आज कक्षामा नआएको साथीले साँझ फोन गर्छ: “विज्ञानमा आज के पढायो?” तपाईँ पूरा घन्टाको कुरा जस्ताको तस्तै सुनाउनुहुन्न। शिक्षकले बोर्डमा लेखेका उदाहरण, बिचमा आएका ठट्टा र दोहोर्याएका कुरा छोडेर दुई तीन वाक्यमा भन्नुहुन्छ: “आज प्रकाशको परावर्तन पढायो। ऐनामा प्रकाश कुन कोणमा फर्कन्छ भनेर देखायो। भोलि त्यसको प्रयोग गर्ने रे।”
यही सारांश हो। धेरै कुराबाट मूल कुरा छानेर छोटो पार्ने काम हामी दिनहुँ गर्छौँ। लेख्दा भने गाह्रो लाग्छ, किनभने कागजमा कुन वाक्य राख्ने र कुन छोड्ने भन्ने निर्णय सोचेर गर्नुपर्छ। परीक्षामा अनुच्छेद दिएर चारवटा बुँदा टिप्न र सारांश लेख्न लगाइन्छ। कलेजमा किताबबाट नोट बनाउँदा, बैठकको निर्णय टिप्दा र कसैलाई लामो कुरा छोटकरीमा बुझाउँदा पनि यही सिप चाहिन्छ।
बुँदा टिपोट र सारांश: के फरक छ?
दुवै काममा अनुच्छेदको मूल कुरा नै खोजिन्छ, तर लेख्ने रूप फरक हुन्छ।
| बुँदा टिपोट | सारांश | |
|---|---|---|
| रूप | अङ्क दिएर टिपिएका छुट्टाछुट्टै बुँदा | एउटा जोडिएको अनुच्छेद |
| वाक्य | अपूर्ण, असमापक क्रियापद: …घटेको, …राख्ने | पूरा वाक्य, समापक क्रियापद: …घट्यो, …राख्नुपर्छ |
| सङ्ख्या वा लम्बाइ | प्रश्नमा भनेजति, प्रायः चारवटा | मूल अनुच्छेदको एक तिहाइ, त्योभन्दा बढी होइन |
| शीर्षक | चाहिँदैन | चाहिन्छ |
| काम | मूल कुरा छुट्याउनु | छुट्याएका कुरा मिलाएर भन्नु |
बुँदा टिपोट सारांशको खुड्किलो हो। पहिले बुँदा टिपेपछि सारांश लेख्न सजिलो हुन्छ, किनभने के राख्ने भन्ने निर्णय भइसकेको हुन्छ। त्यसपछि ती बुँदालाई राम्रा वाक्यमा जोड्ने काम मात्र बाँकी रहन्छ।
तलकामध्ये कुन बुँदाका रूपमा लेखिएको छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
अनुच्छेदको मूल कुरा खोज्ने
अनुच्छेदका सबै वाक्य एउटै विषयमा हुन्छन्, र एकअर्कासँग जोडिएर एउटा कुरा भन्छन्। तर सबै वाक्यको भार उस्तै हुँदैन। केही वाक्यले मूल कुरा भन्छन्, बाँकीले त्यसलाई सघाउँछन्।
- मूल वाक्य अनुच्छेदको मुख्य विचार हो। यो हटाए अनुच्छेदको अर्थ नै बदलिन्छ।
- सहायक वाक्यले त्यो विचारलाई उदाहरण, कारण, विवरण वा दोहोर्याइले बलियो बनाउँछन्। यिनलाई हटाउँदा अनुच्छेद छोटो हुन्छ, तर अर्थ उही रहन्छ।
मूल वाक्य प्रायः अनुच्छेदको सुरुमा हुन्छ, कहिलेकाहीँ अन्त्यमा निष्कर्षका रूपमा आउँछ। कुनै अनुच्छेदमा भने यो कुनै एक वाक्यमा हुँदैन। सबै वाक्य पढेपछि मात्र मूल कुरा बुझिन्छ। त्यस्तोमा आफैँ एक वाक्यमा भन्नुपर्छ।
मूल कुरा खोज्न दुई प्रश्न सोध्नुहोस्:
- यो अनुच्छेद केबारे हो? उत्तर एक दुई शब्दमा आउँछ: साइकल, पानीको मुहान, सामूहिक पढाइ।
- त्यसबारे के भन्छ? उत्तर एउटा वाक्यमा आउँछ: साइकल सहरका लागि सस्तो र सफा साधन हो।
दोस्रो प्रश्नको उत्तर नै अनुच्छेदको मूल भाव हो। सारांशमा यो कुरा छुट्यो भने अरू जति राम्रो लेखे पनि अङ्क घट्छ।
बुँदा टिप्ने तरिका
- अनुच्छेद दुई तीन पटक पढ्नुहोस्। पहिलो पटक विषय बुझ्न, दोस्रो पटक मूल वाक्य र सहायक वाक्य छुट्याउन।
- मुख्य वाक्य वा पदावलीमुनि रेखा तान्नुहोस्। परीक्षामा प्रश्नपत्रमै हल्का रेखा तान्न सकिन्छ।
- रेखा तानेका कुरा क्रमैसँग टिप्नुहोस्। अनुच्छेदमा जुन क्रममा आएका छन्, बुँदा पनि त्यही क्रममा राख्नुहोस्।
- हरेक बुँदामा एउटै कुरा राख्नुहोस्। दुई कुरा एउटै बुँदामा कोचियो भने अर्को बुँदा खाली हुन्छ।
- बुँदा अपूर्ण वाक्यमा लेख्नुहोस्। क्रियापदलाई असमापक बनाउनुहोस्: घट्यो होइन घटेको, जोगाउनुपर्छ होइन जोगाउनुपर्ने। कहिलेकाहीँ नामपदमै टुङ्ग्याउन सकिन्छ: इन्धनको खर्चमा बचत।
- अन्त्यमा एक पटक फेरि पढ्नुहोस्। चारवटा बुँदाले अनुच्छेदको मूल कुरा समेटे कि समेटेनन् हेर्नुहोस्, र नमिलेको बुँदा सच्याउनुहोस्।
सारांश लेख्ने तरिका
पहिले शब्द गन्नुहोस्
मूल अनुच्छेदका शब्द गन्नुहोस् र तीनले भाग गर्नुहोस्। ९६ शब्दको अनुच्छेद भए सारांश ३२ शब्दसम्मको हुन्छ। कक्षा ९ को शिक्षक निर्देशिकाले एक तिहाइभन्दा बढी शब्द नहुने गरी लेख्न सिकाउँछ। त्यसैले दुई चार शब्द कम भए फरक पर्दैन, तर बढी नहोस्। पन्ध्र शब्दमा भने मूल भाव अटाउँदैन।
खेस्रा, अनि साफी
- खेस्रा: टिपेका बुँदालाई समापक क्रियापद राखेर पूरा वाक्यमा जोड्नुहोस्। यो कापीको पछाडि वा छेउमा लेख्नुहोस्।
- काटछाँट: खेस्राका शब्द गन्नुहोस्। धेरै भए तलका तरिकाले छोट्याउनुहोस्।
- साफी: माथि शीर्षक राखेर सफा अक्षरमा सारांश लेख्नुहोस्, र अन्त्यमा शब्दसङ्ख्या लेख्नुहोस्: (शब्दसङ्ख्या: ३२)।
छोट्याउने तरिका
अर्थ नबदली वाक्यलाई छोटो पार्नुलाई वाक्य सङ्कोचन भनिन्छ। सारांशको मुख्य औजार यही हो।
| तरिका | लामो | छोटो |
|---|---|---|
| सूचीको सट्टा एउटै शब्द | आलु, काउली, बन्दा, गोलभेँडा र साग | तरकारी |
| अङ्गवाक्यको सट्टा पदावली | जसले धेरै बोल्छ उसको कुरा कमै सुनिन्छ। | धेरै बोल्नेको कुरा कमै सुनिन्छ। |
| पदावलीको सट्टा एउटै पद | कुनै पनि कुराको डर नमान्ने मान्छे | निडर मान्छे |
| उस्तै वाक्य जोड्ने | उनी चाँडै उठिन्। उनले पानी तताइन्। उनले चिया पकाइन्। | उनले चाँडै उठेर चिया पकाइन्। |
| भनाइलाई अप्रत्यक्ष बनाउने | गुरुले भन्नुभयो, “भोलिदेखि सबैले कापी ल्याउनू।” | गुरुले भोलिदेखि कापी ल्याउन भन्नुभयो। |
| विशेषण र थप जोड हटाउने | ज्यादै सुन्दर, हराभरा र मनमोहक गाउँ | सुन्दर गाउँ |
यीबाहेक उदाहरण, उद्धरण, सङ्ख्याको लामो विवरण र एउटै कुरा फरक शब्दमा दोहोरिएका वाक्य सारांशमा पर्दैनन्।
आफ्नै शब्दमा
सारांश मूल अनुच्छेदका वाक्य छानेर टाँसेको होइन। मूल अनुच्छेदका पहिलो र अन्तिम वाक्य जोडेर बुझाउँदा परीक्षकले चिन्छन्। अर्थ उही राख्नुहोस्, वाक्य आफ्नै बनाउनुहोस्।
सारांशमा अनुच्छेदको कुरा बाहिरबाट हेरेर भनिन्छ। त्यसैले मूल अनुच्छेद ‘म’ भनेर लेखिएको छ भने पनि सारांशमा प्रायः ‘लेखक’, ‘उनी’ वा पात्रको नाम राखिन्छ: मैले नियम बनाएँ भन्ने कुरा सारांशमा लेखकले नियम बनाए हुन्छ। यो विशिष्टीकरण तालिकाले तोकेको नियम होइन, तर यसरी लेख्दा सारांश स्पष्ट हुन्छ, र पढ्नेले कसको कुरा हो भनेर अलमलिनुपर्दैन।
शीर्षक
सारांशको शीर्षकले मूल भाव दुई चार शब्दमा भन्छ: धारा जोगाऔँ, सहरका लागि साइकल। पानी वा हाम्रो टोल जस्ता धेरै सामान्य शीर्षकले अनुच्छेदको खास कुरा भन्दैनन्। शीर्षक छान्न अनुच्छेदको मूल वाक्य हेर्नुहोस्। त्यसको मुख्य शब्द प्रायः शीर्षकमा आउँछ।
नमुना
यी अनुच्छेद यसै पानाका लागि लेखिएका हुन्। परीक्षामा भने पाठ्यपुस्तकका गद्य पाठबाटै अनुच्छेद दिइन्छ।
परीक्षामा
पाठ्यक्रम विकास केन्द्रको विशिष्टीकरण तालिकाअनुसार:
| कक्षा ८ | कक्षा ९ र १० (एसईई) | |
|---|---|---|
| प्रश्न | एउटै अनुच्छेदबाट चार बुँदा टिपेर सारांश | बुँदा टिपोट र सारांश लेखन छुट्टाछुट्टै प्रश्न |
| अनुच्छेद | पाठ्यपुस्तकका गद्य विधाका पाठबाट, १०० शब्दसम्मको | पाठ्यपुस्तकमा समाविष्ट गद्य विधाका पाठबाट, बढीमा १०० शब्दसम्मको |
| बुँदा | ४ वटा, प्रतिबुँदा ०.५, जम्मा २ अङ्क | ४ वटा, प्रतिबुँदा ०.५, जम्मा २ अङ्क |
| सारांश | शीर्षकसहित, २ अङ्क | ३ अङ्क |
| सारांशको लम्बाइ | एक तृतीयांश | एक तृतीयांश |
दुवै तहमा परीक्षकलाई दिइएको निर्देशन उस्तै छ: बुँदाले गद्यांशका मुख्य मुख्य कुरा समेट्नुपर्छ, र सारांशले मूल भाव समेट्नुपर्छ। सारांशमा शुद्धता र वाक्य गठन पनि हेरिन्छ। सामान्य भाषिक त्रुटिमा परीक्षकले स्वविवेक प्रयोग गर्छन्।
कक्षा ८ को अङ्क दिने आधारमा शीर्षक स्पष्ट मागिएको छ। एसईईको आधारमा शीर्षकको छुट्टै उल्लेख छैन, तर कक्षा ९ को शिक्षक निर्देशिकाले साफी लेखनपछि भाव समेट्ने शीर्षक र अन्त्यमा शब्दसङ्ख्या लेख्न सिकाउँछ। त्यसैले दुवै लेख्नुहोस्।
एसईईको नमुना प्रश्नपत्रमा बुँदा टिपोट र सारांशका लागि दुई फरक अनुच्छेद दिइएका छन्। सारांशको प्रश्नमा बुँदा मागिएको छैन। तैपनि कापीको छेउमा बुँदा टिपेर मात्र सारांश लेख्नुहोस्।
अनुच्छेद पाठ्यपुस्तकका गद्य पाठ (निबन्ध, जीवनी, नियात्रा) बाटै आउने भएकाले ती पाठ ध्यान दिएर पढ्नु पनि तयारी हो।
अभ्यास
सारांश लेख्दा तलकामध्ये कुन कुरा राख्नैपर्छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
मूल अनुच्छेद १२० शब्दको छ। सारांश करिब कति शब्दको हुनुपर्छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
कक्षाका पाठमा
पाठ्यपुस्तकका गद्य पाठको बोध र अभिव्यक्ति खण्डमा यसको अभ्यास छ:
- कक्षा ८: स्वामी प्रपन्नाचार्य (पाठ ३), जहाँ बुँदा टिपोट र सारांशको तरिका छ, र जुन्को ताबेई (पाठ १२)।
- कक्षा ९: करेसाबारी (पाठ ३), सत्यमोहन जोशी (पाठ ५) र कञ्चनजङ्घालाई नियाल्दा (पाठ ९)।
- कक्षा १०: चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा (पाठ ३) र मेरो देशको शिक्षा (पाठ ९)।
उल्टो दिशाको काम, छोटो हरफलाई फैलाएर अनुच्छेद बनाउने, भावविस्तारमा छ।
यी तथ्य कहाँबाट
- विशिष्टीकरण तालिका, कक्षा ९–१०, अनिवार्य नेपाली, पाठ्यक्रम विकास केन्द्र: क्षेत्र ७ (बुँदा टिपोट, २ अङ्क) र क्षेत्र ८ (सारांश लेखन, एक तृतीयांशमा, ३ अङ्क), नमुना प्रश्न १४ र १५, र उत्तरको मूल्याङ्कनको आधार।
- विशिष्टीकरण तालिका २०८०, कक्षा ८, नेपाली, पाठ्यक्रम विकास केन्द्र: क्षेत्र ५ (बुँदा टिपोट र सारांश लेखन, ४ अङ्क), नमुना प्रश्न ११ र मूल्याङ्कनको आधार।
- माध्यमिक शिक्षा पाठ्यक्रम, कक्षा ९ र १०, नेपाली (संशोधन), पाठ्यक्रम विकास केन्द्र: लेखाइ सिपको “पाठ पढेर मुख्य मुख्य बुँदा टिपोट गरी सारांश लेख्न” सक्षमता।
- शिक्षक निर्देशिका, नेपाली, कक्षा ९, पाठ्यक्रम विकास केन्द्र: बुँदा टिपोट र सारांश लेख्दा ध्यान दिनुपर्ने पक्ष (असमापक क्रियापद, खेस्रा र साफी लेखन, एक तिहाइभन्दा बढी शब्द नहुने, शीर्षक र शब्दसङ्ख्या)।
- शिक्षक निर्देशिका, नेपाली, कक्षा ८ (२०८१), पाठ्यक्रम विकास केन्द्र: बुँदा टिपोटका चरण र अपूर्ण वाक्यमा बुँदा।
- नेपाली, कक्षा ८, ९ र १०, पाठ्यक्रम विकास केन्द्र: माथि नाम लिइएका पाठका बोध र अभिव्यक्तिका अभ्यास।
- कृष्णप्रसाद पराजुली (Krishna Prasad Parajuli), राम्रो रचना मीठो नेपाली: अध्याय १२ (अनुच्छेदको एकता), अध्याय १४ (वाक्य सङ्कोचन र प्रसारण), र रचनामा विचारका नियम (महत्त्वपूर्ण तथ्य नछोड्ने, अनावश्यक तथ्य नराख्ने, नदोहोर्याउने)। सिद्धान्त मात्र लिइएको छ; उदाहरण र नमुना यसै पानाका लागि लेखिएका हुन्।
- नमुना र अभ्यासका अनुच्छेद यसै पानाका लागि लेखिएका हुन्; तिनमा आएका ठाउँ र घटना काल्पनिक हुन्।
