Skip to content

← हाम्रो स्थानीय तह

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

ऐन नं.
संवत् २०७६ सालको ऐन नं. १८
प्रमाणीकरण मिति
२०७६।१०।२८
संशोधन
२०८२।०४।१४ सम्मका १ संशोधनसहित

यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक दफामा त्यसको पृष्ठ दिइएको छ।

संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।

विषयसूची (५३)

परिच्छेद–१: प्रारम्भिक

  1. १.संक्षिप्‍त नाम र प्रारम्भ
  2. २.परिभाषा

परिच्छेद–२: राष्‍ट्रिय परिचयपत्र तथा परिचय नम्बर

  1. ३.परिचयपत्र लागू हुने
  2. ४.परिचयपत्र प्राप्‍त गर्ने योग्यता
  3. ५.जानकारी गराउने दायित्व
  4. ६.परिचय नम्बर
  5. ७.परिचयपत्र प्राप्‍त गर्न निवेदन दिनु पर्ने
  6. ८.निवेदन उपर छानबिन गर्ने
  7. ९.परिचयपत्र प्रदान गर्ने
  8. १०.परिचयपत्रको मान्यता र प्रयोग
  9. ११.अभिलेख राख्‍ने
  10. १२.विवरण सच्याउन सक्ने
  11. १३.परिचयपत्र रद्द गर्ने
  12. १४.परिचयपत्र कायम नरहने
  13. १५.छानबिनको अभिलेखीकरण
  14. १६.प्रतिलिपि सम्बन्धी व्यवस्था

परिच्छेद–३: पञ्‍जीकरण सम्बन्धी व्यवस्था

  1. १७.पञ्‍जिकाधिकारी
  2. १८.व्यक्तिगत घटनाको सूचना
  3. १९.व्यक्तिगत घटना दर्ता गर्ने
  4. २०.प्रमाणपत्र दिने
  5. २१.दर्ता गर्न तथा प्रमाणपत्र दिन नहुने
  6. २२.दर्ताको प्रमाणपत्रको नक्कल दिन सकिने
  7. २३.परिवारको लगत तयार गर्न कर्मचारी खटाउन सकिने
  8. २४.दर्ताको मान्यता
  9. २५.विवरण सच्याउन सक्ने
  10. २६.व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न सकिने
  11. २७.विवरण पठाउनु पर्ने
  12. २८.सहयोग गर्नु पर्ने
  13. २९.घटना दर्ता सम्बन्धी विशेष व्यवस्था

परिच्छेद–४: विद्युतीय तथ्‍याङ्‍क भण्डार व्यवस्थापन

  1. ३०.विद्युतीय तथ्‍याङ्‍क भण्डार स्थापना गर्ने
  2. ३१.अन्य निकायले सङ्‍कलन गरेको विवरण प्रयोग गर्न सकिने
  3. ३२.विवरण अद्यावधिक गर्ने
  4. ३३.जैविक तथा वैयक्तिक विवरण गोप्य रहने
  5. ३४.तथ्‍याङ्‍क भण्डारको पहुँच तथा उपयोग
  6. ३५.तथ्‍याङ्‍क भण्डारको सुरक्षा

परिच्छेद–५: संस्थागत व्यवस्था

  1. ३६.निर्देशन दिन सक्ने
  2. ३७.समन्वय समिति
  3. ३८.समन्वय समितिको काम, कर्तव्य र अधिकार
  4. ३९.राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग
  5. ४०.महानिर्देशक

परिच्छेद–६: कसुर र सजाय

  1. ४१.कसुर र सजाय
  2. ४२.मुद्दा हेर्ने अधिकारी
  3. ४३.संक्षिप्त कार्यविधि अपनाउने
  4. ४४.नेपाल सरकार वादी हुने

परिच्छेद–७: विविध

  1. ४५.विवरण सङ्‍कलन तथा राष्‍ट्रिय परिचयपत्र वितरण
  2. ४६.शान्ति सुरक्षाको व्यवस्था
  3. ४७.छुट्टै परिचयपत्र जारी गर्न सकिने
  4. ४८.एकीकृत प्रणाली अवलम्बन गरिने
  5. ४९.अधिकार प्रत्यायोजन
  6. ५०.नियम बनाउने अधिकार
  7. ५१.निर्देशिका वा कार्यविधि बनाउने अधिकार
  8. ५२.प्रचलित कानून बमोजिम हुने
  9. ५३.खारेजी र बचाउ

प्रस्तावना

प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्‍ने व्यक्तिका वैयक्तिक र जैविक विवरण तथा राष्‍ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी राष्‍ट्रिय परिचयपत्र प्रदान गर्ने, एकीकृत राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको विकास गरी सो प्रणालीलाई राज्यबाट उपलब्ध सेवा सुविधा र राष्‍ट्रिय विकास योजना एवम् सुरक्षा व्यवस्थासँग आबद्ध गर्ने तथा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, सङ्‍घीय संसदले यो ऐन बनाएको छ।

परिच्छेद–१प्रारम्भिक

संक्षिप्‍त नाम र प्रारम्भपृ. १

(१)

यस ऐनको नाम “राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण ऐन, २०७६” रहेको छ।

(२)

यो ऐन तुरून्त प्रारम्भ हुनेछ।

परिभाषापृ. १

विषय वा प्रसङ्‍गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क)

“जैविक विवरण” भन्‍नाले दफा ७ को उपदफा (३) बमोजिमको जैविक विवरण सम्झनु पर्छ।

(ख)

“तथ्‍याङ्‍क भण्डार” भन्‍नाले दफा ३० बमोजिमको विद्युतीय तथ्‍याङ्‍क भण्डार (इलेक्ट्रोनिक डाटा) सम्झनु पर्छ र सो शब्दले तथ्‍याङ्‍क भण्डारण गर्ने प्रयोजनका लागि खडा गरिएको अभिलेख पुस्तिका वा विद्युतीय अभिलेखलाई समेत जनाउँछ।

(ग)

“तोकिएको” वा “तोकिए बमोजिम” भन्‍नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

(घ)

“दर्ता किताब” भन्‍नाले पञ्‍जीकरण तथा नागरिक अभिलेख राख्न खडा गरिएको अभिलेख दर्ता पुस्तिका सम्झनु पर्छ र सो शब्दले आधुनिक सूचना प्रविधिको प्रयोग गरी निर्माण गरिएको तथ्‍याङ्‍क भण्डारलाई समेत जनाउँछ।

(ङ)

“पञ्‍जीकरण” भन्‍नाले नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्‍ने तथा व्यक्तिगत घटना दर्ता गर्ने कार्य सम्झनु पर्छ।

(च)

“पञ्‍जिकाधिकारी” भन्‍नाले दफा १७ अनुसारको पञ्‍जिकाधिकारी (रजिष्‍ट्रार) सम्झनु पर्छ।

(छ)

“परिचय नम्बर” भन्‍नाले दफा ६ बमोजिम प्रदान गरिएको राष्‍ट्रिय परिचय नम्बर सम्झनु पर्छ।

(ज)

“परिचयपत्र” भन्‍नाले दफा ९ बमोजिम प्रदान गरिएको राष्‍ट्रिय परिचयपत्र सम्झनु पर्छ।

(झ)

“परिचयपत्र प्राप्‍त गर्न योग्य व्यक्ति” भन्‍नाले दफा ४ बमोजिम योग्यता पुगेको व्यक्ति सम्झनु पर्छ।

(ञ)

“बसाइँ सराइ” भन्‍नाले नेपालभित्र एक स्थानीय तहबाट अर्को स्थानीय तहको क्षेत्रमा वा एउटै स्थानीय तहको एक वडाबाट अर्को वडामा स्थायी रुपमा बसाइँ सर्ने कार्य सम्झनु पर्छ र सो शब्दले विदेशमा बसाइँ सरी जाने वा विदेशबाट बसाइँ सरी नेपालमा आउने कार्य तथा एक सय असी दिनभन्दा बढी अवधिको लागि अस्थायी रुपमा बसाइँ सर्ने कार्यलाई समेत जनाउँछ।

(ट)

“मन्त्रालय” भन्‍नाले नेपाल सरकारको गृह मन्त्रालय सम्झनु पर्छ।

(ठ)

“महानिर्देशक” भन्‍नाले विभागको महानिर्देशक सम्झनु पर्छ।

(ड)

“राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली” भन्‍नाले राष्‍ट्रिय परिचयपत्र वितरणका लागि नागरिकका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा, सुविधा र विकास योजनासँग आबद्ध गर्ने प्रयोजनका लागि नेपाल सरकारले स्थापना गरेको विद्युतीय प्रविधिमा आधारित तथ्‍याङ्‍क भण्डारण प्रणाली सम्झनु पर्छ।

(ढ)

“विभाग” भन्‍नाले राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग सम्झनु पर्छ।

(ण)

“वैयक्तिक विवरण” भन्‍नाले व्यक्तिको परिचय खुल्ने नाम, थर, ठेगाना, लिङ्ग, जन्म मिति, बाबु, आमा, पति, पत्‍नी, बाजे, बज्यैको नाम तथा सोसँग सम्बन्धित विवरण सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारको कुनै कार्यालय वा निकायमा रहेको व्यक्तिको योग्यता, पेशा, व्यवसाय, आय, स्वामित्व सम्बन्धी व्यक्तिगत विवरणलाई समेत जनाउँछ।

(त)

“व्यक्तिगत घटना” भन्‍नाले कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइँ सराइ सम्झनु पर्छ।

(थ)

“समन्वय समिति” भन्‍नाले दफा ३७ बमोजिमको समन्वय समिति सम्झनु पर्छ।

(द)

“स्थानीय अधिकारी” भन्‍नाले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य अधिकारीलाई समेत जनाउँछ।

(ध)

“स्थानीय तह” भन्‍नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।

परिच्छेद–२राष्‍ट्रिय परिचयपत्र तथा परिचय नम्बर

परिचयपत्र लागू हुनेपृ. ३

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको जिल्लामा त्यस्तो सूचनामा तोकिएको मिति देखि राष्‍ट्रिय परिचयपत्र लागू हुनेछ।

परिचयपत्र प्राप्‍त गर्ने योग्यतापृ. ३

(१)

प्रचलित कानून बमोजिम नेपालको नागरिकता प्राप्‍त गरेको वा नेपालको नागरिकता प्राप्‍त गर्न योग्यता पुगेको व्यक्ति यस ऐन बमोजिम राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गर्न योग्य हुनेछ। कुनै पनि नेपाली नागरिकलाई राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गर्नबाट वञ्चित गरिने छैन।

(२)

उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नागरिकता प्राप्‍त गर्ने उमेर पूरा नभएको नेपाली नागरिकले तोकिए बमोजिमको नाबालक राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गर्न सक्नेछ।

जानकारी गराउने दायित्वपृ. ३

परिचय नम्बर र परिचयपत्रको लागि आवश्यक पर्ने विवरण उपलब्ध गराउने, परिचयपत्र नम्बर सहितको परिचयपत्र लिने तथा परिचयपत्रमा उल्लिखित विवरणमा हेरफेर भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको जानकारी स्थानीय अधिकारीलाई गराउने दायित्व सम्बन्धित व्यक्तिको हुनेछ।

परिचय नम्बरपृ. ४

(१)

परिचयपत्र प्रदान गर्ने क्रममा परिचयपत्र प्राप्‍त गर्न योग्य व्यक्तिलाई नदोहोरिने गरी महानिर्देशकबाट राष्‍ट्रिय परिचय नम्बर प्रदान गरिनेछ।

(२)

परिचय नम्बर प्राप्‍त व्यक्तिको मृत्यु भएको वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्द भएको वा कायम नरहेको अवस्थामा समेत उपदफा (१) बमोजिमको परिचय नम्बर कायमै रहनेछ।

(३)

दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा बसोबास गर्ने नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दाको बखत स्थानीय पञ्‍जिकाधिकारीले विभागबाट तोकिए बमोजिम परिचय नम्बर प्राप्‍त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नु पर्नेछ।

(४)

उपदफा (३) बमोजिम परिचय नम्बर प्रदान गर्न सम्बन्धित व्यक्तिको जैविक विवरण आवश्यक पर्ने छैन।

(५)

उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक राष्‍ट्रिय परिचयपत्र प्रदान गर्नु पर्ने अवस्थामा तोकिए बमोजिमका वैयक्तिक तथा जैविक विवरण समेत उपलब्ध गराउनु पर्नेछ।

तर नाबालक राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गरेको व्यक्तिले यस ऐन बमोजिम राष्‍ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण उपलब्ध गराउनु पर्नेछ।

(६)

परिचय नम्बर सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

परिचयपत्र प्राप्‍त गर्न निवेदन दिनु पर्नेपृ. ४

(१)

दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा बसोबास गर्ने र त्यसरी परिचयपत्र लागू हुँदाका बखत सोह्र वर्ष उमेर पुगेका व्यक्तिले सो जिल्लामा परिचयपत्र लागू भएको मितिले दुई वर्षभित्र र परिचयपत्र लागू भएपछि सोह्र वर्ष उमेर पुग्ने व्यक्तिले उमेर पुगेको मितिले दुई वर्षभित्र परिचयपत्र प्राप्‍त गर्नको लागि स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२)

उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले परिचय नम्बर प्राप्‍त गरेको भए त्यस्तो परिचय नम्बर र परिचय नम्बर प्राप्‍त नगरेको भए सोही व्यहोरा खुलाउनु पर्नेछ।

(३)

उपदफा (१) बमोजिमको निवेदन प्राप्‍त भएपछि स्थानीय अधिकारीले निवेदन दिने व्यक्तिको स्पष्ट मुखाकृति देखिने गरी विद्युतीय (डिजिटल) तस्वीर, दुवै हातका दश औंलाको विद्युतीय छाप, आँखाको नानी (आइरिस), हस्ताक्षर लगायतका तोकिए बमोजिमका वैयक्तिक तथा जैविक विवरण लिनु पर्नेछ।

तर जैविक विवरणहरू सङ्‍कलन गर्दा कुनै वा सबै औंला नभएका व्यक्तिका हकमा सो व्यहोराको कैफियत जनाई सम्भव भएसम्मका जैविक विवरण लिइनेछ।

(४)

उपदफा (१) बमोजिमको अवधिभित्र परिचयपत्रको लागि निवेदन नदिने व्यक्तिले सो अवधिपछि परिचयपत्र माग गरी निवेदन दिएमा त्यस्तो व्यक्तिले तोकिए बमोजिमको विलम्ब दस्तुर समेत बुझाउनु पर्नेछ।

(५)

यस दफा बमोजिम दिने निवेदनको ढाँचा तथा निवेदन साथ पेश गर्नु पर्ने कागजातको विवरण तोकिए बमोजिम हुनेछ।

(६)

यस दफा बमोजिम निवेदन दिँदा तोकिए बमोजिम विद्युतीय ढाँचामा समेत दिन सक्ने व्यवस्था मिलाइनेछ।

निवेदन उपर छानबिन गर्नेपृ. ५

(१)

दफा ७ बमोजिम पर्न आएको निवेदनको आधारमा स्थानीय अधिकारीले आवश्यक छानबिन गर्नेछ।

(२)

उपदफा (१) बमोजिम स्थानीय अधिकारीले आवश्यक छानबिनको क्रममा कुनै थप कागजात वा विवरण आवश्यक भएमा निवेदकसँग त्यस्तो कागजात वा विवरण माग गर्न तथा थप छानबिन गर्न सक्नेछ।

(३)

उपदफा (१) बमोजिम स्थानीय अधिकारीले गरेको छानबिनबाट निवेदक परिचयपत्र प्राप्‍त गर्न योग्य भएमा यस ऐन बमोजिम आवश्यक पर्ने वैयक्तिक र जैविक विवरण प्राप्‍त भएपछि परिचयपत्र उपलब्ध गराउनका लागि विभाग समक्ष सिफारिस गर्नेछ।

परिचयपत्र प्रदान गर्नेपृ. ५

(१)

दफा ७ बमोजिम प्राप्‍त निवेदन तथा दफा ८ बमोजिम परिचयपत्र उपलब्ध गराउनको लागि सिफारिस भएका व्यक्तिको निवेदन सहितको विवरण अभिलेख राख्‍ने तथा प्रशोधन गर्ने प्रयोजनका लागि स्थानीय अधिकारीले विभागमा पठाउनु पर्नेछ।

(२)

उपदफा (१) बमोजिम प्राप्‍त विवरणको अभिलेख कायम गरी महानिर्देशकले जैविक विवरण, विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्टकार्ड प्रविधिमा आधारित राष्‍ट्रिय परिचयपत्र जारी गर्नेछ।

(३)

परिचयपत्रको दृश्य भागमा सम्बन्धित व्यक्तिको देहायका विवरण देखिने गरी उल्लेख गरिनेछः-

(क)

नाम, थर,

(ख)

जन्ममिति,

(ग)

लिङ्ग,

(घ)

राष्‍ट्रियता,

(ङ)

परिचय नम्बर,

(च)

फोटो,

(छ)

परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी,

(ज)

स्थायी ठेगाना,

(झ)

नागरिकताको किसिम र नागरिकता नम्बर (नागरिकताको प्रमाणपत्र प्राप्‍त व्यक्तिको हकमा)।

(४)

परिचयपत्र प्राप्‍त गर्न निवेदन दिने नेपाली नागरिकता प्राप्‍त व्यक्तिलाई नागरिकताको आधारमा र नागरिकता प्राप्‍त नगरेको तर नेपाली नागरिकता प्राप्‍त गर्न योग्य व्यक्तिलाई तोकिए बमोजिमका प्रमाणको आधारमा परिचयपत्र प्रदान गरिनेछ।

(५)

नाबालक राष्‍ट्रिय परिचयपत्रको लागि संलग्न गर्नु पर्ने विवरण, परिचयपत्रको ढाँचा लगायतका अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ।

परिचयपत्रको मान्यता र प्रयोगपृ. ६

(१)

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि परिचयपत्र लागू भएपछि नेपाल सरकारको स्वामित्वमा रहेको निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्‍त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेश गर्नु पर्नेछ।

तर परिचय नम्बरको आधारमा निजको विवरण हेर्न मिल्ने अवस्थामा परिचयपत्र नभए पनि परिचय नम्बरको आधारमा त्यस्तो सुविधा प्राप्‍त गर्न सक्नेछ।

(२)

परिचयपत्रलाई सार्वजनिक सेवा प्राप्तिको लागि मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइनेछ।

(३)

सरकारी तथा निजी संस्थाले कुनै सेवा दिनको लागि कुनै परिचयपत्र जारी गरेको वा सोको लागि कुनै परिचयपत्र आवश्यक पर्ने व्यवस्था रहेकोमा त्यस्तो परिचयपत्रको सट्टा यस ऐन बमोजिमको परिचय नम्बर वा परिचयपत्रलाई उपयोग गर्न सकिनेछ।

(४)

उपदफा (३) बमोजिम परिचय नम्बर वा परिचयपत्र उपयोग गर्ने प्रयोजनको लागि सरकारी तथा निजी संस्थाले आवश्यक पूर्वाधार निर्माण गरी यस ऐन बमोजिम सङ्‍कलन भएको विवरणमध्ये तोकिए बमोजिमका विवरणमा त्यस्तो संस्थालाई तोकिए बमोजिमको दस्तुर लिई मन्त्रालयले पहुँच उपलब्ध गराउन सक्नेछ।

(५)

प्रचलित कानून बमोजिम कुनै प्रयोजनको लागि जारी भएका परिचयपत्र वा प्रमाणपत्रमा समावेश हुने विवरण यस ऐन बमोजिम राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भइसकेपछि त्यस्ता परिचयपत्र वा प्रमाणपत्रको काम राष्‍ट्रिय परिचयपत्रबाटै हुन सक्ने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ।

(६)

परिचयपत्रको मान्यता र प्रयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

अभिलेख राख्‍नेपृ. ७

(१)

यस ऐन बमोजिम प्रदान गरिने परिचयपत्रको विद्युतीय चीप्स र राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा परिचयपत्र वा परिचय नम्बर प्रदान गरिएको व्यक्तिको देहाय बमोजिमको विवरणको अभिलेख राख्नु पर्नेछः-

(क)

नाम, थर,

(ख)

जन्म मिति,

(ग)

लिङ्ग,

(घ)

राष्‍ट्रियता,

(ङ)

राष्‍ट्रिय परिचय नम्बर,

(च)

परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी,

(छ)

फोटो,

(ज)

ठेगाना (स्थायी र अस्थायी),

(झ)

नागरिकताको किसिम र नागरिकता नम्बर (नागरिकताको प्रमाणपत्र प्राप्‍त व्यक्तिको हकमा),

(ञ)

जैविक विवरण,

(ट)

बाबु, आमाको नाम,

(ठ)

बाजे, बज्यैको नाम,

(ड)

पति वा पत्‍नीको नाम,

(ढ)

तोकिए बमोजिमका अन्य विवरण।

(२)

परिचयपत्र प्राप्‍त गरेका व्यक्तिको वैयक्तिक तथा जैविक विवरण अद्यावधिक गर्ने र त्यसको आधारमा अद्यावधिक परिचयपत्र उपलब्ध गराउने कार्यविधि तोकिए बमोजिम हुनेछ।

विवरण सच्याउन सक्नेपृ. ८

(१)

परिचयपत्रमा उल्लिखित विवरणमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोकिए बमोजिमको ढाँचामा तोकिएको निकाय वा अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२)

उपदफा (१) बमोजिमको निवेदनको आधारमा विवरण सच्याउन सकिनेछ।

(३)

यस दफा बमोजिम विवरण सच्याउँदा परिचय नम्बर परिवर्तन हुने छैन।

परिचयपत्र रद्द गर्नेपृ. ८

(१)

१मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारीले देहायको कुनै अवस्थामा परिचयपत्र रद्द गर्न सक्नेछ:-

(क)

दफा ४ बमोजिम योग्यता नपुगेको व्यक्तिले परिचयपत्र लिएमा,

(ख)

झुट्टा विवरण पेश गरी परिचयपत्र लिएमा,

(ग)

विदेशी नागरिकले यस ऐन विपरीत परिचयपत्र लिएमा,

(घ)

परिचयपत्र प्राप्‍त गरेको व्यक्ति नेपालको नागरिक नरहेमा।

(२)

उपदफा (१) बमोजिम परिचयपत्र रद्द गर्ने निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।

परिचयपत्र कायम नरहनेपृ. ८

(१)

परिचयपत्र प्राप्‍त व्यक्तिको मृत्यु भएमा मृतकको परिचयपत्र कायम रहने छैन।

(२)

उपदफा (१) बमोजिम परिचयपत्र कायम नरहेको अवस्थामा सोको अभिलेख अद्यावधिक गरी तथ्‍याङ्‍क भण्डार तथा अभिलेखमा रहेको मृतकको विवरण सुरक्षित राखिनेछ।

छानबिनको अभिलेखीकरणपृ. ९

(१)

कुनै व्यक्तिले प्राप्‍त गरेको परिचयपत्र दफा १३ बमोजिम रद्द गर्ने कारबाही प्रारम्भ भएकोमा कारबाहीको टुङ्गो नलागेसम्म परिचयपत्रको प्रयोग गर्न नपाइने गरी कारबाहीको क्रममा रहेको व्यहोरा विभागले सम्बन्धित व्यक्तिको परिचयपत्र सम्बन्धी विद्युतीय अभिलेखमा जनाउनेछ।

(२)

उपदफा (१) बमोजिमको कारबाहीबाट परिचयपत्र कायम हुने देखिएमा सो छानबिनको अभिलेख तथ्‍याङ्‍क भण्डारमा मात्र रहने व्यवस्था मिलाइनेछ।

प्रतिलिपि सम्बन्धी व्यवस्थापृ. ९

(१)

यस ऐन बमोजिम लिएको परिचयपत्र हराएमा, नासिएमा, काम नलाग्ने भएमा, परिचयपत्रको दृश्य भागमा रहेको विवरण परिवर्तन गर्नु पर्ने भएमा वा अन्य कारणबाट परिचयपत्रको प्रयोग हुन नसक्ने अवस्थामा सोको प्रतिलिपि लिन सम्बन्धित व्यक्तिले तोकिएको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२)

उपदफा (१) बमोजिम निवेदन परेमा र सो सम्बन्धमा छानबिन गर्दा व्यहोरा साँचो ठहरिएमा स्थानीय अधिकारीले सिफारिस सहित विभागमा पठाउनु पर्नेछ र विभागले सोको अभिलेख जनाई तोकिए बमोजिमको दस्तुर लिई निजलाई परिचयपत्रको प्रतिलिपि प्रदान गर्नेछ।

(३)

परिचयपत्रको प्रतिलिपि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

परिच्छेद–३पञ्‍जीकरण सम्बन्धी व्यवस्था

पञ्‍जिकाधिकारीपृ. ९

(१)

यस ऐनको प्रयोजनको लागि विभागको महानिर्देशक केन्द्रीय पञ्‍जिकाधिकारी (रजिष्‍ट्रार) को रुपमा रहनेछ।

(२)

प्रत्येक गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयको प्रशासकीय प्रमुखको रुपमा कामकाज गर्न अधिकार प्राप्‍त कर्मचारी, विदेशस्थित नेपाली नियोगमा पञ्‍जीकरण सम्बन्धी कार्य गर्न तोकिएको अधिकृत तथा महानिर्देशकले तोकेका अन्य पदाधिकारीले केन्द्रीय पञ्‍जिकाधिकारीको मातहतमा रहने गरी स्थानीय पञ्‍जिकाधिकारी (रजिष्‍ट्रार) को रुपमा कार्य गर्नु पर्नेछ।

(३)

पञ्‍जीकरण व्यवस्थापनका लागि प्रत्येक वडा कार्यालय तथा मन्त्रालयले तोकिदिएका अन्य कार्यालयले स्थानीय पञ्‍जीकरण कार्यालयको रुपमा कार्य गर्नेछ।

व्यक्तिगत घटनाको सूचनापृ. १०

(१)

देहायको अवस्थामा देहायका व्यक्तिले व्यक्तिगत घटना दर्ता गराउनको लागि त्यस्तो घटना घटेको पैंतीस दिनभित्र तोकिए बमोजिमको फाराम भरी स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा सूचना गर्नु पर्नेछः-

(क)

जन्मको सूचना बाबु वा आमाले र निजहरुको अनुपस्थितिमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले,

(ख)

मृत्युको सूचना बाबु, आमा, पति, पत्‍नी, छोरा वा छोरीले र निजहरुको अनुपस्थितिमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले,

(ग)

विवाहको सूचना पति पत्‍नी दुवैले,

(घ)

सम्बन्ध विच्छेदको सूचना सम्बन्ध विच्छेद भएका सम्बन्धित व्यक्तिमध्ये कुनै एकले,

(ङ)

बसाइँ सराइको सूचना परिवारको अठार वर्ष उमेर पुगेको व्यक्तिले।

(२)

व्यक्तिगत घटना नेपालबाहिर घटेको भए उपदफा (१) बमोजिम सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्तिले पैंतीस दिनभित्र सम्बन्धित नियोगमा वा नेपाल आएपछि पैंतीस दिनभित्र स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा सूचना दिनु पर्नेछ।

(३)

उपदफा (१) बमोजिम व्यक्तिगत घटनाको सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्तिले त्यस्तो सूचना दर्ता गराउनको लागि कुनै व्यक्तिलाई अधिकृत वारेसनामा दिन सक्नेछ।

(४)

उपदफा (१) बमोजिम व्यक्तिगत घटनाको सूचना दिनु पर्ने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा तोकिए बमोजिमको व्यक्तिले त्यस्तो सूचना दिनु पर्नेछ।

(५)

यस दफा बमोजिम व्यक्तिगत घटनाको सूचना दिँदा तोकिए बमोजिम विद्युतीय माध्यमबाट दिने व्यवस्था मिलाउन सकिनेछ।

व्यक्तिगत घटना दर्ता गर्नेपृ. १०

(१)

दफा १८ बमोजिमको सूचना प्राप्‍त हुनासाथ स्थानीय पञ्‍जिकाधिकारी वा नियोगको अधिकार प्राप्‍त कर्मचारीले देहाय बमोजिम गरी त्यस्तो घटना सम्बन्धित दर्ता किताबमा दर्ता गर्नेछः-

(क)

सूचना दिन आउने व्यक्तिले भरेको फाराम ठीक छ छैन जाँची ठीक नभए ठीक गर्न लगाई, र

(ख)

सूचना गर्न आउने व्यक्ति लेखपढ गर्न नजान्‍ने भए निजले भने बमोजिम आफैंले फाराम भरी वा भर्न लगाई पढी वाची निजको ल्याप्चे सहीछाप गराई।

(२)

सम्बन्ध विच्छेदको सूचना दर्ता गर्दा सो सम्बन्धमा अदालतबाट भएको निर्णय समेत हेरी दर्ता गर्नु पर्नेछ।

(३)

दफा १८ को उपदफा (१) वा (२) बमोजिमको म्याद नाघेपछि व्यक्तिगत घटनाको दर्ता गराउन आएमा तोकिए बमोजिमको विलम्ब शुल्क लिई त्यस्तो व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।

(४)

यस दफा बमोजिम व्यक्तिगत घटना दर्ता भएपछि स्थानीय पञ्‍जिकाधिकारी वा नियोगले सोको विवरण विभाग समक्ष पठाउनु पर्नेछ।

(५)

उपदफा (४) बमोजिम प्राप्‍त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको वैयक्तिक अभिलेखमा विवरण अद्यावधिक गर्नु पर्नेछ।

(६)

नेपालमा रहेको विदेशीको कुनै व्यक्तिगत घटना दर्ता गर्नु पर्ने भएमा तोकिए बमोजिमको प्रमाण सहित आफू बसोबास गरेको स्थानको स्थानीय पञ्‍जिकाधिकारी समक्ष सूचना गर्नु पर्नेछ।

(७)

उपदफा (६) बमोजिम सूचना गर्दा नेपालमा कूटनीतिक नियोग रहेको विदेशी नागरिकको हकमा सम्बन्धित कूटनीतिक नियोगको सिफारिस समेत पेश गर्नु पर्नेछ।

(८)

उपदफा (६) बमोजिम सूचना प्राप्‍त भएपछि स्थानीय पञ्‍जिकाधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो विदेशीको व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।

(९)

नेपालमा रहेका विदेशीको व्यक्तिगत घटनाको सूचना दिने तथा व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

प्रमाणपत्र दिनेपृ. ११

(१)

दफा १९ बमोजिम व्यक्तिगत घटनाको सूचना दर्ता भएपछि स्थानीय पञ्‍जिकाधिकारीले दफा १८ को उपदफा (१) बमोजिमका व्यक्तिलाई व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिनेछ।

(२)

दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा बसोबास गर्ने व्यक्तिको मृत्यु दर्ता बाहेक अन्य व्यक्तिगत घटना दर्ता गर्दा यस ऐन बमोजिम परिचय नम्बर प्राप्‍त भएपछि मात्र त्यस्तो व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र जारी गर्नु पर्नेछ।

(३)

यस दफा बमोजिम व्यक्तिगत घटनाको प्रमाणपत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

दर्ता गर्न तथा प्रमाणपत्र दिन नहुनेपृ. १२

(१)

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम स्वत: बदर हुने विवाह लगायतका व्यक्तिगत घटनाको दर्ता गर्न तथा सोको प्रमाणपत्र दिनु हुँदैन।

(२)

उपदफा (१) बमोजिम व्यक्तिगत घटना दर्ता गर्न ल्याएमा सो घटनाको छुट्टै अभिलेख राखी सो सम्बन्धमा प्रचलित कानून बमोजिमको कारबाही गर्न सम्बन्धित निकाय वा अधिकारी समक्ष पेश गर्नु पर्नेछ।

(३)

यस दफामा लेखिएको कुनै कुराले स्वत: बदर हुने विवाहको परिणामबाट जन्मिएका शिशुको जन्म दर्ता गर्नु पर्ने विषयलाई प्रतिकूल असर पार्ने छैन।

दर्ताको प्रमाणपत्रको नक्कल दिन सकिनेपृ. १२

(१)

दफा २० बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र हराएमा वा कुनै प्रकारले नष्‍ट भएमा वा प्रयोगमा आउन नसक्ने कुरा प्रमाणित भएमा सरोकारवाला व्यक्तिले सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२)

उपदफा (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब देखेमा सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीले तोकिएको दस्तुर लिई दर्ताको प्रमाणपत्रको नक्कल दिनेछ।

परिवारको लगत तयार गर्न कर्मचारी खटाउन सकिनेपृ. १२

(१)

व्यक्तिगत घटना दर्ता गर्ने तथा नागरिक अभिलेख तयार गर्ने प्रयोजनको लागि लगत तयार पार्न आवश्यक देखिएमा मन्त्रालयले सो कामको लागि कर्मचारी खटाउन सक्नेछ।

(२)

उपदफा (१) बमोजिम खटिएको कर्मचारीले मागेको विवरण वा सोधिएको प्रश्नावलीको जवाफ दिनु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।

दर्ताको मान्यतापृ. १२

दफा २० बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र व्यक्तिगत घटना भएको प्रमाण हुनेछ। त्यस्तो प्रमाण कुनै पनि कार्यालय र अदालतमा पेश गर्न तथा वैयक्तिक कारोबारमा प्रयोग गर्न सकिनेछ।

तर कुनै व्यक्तिले झुट्टा विवरण दाखिल गरी दर्ताको प्रमाणपत्र लिएको रहेछ भन्ने कुरा प्रमाणित भएमा स्थानीय अधिकारीबाट त्यस्तो दर्ताको प्रमाणपत्र रद्द हुनेछ।

विवरण सच्याउन सक्नेपृ. १२

१(१)

कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ।

(२)

उपदफा (१) बमोजिम दिएको दरखास्त प्राप्‍त हुन आएपछि स्थानीय पञ्‍जिकाधिकारीले सो सम्बन्धमा छानबिन गरी उपयुक्त देखिएमा दर्ता किताब र दर्ताको प्रमाणपत्रमा रहेको उमेर, नाम, थर वा अन्य विवरण २एक पटक सच्याई दिन सक्नेछ।

(३)

उपदफा (२) बमोजिमको विवरण सच्याएको जानकारी स्थानीय पञ्‍जिकाधिकारीले विभागलाई समेत उपलब्ध गराउनु पर्नेछ। यसरी प्राप्‍त विवरणको आधारमा विभागले सम्बन्धित व्यक्तिको परिचय नम्बर रहेकोमा सो परिचय नम्बरमा रहेको त्यस्तो व्यक्तिको विवरणमा समेत सो विवरण सच्याउनु पर्नेछ।

(४)

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको दर्ता किताबमा र प्रदान गरिएको दर्ताको प्रमाणपत्रमा रहेको कुनै व्यक्तिको १विवरण एकपटक भन्दा बढी सच्याउन पाइने छैन।

व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न सकिनेपृ. १३

सम्बन्धित व्यक्तिले सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न चाहेमा तोकिएको दस्तुर लिई सम्बन्धित पञ्‍जिकाधिकारीले दर्ता किताब हेर्न दिनु पर्नेछ।

विवरण पठाउनु पर्नेपृ. १३

(१)

स्थानीय पञ्‍जिकाधिकारीले प्रत्येक महिना दर्ता भएको व्यक्तिगत घटनाको विवरण केन्द्रीय पञ्‍जिकाधिकारी तथा प्रदेश सरकारको सम्बन्धित निकाय समक्ष यथाशीघ्र पठाउनु पर्नेछ।

(२)

उपदफा (१) बमोजिम प्राप्‍त भएको विवरणको आधारमा केन्द्रीय पञ्‍जिकाधिकारी तथा प्रदेश सरकारको सम्बन्धित निकायले अभिलेख अद्यावधिक गरी वार्षिक प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ।

सहयोग गर्नु पर्नेपृ. १३

(१)

यो ऐन बमोजिम दर्ता गराउनु पर्ने व्यक्तिगत घटना भएको थाहा पाएमा सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयले सम्बन्धित व्यक्तिलाई सम्झाइ बुझाइ त्यस्तो घटनाको सूचना दर्ता गर्ने सम्बन्धमा आवश्यक सहयोग गर्नु पर्नेछ।

(२)

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्नु पर्ने राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण सम्बन्धी कामको सिलसिलामा खटिएका कर्मचारी वा पञ्‍जिकाधिकारीलाई आवश्यक सहयोग पुर्‍याउनु सम्बन्धित गाउँपालिका तथा नगरपालिका र स्थानीय प्रशासन सञ्‍चालन गर्ने निकायको कर्तव्य हुनेछ।

घटना दर्ता सम्बन्धी विशेष व्यवस्थापृ. १४

(१)

प्रचलित कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्‍ने व्यक्तिले सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारी समक्ष सोको सूचना दर्ता गर्नु पर्नेछ।

(२)

कुनै व्यक्तिको मृत बच्चा जन्मिएको वा बच्चा जन्मिनासाथ मृत्यु भएकोमा स्थानीय पञ्‍जिकाधिकारी समक्ष सोको सूचना दर्ता गराउन सकिनेछ।

(३)

उपदफा (१) वा (२) बमोजिम परेको सूचना दर्ता गर्ने तथा सो बमोजिमको घटना दर्ता गरी प्रमाणपत्र दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

परिच्छेद–४विद्युतीय तथ्‍याङ्‍क भण्डार व्यवस्थापन

विद्युतीय तथ्‍याङ्‍क भण्डार स्थापना गर्नेपृ. १४

(१)

यस ऐन बमोजिम सङ्‍कलन गरिएका वैयक्तिक तथा जैविक विवरणहरुको एकीकृत भण्डार तथा उपयोग गर्न केन्द्रीय विद्युतीय तथ्‍याङ्‍क भण्डार रहनेछ।

(२)

उपदफा (१) बमोजिम स्थापना भएको तथ्‍याङ्‍क भण्डार र विभिन्‍न सरकारी कार्यालय तथा निकायहरुमा रहेका तथ्‍याङ्‍क भण्डारबीच सम्पर्क (लिङ्‍क) को व्यवस्था गरिनेछ।

(३)

उपदफा (१) बमोजिमको तथ्‍याङ्‍क भण्डारमा प्रचलित कानून बमोजिम प्रदेश, जिल्ला तथा स्थानीय तहले सङ्‍कलन गरेको विवरणलाई आबद्ध (लिङ्‍क) गर्न सकिनेछ।

(४)

उपदफा (१) बमोजिम भण्डारण भएको तथ्‍याङ्‍कलाई विभागमा तथा नेपाल सरकारले तोकेको सरकारी डाटा केन्द्रमा समेत अतिरिक्त भण्डारण (ब्याक अप) को व्यवस्था गरिनेछ।

(५)

यस दफा बमोजिम तथ्‍याङ्‍क भण्डारमा विवरणको प्रविष्टि, अतिरिक्त भण्डारण, तथ्‍याङ्‍क प्रशोधन तथा प्रयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

अन्य निकायले सङ्‍कलन गरेको विवरण प्रयोग गर्न सकिनेपृ. १४

यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम अधिकार प्राप्‍त निकायले सङ्‍कलन गरेको व्यक्तिको वैयक्तिक वा जैविक विवरण, विद्युतीय स्वरूपमा रहेका विवरण र तथ्‍याङ्‍क परिचयपत्र प्रयोजनका लागि नेपाल सरकारको निर्णयानुसार विभागले प्रयोग गर्न सक्नेछ।

विवरण अद्यावधिक गर्नेपृ. १५

(१)

विभागले देहायको आधारमा तथ्‍याङ्‍क भण्डारलाई अद्यावधिक गर्न सक्नेछ:-

(क)

यस ऐन तथा प्रचलित कानून बमोजिम दर्ता भएका व्यक्तिगत घटनाहरु,

(ख)

तोकिए बमोजिम सम्बन्धित कार्यालय वा निकायबाट प्राप्‍त विवरण।

(२)

उपदफा (१) को प्रयोजनको लागि दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लाको हकमा व्यक्तिगत घटना दर्ता भएको आधारमा तथ्‍याङ्‍क भण्डारमा भएको त्यस्तो व्यक्तिको विवरण स्वतः अद्यावधिक हुनेछ।

(३)

परिचयपत्र लागू नभएको जिल्लाको हकमा व्यक्तिगत घटना दर्ता भई कायम रहेको विवरणलाई विद्युतीय माध्यमबाट अभिलेख गरिनेछ र त्यस्तो अभिलेखलाई तथ्‍याङ्‍क भण्डारसँग आवद्ध (लिङ्क) गरी विवरण अद्यावधिक गरिनेछ।

(४)

तथ्‍याङ्‍क भण्डारमा रहेको विवरण अद्यावधिक गर्दा जुन व्यक्तिको विवरण अद्यावधिक गर्नु पर्ने हो सोही व्यक्तिको परिचय नम्बरको आधारमा अद्यावधिक गरिनेछ।

(५)

कुनै व्यक्तिले दर्ता गराएको विवरणको सम्बन्धमा द्विविधा उत्पन्न भएमा विद्युतीय तथ्‍याङ्‍क भण्डारमा भएको विवरणलाई मुख्य आधार मानिनेछ।

जैविक तथा वैयक्तिक विवरण गोप्य रहनेपृ. १५

(१)

तथ्‍याङ्‍क भण्डारमा रहेको व्यक्तिको जैविक तथा वैयक्तिक विवरण गोप्य राखिनेछ र दफा ३४ बमोजिमको अवस्थामा बाहेक अन्य कुनै निकायलाई उपलब्ध गराइने छैन।

(२)

उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको प्रयोजनको लागि तथ्‍याङ्‍क भण्डारमा रहेका व्यक्तिको विवरण विभागले गोप्य रुपमा रूजु (भेरिफिकेशन), भिडान (डिडुप्लिकेशन) र पहिचान (आइडेन्टिफिकेशन) गरी सोको परिणाम कानून बमोजिम सम्बन्धित निकाय वा अधिकारीलाई उपलब्ध गराउन बाधा पर्ने छैन:-

(क)

कसुरको अनुसन्धान तथा अभियोजनको लागि प्रचलित कानून बमोजिम अधिकार प्राप्‍त अधिकारीले माग गरेमा,

(ख)

अदालतले माग गरेमा,

(ग)

सम्बन्धित व्यक्तिले माग गरेमा।

तथ्‍याङ्‍क भण्डारको पहुँच तथा उपयोगपृ. १६

(१)

सार्वजनिक सेवा प्रदान गर्नको निमित्त नेपाल सरकारले तोकेको निकायले विभागमा रहेको तथ्‍याङ्‍क तथा विवरणलाई व्यक्तिको वैयक्तिक गोपनीयता कायम रहने गरी आवश्यकता अनुसार उपयोग गर्न सक्नेछ।

(२)

व्यक्तिको वैयक्तिक गोपनीयता कायम रहने गरी सरकारी निकाय तथा नेपाल सरकारको पूर्ण स्वामित्व रहेका संस्थालाई विभागमा रहेको तथ्‍याङ्‍क तथा विवरण तोकिए बमोजिम उपयोग गर्न दिन सकिनेछ।

(३)

प्रचलित कानून बमोजिम नागरिकलाई सेवा प्रवाह गर्ने निकायले सम्बन्धित व्यक्तिको विवरण यकिन (भेरिफिकेशन) गर्ने प्रयोजनको लागि त्यस्तो निकायलाई विभागमा रहेको तथ्‍याङ्‍कमा तोकिए बमोजिम नियन्त्रित पहुँच दिन सकिनेछ।

(४)

यस ऐन बमोजिम सङ्‍कलन तथा भण्डारण गरिएका तथ्‍याङ्‍क एवं विवरणमा अन्य निकायको पहुँच रहन सक्ने वा त्यस्तो तथ्‍याङ्‍क वा विवरण अन्य निकायले उपयोग गर्न सक्ने सीमा दफा ३३ को प्रतिकूल नहुने गरी नेपाल सरकारले तोके बमोजिम हुनेछ।

तथ्‍याङ्‍क भण्डारको सुरक्षापृ. १६

(१)

तथ्‍याङ्‍क भण्डारलाई व्यवस्थित र सुरक्षित राख्नको लागि देहाय बमोजिमको एक तथ्‍याङ्‍क सुरक्षा समिति रहनेछ:-

(क)

मन्त्रालयको सचिव - अध्यक्ष

(ख)

सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य

(ग)

महानिर्देशक - सदस्य-सचिव

(२)

उपदफा (१) बमोजिमको तथ्‍याङ्‍क सुरक्षा समितिले तथ्‍याङ्‍क भण्डारमा रहेका व्यक्तिका सम्पूर्ण विवरण यस ऐनको प्रयोजनको लागि एकै पटक प्राप्‍त गर्नु पर्ने अवस्था आएमा सो समितिका सबै सदस्यको अनिवार्य उपस्थितिमा तथ्‍याङ्‍कको प्राप्ति गर्नु पर्नेछ।

(३)

विपद् परेको वा प्रणालीमा आएको प्राविधिक गडबडीको परिणाम स्वरूप विभागमा रहेको प्राथमिक तथ्‍याङ्‍क भण्डारबाट नियमित कार्य सम्पादन हुन नसकेमा उपदफा (१) बमोजिमको तथ्‍याङ्‍क सुरक्षा समितिले विभाग वा सरकारी डाटा केन्द्रमा रहेको अतिरिक्त तथ्‍याङ्‍क भण्डारण (ब्याकअप) बाट कार्य सुचारू गर्न आवश्यक व्यवस्था मिलाउनेछ।

(४)

उपदफा (१) बमोजिमको तथ्‍याङ्‍क सुरक्षा समितिले परिचयपत्र तथा पञ्‍जीकरण व्यवस्थापन प्रणालीमा तथ्‍याङ्‍क भण्डारको सुरक्षण, व्यक्तिगत घटना दर्ता अभिलेखको सुरक्षण, परिचयपत्रको सुरक्षण, नेटवर्क स्तरमा अपनाइने सुरक्षण, एप्लिकेसन स्तरमा अपनाइने सुरक्षण लगायतका प्राविधिक सुरक्षणको लागि आवश्यक व्यवस्था मिलाउन लगाउनेछ।

(५)

तथ्‍याङ्‍क भण्डारमा रहेको कुनै व्यक्तिको वैयक्तिक विवरणमा कुनै निकाय वा व्यक्तिले पहुँच प्राप्‍त गरेको विवरण सम्बन्धित व्यक्तिले तोकिए बमोजिम हेर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन सकिनेछ।

(६)

उपदफा (१) बमोजिमको समितिको बैठक वर्षमा कम्तीमा दुई पटक बस्नु पर्नेछ। समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

परिच्छेद–५संस्थागत व्यवस्था

निर्देशन दिन सक्नेपृ. १७

नेपाल सरकारले राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण प्रणालीको सञ्‍चालन, व्यवस्थापन, सुरक्षण लगायतका नीतिगत विषयहरुमा आवश्यक निर्णय गर्न तथा निर्देशन दिन सक्नेछ।

समन्वय समितिपृ. १७

(१)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरणको व्यवस्थापन, कार्यान्वयन एवं तथ्‍याङ्‍क भण्डारको पहुँच र उपयोग सम्बन्धमा सम्बन्धित निकायहरू बीच समन्वय कायम गर्न र परिचयपत्र तथा पञ्‍जीकरण कार्यान्वयन सम्बन्धी आवश्यक कार्य गर्नको लागि देहाय बमोजिमको एक राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण समन्वय समिति रहनेछ:-

(क)

सचिव, मन्त्रालय - अध्यक्ष

(ख)

प्रहरी महानिरीक्षक, नेपाल प्रहरी - सदस्य

(ग)

सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(घ)

सहसचिव, मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(ङ)

सहसचिव, नेपाल सरकारको अर्थ मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(च)

सहसचिव, नेपाल सरकारको सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(छ)

सहसचिव, नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(ज)

सहसचिव, नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(झ)

महानिर्देशक, केन्द्रीय तथ्‍याङ्‍क विभाग - सदस्य

(ञ)

महानिर्देशक, सूचना प्रविधि विभाग - सदस्य

(ट)

महानिर्देशक - सदस्य-सचिव

(२)

समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।

(३)

समन्वय समितिको बैठकमा आवश्यकता अनुसार अन्य सरोकारवाला निकायका पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ।

समन्वय समितिको काम, कर्तव्य र अधिकारपृ. १८

समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क)

परिचयपत्र तथा पञ्‍जीकरण व्यवस्थापन कार्यको समन्वय गर्ने,

(ख)

विभागको काम कारबाहीको अनुगमन तथा सुपरिवेक्षण गर्ने,

(ग)

परिचयपत्र तथा पञ्‍जीकरण व्यवस्थापन सम्बन्धमा मन्त्रालयबाट प्राप्‍त निर्देशनहरू कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने,

(घ)

तथ्‍याङ्‍क सुरक्षा समितिले निर्धारण तथा अद्यावधिक गरेका सुरक्षण सम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्ने, तर प्रणालीको सुरक्षाका लागि निर्धारण तथा अद्यावधिक गरिएका यस्ता सुरक्षण विधिहरू गोप्य रहनेछन्।

(ङ)

परिचयपत्र तथा पञ्‍जीकरण प्रणालीको स्तरोन्‍नति, कार्यक्षेत्र विस्तार, प्रणालीको परिवर्तन, प्रणालीको समग्र व्यवस्थापन सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,

(च)

तोकिए बमोजिमका अन्य कार्य गर्ने।

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागपृ. १९

(१)

यस ऐन बमोजिम राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण व्यवस्थापन सम्बन्धी काम गर्ने प्रयोजनको लागि मन्त्रालय अन्तर्गत राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभाग रहनेछ।

(२)

नेपाल सरकारको निर्णय अनुसार विभागले शाखा कार्यालय वा इकाइ स्थापना गरी कार्य सञ्‍चालन गर्न सक्नेछ।

महानिर्देशकपृ. १९

(१)

नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतले विभागको महानिर्देशकको रुपमा काम गर्नेछ।

(२)

परिचयपत्र तथा पञ्‍जीकरण प्रणालीको सञ्‍चालन, व्यवस्थापन, सुरक्षण, समन्वय र सुपरिवेक्षण गर्ने मुख्य जिम्मेवारी महानिर्देशकको हुनेछ।

(३)

यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त महानिर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरणका लागि निवेदनहरू सङ्‍कलन गर्ने गराउने,

(ख)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरणका लागि दिइएका निवेदन उपर छानबिन गरी पञ्‍जीकरण गर्ने तथा परिचय नम्बर र परिचयपत्र जारी गर्ने,

(ग)

तथ्‍याङ्‍क भण्डार एवं परिचयपत्र तथा पञ्‍जीकरणसँग सम्बन्धित अभिलेखहरू सुरक्षित र व्यवस्थित रूपमा राख्नको लागि आवश्यक प्रबन्ध मिलाउने,

(घ)

तथ्‍याङ्‍क भण्डार तथा सोसँग सम्बन्धित अभिलेखहरूको गोपनीयता कायम राख्‍ने

(ङ)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण प्रणालीसँग अन्य निकायहरूको तथ्‍याङ्‍क भण्डार तथा सूचना प्रविधि प्रणालीबीच सूचना आदान प्रदानको प्रबन्ध मिलाउने,

(च)

विभागको प्रशासकीय प्रमुखको रूपमा विभागबाट सम्पादन हुने काम कारबाहीको समन्वय, अनुगमन, सुपरिवेक्षण र मूल्याङ्कन गर्ने,

(छ)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण प्रणाली व्यवस्थापनको क्रममा सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा व्यवस्था समेत मिलाई कार्य सम्पादन गर्ने गराउने,

(ज)

नेपाल सरकारको राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण र सामाजिक सुरक्षा सम्बन्धी नीतिको कार्यान्वयन गर्ने गराउने,

(झ)

नेपाल सरकारको स्वीकृति लिई परिचयपत्र तथा पञ्‍जीकरण प्रविधिसँग सम्बन्धित राष्‍ट्रिय, अन्तर्राष्‍ट्रिय निकाय, सङ्घ संस्थासँग सम्पर्क तथा समन्वय गर्ने, त्यस्ता निकाय वा सङ्घ संस्थासँग प्रविधिको विकास तथा क्षमता विकासको लागि आवश्यक सहयोग आदान प्रदान गर्ने,

(ञ)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण र सामाजिक सुरक्षा सम्बन्धी ऐन, नियम, निर्देशिका, निर्देशन, कार्यविधि र मापदण्डको कार्यान्वयन गर्ने गराउने,

(ट)

नेपाल सरकार, समन्वय समिति र तथ्‍याङ्‍क सुरक्षा समितिले समय समयमा तोकेका अन्य कार्यहरू गर्ने गराउने।

परिच्छेद–६कसुर र सजाय

कसुर र सजायपृ. २०

(१)

कसैले देहायको कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ:-

(क)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण सम्बन्धी अभिलेख तथा तथ्‍याङ्‍क भण्डारमा रहेको कुनै विवरण वा सूचनालाई नष्‍ट गर्ने, क्षति पुर्‍याउने, मेटाउने, हेरफेर गर्ने, काम नलाग्ने बनाउने, अनधिकृत व्यक्तिलाई दिने, गलत सूचना निर्माण गर्ने, तथ्‍याङ्‍क भण्डारको विवरण वा सूचना चोरी गर्ने वा नष्‍ट गर्ने उद्देश्यले तथ्‍याङ्‍क भण्डार, कम्प्यूटर प्रणाली वा नेटवर्क संरचना लगायतका भौतिक पूर्वाधार, विद्युतीय तथ्‍याङ्‍क वा तथ्‍याङ्‍क प्रणालीमा क्षति पुर्‍याउने,

(ख)

तथ्‍याङ्‍क भण्डार, सञ्चार नेटवर्क वा परिचयपत्र छपाइमा प्रयोग भएको कुनै कम्प्यूटर कार्यक्रम, कम्प्यूटर सफ्टवेयर, कम्प्यूटर प्रणाली वा नेटवर्कका लागि प्रयोग हुने कम्प्यूटर स्रोत सङ्केत (सोर्सकोड) चोरी गर्ने, क्षति पुर्‍याउने, नष्‍ट गर्ने वा अनधिकृत रुपमा परिवर्तन गर्ने,

(ग)

परिचयपत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्तिको लागि झुट्टा विवरण पेश गर्ने वा त्यसको लागि गलत वा झुट्टा कागजात तयार गर्ने,

(घ)

परिचयपत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रको नक्कल वा किर्ते गर्ने,

(ङ)

यो ऐन वा प्रचलित कानून बमोजिम बाहेक तथ्‍याङ्‍क भण्डार, परिचयपत्र तथा सम्बद्ध अभिलेखमा रहेको विवरणहरुको गोपनीयता भङ्ग गर्ने,

(च)

झुट्टा विवरण हो भन्ने स्पष्ट आधार हुँदाहुँदै परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता प्रमाणपत्र दिने वा दिन लगाउने,

(छ)

राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण सम्बन्धी विवरण सङ्‍कलन, प्रशोधन वा भण्डारण सम्बन्धी काम वा सेवा प्रवाह वा सो सम्बन्धी कार्यमा बाधा अवरोध पुर्‍याउने,

(ज)

परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा भएको विवरण आफूखुशी थपघट गर्ने, केरमेट गर्ने वा सच्याउने,

(झ)

झुट्टा विवरण दिई दफा ४७ बमोजिमको परिचयपत्र लिएमा वा त्यस्तो परिचयपत्रको विवरण आफूखुशी थपघट गरेमा, केरमेट गरेमा वा सच्याएमा,

(ञ)

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम प्रतिकूलको अन्य कुनै कार्य गर्ने।

(२)

उपदफा (१) को खण्ड (क) वा (ख) बमोजिमको कसुर गर्ने व्यक्तिलाई क्षति पुगेको बिगो र बिगो बमोजिमको जरिबाना असूल उपर गरी पाँच वर्ष देखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना हुनेछ।

(३)

उपदफा (१) को खण्ड (ग), (ङ) वा (च) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(४)

उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुर गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम जालसाजी वा किर्ते गरे बापत हुने सजायमा थप पच्चीस प्रतिशत सजाय हुनेछ।

(५)

उपदफा (१) को खण्ड (छ), (ज), (झ) वा (ञ) बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि छ महिनासम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(६)

उपदफा (१) बमोजिमको कुनै कसुर गर्न सघाउने वा अन्य कुनै व्यहोराले मतियार भई कार्य गर्ने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।

मुद्दा हेर्ने अधिकारीपृ. २२

(१)

दफा ४१ को उपदफा (१) को (छ), (ज), (झ) वा (ञ) बमोजिमका मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।

(२)

उपदफा (१) मा उल्लिखित मुद्दा बाहेक यस ऐन बमोजिमका अन्य मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ।

(३)

उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले सुरु कारबाही र किनारा गरेको मुद्दाको पुनरावेदन सम्बन्धित जिल्ला अदालतमा र उपदफा (२) बमोजिम जिल्ला अदालतले सुरु कारबाही र किनारा गरेको मुद्दाको पुनरावेदन सम्बन्धित उच्च अदालतमा लाग्नेछ।

(४)

उपदफा (३) बमोजिम पुनरावेदन गर्दा निर्णय भएको पैतींस दिन भित्र गर्नु पर्नेछ।

संक्षिप्त कार्यविधि अपनाउनेपृ. २२

यस ऐन अन्तर्गतको मुद्दाको कारबाही गर्दा प्रमुख जिल्ला अधिकारीले संक्षिप्त कार्यविधि ऐन, २०२८ अनुसारको कार्यविधि अपनाउनु पर्नेछ।

नेपाल सरकार वादी हुनेपृ. २२

यस ऐन अन्तर्गतको मुद्दा नेपाल सरकार वादी भई चल्नेछ र सो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।

परिच्छेद–७विविध

विवरण सङ्‍कलन तथा राष्‍ट्रिय परिचयपत्र वितरणपृ. २२

विभागले आफ्नो शाखा कार्यालय वा इकाई वा स्थानीय अधिकारीबाट राष्‍ट्रिय परिचयपत्रको लागि नागरिकका वैयक्तिक तथा जैविक विवरणहरू सङ्‍कलन गर्ने र परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउन सक्नेछ।

शान्ति सुरक्षाको व्यवस्थापृ. २३

मन्त्रालयले राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण व्यवस्थापनको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ।

छुट्टै परिचयपत्र जारी गर्न सकिनेपृ. २३

(१)

गैर आवासीय नेपाली नागरिकता प्राप्‍त व्यक्ति वा तोकिएको अवधिभन्दा बढी बसोबास गर्ने अन्य विदेशीलाई तोकिए बमोजिमको दस्तुर लिई तोकिए बमोजिमको ढाँचामा अवधि तोकी अस्थायी प्रकृतिको छुट्टै परिचयपत्र जारी गर्न सकिनेछ।

(२)

उपदफा (१) बमोजिम अन्य विदेशीलाई परिचयपत्र प्रदान गर्दा नेपालमा कूटनीतिक नियोग रहेको विदेशीको हकमा सम्बन्धित कूटनीतिक नियोगको सिफारिस समेतलाई आधार मानिनेछ।

(३)

उपदफा (१) बमोजिमको परिचयपत्र दिने, नवीकरण गर्ने, उपयोग गर्ने तथा रद्द गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

एकीकृत प्रणाली अवलम्बन गरिनेपृ. २३

यो ऐन बमोजिम व्यक्तिगत घटना दर्ता र परिचयपत्र तथा परिचय नम्बर प्रदान गर्ने सम्बन्धमा एकीकृत प्रणाली अवलम्बन गरिनेछ।

अधिकार प्रत्यायोजनपृ. २३

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम महानिर्देशकलाई प्राप्‍त अधिकारमध्ये आवश्यकता अनुसार केही वा सबै अधिकार नेपाल सरकारको कुनै अधिकृत वा कार्यालय प्रमुख भई काम गर्ने कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

नियम बनाउने अधिकारपृ. २३

यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।

निर्देशिका वा कार्यविधि बनाउने अधिकारपृ. २३

मन्त्रालयले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम प्रतिकूल नहुने गरी आवश्यकता अनुसार निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।

प्रचलित कानून बमोजिम हुनेपृ. २३

यस ऐनमा लेखिएको कुरामा यसै बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ।

खारेजी र बचाउपृ. २३

(१)

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ खारेज गरिएको छ।

(२)

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

(३)

यो ऐन प्रारम्भ हुनुअघि तत्कालिन राष्‍ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र, केन्द्रीय पञ्‍जीकरण विभाग र राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागबाट भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।

संशोधन टिप्पणी

मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।

  1. १. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा संशोधित।
  2. २. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ द्वारा थप।
स्रोत
  • नेपाल कानुन आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ (आयोगको पाना)।
  • आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०२-०७। हरेक दफाको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
  • पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (५२१२/५२१२ शब्द मिले)।