Skip to content

← हाम्रो स्थानीय तह

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७

नेपाल राजपत्रमा प्रकाशित मिति
२०७७।१२।०२
संशोधन
२०८२।०८।०१ सम्मका २ संशोधनसहित

यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक नियममा त्यसको पृष्ठ दिइएको छ।

संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।

विषयसूची (७६)

परिच्छेद–१: प्रारम्भिक

  1. १.संक्षिप्‍त नाम र प्रारम्भ
  2. २.परिभाषा

परिच्छेद–२: परिचयपत्र व्यवस्थापन

  1. ३.राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली
  2. ४.परिचयपत्रको लागि निवेदन दिनु पर्ने
  3. ५.विवरण सङ्कलन
  4. ६.परिचयपत्र जारी गर्ने
  5. ७.परिचय नम्बर
  6. ८.अभिलेख राख्‍ने
  7. ९.परिचयपत्र वितरण
  8. १०.राष्‍ट्रिय परिचयपत्र एकाइ रहने
  9. ११.नाबालक राष्‍ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था
  10. १२.परिचयपत्रमा रहेका विवरण सच्याउने वा अद्यावधिक गर्ने
  11. १३.परिचयपत्रको प्रतिलिपि सम्बन्धी व्यवस्था

परिच्छेद–३: पञ्‍जीकरण व्यवस्थापन

  1. १४.पञ्‍जीकरण गर्नु पर्ने
  2. १५.पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणाली
  3. १६.व्यक्तिगत घटनाको सूचना दिने
  4. १७.व्यक्तिगत घटनाको दर्ता गर्ने
  5. १८.नेपालमा रहेका विदेशीको व्यक्तिगत घटना दर्ता गर्ने
  6. १९.बसाइँ सराइको व्यक्तिगत घटना दर्ता गर्ने
  7. २०.व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिने
  8. २१.व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल दिने
  9. २२.पहिलो दर्तालाई कायम गर्ने
  10. २३.विवरण सच्याउने
  11. २४.व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न दिने
  12. २५.घटना दर्ता सम्बन्धी विशेष व्यवस्था
  13. २६.कार्यरत स्थानबाट व्यक्तिगत घटना दर्ता गर्न सक्ने
  14. २७.पारिवारिक लगत तयार गर्ने
  15. २८.केन्द्रीय पञ्‍जिकाधिकारी (रजिष्ट्रार) को काम, कर्तव्य र अधिकार

परिच्छेद–४: तथ्याङ्क भण्डार तथा तथ्याङ्कको प्रयोग

  1. २९.तथ्याङ्क भण्डार सम्बन्धी व्यवस्था
  2. ३०.तथ्याङ्कको प्रयोग
  3. ३१.सेवा प्राप्‍त गर्ने विधि
  4. ३२.सूचना पाउने व्यवस्था गर्ने
  5. ३३.तथ्याङ्क प्रशोधन तथा विश्‍लेषण गर्न सक्ने

परिच्छेद–५: विविध

  1. ३४.समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार
  2. ३५.दस्तुर वा शुल्क राजस्व खातामा जम्मा गर्ने
  3. ३६.छुट्टै परिचयपत्र जारी गर्ने
  4. ३७.सहयोग र समन्वय गर्नु पर्ने
  5. ३८.अनुसूचीमा हेरफेर
  6. ३९.खारेजी र बचाउ

अनुसूची

  1. अनुसूची-१
  2. अनुसूची-२
  3. अनुसूची-३
  4. अनुसूची-४
  5. अनुसूची-५
  6. अनुसूची-६
  7. अनुसूची-७
  8. अनुसूची-८
  9. अनुसूची-९
  10. अनुसूची-१०
  11. अनुसूची-११
  12. अनुसूची-१२
  13. अनुसूची-१३
  14. अनुसूची-१४
  15. अनुसूची-१५
  16. अनुसूची -१६
  17. अनुसूची-१७
  18. अनुसूची-१८
  19. अनुसूची-१९
  20. अनुसूची -२०
  21. अनुसूची-२१
  22. अनुसूची -२२
  23. अनुसूची-२३
  24. अनुसूची-२४
  25. अनुसूची-२५
  26. अनुसूची-२६
  27. अनुसूची-२७
  28. अनुसूची -२८
  29. अनुसूची-२९
  30. अनुसूची -३०
  31. अनुसूची-३१
  32. अनुसूची-३२
  33. अनुसूची-३३
  34. अनुसूची -३४
  35. अनुसूची-३५
  36. अनुसूची-३६
  37. अनुसूची-३७

परिच्छेद–१प्रारम्भिक

संक्षिप्‍त नाम र प्रारम्भपृ. १

(१)

यी नियमहरुको नाम “राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण नियमावली, २०७७” रहेको छ।

(२)

यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।

परिभाषापृ. १

विषय वा प्रसङ्‍गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क)

“ऐन” भन्‍नाले राष्‍ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण ऐन, २०७६ सम्झनु पर्छ।

(ख)

“नेपाली नियोग” भन्‍नाले कुनै विदेशी मुलुकस्थित नेपाली राजदूतावास, स्थायी नियोग, नेपाली महावाणिज्य दूतावास वा वाणिज्य दूतावास सम्झनु पर्छ।

(ग)

“पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणाली” भन्‍नाले नियम १५ बमोजिमको पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणाली सम्झनु पर्छ।

(घ)

“सूचक” भन्‍नाले ऐन बमोजिम व्यक्तिगत घटनाको सूचना दिने कर्तव्य भएको व्यक्ति सम्झनु पर्छ।

(ङ)

“सेवा प्रदायक निकाय” भन्‍नाले राज्यका तर्फबाट नागरिकलाई सेवा, सुविधा उपलब्ध गराउने निकाय सम्झनु पर्छ।

परिच्छेद–२परिचयपत्र व्यवस्थापन

राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीपृ. २

(१)

विभागले राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको विकास, स्थापना तथा सञ्‍चालन गर्नेछ।

(२)

ऐनको दफा ३ बमोजिम परिचयपत्र लागू भएपछि सेवा प्रदायक निकायले आवश्यक पूर्वाधार तयार गरी राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनु पर्नेछ।

परिचयपत्रको लागि निवेदन दिनु पर्नेपृ. २

(१)

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त व्यक्तिले परिचयपत्रको लागि ऐनको दफा ७ को उपदफा (१) बमोजिमको अवधिभित्र देहाय बमोजिमका कागजात संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-

(क)

नेपाली नागरिकताको प्रमाणपत्रको सक्‍कल प्रति,

(ख)

नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण,

(ग)

नागरिकताको प्रमाणपत्रमा उल्लिखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाइँ सराइ दर्ताको प्रमाणपत्र वा विवाह दर्ताको प्रमाणपत्रको सक्‍कल प्रति,

(घ)

विवाहितको हकमा नागरिकताको प्रमाणपत्रमा पति वा पत्‍नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाणपत्रको सक्‍कल प्रति।

(२)

उपनियम (१) बमोजिम परेको निवेदन तथा प्राप्‍त कागजात स्थानीय अधिकारीले जाँचबुझ गरी निवेदकको वैयक्तिक तथा जैविक विवरण राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्रविष्‍टि गर्नु पर्नेछ।

(३)

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त नगरेको तर नेपाली नागरिकता प्राप्‍त गर्न योग्यता पुगेको व्यक्तिले ऐनको दफा ७ को उपदफा (१) बमोजिमको अवधिभित्र प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त गर्न आवश्यक पर्ने कागजात संलग्न गरी अनुसूची-२ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(४)

उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नाबालक राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गरेको व्यक्तिले त्यस्तो परिचयपत्र प्राप्‍त गर्दाका बखत पेश गरेको कागजात पुनः पेश गर्नु पर्ने छैन।

(५)

उपनियम (३) बमोजिम परेको निवेदन सम्बन्धमा स्थानीय अधिकारीले जाँचबुझ गरी त्यस्तो व्यक्ति नागरिकताको प्रमाणपत्र प्राप्‍त गर्न योग्य रहेको देखिएमा सो व्यहोराको निर्णय सहित निवेदकको वैयक्तिक तथा जैविक विवरण राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्रविष्‍टि गर्नु पर्नेछ।

(६)

विभागले परिचयपत्रको लागि विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट समेत निवेदन दिन र सोको लागि आवश्यक पर्ने कागजात दाखिला गर्न सक्ने व्यवस्था मिलाउन सक्नेछ।

(७)

उपनियम (६) बमोजिम विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट निवेदन दिने व्यवस्था गरेकोमा त्यसरी निवेदन दिने व्यक्तिको वैयक्तिक तथा जैविक विवरण सङ्कलन गर्ने सम्बन्धी अन्य व्यवस्था विभागले निर्धारण गरे बमोजिम हुनेछ ।

(८)

उपनियम (१) वा (३) बमोजिमको अवधि समाप्‍त भएपछि परिचयपत्र प्राप्‍त गर्नको लागि निवेदन दिँदा अनुसूची-३ बमोजिमको विलम्ब दस्तुर लाग्नेछ।

(९)

उपनियम (१), (३) वा (६) बमोजिम परिचयपत्रका लागि निवेदन दिने व्यक्ति आफैं उपस्थित भई आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गर्नु पर्नेछ।

(१०)

उपनियम (९) बमोजिम वैयक्तिक तथा जैविक विवरण दर्ता भएपछि उपनियम (१) बमोजिमको निवेदनसाथ संलग्न नागरिकताको प्रमाणपत्र, बसाइँ सराइ दर्ताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि लिई सोको सक्‍कल सम्बन्धित व्यक्तिलाई फिर्ता दिइनेछ।

विवरण सङ्कलनपृ. ३

(१)

नियम ४ बमोजिम परिचयपत्रको लागि निवेदन दिने व्यक्तिको वैयक्तिक तथा जैविक विवरण विभाग, नियम १० बमोजिमको राष्‍ट्रिय परिचयपत्र एकाइ, स्थानीय अधिकारी वा विभागले तोकेको अन्य स्थानबाट सङ्कलन गरिनेछ।

(२)

यस नियम बमोजिम सङ्कलन गरिएका वैयक्तिक तथा जैविक विवरण सहितको सूचना राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्रविष्टी गर्नु पर्नेछ।

परिचयपत्र जारी गर्नेपृ. ४

(१)

नियम ४ बमोजिम परिचयपत्रको लागि निवेदन दिने व्यक्ति ऐन तथा यस नियमावली बमोजिम परिचयपत्र प्राप्‍त गर्न योग्य भएमा विभागले अनुसूची-४ बमोजिमको ढाँचामा परिचयपत्र जारी गर्नेछ।

(२)

उपनियम (१) बमोजिम जारी गरिने परिचयपत्रमा नेपाल सरकारले निर्धारण गरे बमोजिमका सुरक्षण विधि अवलम्बन गर्नु पर्नेछ।

परिचय नम्बरपृ. ४

(१)

ऐन तथा यस नियमावली बमोजिम परिचय नम्बर जारी गर्दा राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबाट स्वचालित रुपमा उत्पन्न भएको दश अङ्कको नदोहोरिने (रेन्डम) परिचय नम्बर प्रदान गरिनेछ।

(२)

ऐनको दफा ३ बमोजिम परिचयपत्र लागू भए पछि सेवा प्रदायक निकायले सेवाग्राहीलाई सेवा प्रदान गर्दा सम्बन्धित व्यक्तिको परिचय नम्बरको अभिलेख समेत राख्‍नु पर्नेछ।

(३)

परिचय नम्बरलाई व्यक्तिले प्राप्‍त गर्ने जुनसुकै प्रमाणपत्रमा उल्लेख गर्न सकिनेछ।

अभिलेख राख्‍नेपृ. ४

परिचयपत्रको विद्युतीय चीप्स र राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त उपलब्ध भएसम्म सम्बन्धित व्यक्तिको देहाय बमोजिमको विवरणको समेत अभिलेख राख्‍नु पर्नेछ :-

(क)

जन्म स्थान,

(ख)

नागरिकता जारी मिति र जिल्ला (नागरिकताको प्रमाणपत्रप्राप्‍त व्यक्तिको हकमा),

(ग)

अघिल्लो राष्‍ट्रियता र सम्बन्धित मुलुकको राष्‍ट्रियता जनाउने प्रमाणपत्र (अन्य देशको नागरिकता त्याग गर्ने व्यक्तिको हकमा),

(घ)

जन्म दर्ता नम्बर,

(ङ)

फोन नम्बर,

(च)

इमेल ठेगाना,

(छ)

वैवाहिक स्थिति,

(ज)

शैक्षिक योग्यता,

(झ)

पेशा,

(ञ)

बाबु, आमाको परिचय नम्बर,

(ट)

बाबु, आमा विदेशी भएमा निजहरुको राष्‍ट्रियता,

(ठ)

पति वा पत्‍नीको परिचय नम्बर,

(ड)

पति वा पत्‍नी विदेशी भए निजको राष्‍ट्रियता, र

(ढ)

पति वा पत्‍नीको ठेगाना (सम्बन्धित व्यक्तिको भन्दा फरक भएमा)।

परिचयपत्र वितरणपृ. ५

(१)

विभागले नियम ५ बमोजिम व्यक्तिको वैयक्तिक तथा जैविक विवरण सङ्कलन गरिएको स्थान वा विभागले तोकेको अन्य उपयुक्त स्थानबाट परिचयपत्र वितरण गर्ने वा गराउनेछ।

(२)

परिचयपत्र प्राप्‍त गर्न सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ।

(३)

उपनियम (१) बमोजिम वितरण भएका परिचयपत्रको विवरण स्थानीय अधिकारी समक्ष पठाउनु पर्नेछ र स्थानीय अधिकारीले सोको आधारमा अद्यावधिक अभिलेख तयार गरी विभागमा पठाउनु पर्नेछ।

(४)

उपनियम (३) बमोजिम प्राप्‍त विवरण समेतको आधारमा विभागले परिचयपत्र वितरणको अभिलेख अद्यावधिक गरी राख्‍नु पर्नेछ।

राष्‍ट्रिय परिचयपत्र एकाइ रहनेपृ. ५

विभागले जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय वा आवश्यकता अनुसार अन्य स्थानमा परिचयपत्र व्यवस्थापनको लागि छुट्टै राष्‍ट्रिय परिचयपत्र एकाइ रहने व्यवस्था गर्न सक्नेछ।

नाबालक राष्‍ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थापृ. ५

(१)

नाबालक राष्‍ट्रिय परिचयपत्र लिन चाहने नाबालकको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिले देहाय बमोजिमका कागजात र विवरण संलग्न गरी अनुसूची-५ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछः-

(क)

जन्म दर्ता प्रमाणपत्र, र

(ख)

बाबु वा आमाको राष्‍ट्रिय परिचय नम्बर वा नागरिकताको प्रमाणपत्र।

(२)

उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु र आमा दुवै पत्ता नलागेको वा मृत्यु भएको कारणले बाबु वा आमाको परिचय नम्बर वा नागरिकताको प्रमाणपत्र पेश गर्न नसक्ने व्यक्तिको हकमा नाबालक राष्‍ट्रिय परिचयपत्रको लागि निवेदन दिँदा त्यस्तो व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त गर्न प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने कागजात पेश गर्नु पर्नेछ।

(३)

उपनियम (१) बमोजिम निवेदन परेमा स्थानीय अधिकारीले आवश्यक छानबिन गरी आफ्नो सिफारिस सहित विभागमा पठाउनु पर्नेछ र विभागले अनुसूची-६ बमोजिमको ढाँचामा नाबालक राष्‍ट्रिय परिचयपत्र जारी गर्नेछ।

(४)

नाबालक राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गर्ने व्यक्तिले जन्म दर्ता गर्दाकै बखत परिचय नम्बर प्राप्‍त गरेकोमा सोही नम्बर उल्लेख गरी र जन्म दर्ता गर्दाका बखत परिचय नम्बर प्राप्‍त नगरेकोमा नियम ७ को उपनियम (१) बमोजिम त्यस्तो नम्बर प्राप्‍त गरी विभागले नाबालक राष्‍ट्रिय परिचयपत्र जारी गर्नेछ।

(५)

नाबालक राष्‍ट्रिय परिचयपत्र जारी गर्दा राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देहाय बमोजिमका विवरणको अभिलेख राख्‍नु पर्नेछः-

(क)

नाम, थर,

(ख)

जन्म मिति,

(ग)

जन्म स्थान,

(घ)

लिङ्ग,

(ङ)

राष्‍ट्रियता,

(च)

परिचय नम्बर,

(छ)

फोटो,

(ज)

जैविक विवरण (दश वर्ष उमेर पूरा नगरेका नाबालकको हकमा विद्युतीय (डिजिटल) तस्वीर मात्र र दश वर्ष उमेर पूरा गरेका नाबालकको हकमा अन्य जैविक विवरण समेत)

(झ)

स्थायी ठेगाना,

(ञ)

सम्पर्क फोन नम्बर,

(ट)

सम्पर्क इमेल ठेगाना,

(ठ)

बाबु, आमाको नाम,

(ड)

बाजे, बज्यैको नाम,

(ढ)

संरक्षक वा माथवर भएमा निजको नाम,

(ण)

जन्म दर्ता नम्बर र दर्ता मिति, र

(त)

नाबालक राष्‍ट्रिय परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी।

(६)

उपनियम (३) बमोजिम दश वर्ष भन्दा कम उमेरका नाबालकलाई प्रदान गरिएको नाबालक राष्‍ट्रिय परिचयपत्र पाँच वर्ष अवधिको लागि मान्य हुनेछ र त्यस्तो परिचयपत्र पुनः आवश्यक परेमा सोको नवीकरणको लागि सक्‍कल नाबालक राष्‍ट्रिय परिचयपत्र सहित स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(७)

उपनियम (६) बमोजिम निवेदन परेमा स्थानीय अधिकारीले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी व्यहोरा मनासिब देखिएमा नाबालक राष्‍ट्रिय परिचयपत्र नवीकरण गरिदिन सिफारिस सहित विभागमा पठाउनु पर्नेछ।

(८)

उपनियम (७) बमोजिम नाबालक राष्‍ट्रिय परिचयपत्र नवीकरणको लागि प्राप्‍त भएमा विभागले फोटो तथा उपनियम (५) को खण्ड (ज) बमोजिमको जैविक विवरण अद्यावधिक गरी नवीकरण गरिएको नाबालक राष्‍ट्रिय परिचयपत्र उपलब्ध गराउनु पर्नेछ।

(९)

उपनियम (८) बमोजिम नाबालक राष्‍ट्रिय परिचयपत्र नवीकरण गर्दा प्राप्‍त विवरण विभागले राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी राख्‍नु पर्नेछ।

(१०)

यस नियम बमोजिम नाबालक राष्‍ट्रिय परिचयपत्र प्राप्‍त गरेको व्यक्ति सोह्र वर्ष उमेर पूरा भएपछि निजले प्राप्‍त गरेको नाबालक राष्‍ट्रिय परिचयपत्र स्वत: रद्द भएको मानिनेछ।

तर परिचय नम्बर रद्द हुने छैन।

परिचयपत्रमा रहेका विवरण सच्याउने वा अद्यावधिक गर्नेपृ. ७

(१)

ऐनको दफा १२ बमोजिम परिचयपत्रमा उल्लिखित वैयक्तिक वा जैविक विवरण सच्याउनु वा थपघट गर्नु परेमा सम्बन्धित व्यक्तिले अनुसूची-७ बमोजिमको ढाँचामा विभाग वा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२)

परिचयपत्र प्राप्‍त व्यक्तिको वैयक्तिक वा जैविक विवरण अद्यावधिक गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले सोको प्रमाण सहित अनुसूची-८ बमोजिमको ढाँचामा विभाग वा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(३)

उपनियम (१) वा (२) बमोजिम स्थानीय अधिकारी समक्ष प्राप्‍त निवेदन निजले विभागमा पठाउनु पर्नेछ।

(४)

उपनियम (१), (२) वा (३) बमोजिम प्राप्‍त निवेदन जाँचबुझ गर्दा त्यस्तो विवरण सच्याउन वा अद्यावधिक गर्न उपयुक्त हुने देखिएमा विभागले राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको वैयक्तिक वा जैविक विवरण सच्याउन वा अद्यावधिक गर्न सक्नेछ।

(५)

उपनियम (४) बमोजिम विवरण सच्याउँदा वा अद्यावधिक गर्दा परिचयपत्रको दृष्य भागमा रहेको विवरण परिवर्तन हुने भएमा सक्‍कल परिचयपत्र खिची त्यस्तो विवरण सच्याई वा अद्यावधिक गरी परिचयपत्रको प्रतिलिपि जारी गर्नु पर्नेछ।

(६)

उपनियम (५) बमोजिम परिचयपत्रको प्रतिलिपि जारी गर्दा त्यस्तो व्यक्तिको जैविक विवरण अद्यावधिक गरेर मात्र जारी गर्नु पर्नेछ।

परिचयपत्रको प्रतिलिपि सम्बन्धी व्यवस्थापृ. ८

(१)

ऐनको दफा १६ बमोजिम परिचयपत्रको प्रतिलिपिको लागि सम्बन्धित व्यक्तिले अनुसूची-९ बमोजिमको ढाँचामा स्थानीय अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम निवेदन दिँदा उपलब्ध भएसम्म त्यस्तो परिचयपत्रको सक्‍कल समेत पेश गर्नु पर्नेछ।

(३)

उपनियम (१) बमोजिम परेको निवेदन तथा ऐनको दफा १६ को उपदफा (२) बमोजिम स्थानीय अधिकारीले गरेको सिफारिस मनासिब भएमा विभागले अनुसूची-३ बमोजिमको दस्तुर लिई परिचयपत्रको प्रतिलिपि प्रदान गर्नेछ।

परिच्छेद–३पञ्‍जीकरण व्यवस्थापन

पञ्‍जीकरण गर्नु पर्नेपृ. ८

(१)

व्यक्तिगत घटना तथा ऐनको दफा २९ बमोजिमका घटनाको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम पञ्‍जीकरण गर्नु पर्नेछ।

(२)

पञ्‍जीकरण सम्बन्धी कार्यलाई नागरिकको व्यक्तिगत घटनाको प्रमाण तथा नागरिक अभिलेख व्यवस्थापनको आधारको रुपमा लिइनेछ।

पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणालीपृ. ८

विभागले व्यक्तिगत घटनाको अभिलेख राख्‍ने तथा पञ्‍जीकरण व्यवस्थापन गर्ने प्रयोजनको लागि विद्युतीय प्रणालीमा आधारित पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणालीको विकास, स्थापना तथा सञ्‍चालन गर्नेछ।

व्यक्तिगत घटनाको सूचना दिनेपृ. ८

(१)

ऐनको दफा १८ को उपदफा (१) वा (२) बमोजिम सूचकले व्यक्तिगत घटनाको सूचना दिँदा देहाय बमोजिमको सूचना फाराम भरी स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा पेश गर्नु पर्नेछः-

(क)

जन्मको सूचना अनुसूची-१० बमोजिम,

(ख)

मृत्युको सूचना अनुसूची-११ बमोजिम,

(ग)

विवाहको सूचना अनुसूची-१२ बमोजिम,

(घ)

सम्बन्ध विच्छेदको सूचना अनुसूची-१३ बमोजिम,

(ङ)

बसाइँ सराइको लगत हस्तान्तरणको सूचना अनुसूची-१४ बमोजिम।

(२)

ऐनको दफा १८ को उपदफा (१) बमोजिमको सूचक नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रचलित कानून बमोजिमको संरक्षक वा माथवरले वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको सम्बन्धित वडा अध्यक्षले सूचकको रुपमा व्यक्तिगत घटना दर्ता गर्नका लागि सूचना दिनु पर्नेछ।

(३)

उपनियम (१) बमोजिमका व्यक्तिगत घटना दर्ताका सूचना फाराम विभागले स्थानीय पञ्‍जिकाधिकारीको कार्यालय मार्फत बिना दस्तुर प्राप्‍त हुने व्यवस्था मिलाउनु पर्नेछ।

(४)

विभागले विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट व्यक्तिगत घटना दर्ताको सूचना दिन सक्ने व्यवस्था मिलाउन सक्नेछ।

(५)

उपनियम (४) बमोजिम विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट सूचना दिने व्यवस्था मिलाइएकोमा त्यसरी सूचना दिने र आवश्यक विवरण तथा कागजात पेश गर्ने सम्बन्धी अन्य व्यवस्था विभागले निर्धारण गरे बमोजिम हुनेछ।

१(६)

विदेशी र नेपाली नागरिकबीच विदेशमा भएको विवाह दर्ता गर्नु परेमा विवाह भएको मुलुकको प्रचलित कानून बमोजिम विवाह भएको दर्ता प्रमाणपत्र र कन्सुलर सेवा विभाग वा नेपालस्थित सम्बन्धित मुलुकको कूटनीतिक नियोग वा सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट भएको प्रमाणीकरण सहित यस नियम बमोजिम सूचना दिनु पर्नेछ।

तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिन सकिनेछ र यसरी सूचना दिइएकोमा सम्बन्धित स्थानीय पञ्‍जीकाधिकारीले विवाह भएको यकिन गरी विवाह दर्ता गरिदिन सक्नेछ।

(७)

प्रचलित कानून बमोजिम सम्बन्ध विच्छेद भएकी महिलाले व्यक्तिगत घटना दर्ता गर्न निजको हालको स्थायी ठेगाना भएको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा सूचना दिन सक्नेछ।

(८)

उपनियम (७) बमोजिम सूचना प्राप्‍त भएमा सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयले त्यस्तो महिलाको पति तर्फको स्थायी ठेगाना भएको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयबाट व्यक्तिगत घटना दर्ताको विवरण माग गर्नु पर्नेछ।

(९)

बाबु आमाको सम्बन्ध विच्छेद भई आमाको स्थायी ठेगाना फरक भएमा आमासँग रहने छोराछोरीको व्यक्तिगत घटना दर्ता गर्न आमाको स्थायी ठेगाना भएको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा सूचना दिन सकिनेछ। यसरी सूचना दिँदा बाबु तर्फको स्थायी ठेगाना भएको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयबाट त्यस्तो व्यक्तिगत घटना दर्ता भए वा नभएको व्यहोरा बुझ्नु पर्नेछ।

(१०)

उपनियम (९) को प्रयोजनको लागि बाबु तर्फको स्थायी ठेगाना भएको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयले त्यस्तो व्यक्तिगत घटना दर्ता भए नभएको यकिन गरी दर्ता भएको नदेखिए सो व्यहोरा प्रमाणित गरी दिनु पर्नेछ।

(११)

व्यक्तिगत घटना स्थायी ठेगाना भन्दा फरक स्थानमा घटेको भए सम्बन्धित सूचकले त्यस्तो घटना घटेको स्थानको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा व्यक्तिगत घटना दर्ताको लागि सूचना दिन सक्नेछ।

(१२)

उपनियम (११) बमोजिमको सूचना प्राप्‍त भएमा त्यस्तो स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयले सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा त्यस्तो व्यक्तिगत घटना दर्ता भए नभएको बुझी यकिन गर्नु पर्नेछ।

(१३)

प्रचलित कानून बमोजिम कारागारमा सजाय भोगी रहेको महिलाबाट कारागारमा जन्मेको बच्चाको जन्मदर्ताको लागि सम्बन्धित कारागार कार्यालय मार्फत सूचना दिन सकिनेछ र यसरी सूचना दिइएकोमा कारागार कार्यालयको प्रमुखले त्यस्तो सूचना फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा पठाउनु पर्नेछ।

व्यक्तिगत घटनाको दर्ता गर्नेपृ. १०

(१)

नियम १६ बमोजिमको सूचना प्राप्‍त भएपछि स्थानीय पञ्‍जिकाधिकारीले प्राप्‍त सूचना फाराम तथा प्रमाणको सम्बन्धमा आवश्यकता अनुसार जाँचबुझ गरी देहाय बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछः-

(क)

जन्म दर्ता अनुसूची-१५ बमोजिम,

(ख)

मृत्यु दर्ता अनुसूची-१६ बमोजिम,

(ग)

विवाह दर्ता अनुसूची-१७ बमोजिम,

(घ)

सम्बन्ध विच्छेद दर्ता अनुसूची-१८ बमोजिम,

(ङ)

बसाइँ सराइ दर्ता अनुसूची-१९ बमोजिम।

(२)

ऐनको दफा १८ को उपदफा (१) वा (२) मा उल्लिखित अवधि समाप्‍त भएपछि व्यक्तिगत घटना दर्ता गर्न आएमा अनुसूची-३ बमोजिमको विलम्ब शुल्क लाग्नेछ।

(३)

ऐनको दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा उपनियम (१) को खण्ड (क), (ग), (घ) वा (ङ) बमोजिमको व्यक्तिगत घटना दर्ता गर्दा स्थानीय पञ्‍जिकाधिकारीले आफ्नो सिफारिस सहित परिचय नम्बर उपलब्ध गराउन विभागमा लेखी पठाउनु पर्नेछ र विभागबाट प्राप्‍त परिचय नम्बर व्यक्तिगत घटना दर्ता किताब तथा व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा समेत उल्लेख गर्नु पर्नेछ।

(४)

यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्ति बेपत्ता भएको वा नाता कायम भएको अवस्थामा व्यक्तिगत घटना दर्ता गर्नु पर्ने अवस्था भएमा सम्बन्धित निकायबाट त्यस्तो व्यहोरा प्रमाणीकरण भए पछि मात्र स्थानीय पञ्‍जिकाधिकारीले अन्य रित पुर्‍याई व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।

(५)

नियम १६ को उपनियम (११) बमोजिम सूचना दर्ता भई सो नियमको उपनियम (१२) बमोजिम बुझ्दा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा त्यस्तो व्यक्तिगत घटना दर्ता नभएको यकिन भएमा सूचना प्राप्‍त भएको स्थानको स्थानीय पञ्‍जिकाधिकारीले सो व्यक्तिगत घटना दर्ता गरी सोको जानकारी सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा पठाउनु पर्नेछ।

(६)

नियम १६ को उपनियम (१३) बमोजिम कारागारमा रहेका महिलाबाट जन्मेको बच्चाको जन्मदर्ताको लागि विवरण प्रमाणित भई आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानको स्थानीय पञ्‍जिकाधिकारीले त्यस्तो बच्चाको जन्मदर्ता गर्नु पर्नेछ।

(७)

नियम १६ को उपनियम (४) बमोजिम विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट दिइएको व्यक्तिगत घटना दर्ताको सूचनाको आधारमा विभागले व्यक्तिगत घटना दर्ता गर्नेछ।

(८)

उपनियम (७) बमोजिम व्यक्तिगत घटना दर्ता गर्ने तथा सोको अभिलेख राख्‍ने सम्बन्धी अन्य व्यवस्था विभागले निर्धारण बमोजिम हुनेछ।

(९)

यस नियम बमोजिम व्यक्तिगत घटना दर्ता गर्ने प्रयोजनको लागि विभागले स्थानीय पञ्‍जिकाधिकारीलाई पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणालीमा सुरक्षित पहुँच उपलब्ध गराउनेछ।

नेपालमा रहेका विदेशीको व्यक्तिगत घटना दर्ता गर्नेपृ. १२

(१)

नेपालमा रहेका विदेशीको कुनै व्यक्तिगत घटना दर्ता गर्नु पर्ने भएमा निजको राहदानी वा राष्‍ट्रियता खुलेको प्रमाण, व्यक्तिगत घटना भएको प्रमाणित हुने कागजात वा विवरण र नेपालमा कुटनीतिक नियोग रहेको मुलुकको विदेशी नागरिक भए त्यस्तो नियोगको सिफारिस समेत संलग्न राखी आफू बसोबास गरेको स्थानको स्थानीय पञ्‍जिकाधिकारी समक्ष निवेदन दिनु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम निवेदन परेमा सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीले सो उपर आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा नियम १७ बमोजिम त्यस्तो व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।

बसाइँ सराइको व्यक्तिगत घटना दर्ता गर्नेपृ. १२

(१)

नियम १७ मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित व्यक्तिले परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नु पर्नेछ।

(२)

स्थानीय पञ्‍जिकाधिकारीले बसाइँ सराइ दर्ता गर्दा सम्बन्धित व्यक्तिको परिवारका सदस्यको व्यक्तिगत घटना दर्ता भएको यकिन गरी अनुसूची-१४ बमोजिमको ढाँचामा लगत हस्तान्तरण फाराम जारी गर्नु पर्नेछ।

(३)

उपनियम (२) बमोजिमको फाराम जारी भएपछि घटेका व्यक्तिगत घटना बसाइँ सरी आउने स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयले दर्ता गर्नु पर्नेछ।

व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिनेपृ. १२

(१)

नियम १७ बमोजिम व्यक्तिगत घटना दर्ता भएको आधारमा स्थानीय पञ्‍जिकाधिकारीले सम्बन्धित सूचकलाई देहायको ढाँचामा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिनु पर्नेछः-

(क)

जन्म दर्ताको प्रमाणपत्र अनुसूची-२० बमोजिम,

(ख)

मृत्यु दर्ताको प्रमाणपत्र अनुसूची-२१ बमोजिम,

(ग)

विवाह दर्ताको प्रमाणपत्र अनुसूची-२२ बमोजिम,

(घ)

सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र अनुसूची-२३ बमोजिम,

(ङ)

बसाइँ सराइ दर्ताको प्रमाणपत्र अनुसूची-२४ बमोजिम।

(२)

नियम १७ को उपनियम (७) बमोजिम विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट व्यक्तिगत घटना दर्ता भएमा सोही माध्यमबाटै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जारी गर्न सकिनेछ।

(३)

सूचकले स्थानीय पञ्‍जिकाधिकारी समक्ष जन्म दर्ताको प्रमाणपत्र लिन आउँदा सम्भव भएसम्म त्यस्तो बच्चालाई समेत ल्याउनु पर्नेछ।

तर कुनै कारणले बच्चालाई ल्याउन सम्भव नभएमा स्वास्थ्य संस्थाबाट जारी भएको जन्म प्रतिवेदन वा बच्चालाई खोप लगाएको प्रमाण पेश गर्नु पर्नेछ।

व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल दिनेपृ. १३

(१)

ऐनको दफा २२ बमोजिम व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल लिन चाहने सरोकारवाला व्यक्तिले अनुसूची-२५ बमोजिमको ढाँचामा स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम निवेदन परेमा स्थानीय पञ्‍जिकाधिकारीले स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना दर्ता अभिलेख भिडाई दर्ता किताबको कैफियत महलमा व्यहोरा जनाई पटकै पिच्छे अनुसूची-३ बमोजिमको दस्तुर लिई त्यस्तो प्रमाणपत्रको नक्‍कल दिनु पर्नेछ।

(३)

उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि काबु बाहिरको परिस्थितिको कारणले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र हराएको वा नासिएको प्रमाणित भएमा उपनियम (२) बमोजिम लाग्ने दस्तुरको आधा दस्तुर लिई त्यस्तो प्रमाणपत्रको नक्‍कल दिइनेछ।

(४)

उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धी व्यक्तिगत घटना दर्ताको अभिलेख फेला नपरेको वा नष्ट भएको प्रमाणित भएको अवस्थामा स्थानीय पञ्‍जिकाधिकारीले देहाय बमोजिमको प्रक्रिया पूरा गरी अभिलेख फेला नपरेको वा नष्ट भएको कारण खुलाई व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल दिन सक्नेछ:-

(क)

व्यक्तिगत घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्र अन्यत्र कुनै निकायमा रहेको भए सो फारामको आधारमा अभिलेख खडा गर्ने,

(ख)

खण्ड (क) बमोजिम सूचना फाराम, प्रमाणपत्र वा अन्य कुनै प्रमाण प्राप्‍त नभएमा व्यक्तिगत घटना दर्ताको नयाँ सूचना फाराम भर्न लगाई सो सूचना फाराममा सूचकलाई सनाखत गर्न लगाउने र सोको आधारमा अभिलेख खडा गर्ने।

(५)

उपनियम (४) बमोजिम व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल दिँदा थप पुष्ट्याई आवश्यक देखिएमा स्थानीय पञ्‍जिकाधिकारीले त्यस्तो व्यक्तिसँग आफैँले सोधपुछ गरी स्थानीय वडाका जनप्रतिनिधि सहित कम्तीमा पाँच जना नेपाली नागरिकबाट सर्जमिन गराउन सक्नेछ।

(६)

यस नियम बमोजिम व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल दिई सकेपछि सक्‍कल प्रमाणपत्र फेला परेमा त्यसरी दिइएको प्रमाणपत्रको नक्‍कल स्वतः रद्द हुनेछ।

पहिलो दर्तालाई कायम गर्नेपृ. १४

(१)

कुनै व्यक्तिको एउटै व्यक्तिगत घटना एक पटक भन्दा बढी दर्ता भएकोमा एउटा दर्ता मात्र कायम गर्न सम्बन्धित व्यक्ति वा सूचकले व्यक्तिगत घटना दर्ताको सक्‍कल प्रमाणपत्र सहित स्थानीय अधिकारी समक्ष निवेदन दिन सक्नेछ।

(२)

उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धमा स्थानीय अधिकारीले आवश्यक छानबिन गर्न लगाई एउटै व्यक्तिगत घटना एक पटक भन्दा बढी दर्ता भएको र त्यसरी दर्ता भएको व्यक्तिगत घटनासँग सम्बन्धित तथ्य फरक नपरेको प्रमाणित भएमा पहिले भएको दर्तालाई कायम राखी अन्य दर्ता रद्द गर्नु पर्नेछ।

(३)

उपनियम (२) बमोजिम व्यक्तिगत घटनाको दर्ता रद्द भएमा सोको जानकारी स्थानीय अधिकारीले सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीलाई दिनु पर्नेछ र यसरी जानकारी प्राप्‍त भएपछि स्थानीय अधिकारीले सोको अभिलेख अद्यावधिक गर्नु पर्नेछ।

२ विवरण सच्याउनेपृ. १४

(१)

ऐनको दफा २५ बमोजिम कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित नाम, थर, उमेर वा अन्य विवरणमा त्रुटि भई वा फरक परी सच्याउनु परेमा ऐनको दफा १८ बमोजिमको सम्बन्धित व्यक्तिले देहाय बमोजिमका कागजातको प्रमाणित प्रतिलिपि संलग्न गरी अनुसूची-२६ बमोजिमको ढाँचामा स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा निवेदन दिनु पर्नेछः-

(क)

जन्मदर्ता प्रमाणपत्रको हकमा,-

(१)

नेपाली नागरिकताको प्रमाणपत्र जारी भई सकेको व्यक्तिको हकमा निजको नेपाली नागरिकताको प्रमाणपत्र,

(२)

स्रोह्र वर्ष उमेर नपुगेको बालबालिका वा नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेको व्यक्तिको हकमा निजको नाम, थर, उमेर वा अन्य विवरण खुल्ने शैक्षिक योग्यताको प्रमाणपत्र,

(३)

स्रोह्र वर्ष उमेर नपुगेको बालबालिका वा नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेको र शैक्षिक योग्यताको प्रमाणपत्र समेत नभएको व्यक्तिको हकमा स्वास्थ्य संस्थाबाट जारी भएको निजको नाम, थर, उमेर वा अन्य विवरण खुल्ने जन्मको प्रमाणपत्र वा विद्यालय भर्नाको प्रमाणित अभिलेख,

(४)

विदेशमा जन्म भई स्रोह्र वर्ष उमेर नपुगेको बालबालिका वा नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेको व्यक्तिको हकमा निजको नाम, थर, उमेर वा अन्य विवरण खुल्ने राहदानी वा विदेशस्थित नेपाली नियोगबाट जारी भएको यात्रा अनुमतिपत्र,

(५)

नेपालमा जन्म भएको विदेशीको हकमा निजको नाम, थर, उमेर वा अन्य विवरण खुल्ने राहदानी वा सम्बन्धित विदेशी नियोगबाट जारी भएको यात्रा अनुमतिपत्र वा नेपालको स्वास्थ्य संस्थाबाट जारी भएको जन्मको प्रमाणपत्र, वा

(६)

जन्मदर्ता प्रमाणपत्र सच्याउनु भनी अदालतबाट आदेश वा फैसला भएको भएमा सोही आदेश वा फैसला।

(ख)

मृत्यु दर्ता प्रमाणपत्रको हकमा,-

(१)

नेपाली नागरिकताको प्रमाणपत्र, सो नभएमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वा स्वास्थ्य संस्थाबाट जारी भएको मृत्यु प्रमाणपत्र,

(२)

नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेको, जग्गाधनी दर्ता प्रमाण पुर्जा नभएको र स्वास्थ्य संस्थाबाट मृत्यु प्रमाणपत्र जारी नभएको व्यक्तिको हकमा प्रहरीको सरजमिन मुचुल्का,

(३)

नेपालमा मृत्यु भएको विदेशीको हकमा निजको नाम, थर, उमेर वा अन्य विवरण खुलेको निजको राहदानी, वा

(४)

मृत्युदर्ता प्रमाणपत्र सच्याउनु भनी अदालतबाट आदेश वा फैसला भएको भए सोही आदेश वा फैसला।

(ग)

विवाह दर्ता प्रमाणपत्रको हकमा,-

(१)

नेपाली नागरिकताको प्रमाणपत्र,

(२)

विदेशीको हकमा निजको नाम, थर, उमेर वा अन्य विवरण खुलेको सम्बन्धित मुलुकले जारी गरेको राहदानी,

(३)

विवाह दर्ता प्रमाणपत्र सच्याउनु भनी अदालतबाट आदेश वा फैसला भएको भएमा सोही फैसला वा आदेश, वा

(४)

दर्ताद्वारा गरिएको विवाहको प्रमाणपत्र सच्याउने गरी अदालतबाट फैसला वा आदेश भई सच्याइएको दर्ता विवाहको प्रमाणपत्र।

(घ)

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको हकमा,-

(१)

सम्बन्ध विच्छेद हुने गरी अदालतबाट भएको फैसला वा आदेश र नेपाली नागरिकको हकमा नेपाली नागरिकताको प्रमाणपत्र तथा विदेशीको हकमा राहदानी,

(२)

उपखण्ड (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली नागरिकताको प्रमाणपत्र बनी नसकेको व्यक्तिको सम्बन्ध विच्छेद भएकोमा त्यस्तो सम्बन्ध विच्छेद हुने गरी अदालतबाट भएको फैसला वा आदेश।

(ङ)

बसाइँ सराई दर्ता प्रमाणपत्रको हकमा,-

(१)

नेपाली नागरिकताको प्रमाणपत्र, वा

(२)

नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेको व्यक्तिको हकमा निजको नाम, थर, उमेर वा अन्य विवरण खुलेको जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परिचयपत्र वा जन्म दर्ताको प्रमाणपत्र।

(२)

उपनियम (१) बमोजिम प्राप्‍त निवेदन उपर स्थानीय पञ्‍जिकाधिकारीले छानबिन गरी उपयुक्त देखिएमा त्यस्तो विवरण सच्याइदिन सक्नेछ।

(३)

स्थानीय पञ्‍जिकाधिकारीले छानबिनको क्रममा उपनियम (१) बमोजिमको कागजातको सक्‍कल प्रति माग गर्न सक्नेछ र यसरी माग गरेकोमा सम्बन्धित व्यक्तिले त्यस्तो कागजात समयमा नै उपलब्ध गराउनु पर्नेछ।

(४)

उपनियम (१) बमोजिम प्राप्‍त निवेदन उपर छानबिन गर्दा कुनै विषयमा थप पुष्ट्याई आवश्यक भएमा स्थानीय पञ्‍जिकाधिकारीले सम्बन्धित वडाका जनप्रतिनिधि सहित कम्तीमा पाँच जना सम्बन्धित वडाका नागरिकबाट सरजमिन गराउन सक्नेछ।

(५)

उपनियम (१) बमोजिम प्राप्‍त निवेदन उपर छानबिन गर्दा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा रहेको व्यक्तिको नाम, थर, आमा वा बाबुको नाम, थर फरक परेर सच्याउनु पर्ने देखिएमा प्रहरी प्रतिवेदन तथा ठेगाना सच्याउनु पर्ने भएमा सम्बन्धित वडाबाट स्थायी बसोबास प्रमाणित कागजातसमेत संलग्न गर्नु पर्नेछ।

तर व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः “कुमारी”, “देवी”, “बहादुर”, “प्रसाद” जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकार, उकारमा फरक परी सच्याउन माग गरेमा प्रहरी प्रतिवेदन आवश्यक पर्ने छैन।

(६)

स्थानीय पञ्‍जिकाधिकारीले नेपाली नागरिकको व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लेख भएको बाबु वा आमाको नाम, थर त्यस्तो बाबु वा आमाले प्राप्‍त गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भए भन्दा फरक परी सच्चाउनु परेमा बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नाम, थरको आधारमा निजको व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा रहेको बाबु वा आमाको नाम, थर सच्याई दिन सक्नेछ।

(७)

यस नियमबमोजिम विवरण सच्याउनका लागि परेको निवेदन उपर स्थानीय पञ्‍जिकाधिकारीले छानबिन गरी त्यस्तो विवरण सच्याउन सकिने वा नसकिने सम्बन्धमा सात दिनभित्र निर्णय गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई गराउनु पर्नेछ।

(८)

उपनियम (७) बमोजिम निर्णय गर्दा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र सच्याउने गरी निर्णय गरेमा उक्त सच्याइएको विवरण सम्बन्धित दर्ता किताब, प्रमाणपत्र र पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी यस अघि जारी भएको व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र लिई सच्याइएको व्यक्तिगत घटनाको प्रमाणपत्र जारी गर्नु पर्नेछ।

(९)

कुनै व्यक्तिको व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा रहेको विवरण व्यक्तिगत घटना दर्ता किताबमा रहेको अभिलेखसँग फरक परेको भनी निवेदन प्राप्‍त हुन आएमा सो सम्बन्धमा उपनियम (१) मा उल्लेख भए बमोजिमका कागजातको सक्‍कलबाट सो व्यहोरा पुष्टी हुन आएमा स्थानीय पञ्‍जिकाधिकारीले त्यस्तो दर्ता किताबमा रहेको अभिलेख एक पटक सच्याउन सक्नेछ।

व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न दिनेपृ. १८

(१)

ऐनको दफा २६ बमोजिम सम्बन्धित व्यक्तिले स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्नको लागि अनुसूची-३ बमोजिमको दस्तुर सहित निवेदन दिएमा सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीले त्यस्तो अभिलेख हेर्न दिन सक्नेछ।

(२)

उपनियम (१) बमोजिम कुनै व्यक्तिले स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेरेकोमा त्यस्तो कार्यालयले सोको अभिलेख राख्‍नु पर्नेछ।

घटना दर्ता सम्बन्धी विशेष व्यवस्थापृ. १८

(१)

प्रचलित कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्‍ने व्यक्तिले घटना दर्ताको लागि स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा अनुसूची-२७ बमोजिमको ढाँचामा सूचना दर्ता गर्नु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम सूचना दर्ता गर्दा पति, पत्‍नी दुवैको तर्फबाट धर्मपुत्र वा धर्मपुत्री राखिएकोमा दुवै जना उपस्थित हुनु पर्नेछ।

(३)

उपनियम (१) बमोजिम सूचना दर्ता भएपछि स्थानीय पञ्‍जिकाधिकारीले आवश्यक जाँचबुझ गरी धर्मपुत्र वा धर्मपुत्री राखिएको यकिन गरी उपयुक्त देखिएमा अनुसूची-२८ बमोजिमको दर्ता किताबमा अभिलेख राखी अनुसूची-२९ बमोजिमको प्रमाणपत्र जारी गर्नु पर्नेछ।

(४)

कुनै व्यक्तिको कम्तीमा सात महिनाको गर्भावस्था पछि मृत बच्चा जन्मिएमा वा बच्चा जन्मनासाथ मृत्यु भएमा सो सम्बन्धमा स्वास्थ्य संस्थाले प्रमाणित गरेको कागजात तथा सम्बन्धित वडा अध्यक्षले गरेको सिफारिस सहित त्यस्तो बच्चाको बाबु, आमा वा परिवारको अठार वर्ष उमेर पूरा गरेको सदस्यले स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयमा अनुसूची-३० बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ।

(५)

उपनियम (४) बमोजिम निवेदन परेमा स्थानीय पञ्‍जिकाधिकारीले सोको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई अनुसूची-३१ बमोजिमको मृत बच्चा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।

कार्यरत स्थानबाट व्यक्तिगत घटना दर्ता गर्न सक्नेपृ. १९

सङ्‍घ, प्रदेश र स्थानीय तह अन्तर्गतका सरकारी निकाय वा नेपाल सरकारको स्वामित्व भएको सङ्गठित संस्थाका बहालवाला कर्मचारीले बसाइँ सराइ बाहेक आफू सूचक भई गर्नु पर्ने अन्य व्यक्तिगत घटना दर्ता निज कार्यरत रहेको स्थानको स्थानीय पञ्‍जिकाधिकारीको कार्यालयबाट गर्न सक्नेछ र यसरी दर्ता भएको सूचना फाराम र अभिलेख सम्बन्धित स्थानीय पञ्‍जिकाधिकारीले त्यस्तो कर्मचारीको स्थायी ठेगाना रहेको स्थानीय तहमा पठाउनु पर्नेछ।

पारिवारिक लगत तयार गर्नेपृ. १९

(१)

ऐनको दफा २३ बमोजिम पारिवारिक लगत तयार गर्न अनुसूची-३२ बमोजिमको ढाँचामा विवरण सङ्कलन गर्नु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम सङ्कलन भएको विवरण पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्‍टि गर्नु पर्नेछ।

(३)

उपनियम (१) बमोजिम सङ्कलन भएको विवरण तथा विभागमा उपलब्ध तथ्याङ्कको आधारमा विभागले पारिवारिक लगत तयार गर्नेछ ।

(४)

उपनियम (३) बमोजिम तयार भएको पारिवारिक लगतमा परिवारको सबै सदस्यको व्यक्तिगत घटना दर्ता भएपछि सो विवरण अद्यावधिक गरिनेछ।

केन्द्रीय पञ्‍जिकाधिकारी (रजिष्ट्रार) को काम, कर्तव्य र अधिकारपृ. २०

ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रीय पञ्‍जिकाधिकारी (रजिष्ट्रार) को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क)

व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा सहजता र एकरुपता कायम गर्न स्थानीय पञ्‍जिकाधिकारीलाई आवश्यक निर्देशन दिने,

(ख)

पञ्‍जीकरण सम्बन्धमा परेका उजुरी र गुनासो फर्छ्यौट गर्ने,

(ग)

पञ्‍जीकरण व्यवस्थापन सम्बन्धी यस नियमावलीमा उल्लेख भएको फाराम बाहेकका अन्य फारामको ढाँचा तोक्ने,

(घ)

नेपाल सरकारको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा विदेश स्थित कुटनीतिक नियोगमा कार्य गर्ने कर्मचारीलाई स्थानीय पञ्‍जिकाधिकारी (रजिष्ट्रार) को रुपमा कार्य गर्न तोक्ने,

(ङ)

स्थानीय तहका वडा कार्यालय बाहेक अन्य कार्यालयबाट व्यक्तिगत घटना दर्ता गर्न आवश्यक देखिएमा सोको आधार र कारण सहित स्थानीय पञ्‍जीकरण कार्यालयको रुपमा तोक्ने निर्णयका लागि मन्त्रालय समक्ष पेश गर्ने,

(च)

पञ्‍जीकरण व्यवस्थापन सूचना प्रणालीलाई राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग आबद्ध गरी जन्म दर्ता गर्दाकै बखत व्यक्तिले परिचय नम्बर प्राप्‍त गर्ने गरी त्यसको प्रयोग गर्ने व्यवस्था मिलाउने,

(छ)

व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यको लागि प्रदेश सरकार वा स्थानीय तहसँग आवश्यक समन्वय गर्ने।

परिच्छेद–४तथ्याङ्क भण्डार तथा तथ्याङ्कको प्रयोग

तथ्याङ्क भण्डार सम्बन्धी व्यवस्थापृ. २०

(१)

विभागले तथ्याङ्क भण्डारको विकास, स्थापना तथा सञ्‍चालन गर्नेछ।

(२)

तथ्याङ्क भण्डार तथा सोसँग आबद्ध अन्य सूचना प्रविधि प्रणाली सञ्‍चालन गर्दा ऐनको दफा ३५ को उपदफा (१) बमोजिमको तथ्याङ्क सुरक्षा समितिले निर्धारण गरेको सुरक्षा मापदण्ड पूरा गर्नु पर्नेछ।

(३)

उपनियम (२) बमोजिमको सुरक्षा मापदण्डमा तथ्याङ्क सुरक्षा सम्बन्धमा देहायका प्रावधान रहनु पर्नेछः-

(क)

तथ्याङ्क भण्डारको व्यवस्थापन सम्बन्धी कार्यको जिम्मेवारी बाँडफाँड तथा नियन्त्रणका उपाय,

(ख)

राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको मूल सुरक्षा साँचो तीन वटा फरक फरक निकायमा रहने गरी सो प्रणाली प्रयोग हुने सुरक्षा साँचोको व्यवस्थापन गर्ने विधि,

(ग)

अन्य निकायले तथ्याङ्क भण्डार तथा राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच पुर्‍याउनु अघि पूरा गर्नु पर्ने सुरक्षा प्रावधान,

(घ)

तथ्याङ्क भण्डार तथा राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आबद्व हुन चाहिने नेटवर्कको सुरक्षास्तर,

(ङ)

सेवा प्रदायकबाट सेवा लिँदा पूरा गर्नु पर्ने शर्त,

(च)

अनलाइन सेवा प्रदान गर्दा अपनाउनु पर्ने सुरक्षा प्रावधान।

तथ्याङ्कको प्रयोगपृ. २१

(१)

विभागले राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कको आधारमा देहाय बमोजिमका सेवा प्राप्‍त गर्न कुनै निकाय वा संस्थालाई पहुँच उपलब्ध गराउन सक्नेछः-

(क)

परिचय नम्बरको प्रमाणीकरण,

(ख)

वैयक्तिक विवरणको प्रमाणीकरण,

(ग)

जैविक विवरणको प्रमाणीकरण,

(घ)

परिचयपत्रको प्रमाणीकरण,

(ङ)

खण्ड (ख), (ग) वा (घ) बमोजिमको विवरण प्रमाणीकरण भएमा त्यस्तो व्यक्तिको अन्य वैयक्तिक विवरण प्रदान गर्ने।

(२)

उपनियम (१) मा उल्लेख भएकामध्ये एक वा एक भन्दा बढी सेवाको लागि राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच प्राप्‍त गर्न चाहने सार्वजनिक वा निजी संस्थाले प्रयोजन र कारण खुलाई विभाग समक्ष लिखित रुपमा अनुरोध गर्नु पर्नेछ।

(३)

उपनियम (२) बमोजिम अनुरोध भई आएमा विभागले आफ्नो सिफारिस सहित मन्त्रालयमा पेश गर्नु पर्नेछ।

(४)

उपनियम (३) बमोजिम सिफारिस सहित निवेदन प्राप्‍त भएमा मन्त्रालयले आवश्यकता र औचित्य विचार गरी त्यस्तो निकाय वा संस्थालाई राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच उपलब्ध गराउने निर्णय गर्न सक्नेछ।

(५)

उपनियम (४) बमोजिम मन्त्रालयबाट पहुँच उपलब्ध गराउने निर्णय भएमा त्यस्तो सेवा प्राप्‍त गर्न विभागले नियम २९ को उपनियम (३) बमोजिमको सुरक्षा मापदण्ड पूरा गरी त्यस्तो संस्थालाई राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच उपलब्ध गराउनेछ।

(६)

यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभागले देहायको क्षेत्रसँग सम्बन्धित सरकारी निकायसँग साझेदारी गरी परिचय नम्बरको आधारमा व्यक्तिको विवरण प्राप्‍त गर्न सक्ने गरी त्यस्तो निकायले स्थापना गरेको नियम २९ को उपनियम (३) बमोजिमको सुरक्षा मापदण्ड पूरा गरेको विद्युतीय प्रणाली मार्फत राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच उपलब्ध गराउन सक्नेछः-

(क)

राहदानी सम्बन्धी,

(ख)

भूमि सम्बन्धी,

(ग)

सवारी दर्ता तथा नवीकरण सम्बन्धी,

(घ)

सवारी चालक अनुमतिपत्र सम्बन्धी,

(ङ)

व्यक्तिगत घटना दर्ता सम्बन्धी,

(च)

सामाजिक सुरक्षा सम्बन्धी,

(छ)

राजस्व सम्बन्धी,

(ज)

नागरिकता सम्बन्धी,

(झ)

नेपाल सरकारले तोकेको क्षेत्र।

(७)

उपनियम (१) बमोजिम राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच प्राप्‍त गरी सेवा प्रयोग गरे बापत अनुसूची-३ बमोजिमको दस्तुर लाग्नेछ।

(८)

उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतको कुनै निकायले यस नियम बमोजिमको सेवा प्रयोग गरे बापत कुनै दस्तुर लाग्ने छैन।

(९)

यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि माग गरेको विवरण विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट उपलब्ध गराउन सकिनेछ।

सेवा प्राप्‍त गर्ने विधिपृ. २३

नियम ३० बमोजिम राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच प्राप्‍त गरेको विषयमा सेवा प्राप्‍त गर्न सम्बन्धित निकाय वा संस्थाले आफूले स्थापना गरेको नियम २९ को उपनियम (३) बमोजिमको सुरक्षा मापदण्ड पूरा गरेको विद्युतीय प्रणाली मार्फत विभागले तोकेको ढाँचामा प्रयोजन खुलाई अनुरोध गर्नु पर्नेछ।

सूचना पाउने व्यवस्था गर्नेपृ. २३

विभागले राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको वैयक्तिक तथा जैविक विवरण पछिल्लो छ महिनाभित्र प्रयोग भएको वा हेरिएको विवरण सम्बन्धित व्यक्तिले जानकारी पाउन सक्ने व्यवस्था गर्नु पर्नेछ।

तथ्याङ्क प्रशोधन तथा विश्‍लेषण गर्न सक्नेपृ. २३

कुनै विषयमा नीति तथा योजना तर्जुमाको लागि तथ्याङ्क भण्डारमा रहेको तथ्याङ्कको विश्‍लेषण तथा प्रशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायसँग समन्वय गरी विभागले त्यस्तो तथ्याङ्क विश्‍लेषण तथा प्रशोधन गर्न सक्नेछ।

परिच्छेद–५विविध

समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकारपृ. २३

ऐनको दफा ३८ मा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क)

परिचयपत्र तथा पञ्‍जीकरण व्यवस्थापन सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने,

(ख)

आवश्यकता अनुसार विषयगत तथा क्षेत्रगत उपसमिति गठन गर्न सक्ने।

दस्तुर वा शुल्क राजस्व खातामा जम्मा गर्नेपृ. २३

(१)

नियम १७ बमोजिम लिइएको व्यक्तिगत घटना दर्ताको विलम्ब शुल्क, नियम २१ बमोजिम लिएको व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल दस्तुर तथा नियम २४ बमोजिम व्यक्तिगत घटना दर्ता तथा नागरिक अभिलेख किताब हेर्न दिए बापतको दस्तुर सम्बन्धित स्थानीय तहको राजस्व खातामा जम्मा गर्नु पर्नेछ।

तर नेपाली नियोगबाट लिइएको त्यस्तो दस्तुर नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नु पर्नेछ।

(२)

उपनियम (१) बमोजिम सम्बन्धित स्थानीय तहको राजस्व खातामा जम्मा गर्नु पर्ने बाहेक यस नियमावली बमोजिम लिइएको अन्य दस्तुर वा शुल्क नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नु पर्नेछ।

छुट्टै परिचयपत्र जारी गर्नेपृ. २४

(१)

ऐनको दफा ४७ बमोजिम गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त व्यक्ति वा लगातार एकसय असी दिन वा सो भन्दा बढी समयावधि नेपालमा बसोबास गर्ने अन्य विदेशीलाई अनुसूची-३ बमोजिमको दस्तुर लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि अस्थायी प्रकृतिको छुट्टै परिचयपत्र जारी गर्न सकिनेछ।

(२)

उपनियम (१) बमोजिम नेपालमा बसोबास गर्न पाउने अन्य विदेशीको लागि त्यस्तो परिचयपत्र जारी गर्दा निज नेपालमा बसोबास गर्न पाउने अवधिभरको लागि जारी गरिनेछ।

(३)

उपनियम (१) बमोजिम परिचयपत्र जारी गर्ने प्रयोजनको लागि एकसय असी दिन वा सो भन्दा बढी समय नेपालमा बसोबास गर्ने विदेशीको विवरण अध्यागमन विभागले विभागलाई उपलब्ध गराउनु पर्नेछ।

(४)

उपनियम (१) बमोजिमको छुट्टै परिचयपत्र लिन चाहने गैर आवासीय नेपाली नागरिकता प्राप्‍त व्यक्तिले अनुसूची-३३ बमोजिम र अन्य विदेशीले अनुसूची-३४ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।

(५)

उपनियम (४) बमोजिम निवेदन परेमा महानिर्देशकले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी गैर आवासीय नेपाली नागरिकताप्राप्‍त व्यक्तिको हकमा अनुसूची-३५ बमोजिम र अन्य विदेशीको हकमा अनुसूची-३६ बमोजिमको ढाँचामा परिचयपत्र जारी गर्न सक्नेछ।

(६)

नेपालमा रहेका अन्य विदेशीले नेपालमा बसोबास गर्न पाउने अवधि थप भई उपनियम (५) बमोजिमको परिचयपत्र नवीकरण गर्नु पर्ने भएमा सम्बन्धित व्यक्तिले अनुसूची- ३७ बमोजिमको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ।

(७)

उपनियम (६) बमोजिम निवेदन परेमा विभागले अनुसूची-३ बमोजिमको दस्तुर लिई त्यसरी थप भएको अवधिभरका लागि परिचयपत्र नवीकरण गरिदिनु पर्नेछ।

(८)

उपनियम (१) बमोजिम सूचना प्रकाशन भएपछि गैर आवासीय नेपाली नागरिकताप्राप्‍त व्यक्ति तथा अन्य विदेशीले प्रचलित नेपाल कानून बमोजिम सेवा सुविधा प्राप्‍त गर्नको लागि उपनियम (१) बमोजिमको परिचयपत्र पेश गर्नु पर्नेछ।

(९)

यस नियम बमोजिम जारी गरिएको परिचयपत्र देहायको अवस्थामा रद्द हुनेछः-

(क)

गैर आवासीय नेपाली नागरिकताप्राप्‍त व्यक्तिको त्यस्तो नागरिकता रद्द भएमा,

(ख)

अन्य विदेशीको हकमा नेपालमा बसोबास गर्न पाउने अवधि समाप्‍त भएमा वा नेपालमा बसोबास गर्ने अनुमति रद्द भएमा।

(१०)

यस नियम बमोजिम जारी गरिएको परिचयपत्रको विवरण राष्‍ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक गरी राख्‍नु पर्नेछ।

सहयोग र समन्वय गर्नु पर्नेपृ. २५

परिचपत्रको लागि विवरण सङ्कलन, परिचयपत्र वितरण र पञ्‍जीकरण सम्बन्धी कार्यको लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका सम्बन्धित पदाधिकारी र कर्मचारीले आवश्यक सहयोग र समन्वय गर्नु पर्नेछ।

अनुसूचीमा हेरफेरपृ. २५

मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ।

खारेजी र बचाउपृ. २५

(१)

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४ खारेज गरिएको छ।

(२)

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) नियमावली, २०३४ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।

पृ. २६

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

राष्‍ट्रिय परिचयपत्रको लागि निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ २६–२९ मा हेर्नुहोस्।

पृ. ३०

(नियम ४ को उपनियम (३) सँग सम्बन्धित)

राष्‍ट्रिय परिचयपत्रको लागि निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३०–३४ मा हेर्नुहोस्।

पृ. ३५

(नियम ४ को उपनियम (८), नियम १३ को उपनियम (३), नियम १७ को उपनियम (२), नियम २१ को उपनियम (२), नियम २४ को उपनियम (१), नियम ३० को उपनियम (७), नियम ३६ को उपनियम (१) र (७) सँग सम्बन्धित)

दस्तुर तथा शुल्क

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३५–३६ मा हेर्नुहोस्।

पृ. ३७

(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

परिचयपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३७ मा हेर्नुहोस्।

पृ. ३८

(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)

नाबालक राष्‍ट्रिय परिचयपत्रको लागि निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३८–४० मा हेर्नुहोस्।

पृ. ४१

(नियम ११ को उपनियम (३) सँग सम्बन्धित)

नाबालक राष्‍ट्रिय परिचयपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४१ मा हेर्नुहोस्।

पृ. ४२

(नियम १२ को उपनियम (१) सँग सम्बन्धित)

राष्‍ट्रिय परिचयपत्रको विवरण सच्याउनको लागि दिने निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४२ मा हेर्नुहोस्।

पृ. ४३

(नियम १२ को उपनियम (२) सँग सम्बन्धित)

राष्‍ट्रिय परिचयपत्रको थप विवरण अद्यावधिक गर्ने निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४३ मा हेर्नुहोस्।

पृ. ४४

(नियम १३ को उपनियम (१) सँग सम्बन्धित)

राष्‍ट्रिय परिचयपत्रको प्रतिलिपि लिनको लागि निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४४ मा हेर्नुहोस्।

पृ. ४५

(नियम १६ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)

जन्मको सूचना फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४५–४८ मा हेर्नुहोस्।

पृ. ४९

(नियम १६ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)

मृत्युको सूचना फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ४९–५१ मा हेर्नुहोस्।

पृ. ५२

(नियम १६ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)

विवाहको सूचना फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५२–५६ मा हेर्नुहोस्।

पृ. ५७

(नियम १६ को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)

सम्बन्ध विच्छेदको सूचना फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५७–६० मा हेर्नुहोस्।

पृ. ६०

Y Y Y Y M M D D

स्थानीय पञ्‍जिकाधिकारीको नाम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६०–६३ मा हेर्नुहोस्।

पृ. ६४

(नियम १७ को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)

जन्म दर्ताको किताब

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६४ मा हेर्नुहोस्।

पृ. ६५

(नियम १७ को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)

मृत्यु दर्ताको किताब

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६५ मा हेर्नुहोस्।

पृ. ६६

(नियम १७ को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)

विवाह दर्ताको किताब

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६६ मा हेर्नुहोस्।

पृ. ६७

(नियम १७ को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)

सम्बन्ध विच्छेद दर्ता किताब

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६७ मा हेर्नुहोस्।

पृ. ६८

(नियम १७ को उपनियम (१) को खण्ड (ङ) सँग सम्बन्धित)

बसाइँ सराइ दर्ता किताब

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६८–७० मा हेर्नुहोस्।

पृ. ७०

(नियम २० को उपनियम (१) को खण्ड (क) सँग सम्बन्धित)

जन्म दर्ताको प्रमाणपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७० मा हेर्नुहोस्।

पृ. ७१

(नियम २० को उपनियम (१) को खण्ड (ख) सँग सम्बन्धित)

मृत्यु दर्ता प्रमाणपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७१ मा हेर्नुहोस्।

पृ. ७२

(नियम २० को उपनियम (१) को खण्ड (ग) सँग सम्बन्धित)

विवाह दर्ता प्रमाणपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७२ मा हेर्नुहोस्।

पृ. ७३

(नियम २० को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७३ मा हेर्नुहोस्।

पृ. ७४

नेपाल सरकार (Government of Nepal)

स्थानीय पञ्‍जिकाधिकारीको कार्यालय (Office of Local Registrar)

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७४ मा हेर्नुहोस्।

पृ. ७५

(नियम २१ को उपनियम (१) सँग सम्बन्धित)

व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्‍कल लिनको लागि निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७५ मा हेर्नुहोस्।

२पृ. ७६

(नियम २३ को उपनियम (१) सँग सम्बन्धित)

व्यक्तिगत घटना दर्ताको विवरण सच्याउनको लागि दिने निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७६–७७ मा हेर्नुहोस्।

पृ. ७८

(नियम २५ को उपनियम (१) सँग सम्बन्धित)

धर्मपुत्र वा धर्मपुत्री दर्ताको सूचना फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ७८–८१ मा हेर्नुहोस्।

पृ. ८२

(नियम २५ उपनियमा (३) सँग सम्बन्धित)

धर्मपुत्र /धर्मपुत्री दर्ता किताब

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८२ मा हेर्नुहोस्।

पृ. ८३

(नियम २५ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल सरकार (Government of Nepal)

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८३ मा हेर्नुहोस्।

पृ. ८४

(नियम २५ को उपनियम (४) सँग सम्बन्धित)

मृत बच्चा दर्ताको सूचना फाराम

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८४ मा हेर्नुहोस्।

पृ. ८५

(नियम २५ को उपनियम (५) सँग सम्बन्धित)

मृत बच्चा दर्ताको प्रमाणपत्र

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८५ मा हेर्नुहोस्।

पृ. ८६

(नियम २७ को उपनियम (१) सँग सम्बन्धित)

पारिवारिक लगत फारामको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८६ मा हेर्नुहोस्।

पृ. ८७

(नियम ३६ को उपनियम (४) सँग सम्बन्धित)

गैर आवासीय नेपालीले पाउने परिचयपत्रका लागि निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८७–८८ मा हेर्नुहोस्।

पृ. ८९

(नियम ३६ को उपनियम (४) सँग सम्बन्धित)

अन्य विदेशीले पाउने परिचयपत्रको लागि दिने निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ८९ मा हेर्नुहोस्।

पृ. ९०

नियम ३६ को उपनियम (५) सँग सम्बन्धित

गैर आवासीय नेपालीले पाउने परिचयपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ९० मा हेर्नुहोस्।

पृ. ९१

नियम ३६ को उपनियम (५) सँग सम्बन्धित

अन्य विदेशीले पाउने परिचयपत्रको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ९१ मा हेर्नुहोस्।

पृ. ९२

(नियम ३६ को उपनियम (६) सँग सम्बन्धित)

विदेशीले पाएको परिचयपत्रको नवीकरणको लागि दिइने निवेदनको ढाँचा

फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ९२ मा हेर्नुहोस्।

संशोधन टिप्पणी

मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।

  1. १. पहिलो संशोधनद्वारा संशोधित।
  2. २. दोस्रो संशोधनद्वारा संशोधित।
स्रोत
  • नेपाल कानुन आयोग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ (आयोगको पाना)।
  • आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०२-०७। हरेक नियमको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
  • पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (१२४११/१२४१३ शब्द मिले)।