Skip to content

← व्यावहारिक नेपाली लेखन

उजुरी लेख्ने

व्यावहारिक लेखन: उजुरी

घरअगाडिको ढल तीन हप्तादेखि बगिरहेको छ। बिहान विद्यालय जाँदा फोहोर पानी नाघेर जानुपर्छ। उही हप्ता आमाले एटीएमबाट पाँच हजार झिक्न खोज्नुभयो। पैसा निस्केन, तर खाताबाट कटौती भयो। आमा रिसाउँदै भन्नुहुन्छ, “बैङ्कलाई एउटा कडा चिठी लेखिदे। चोर हो भनेर लेख्!”

रिस स्वाभाविक हो। तर रिसको चिठीले काम गराउँदैन। सुनुवाइ हुने उजुरी लेख्ने तरिका छुट्टै छ: के भयो, कहिले भयो, प्रमाण के छ र के चाहियो। यस पानामा उजुरी कहाँ दिने, ती ठाउँका फारमले के के माग्छन्, उजुरी कसरी लेख्ने र दुई नमुना छन्। अङ्ग्रेजीमा उजुरी लेख्ने सुझाव Writing It Well का छोटा पानामा छन्; यहाँ तिनको लिङ्क मात्र छ।

उजुरी भनेको के हो?

निवेदन मा केही माग्छौँ: बिदा, सिफारिस, अनुमति। उजुरीमा पनि माग्छौँ, तर कुनै गल्ती वा मर्का भएपछि: बिग्रेको ढल, खाताबाट गलत कटौती, नक्कली सामान, नदिइएको सेवा। त्यसैले उजुरीमा माग मात्र होइन, के भयो भन्ने प्रमाणसहितको विवरण पनि चाहिन्छ।

उजुरी पढ्ने मान्छेले प्रायः त्यो गल्ती गरेको हुँदैन। उसले तपाईँको कुरा बुझेर, जाँचेर, सम्बन्धित ठाउँमा पठाउने हो। उसलाई काम सजिलो पार्ने उजुरीको सुनुवाइ छिटो हुन्छ।

कहाँ दिने

उजुरी कहाँ दिने भन्ने कुरा समस्याले तय गर्छ। तल पाँच ठाउँ छन्, हरेकले के माग्छ भन्ने कुरासहित। यी सबै २०८३ कात्तिकसम्म हेरिएको विवरण हुन्; फोन, ठेगाना र फारम बदलिन सक्छन्।

१. पहिले, काम गर्ने संस्था वा मान्छेलाई

नेपाल राष्ट्र बैङ्कको गुनासो पोर्टलले पहिलो कदम यही भनेको छ: आफूले सेवा लिएको वित्तीय संस्थामै पहिले गुनासो दर्ता गर्ने। त्यहाँ सम्बोधन नभए वा समाधान चित्त नबुझे मात्र राष्ट्र बैङ्कमा जाने। कक्षा ९ को नेपाली पुस्तकमा नेपाल दूरसञ्चार प्राधिकरणको एउटा सूचना छ। त्यसमा पनि यही क्रम छ: पहिले सेवा दिने कम्पनीलाई, समाधान नभए प्राधिकरणलाई।

पसलको समस्या पसलमै, विद्यालयको समस्या पहिले कक्षाशिक्षक वा प्रधानाध्यापकलाई (Put a school problem in a निवेदन)। पहिलो ठाउँमा के गर्नुभयो, कसलाई भन्नुभयो, लेखेर राख्नुहोस्। माथिल्लो ठाउँमा उजुरी गर्दा त्यो चाहिन्छ।

२. वडा वा नगरपालिका

बाटो, ढल र फोहोर जस्ता टोलका समस्या वडाको काम हो (Report a broken road or a blocked drain to the ward)। वडा कार्यालयमा लिखित उजुरी निवेदनकै ढाँचामा लेखिन्छ, वडाध्यक्षलाई (तलको पहिलो नमुना)।

कतिपय पालिकाको वेबसाइटमा अनलाइन फारम पनि छ। उदाहरणका लागि कीर्तिपुर नगरपालिकाको ‘प्रतिक्रिया फारम’ ले पुरा नाम, इमेल, सम्पर्क नम्बर, विषय र सन्देश अनिवार्य माग्छ। ५ एमबीसम्मको सहायक कागजात पनि राख्न दिन्छ। हामीले अरू केही पालिकाका वेबसाइट खोल्न खोज्यौँ, यहाँबाट खुलेनन्। त्यसैले आफ्नो पालिकाको वेबसाइटमा ‘गुनासो’ वा ‘प्रतिक्रिया’ खोज्नुहोस्, नभए वडा कार्यालयमै जानुहोस्।

३. हेलो सरकार

हेलो सरकार प्रधानमन्त्रीको कार्यालयले चलाउने गुनासो प्रणाली हो। यसमा सार्वजनिक निकायका कामकारबाहीबारे गुनासो, जिज्ञासा र सुझाव दिन सकिन्छ।

माध्यम ठेगाना वा नम्बर
अनलाइन gunaso.opmcm.gov.np
फोन ११११
एसएमएस, ह्वाट्सएप, भाइबर ९८५११४५०४५
इमेल 1111@nepal.gov.np

अनलाइन फारममा पहिले गुनासोको प्रकार छान्नुपर्छ। सूचीमा सयभन्दा बढी प्रकार छन्: ढल, फोहोर व्यवस्थापन, सडक पुल, सामुदायिक विद्यालय, निजी विद्यालय, बैङ्क र वित्तीय संस्था, स्थानीय तह, लोक सेवा आयोग र अरू धेरै। आफ्नो प्रकार सूचीमा नभए माथिको मोबाइल नम्बरमा फोन, भाइबर वा ह्वाट्सएपबाट दर्ता गर्न भनिएको छ।

हेलो सरकारका ‘बारम्बार सोधिने प्रश्न’ अनुसार:

  • गुनासो दर्ता गर्न खाता खोल्नु पर्दैन।
  • हरेक गुनासोको छुट्टै दर्ता नम्बर दिइन्छ। त्यो मोबाइल र इमेलमा पनि पठाइन्छ। हराए फेरि पाइँदैन, त्यसैले सुरक्षित राख्नुहोस्।
  • गुनासोको अवस्था गोप्य राख्न चाहे पासवर्ड राख्न सकिन्छ। त्यसपछि अवस्था हेर्न दर्ता नम्बर र पासवर्ड दुवै चाहिन्छन्।
  • फोटो, भिडियो, पिडिएफ वा कागजात जति पनि पठाउन सकिन्छ, तर एउटा फाइल २ एमबी भन्दा ठुलो हुनुहुँदैन।
  • व्यक्तिगत विवरण हेलो सरकारका सम्बन्धित पदाधिकारीले मात्र हेर्छन्। सम्पर्क गर्न चाहिएला भनेर मागिन्छ।
  • गुनासो दिएपछि ‘स्मरण / स्पष्टीकरण’ बाट सम्झाउन वा थप कुरा भन्न सकिन्छ।

४. बैङ्क र वित्तीय संस्था: नेपाल राष्ट्र बैङ्क

बैङ्क, वित्तीय संस्था, मुद्रा सटही, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीबारे गुनासो राष्ट्र बैङ्कको वित्तीय ग्राहक संरक्षण इकाइ ले सुन्छ। पोर्टल gunaso.nrb.org.np हो; इमेल gunaso@nrb.org.np।

फारममा सेवा प्रदायक र शाखा छानेपछि पहिलो प्रश्न आउँछ: सम्बन्धित वित्तीय सेवा प्रदायकमा यससम्बन्धी गुनासो दर्ता गर्नुभएको छ? त्यहीँ लेखिएको छ: संस्थाको गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गरेर दर्ता गर्न सकिन्छ; राष्ट्र बैङ्कमै दर्ता गर्न चाहे अगाडि बढ्न सकिन्छ। फारममा संस्थाको समाधान किन चित्त बुझेन भन्ने कारण र संस्थाले दिएको जवाफ राख्ने ठाउँ पनि छ। अरू महल यी हुन्: ग्राहकको नाम, मोबाइल, इमेल, प्रदेश, जिल्ला, नगरपालिका वा गाउँपालिका, गुनासोको आधार र विषय, सम्बन्धित कागजात र गुनासोको तथ्यसहितको विवरण। अन्त्यमा दिएको जानकारी सही भन्ने स्वघोषणा हुन्छ। दर्ता नम्बर इमेलमा आउँछ। अन्तिम जवाफ पनि इमेलमै आउँछ।

५. पसल वा सेवा: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३६ अनुसार उपभोक्ताको हितविपरीत काम भएको थाहा पाउने जुनसुकै व्यक्तिले आफूसँग भएको प्रमाणसहित केन्द्रीय बजार अनुगमन समिति, विभाग वा निरीक्षण अधिकृतसमक्ष उजुरी दिन सक्छ। उजुरी लिखित, मौखिक वा विद्युतीय माध्यमबाट दिन सकिन्छ। उजुरी दिनेले नाम गोप्य राख्न चाहे गोप्य राख्नुपर्छ (Complain about a shop the way the law allows)।

विभागको अनलाइन उपभोक्ता उजुरी फारमले यी माग्छ: नाम, स्थायी ठेगाना, सम्पर्क नम्बर र इमेल; पसल वा संस्थाको नाम र ठेगाना (नक्सामा ठाउँ देखाउन पनि सकिन्छ); उजुरीको विषय; थप विवरण र कागजात (पिडिएफ, जेपिजी वा पिएनजी, ५ एमबीसम्म)। विभागको टोल फ्री नम्बर ११३७ हो। उजुरीका लागि इमेल monitoring@doc.gov.np हो।

उजुरीमा प्रायः बिल नै मुख्य प्रमाण हुन्छ। ऐनले बिक्रेतालाई बिल वा रसिद दिने दायित्व दिएको छ (Ask for a bill every time)। चित्त नबुझेको सामान फिर्ता गर्ने कुरा Return what you bought within seven days मा छ।

उजुरीका पाँच भाग

जहाँ दिए पनि, कागजमा लेखे पनि वा अनलाइन फारमको ‘विवरण’ कोठामा, सुनुवाइ हुने उजुरीमा यी पाँच कुरा हुन्छन्:

भाग के लेख्ने उदाहरण
१.घटना के भयो, कहाँ, कहिले, कति २०८३ कात्तिक १८ गते साँझ ६ बजे, चोकको एटीएममा, रु. ५,०००
२.प्रमाण के के साथमा छ एटीएमको पर्ची, खाताको विवरण, फोटो, बिल
३.पहिले के गरियो कसलाई कहिले भनियो, के जवाफ आयो शाखामा कात्तिक १९ मा भनेँ, दर्ता नं. पाएँ
४.माग के चाहियो, कहिलेसम्म काटिएको रकम खातामा फिर्ता
५.सम्पर्क नाम, फोन, इमेल, ठेगाना सही र पूरा

अङ्ग्रेजीमा यही कुरा Write a complaint with facts and a fix मा छ। एक पानाभन्दा छोटो राख्ने, बिलको सक्कल नभई प्रतिलिपि पठाउने र आफ्नो उजुरीको एक प्रति राख्ने सल्लाह पनि त्यहीँ छ।

रिस नपोखी लेख्ने

उजुरी पढ्ने कर्मचारी प्रायः गल्ती गर्ने मान्छे होइन; ऊ तपाईँलाई मद्दत गर्न सक्ने मान्छे हो। व्यङ्ग्य, गाली र धम्की देखेपछि उसले उजुरी पन्छाउन सक्छ (Complain without anger)। राष्ट्र बैङ्कले त अपमानजनक, घृणा वा द्वेष बुझाउने गुनासो सम्बोधन नै नगर्ने भनेको छ।

रिसको ठाउँमा तथ्य राख्नुहोस्:

रिसको वाक्य तथ्यको वाक्य
तपाईँहरू चोर हुनुहुन्छ, ग्राहकको पैसा खानुहुन्छ! कात्तिक १८ गते एटीएमबाट पैसा निस्केन, तर खाताबाट रु. ५,००० कटौती भयो।
यो वडामा कोही काम गर्दैनन्! ढल बगेको तीन हप्ता भयो। कात्तिक १२ गते वडामा मौखिक जानकारी दिएको थिएँ।
अब म सबैलाई भन्छु, यहाँ कोही नआओ! कात्तिक ३० गतेसम्म जवाफ पाउँ।

लेखिसकेपछि एक रात पर्खेर फेरि पढ्नुहोस्। रिसको शब्द आफैँ देखिन्छ (Save an angry message until tomorrow)।

नमुना १: वडाध्यक्षलाई उजुरी

कागजको उजुरी निवेदनकै ढाँचामा लेखिन्छ। यसका भाग निवेदन लेख्ने मा छन्। तलको नमुनामा टोल र मान्छे काल्पनिक छन्।

यसका पाँचै भाग खोज्नुहोस्: घटना (कुन ठाउँ, कहिलेदेखि, कसलाई असर), प्रमाण (फोटो), पहिले के गरियो (कात्तिक १२ को जानकारी), माग (मर्मत र मिति) र सम्पर्क। उजुरी बुझाउँदा आफ्नो प्रतिमा दर्ता नम्बर वा छाप लगाउन भन्नुहोस् (Leave with a receipt or a number)।

नमुना २: अनलाइन फारमको विवरण

अनलाइन फारममा सम्बोधन, विषय र ‘महोदय’ चाहिँदैनन्; नाम र ठेगाना आफ्नै कोठामा जान्छन्। ‘विवरण’ कोठामा पाँच भागका तथ्य मात्र लेख्ने हो। तलको विवरण राष्ट्र बैङ्कको ‘गुनासोको तथ्यसहितको विवरण’ कोठाका लागि हो। बैङ्कको नाम छुट्टै कोठामा छानिन्छ, त्यसैले यहाँ लेखिएको छैन।

सम्बोधन छैन, तर विनम्रता छ। पहिलो अनुच्छेद घटना र प्रमाण, दोस्रो पहिले के गरियो, तेस्रो माग। ‘चोर’ शब्द कतै छैन, तर पढ्नेलाई के भयो र के गर्नुपर्छ, सबै थाहा हुन्छ।

उजुरी दिएपछि

  • दर्ता नम्बर राख्नुहोस्। हेलो सरकारमा हराएको नम्बर फेरि पाइँदैन। कागजको उजुरीमा आफ्नो प्रतिमा छाप वा नम्बर लगाउनुहोस्।
  • अवस्था हेर्नुहोस्। हेलो सरकार र राष्ट्र बैङ्क दुवैमा दर्ता नम्बरले गुनासोको स्थिति हेर्ने ठाउँ छ।
  • समय सीमा। कतिपय उजुरीको म्याद हुन्छ। म्याद नाघे राम्रो कुरा पनि सुनिँदैन (Check the deadline before anything else)।
  • नसुनिए। कारण लिखित माग्नुहोस् र अर्को ढोका खोज्नुहोस् (If you’re refused, ask why in writing)।

सामान्य गल्ती

परीक्षामा

‘उजुरी’ नामै राखेर कुनै परीक्षामा सोधिँदैन। तर एसईईको कक्षा ९–१० को विशिष्टीकरण तालिकाको नमुना प्रश्नपत्रको प्रश्न १३ (क) (४ अङ्क) मा सोधिएको निवेदन उजुरीकै विषयको छ: सार्वजनिक ठाउँमा थुप्रिएको फोहोर समयमै व्यवस्थापन गर्न अनुरोध गर्दै वडाध्यक्षलाई निवेदन। परीक्षामा यस्तो प्रश्न निवेदनकै ढाँचा र अङ्कमा जाँचिन्छ: मिति, सम्बोधन, विषय, मुख्य भाग र निवेदकको भाग। अङ्क कसरी बाँडिन्छन् भन्ने कुरा निवेदन लेख्ने मा छ।

परीक्षामा माथिका पाँच भागले मुख्य भाग बलियो बनाउँछन्: के समस्या, कहिलेदेखि, कसलाई असर, पहिले के गरियो र के माग।

अभ्यास

राष्ट्र बैङ्कको गुनासो फारमले सेवा प्रदायक छानेपछि पहिले के सोध्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

उजुरीको कुन वाक्यले सबैभन्दा छिटो काम गराउँछ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

कक्षाका पाठमा

कक्षा ९ को नेपालीको कार्यालयीय चिठी पाठको अभ्यासमा नेपाल दूरसञ्चार प्राधिकरणको ‘गुनासो दर्तासम्बन्धी सूचना’ छ: पहिले सेवा दिने कम्पनीलाई गुनासो, समाधान नभए प्राधिकरणलाई। कक्षा ९ को निवेदन पाठ निवेदनकै हो; हाम्रो एकाइमा निवेदनको विनम्र भाषा र कडा भाषाको फरक तालिकामा छ। हाम्रा एकाइमा पनि उजुरीका कुरा छन्: कक्षा ८ को मानव अधिकार मा राष्ट्रिय मानव अधिकार आयोगमा कसले उजुरी दिन सक्छ भन्ने बाकस छ। कक्षा १० को यस्तो कहिल्यै नहोस् मा साइबर ठगीपछि प्रहरीमा उजुरी गर्ने बाकस छ। उजुरीको ढाँचा निवेदन लेख्ने पानामा छ; अङ्ग्रेजीमा Write a complaint in five lines हेर्नुहोस्।

यी तथ्य कहाँबाट

← व्यावहारिक नेपाली लेखन