Skip to content

← नेपाली व्याकरण

लेख्य चिह्न

अध्याय ३७ · भाग ६: शुद्ध लेखाइ

परीक्षाअघि दोहोर्‍याउन कथा, रोचक तथ्य, फोटो, क्रियाकलाप र अन्तरक्रियात्मक सामग्री लुकाउनुहोस्
कक्षा … सम्म
यस अध्यायमा 15 खण्ड
  1. लेख्य चिह्न किन चाहिन्छ
  2. वाक्य टुङ्ग्याउने चिह्न
  3. अल्पविराम (,)
  4. योजक (-)
  5. कोष्ठक ( )
  6. अर्धविराम (;)
  7. तिर्यक् (/)
  8. उद्धरण चिह्न
  9. निर्देश (—)
  10. लोप र छुट चिह्न
  11. विवरण र सङ्क्षेप चिह्न
  12. खाली ठाउँ: चिह्नको अघि र पछि
  13. परीक्षामा
  14. अभ्यास
  15. पाठ्यपुस्तकमा

‘भाइ घर गयो।’ ‘भाइ घर गयो?’ ‘भाइ घर गयो!’ तीनै वाक्यमा शब्द उही छन्, तर पहिलोले खबर दिन्छ, दोस्रोले सोध्छ, तेस्रोले अचम्म देखाउँछ। फरक अन्त्यको एउटा चिह्नले मात्र पारेको हो। लेख्दा बोलीको रोकाइ, स्वरको उतारचढाव र भाव देखाउन प्रयोग गरिने चिह्नलाई लेख्य चिह्न भनिन्छ। यस अध्यायमा नेपालीका सबै लेख्य चिह्न छन्: नाम, काम, कुन कक्षामा सुरु हुन्छ, र लेख्दा कहाँ खाली ठाउँ छोड्ने।

कक्षा ४ र ५ देखि नै पूर्णविराम, प्रश्नवाचक, अल्पविराम र उद्गार चिह्न सिकिन्छन्। कक्षा ६ ले यिनमा योजक थप्छ, कक्षा ७ ले कोष्ठक, कक्षा ८ ले अर्धविराम, तिर्यक् र उद्धरण, कक्षा १० ले निर्देश, र कक्षा ११ ले लोप र छुट चिह्न।

लेख्य चिह्न किन चाहिन्छ

बोल्दा हामी रोकिन्छौँ, स्वर उठाउँछौँ वा झार्छौँ, र अनुहारले भाव देखाउँछौँ। लेखाइमा यी केही हुँदैनन्, त्यसैले चिह्नले त्यो काम गर्छ:

  • कहाँ रोकिने: पूर्णविराम (पूरै), अर्धविराम (आधा), अल्पविराम (थोरै)।
  • कस्तो वाक्य: सामान्य (।), प्रश्न (?), भाव (!)।
  • के जोडिएको वा छुट्टिएको: योजक, निर्देश, तिर्यक्, कोष्ठक, उद्धरण।
चिह्न नाम पहिलो पटक
। पूर्णविराम कक्षा ४–६
? प्रश्नवाचक कक्षा ४–६
, अल्पविराम कक्षा ४–६
! उद्गार (विस्मयादिबोधक, विस्मयसूचक) कक्षा ४–६
- योजक कक्षा ६
( ) कोष्ठक कक्षा ७
; अर्धविराम कक्षा ८
/ तिर्यक् (विकल्पबोधक) कक्षा ८
“ ” ‘ ’ उद्धरण (दोहोरो, एकोहोरो) कक्षा ८
— निर्देश (निर्देशक) कक्षा १०
... लोप कक्षा ११
^ छुट चिह्न (कागपादे) कक्षा ११
: विवरण चिह्न (यस पुस्तकको नाम) थप
. सङ्क्षेप चिह्न कक्षा ४–६

सबै चिह्नको एउटा तालिका, धेरै उदाहरण र आफैँ गर्ने अभ्यास नेपाली: शब्ददेखि साहित्यसम्मको लेख्य चिह्न पानामा छन्।

वाक्य टुङ्ग्याउने चिह्न

पूर्णविराम (।)

सामान्य वाक्य, आदेश र अनुरोध पूरा भएपछि पूर्णविराम लाग्छ: ‘हामी शनिवार पौडी खेल्न जान्छौँ।’ ‘ढोका बन्द गर।’ ‘कृपया बिस्तारै बोल्नुहोस्।’

पूर्णविराम ठाडो धर्का (।) हो, अङ्ग्रेजीको थोप्लो (.) होइन। थोप्लो छोटो पारिएको शब्दपछि मात्र लाग्छ (सङ्क्षेप चिह्न)।

प्रश्नवाचक (?)

प्रश्न सोधिएको वाक्यको अन्त्यमा: ‘तिम्रो विद्यालय कति टाढा छ?’ ‘भोलि बिदा हो कि होइन?’ तर प्रश्न आफैँ नसोधी अर्कैले सोधेको कुरा मात्र बताउँदा पूर्णविराम लाग्छ: ‘उसले मेरो विद्यालय कति टाढा छ भनेर सोध्यो।’

उद्गार (!)

हर्ष, दुःख, अचम्म, डर वा झर्को देखाउने शब्द र वाक्यपछि: ‘ओहो! कति ठुलो माछा!’ ‘हाय! मेरो कलम हरायो।’ ‘स्याबास!’ विस्मयादिबोधक अव्यय अव्यय अध्यायमा छन्।

अल्पविराम (,)

वाक्यभित्र थोरै रोकिनुपर्ने ठाउँमा अल्पविराम लाग्छ:

  • उस्तै किसिमका धेरै पद आउँदा, अन्तिम दुईबिच र राखेर: ‘बजारबाट आलु, प्याज, गोलभेँडा र धनियाँ ल्याऊ।’ र अघि अल्पविराम लाग्दैन।
  • सम्बोधनपछि: ‘सरिता, यता आऊ।’ ‘साथीहरू, ध्यान दिनुहोस्।’
  • दुई उपवाक्यका बिचमा: ‘पानी पर्‍यो, त्यसैले खेल रोकियो।’
  • ‘हो’, ‘होइन’, ‘अँ’ पछि: ‘हो, म भोलि आउँछु।’
  • भनाइ उद्धृत गर्नुअघि: ‘हजुरआमाले भन्नुभयो, “सबेरै उठ।”’

आमाले बिहानै तरकारी किन्न पठाउनुहुन्छ। कुन वाक्यमा अल्पविराम मिलेको छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

योजक (-)

कक्षा ६ को पाठ ५ मा योजकका दुई काम छन्:

  • जोडी शब्द जोड्न, उस्तै वा उल्टो अर्थका: आमा-बुबा, दिन-रात, ठुलो-सानो, कापी-कलम।
  • हरफको अन्त्यमा पूरै नअटेको शब्द टुक्र्याउन: शब्दको पहिलो अंशपछि योजक राखेर बाँकी अंश अर्को हरफमा।

योजक दुवैतिरको शब्दसँग टाँसिएर बस्छ, बिचमा खाली ठाउँ हुँदैन: दिन-रात, दिन - रात होइन।

कोष्ठक ( )

वाक्यको मुख्य कुरामा नपरेको थप जानकारी, अर्थ वा व्याख्या राख्न कोष्ठक प्रयोग हुन्छ:

  • ‘हाम्रो विद्यालयको बस (रातो रङको) बिहान ठिक सात बजे आइपुग्छ।’
  • ‘यो ओखती दिनमा तीन पटक (बिहान, दिउँसो र बेलुका) खानू।’
  • अभ्यास र सूचीमा क्रम देखाउन: (क), (ख), (ग)।

कोष्ठकभित्रको कुरा हटाउँदा पनि वाक्य पूरा र शुद्ध रहनुपर्छ।

अर्धविराम (;)

अल्पविरामभन्दा बढी र पूर्णविरामभन्दा कम रोकिने ठाउँमा, प्रायः एउटै विषयका दुई पूरा वाक्य जोड्दा:

  • ‘बिहान घाम लाग्यो; दिउँसो झरी पर्‍यो।’
  • ‘कक्षा ६ मा तिस जना छन्; कक्षा ७ मा पच्चिस जना।’

अल्पविराम भइसकेका लामा सूचीका समूह छुट्याउन पनि अर्धविराम लाग्छ: ‘भक्तपुर, ललितपुर र काठमाडौँ बागमती प्रदेशमा पर्छन्; कास्की, स्याङ्जा र तनहुँ गण्डकी प्रदेशमा।’

तिर्यक् (/)

वा, अथवा को अर्थ दिन: ‘चिया / कफी’, ‘छात्र / छात्रा’, ‘हो / होइन लेख्नुहोस्।’ कक्षा १० को पाठ्यपुस्तकले यसलाई विकल्पबोधक चिह्न भनेको छ। मिति लेख्दा पनि प्रयोग हुन्छ: २०८१/०५/१२।

उद्धरण चिह्न

दोहोरो उद्धरण (“ ”)

कसैको भनाइ जस्ताको तस्तै राख्न: ‘शिक्षकले भन्नुभयो, “भोलि सबैले रङ ल्याउनू।”’ कक्षा ८ ले यसलाई नाम दिएर सिकाउँछ। अरूको भनाइलाई आफ्नै शब्दमा भन्दा उद्धरण हट्छ: कथन अध्याय हेर्नुहोस्।

एकोहोरो उद्धरण (‘ ’)

पुस्तक, कविता, पाठ वा कार्यक्रमको नाम, विशेष अर्थमा प्रयोग गरिएको शब्द, वा उद्धरणभित्रको अर्को उद्धरण। जस्तै: ‘मुनामदन’ कसले लेख्नुभयो? सूर्य को अर्थ ‘घाम’ हो। दिदीले भन्नुभयो, “मलाई ‘मुनामदन’ सबैभन्दा मन पर्छ।”

निर्देश (—)

पछि सूची, व्याख्या वा उदाहरण आउँदै छ भनेर देखाउन, वा वाक्यको बिचमा थप कुरा छुट्याउन: ‘नेपाललाई तीन भूभागमा बाँडिन्छ — हिमाल, पहाड र तराई।’ ‘हाम्रो गाउँ — जहाँ म जन्मेँ — अहिले सहर जस्तो भइसक्यो।’ निर्देश योजकभन्दा लामो धर्का हो, र यसका दुवैतिर खाली ठाउँ हुन्छ।

लोप र छुट चिह्न

  • लोप (...): कुरा अधुरो छोडिएको, अड्किएको वा केही अंश हटाइएको देखाउन: ‘म त... के भनूँ...’ ‘एक, दुई, तीन... दश।’
  • छुट चिह्न (^), कागपादे: हातले लेख्दा छुटेको अक्षर वा शब्द कहाँ थप्ने भनेर हरफमुनि ^ राखी माथि त्यो शब्द लेखिन्छ। कम्प्युटरमा टाइप गर्दा यसको काम पर्दैन; परीक्षाको उत्तरपुस्तिकामा भने काम लाग्छ।

विवरण र सङ्क्षेप चिह्न

  • विवरण चिह्न (:): पछि विवरण, सूची वा उदाहरण आउँदा: ‘चाहिने सामग्री: कागज, कैँची र गम।’ ‘जस्तै: घर, गाउँ।’ पाठ्यपुस्तक, पाठ्यक्रम र शिक्षक निर्देशिकाले यस चिह्नको कुनै नाम दिएका छैनन्; विवरण चिह्न नाम यस पुस्तकले कामअनुसार राखेको हो। पाठ्यपुस्तक र प्रश्नपत्रले यसका ठाउँमा प्रायः विसर्ग (ः) छाप्छन्; यो विसर्ग होइन, चिह्न हो, त्यसैले यस पुस्तकले ‘:’ लेख्छ।
  • सङ्क्षेप चिह्न (.): छोटो पारिएको शब्दपछि थोप्लो: डा. (डाक्टर), पृ. (पृष्ठ), नं. (नम्बर), प्रा. (प्राध्यापक), वि.सं. (विक्रम संवत्), गा.पा. (गाउँपालिका)। कक्षा ४ देखि नै यस्ता छोटा रूपको पूरा रूप लेख्ने अभ्यास छ।

खाली ठाउँ: चिह्नको अघि र पछि

हातले लेख्दा यसको धेरै मतलब हुँदैन, तर टाइप गर्दा खाली ठाउँ गलत ठाउँमा पर्‍यो भने हरफको सुरुमै ‘।’ वा ‘?’ एक्लै झर्न सक्छ। यस पुस्तक र साइटले यस्तो नियम मान्छ:

चिह्न अघि खाली ठाउँ पछि खाली ठाउँ उदाहरण
। ? ! : , ; छैन छ ‘घर गयो। अनि...’
( ) “ ” ‘ ’ खुल्नेको अघि छ, भित्र छैन बन्दपछि छ ‘नदी (कर्णाली) ठुलो छ।’
- (योजक) / छैन छैन ‘दिन-रात’, ‘चिया / कफी’
— (निर्देश) छ छ ‘तीन भूभाग — हिमाल…’

परीक्षामा

  • कक्षा ६ र ७: कक्षा ८ कै ढाँचामा: अनुच्छेदमा उपयुक्त चिह्न राख्ने र वाक्य सम्पादनमा।
  • कक्षा ८: प्रश्न ५ को चार अशुद्धि भएको वाक्यमा सधैँ एउटा अशुद्धि लेख्य चिह्नको, ०.५ अङ्क। लेखाइका प्रश्नमा भाषिक शुद्धता (वर्णविन्यास, लेख्य चिह्न र पदसङ्गति) को १ अङ्क छुट्टै।
  • कक्षा ९ र १० (एसइई): प्रश्न ४ (ख) को वाक्य सम्पादनमा एउटा अशुद्धि लेख्य चिह्नको, ०.५ अङ्क; लेखाइमा भाषिक शुद्धताको अङ्क पनि।
  • कक्षा ११: प्रश्न २ को छओटा अशुद्धि भएको अनुच्छेदमा एउटा लेख्य चिह्नको, ०.५ अङ्क।
  • कक्षा १२: प्रश्न २ मा त्यसै गरी एउटा, ०.५ अङ्क।

अभ्यास

१.

उपयुक्त लेख्य चिह्न राखेर लेख्नुहोस्:
‘दाइ तपाईँ कहिले फर्किनुहुन्छ म त तपाईँलाई धेरै सम्झन्छु ओहो कति लामो छुट्टी’

उत्तर
२.

योजक लगाएर पाँचओटा जोडी शब्द बनाउनुहोस्: दिन, सुख, ठुलो, दाजु, आज (उल्टो वा उस्तै अर्थको शब्दसँग)।

उत्तर
३.

कोष्ठक प्रयोग गरेर वाक्य पूरा गर्नुहोस्: ‘सगरमाथाको उचाइ …… हो।’

उत्तर
४.

अर्धविराम र तिर्यक् प्रयोग गरी एक एकओटा वाक्य बनाउनुहोस्।

उत्तर
५.

तलको भनाइलाई उद्धरण चिह्न प्रयोग गरेर लेख्नुहोस्: सरले भन्नुभयो भोलि विज्ञानको परीक्षा हुन्छ सबै समयमै आउनू

उत्तर
६.

तलको वाक्यमा तीनओटा अशुद्धि छन्। शुद्ध गरी लेख्नुहोस्:
‘साथी हरू तिमीहरू भोलि कति बजे आउँछौ’

सङ्केत
उत्तर
७.

निर्देश र योजकमा के फरक छ? दुवैको एक एक उदाहरण दिनुहोस्।

उत्तर
८.

तलको अनुच्छेदमा उपयुक्त लेख्य चिह्न राख्नुहोस्:
‘कार्यक्रममा तीन जना अतिथि आउनुभयो प्रधानाध्यापक वडाध्यक्ष र एक जना लेखक लेखकले भन्नुभयो पढ्ने बानी नै सबैभन्दा ठुलो सम्पत्ति हो उहाँको कुरा सुनेर सबै छक्क परे’

उत्तर

पाठ्यपुस्तकमा

यी तथ्य कहाँबाट लिइएका हुन्
  • कक्षा ४–६ (६): नेपाली, कक्षा ४ र ५ (पाठ्यक्रम विकास केन्द्र: । , ? ! का अभ्यास; कक्षा ४ मा जि.स.स., गा.पा., न.पा. जस्ता छोटा रूपको पूरा रूप लेख्ने अभ्यास, सङ्क्षेप चिह्नका लागि); नेपाली, कक्षा ६, पाठ ५, पृष्ठ ५१ (पाँच चिह्नको जानकारी, योजकका दुई काम); आधारभूत शिक्षा पाठ्यक्रम, कक्षा ६–८ (कक्षा ६: । ? , !)।
  • कक्षा ७ (७): नेपाली, कक्षा ७, पाठ ३, पृष्ठ ३६–३७; पाठ्यक्रम, कक्षा ७ (। ? , ! योजक कोष्ठक)।
  • कक्षा ८ (८): नेपाली, कक्षा ८, पाठ ३, पृष्ठ ३३–३४; पाठ्यक्रम, कक्षा ८ (निर्देशसमेत); कक्षा ८ को विशिष्टीकरण तालिका (२०८०), प्रश्न ५ र लेखाइको भाषिक शुद्धता।
  • कक्षा ९ (९): नेपाली, कक्षा ९, पाठ ११, पृष्ठ १२९–१३०; माध्यमिक शिक्षा पाठ्यक्रम, कक्षा ९–१० (निर्देशक); कक्षा ९–१० को विशिष्टीकरण तालिका (२०८०), प्रश्न ४ (ख)।
  • कक्षा १० (१०): नेपाली, कक्षा १०, पाठ १६, पृष्ठ २३३–२३४।
  • कक्षा ११–१२ (११, १२): नेपाली, कक्षा ११ (PDF पृष्ठ ७५–७६) र कक्षा १२ (PDF पृष्ठ १६१); माध्यमिक शिक्षा पाठ्यक्रम २०७७, कक्षा ११–१२ (छुट चिह्न / कागपादे, विस्मयसूचक, निर्देशक, विकल्पबोधक / तिर्यक्); विशिष्टीकरण तालिका, कक्षा ११ (२०७७) र कक्षा १२ (२०७८), प्रश्न २।
  • थप (+): विवरण चिह्न (नाम यस पुस्तकको: पाठ्यक्रम विकास केन्द्रका पुस्तक, पाठ्यक्रम र निर्देशिकामा यस चिह्नको नाम भेटिएन), अर्धविरामले सूचीका समूह छुट्याउने र खाली ठाउँको नियम यस साइटको लेखन नियम र नेपाली: शब्ददेखि साहित्यसम्मको लेख्य चिह्न पानाअनुसार। उदाहरण सबै हाम्रै हुन्।

गल्ती भेटे हामीलाई भन्नुहोस्।