुई शब्द नै लेखिन्छन्: मन पर्नु, काम गर्नु, ध्यान दिनु, मन लगाउनु, याद आउनु। ‘मलाई गीत मन पर्छ’, ‘परीक्षा नजिकिँदै छ, अब मन लगाएर पढ्नुपर्छ’। कक्षा ६–१० का नेपाली पुस्तकमा मन पर् ८० भन्दा बढी पटक छुट्टै र तीन पटक मात्र जोडिएको छ; काम गर् २०० भन्दा बढी पटक आएको छ, एक पटक पनि जोडिएको छैन।
तर त्यस्ता जोडीबाट बनेको विशेषण वा नाम शब्दकोशमा एउटै शब्दका रूपमा छ भने जोडिन्छ: मनपरी (आफूखुसी), मनपर्दो।
विशेषण र नाम
विशेषण र त्यसले बुझाउने नाम छुट्टै लेखिन्छन्: रातो फूल, अग्लो रुख, दोस्रो धनी देश, सानो बहिनी। कक्षा ९ को अभ्यासमा दोस्रोधनी लाई सच्याएर दोस्रो धनी बनाउन दिइएको छ।
दुई शब्द मिलेर एउटै नयाँ अर्थ दिने र शब्दकोशमा एउटै शब्दका रूपमा भएका भने जोडिन्छन्: प्रधानमन्त्री, कालीमाटी, सानोतिनो। शब्दकोशको आफ्नो उदाहरण: कान्छो बाबु छुट्टै, तर माल्दाइ जोडेर।
समस्त शब्द र नाम
समास भएर बनेको शब्द एउटै शब्द हो, त्यसैले जोडिन्छ: दालभात, आमाबुबा, विद्यालय, शिक्षामन्त्री, बाख्रापालन, खानेपानी। तर धेरै शब्द मिलेको लामो पदावली छुट्टै लेखिन्छ: नेपाल सरकार, प्रधान न्यायाधीश, राष्ट्रिय खेलकुद परिषद्। समासको परिचय समास मा छ।
सन्धि भएर बनेका समस्त शब्द पनि जोडिन्छन्: पुस्तकालय, सूर्योदय, महोत्सव। ठाउँ, बार र संस्थाका नाम पनि समस्त शब्दकै रूपमा जोडिन्छन्: भक्तपुर, आइतवार, विश्वविद्यालय, नगरपालिका।
मान्छेको नामको बिचको नाम (पहिलो नाम र थरका बिचमा आउने बहादुर, प्रसाद, कुमारी जस्ता नाम) पहिलो नामसँग जोडेर लेखिन्छ: टेकबहादुर बुढा, हरिप्रसाद अधिकारी, सीताकुमारी राई। थर भने छुट्टै रहन्छ। कक्षा ९ को शिक्षक निर्देशिकाले यही नियम दिएको छ, त्यसैले परीक्षामा यही रूप लेख्नुहोस्।
सङ्ख्या, ‘ओटा’ र ‘जना’
पाठ्यपुस्तकहरू यसरी लेख्छन्, र यो पुस्तक पनि यसरी नै लेख्छ:
- शब्दमा लेखिएको सङ्ख्यामा ‘ओटा’ जोडिन्छ: दुईओटा, पाँचओटा, दशओटा। कक्षा ६–१० का नेपाली पुस्तकमा यस्ता रूप ३०० भन्दा बढी छन्, सबै जोडिएका। (एउटा आफैँ एउटै शब्द हो।)
- अङ्कपछि ‘ओटा’ छुट्टै: २० ओटा, १२ ओटा प्रश्न। पाठ्यपुस्तकमा अङ्कपछिको ओटा सधैँ यसरी नै छुट्टै छ।
- ‘जना’, ‘पटक’, ‘किलो’, ‘घण्टा’ जस्ता नाप सधैँ छुट्टै: तीन जना, दुई पटक, पाँच किलो।
पाठ्यपुस्तक आफैँ नमिलेका ठाउँ
केही शब्द पाठ्यपुस्तकमै कहिले जोडेर, कहिले छुट्याएर लेखिएका छन्। यस्तोमा शब्दकोशको नियम मानिन्छ:
- समेत: कक्षा ६–१० का नेपाली पुस्तकमा सयमा साठीजति ठाउँमा जोडिएको र चालिसजतिमा छुट्टिएको छ। शब्दकोशको दसौँ संस्करणले यसलाई नामयोगी भनेको छ, र नामयोगी जोडिन्छ, त्यसैले जोडेर: भाइसमेत, ज्यानसमेत।
- मात्र र चाहिँ निपात हुन्, छुट्टै: पाठ्यपुस्तकमा पनि लगभग सधैँ यही छ।
- सबैभन्दा जोडेर (भन्दा नामयोगी हो): कक्षा ६–१० का नेपाली पुस्तकमा ८९ पटक जोडिएको, एक पटक छुट्टिएको।
परीक्षामा
पदयोग र पदवियोग छुट्टै प्रश्नका रूपमा आउँदैन, वर्णविन्यासको अनुच्छेद वा वाक्य सम्पादनभित्र आउँछ:
- कक्षा ६ र ७: कक्षा ८ कै ढाँचामा, वाक्य सम्पादनका प्रश्नभित्र।
- कक्षा ८: प्रश्न ५ को चार अशुद्धि भएको वाक्यमा एउटा अशुद्धि पदयोग / पदवियोग, चन्द्रविन्दु / शिरविन्दु, य / ए, छ्य / क्ष वा ग्य / ज्ञ मध्ये कुनै एकबाट आउन सक्छ; ०.५ अङ्क।
- कक्षा ९ र १० (एसइई): प्रश्न ४ (ख) को वाक्य सम्पादनमा त्यसै गरी, ०.५ अङ्क। लेखाइका प्रश्नमा पनि भाषिक शुद्धताको अङ्कमा गनिन्छ।
- कक्षा ११: प्रश्न २ को छओटा अशुद्धि भएको अनुच्छेदमा एउटा पदयोग / पदवियोगको, ०.५ अङ्क।
- कक्षा १२: प्रश्न २ मा त्यसै गरी एउटा पदयोगको, ०.५ अङ्क।
अभ्यास
तलका वाक्यमा जोडेर लेख्नुपर्ने पद जोडेर लेख्नुहोस्:
- क.हजुरआमा मन्दिर बाट फर्कनुभयो।
- ख.चरा हरू रुख माथि बसे।
- ग.मैले साथी लाई चिठी लेखेँ।
उत्तर
छुट्याएर लेख्नुपर्ने पद छुट्याउनुहोस्: मपनि जान्छु। भाइत सुतिसक्यो। चियामात्र खाऊँ।
उत्तर
किन फरक छ, लेख्नुहोस्: बस्दै छ छुट्टै, तर बसिरहेको जोडेर।
उत्तर
पदयोग र पदवियोग मिलाएर लेख्नुहोस्: ‘हामी सबैले आ आफ्नो कोठा सफा गर्नु पर्छ। सर ले भन्नु भयो।’
उत्तर
तलका दुई वाक्यमा अर्थ के फरक छ, लेख्नुहोस्: ‘कुकुरले रोटी खाइजान्छ।’ ‘दाइ खाना खाई जानुहुन्छ।’
सङ्केत
उत्तर
तलको अनुच्छेदमा पदयोग र पदवियोगका पाँचओटा अशुद्धि छन्। शुद्ध गरी लेख्नुहोस्:
‘हाम्रो गाउँ मा हरेक शनिवार सरसफाइ हुन्छ। सबै घर का मान्छे आउँछन्। केटाकेटीपनि खुसीसाथ काम गर्छन्। गल्लीगल्ली सफा भएपछि हामी चिया खान बस्छौँ। यो काम हामीले गर्न सक्छौँ भन्ने सबैलाई थाहा भइ सकेको छ।’
उत्तर
‘घरभित्र’ र ‘घरको भित्र’ दुवै शुद्ध हुन्। एउटामा जोडिएको र अर्कोमा छुट्टिएको किन? उदाहरणसहित लेख्नुहोस्।
उत्तर
यी शब्दसमूह जोडेर लेख्ने कि छुट्टै, कारणसहित लेख्नुहोस्: तीन जना, दाल भात, कृष्ण बहादुर (नाम र थरका बिचको नाम), गाउँका लागि, न दाइ न भाइ।
उत्तर
यी जोडेर लेख्ने कि छुट्टै, लेख्नुहोस्: पाँच ओटा, १२ ओटा, नेपाल सरकार।
उत्तर
व्याकरण अभ्यासमा अभ्यास गर्नुहोस्: पदयोग र पदवियोग (कक्षा ९–१०)
पाठ्यपुस्तकमा
यी तथ्य कहाँबाट लिइएका हुन्
- कक्षा ६ (६): नेपाली, कक्षा ६ (पाठ्यक्रम विकास केन्द्र), पाठ १५, पृष्ठ १८३–१८४: विभक्ति, हरू, नामयोगी (लगायत, समेत), निपात (त, पनि), -इ पछिका सहायक क्रिया (अपनाइरहेका, भनिदिन्छु) र नकार।
- कक्षा ७ (७): नेपाली, कक्षा ७, पाठ १६, पृष्ठ १८४: साथीसँग, क्रिकेटबारे, हामीभन्दा, सिक्दै छु; ‘का लागि’ को गन्ती कक्षा ६–१० का नेपाली पुस्तकबाट।
- कक्षा ८ (८): नेपाली, कक्षा ८, पाठ १५, पृष्ठ १७९: आआफ्नै, गर्नुपर्छ, आउनुहुन्छ, नियमअनुसार, बुबाबाहेक; कक्षा ८ को विशिष्टीकरण तालिका (२०८०), प्रश्न ५।
- कक्षा ९ (९), शिक्षक निर्देशिका: शिक्षक निर्देशिका, माध्यमिक तह, नेपाली कक्षा ९ (पाठ्यक्रम विकास केन्द्र), ‘शिक्षकका लागि सन्दर्भ सामग्री: पदयोग र पदवियोग’, PDF पृष्ठ २८६: समस्त शब्द र सन्धि भएका समस्त शब्द जोडेर ((अ) ३, ६), नाम र थरका बिचको मध्यवर्ती नाम जोडेर ((अ) ८: रामबहादुर थापा), विभक्तिपछिको नामयोगी छुट्टै ((आ) १: रामका लागि), ‘जना’ छुट्टै ((आ) ६), विभाजक ‘न’ छुट्टै ((आ) ७)। ‘ओटा’ बारे यसले केही भनेको छैन, त्यसैले त्यो थप (+) मै छ।
- कक्षा ९ (९): नेपाली, कक्षा ९, पाठ ११, पृष्ठ १३० (पदयोग मिलेका र नमिलेका वाक्यको तालिका: चकचक, मन लगाएर पढ; अनुच्छेदमा दोस्रो धनी, सबैभन्दा); पाठ १२, पृष्ठ १४०; कक्षा ९–१० को विशिष्टीकरण तालिका (२०८०), प्रश्न ४ (ख)।
- कक्षा १० (१०): नेपाली, कक्षा १०, पाठ ६, पृष्ठ ८४ र ८७ (घरभित्र, घरबाहिर किन जोडिए भन्ने छलफल; आ आफ्नो सच्याउने); पाठ ७, पृष्ठ १०१–१०२।
- कक्षा ११–१२ (११, १२): अनिवार्य नेपालीको विशिष्टीकरण तालिका, कक्षा ११ (२०७७) र कक्षा १२ (२०७८), प्रश्न २।
- पाठ्यपुस्तकका गन्ती: कक्षा ६–१० का नेपाली पुस्तकका सबै पाठमा हाम्रै गन्ती (नुपर्छ, इदियो, इरहेको, इसकेको, न सक्छ, -दै छ, -एको छ, जस्तो, झैँ, मन पर्, ओटा, समेत, मात्र, सबैभन्दा)।
- थप (+): नेपाली बृहत् शब्दकोश, दसौँ संस्करण, नेपाल प्रज्ञा-प्रतिष्ठान, २०७५, संशोधन समितिको भनाइ (पदयोग: नाम, बार र नामयोगी जोडेर; पूरै द्वित्व छुट्टै; भनेको छ, भन्दै छ, भन्ने छ, खाई जान्छ छुट्टै; विशेषण र नाम छुट्टै, एउटै अर्थ भए जोडेर; लामो पदावली छुट्टै) र ओटा, चारोटा, पाँचोटा, जस्तो, झैँ, समेत का प्रविष्टि (समेत लाई दसौँ संस्करणले नामयोगी भनेको छ); हेमाङ्गराज अधिकारी, समसामयिक नेपाली व्याकरण (आदरार्थी आज्ञा)। नियम र उदाहरण हाम्रै शब्दमा छन्।
गल्ती भेटे हामीलाई भन्नुहोस्।
