‘बच्चा हाँस्यो।’ र ‘जोकरले बच्चालाई हँसायो।’ दुवै वाक्यमा हाँस्ने बच्चा नै हो, तर दोस्रो वाक्यमा अर्को एक जना थपिएको छ: बच्चालाई हाँस्ने बनाउने जोकर। अरूलाई कुनै काम गर्न लगाउने वा गराउने अर्थ दिने क्रियालाई प्रेरणार्थक क्रिया भनिन्छ। आमाले बच्चालाई खुवाउनु, शिक्षकले पढाउनु, डाक्टरले बिरामीलाई सुताउनु: हाम्रो दिनभरिको बोलीमा यस्ता क्रिया धेरै आउँछन्।
कक्षा ७ मा प्रेरणार्थक धातु चिनेर सुरु हुने यो विषय कक्षा ८ मा प्रेरणार्थक वाक्य बनाउने तरिका, कक्षा ९ मा धातुको रूप फेरिने नियम र पहिले नै ‘लाई’ भएका वाक्य हुँदै कक्षा १० र ११ का पहिचान र रूपान्तरणका अभ्याससम्म पुग्छ। माथिको ‘कक्षा … सम्म’ बाट आफ्नो कक्षा छान्दा त्यस कक्षासम्मका कुरा मात्र देखिन्छन्।
प्रेरणार्थक क्रिया भनेको के हो
आफैँ काम गर्ने अर्थ दिने धातुमा -आउ प्रत्यय लगाएर अरूलाई त्यो काम गर्न लगाउने अर्थ दिने धातु बनाइन्छ। यस्तो धातुलाई प्रेरणार्थक धातु र त्यसबाट बनेको क्रियालाई प्रेरणार्थक क्रिया भनिन्छ।
| सामान्य धातु | प्रेरणार्थक धातु | सामान्य वाक्य | प्रेरणार्थक वाक्य |
|---|---|---|---|
| पढ् | पढाउ | भाइ किताब पढ्छ। | दिदी भाइलाई किताब पढाउनुहुन्छ। |
| लेख् | लेखाउ | विद्यार्थीले निबन्ध लेखे। | शिक्षकले विद्यार्थीलाई निबन्ध लेखाउनुभयो। |
| बस् | बसाउ | पाहुना कुर्सीमा बसे। | हामीले पाहुनालाई कुर्सीमा बसायौँ। |
| खा | खुवाउ | बच्चाले खिर खायो। | आमाले बच्चालाई खिर खुवाउनुभयो। |
धातु, यसका किसिम र -आउ भए पनि प्रेरणार्थक नहुने नाम धातु (लजाउ, दुब्लाउ) क्रियापद अध्यायमा छन्।
प्रेरणार्थकको उल्टो, आफैँ काम गर्ने अर्थ दिने क्रियालाई सामान्यार्थक क्रिया भनिन्छ: हाँस्यो सामान्यार्थक, हँसायो प्रेरणार्थक।
तलका मध्ये प्रेरणार्थक क्रिया भएको वाक्य कुन हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
प्रेरणार्थक धातु कसरी बन्छ
धेरैजसो व्यञ्जनमा टुङ्गिने धातुमा -आउ सिधै लाग्छ:
| सामान्य धातु | प्रेरणार्थक धातु | उदाहरण |
|---|---|---|
| भन् | भनाउ | उसले साथीलाई झुटो कुरा भनायो। |
| जित् | जिताउ | गोलकिपरले टोलीलाई खेल जितायो। |
| बोक् | बोकाउ | साहुले भरियालाई भारी बोकायो। |
| सिक् | सिकाउ | दाइले बहिनीलाई साइकल सिकाउनुभयो। |
| किन् | किनाउ | आमाले छोरालाई तरकारी किनाउनुभयो। |
| फेर् | फेराउ | नर्सले बिरामीलाई लुगा फेराइन्। |
कतिपय धातुमा -आउ लाग्दा धातुकै रूप अलिकति फेरिन्छ:
| फेरबदल | सामान्य धातु | प्रेरणार्थक धातु |
|---|---|---|
| पहिलो अक्षरको लामो स्वर छोटिन्छ | हाँस्, जाग्, नाच्, जाँच् | हँसाउ, जगाउ, नचाउ, जँचाउ |
| स्वरमा टुङ्गिने धातुमा -वाउ | खा, रु, धु, छु | खुवाउ, रुवाउ, धुवाउ, छुवाउ |
| स्वरमा टुङ्गिने धातुमा -लाउ | पिउ, दि | पिलाउ (पियाउ पनि), दिलाउ |
नेपाली बृहत् शब्दकोशमा यी सबै शब्द छन्, र धेरैजसोको अर्थ ‘… न लगाउनु’ भनेर दिइएको छ: गवाउनु ‘गाउन लगाउनु’, धुवाउनु ‘धुन लगाउनु’, दिलाउनु ‘दिन लगाउनु’। कुनै धातुको प्रेरणार्थक शुद्ध छ कि छैन भन्ने शङ्का लागे शब्दकोश हेर्नुहोस्।
जाग् धातुको प्रेरणार्थक रूप कुन हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
प्रेरणार्थक वाक्य बनाउने तरिका
सामान्य वाक्यलाई प्रेरणार्थक बनाउँदा:
- काम गर्न लगाउने नयाँ कर्ता थपिन्छ।
- पहिलेको कर्तामा लाई लाग्छ।
- धातुमा -आउ लगाएर क्रियापदलाई नयाँ कर्ताको लिङ्ग, वचन, पुरुष र आदरअनुसार बनाइन्छ।
- काल, पक्ष र भाव उही रहन्छन्।
| सामान्य वाक्य | प्रेरणार्थक वाक्य |
|---|---|
| बच्चा सुत्यो। | आमाले बच्चालाई सुताउनुभयो। |
| भाइ दुध पिउँदै छ। | दिदी भाइलाई दुध पिलाउँदै हुनुहुन्छ। |
| तिमीहरू नयाँ पाठ पढ्ने छौ। | शिक्षक तिमीहरूलाई नयाँ पाठ पढाउनुहुने छ। |
| बिरामीले औषधी खायो। | नर्सले बिरामीलाई औषधी खुवाइन्। |
-आउ लगाएर प्रेरणार्थक धातु नबन्ने वा अर्थ नमिल्ने ठाउँमा -न लगाउनु को प्रयोग गरिन्छ: ‘दाइले हुलाकबाट चिठी पठाए।’ → ‘बुबाले दाइलाई हुलाकबाट चिठी पठाउन लगाउनुभयो।’ ‘बहिनी कोठा सफा गर्छे।’ → ‘आमा बहिनीलाई कोठा सफा गर्न लगाउनुहुन्छ।’ (सफा गराउनुहुन्छ पनि शुद्ध हुन्छ।)
यसरी दुई शब्द मिलेर बनेको प्रेरणार्थकलाई अधिकारीको व्याकरणमा वाक्यात्मक प्रेरणार्थक भनिएको छ। -न लगाउनु बाहेक गराउनु र -ने बनाउनु ले पनि प्रेरणा देखाउँछन्: ‘उनको कुराले सबैलाई सोच्ने बनायो।’ दुई किसिमको प्रेरणार्थकको अर्थ भने अलि फरक हुन्छ: ‘आमाले नानीलाई भात खुवाउनुभयो।’ मा आमा आफैँ नानीको मुखमा गाँस हालिदिनुहुन्छ; ‘आमाले नानीलाई भात खान लगाउनुभयो।’ मा नानी आफैँ खान्छे, आमाले भनेर मात्र।
प्रेरणार्थक वाक्यलाई सामान्य (अप्रेरणार्थक) वाक्यमा फर्काउँदा उल्टो गरिन्छ: लगाउने कर्ता हटाइन्छ, लाई लागेको व्यक्ति कर्ता बन्छ, र -आउ हटाएर क्रियापद त्यसैअनुसार बनाइन्छ: ‘शिक्षकले विद्यार्थीलाई कविता पढाउनुभयो।’ → ‘विद्यार्थीले कविता पढे।’
वाक्यमा पहिले नै लाई लागेको शब्द छ भने पहिलेको कर्तामा अर्को लाई लगाइँदैन; त्यसमा द्वारा लगाइन्छ, नत्र को कसलाई भन्ने अलमल हुन्छ: ‘दिदीले भाइलाई कथा सुनाइन्।’ → ‘आमाले दिदीद्वारा भाइलाई कथा सुनाउन लगाउनुभयो।’
‘तिमी कविता लेख्दै छौ।’ को प्रेरणार्थक वाक्य कुन हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
‘आमाले छोरीलाई चिया पकाउन लगाउनुभयो।’ लाई अप्रेरणार्थकमा बदल्दा कुन हुन्छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
अकर्मक, सकर्मक र प्रेरणार्थक
प्रेरणार्थक बन्दा क्रियाको किसिम पनि बदलिन्छ, किनभने वाक्यमा अर्को एक जना थपिन्छ:
| सामान्य क्रिया | प्रेरणार्थक क्रिया | उदाहरण |
|---|---|---|
| अकर्मक: बस्नु, सुत्नु, हाँस्नु | सकर्मक: बसाउनु, सुताउनु, हँसाउनु | बच्चा बस्यो। → आमाले बच्चालाई बसाउनुभयो। |
| सकर्मक: खानु, पढ्नु, लेख्नु | द्विकर्मक: खुवाउनु, पढाउनु, लेखाउनु | भाइले भात खायो। → दिदीले भाइलाई भात खुवाइन्। |
यसैले अकर्मक क्रियाको कर्तामा भूत कालमा ले नलागे पनि त्यसको प्रेरणार्थक वाक्यको कर्तामा ले लाग्छ: ‘बच्चा सुत्यो।’ तर ‘आमाले बच्चालाई सुताउनुभयो।’ सकर्मक, अकर्मक र द्विकर्मक क्रियाको विस्तार क्रियापद र कर्तामा ले लाग्ने नियम कारक र विभक्ति अध्यायमा छ।
केही धातुका तीन तह हुन्छन्: अकर्मक, त्यसैबाट बनेको सकर्मक र प्रेरणार्थक। ‘झ्याल खुल्यो।’ (आफैँ) → ‘दिदीले झ्याल खोलिन्।’ (दिदी आफैँ) → ‘दिदीले भाइलाई झ्याल खुलाइन्।’ (भाइद्वारा)। त्यस्तै टुट्नु → तोड्नु → तोडाउनु।
सकर्मकबाट बनेको प्रेरणार्थकमा प्रेर्य काम गर्ने माध्यम मात्र भए बाट वा द्वारा लाग्छ, र प्रेर्य नखुलाए पनि हुन्छ: ‘हामीले छापाखानाबाट निम्तो छपायौँ।’, ‘मैले हिजो कपाल कटाएँ।’ (काट्ने अरू कोही)।
प्रेरक र प्रेर्य
प्रेरणार्थक वाक्यमा दुई कर्ता जस्ता हुन्छन्: काम गर्न लगाउने र काम गर्ने। काम गर्न लगाउनेलाई प्रेरक र जसलाई काम गर्न लगाइन्छ त्यसलाई प्रेर्य भन्न सकिन्छ। कक्षा ९ को शिक्षक निर्देशिका र हाम्रो कक्षा ९ को व्याख्यामा प्रेरकलाई ‘प्रेरक कर्ता’ भनिएको छ।
(अधिकारीको व्याकरणमा: प्रेर्यलाई प्रयोज्य पनि भनिएको छ, र पढ्न लगायो को पढ्न जस्तो प्रेर्यले गर्ने कामलाई ‘प्रेर्य क्रिया’।)
| वाक्य | प्रेरक | प्रेर्य |
|---|---|---|
| आमाले भाइलाई दुध पिलाउनुभयो। | आमा | भाइ |
| कोचले खेलाडीलाई दौडाए। | कोच | खेलाडी |
| हजुरबुबाले नातिलाई कुखुराको खोर बनाउन लगाउनुभयो। | हजुरबुबा | नाति |
प्रेर्यमा प्रायः लाई लाग्छ, र पहिले नै लाई भएको वाक्यमा द्वारा।
तर -आउ लागेको हरेक वाक्यमा प्रेरक र प्रेर्य हुँदैनन्। ‘दिदीले घाममा लुगा सुकाइन्।’ मा लुगाले आफैँ केही गर्दैन; काम गर्ने एउटै (दिदी) छ, त्यसैले यहाँ सुकाउनु सामान्य सकर्मक क्रियाजस्तै छ। निर्जीव कारण कर्ता भएको वाक्यमा दुवै रूप चल्छन्: ‘भुइँचालोले पुरानो पर्खाल भत्क्यो।’ र ‘भुइँचालोले पुरानो पर्खाल भत्कायो।’; काम गर्ने मान्छे भए भने प्रेरणार्थक रूप नै चाहिन्छ: ‘मजदुरहरूले पुरानो पर्खाल भत्काए।’ (अधिकारीको व्याकरणमा: प्रेरक-प्रेर्य सम्बन्ध नलिने स्थिति र वैकल्पिक प्रेरणार्थकको स्थिति।)
‘दिदीले भाइद्वारा हजुरआमालाई चिठी पठाउन लगाइन्।’ मा प्रेर्य को हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
दोहोरो प्रेरणा
कहिलेकाहीँ एक जनाले अर्कोलाई, अनि त्यसले तेस्रोलाई काम गराउँछ। ‘विद्यार्थी गणित पढ्छन्।’ मा एक जना छन्; ‘शिक्षक विद्यार्थीलाई गणित पढाउनुहुन्छ।’ मा दुई जना। प्रधानाध्यापकले त्यो शिक्षकलाई पढाउन लगाउनुभयो भने तीन जना हुन्छन्: ‘प्रधानाध्यापकले नयाँ शिक्षकलाई कक्षा ८ मा गणित पढाउन लगाउनुभयो।’
नेपालीमा यस्तो दोस्रो तहको प्रेरणाका लागि प्रायः छुट्टै धातु बन्दैन; प्रेरणार्थक धातुपछि -न लगाउनु थपिन्छ: पढाउन लगाउनु, खुवाउन लगाउनु, सिकाउन लगाउनु। (अधिकारीको व्याकरणमा: बसाउनु जस्तो धातुमै -आउ लागेको प्रथम प्रेरणार्थक, र बसाउन लगाउनु जस्तो द्वितीय प्रेरणार्थक।)
प्रेरणार्थक नबन्ने वा फरक तरिकाले बन्ने क्रिया
धातु आफैँ -आउ मा टुङ्गिए। ल्याउ, सुनाउ, बनाउ, पठाउ, निदाउ, नुहाउ जस्ता धातुमा अर्को -आउ थपिँदैन; यिनको प्रेरणा -न लगाउनु ले देखाइन्छ: ‘आमाले छोरालाई पसलबाट नुन ल्याउन लगाउनुभयो।’ ‘दिदीले बहिनीलाई नुहाउन लगाइन्।’ आउनु, छाउनु, सघाउनु र गाउनु पनि यस्तै हुन्: ‘गुरुले हामीलाई भजन गाउन लगाउनुभयो।’ CDC का पाठ्यपुस्तकमा पनि गाउन लगाउनु नै भेटिन्छ; नेपाली बृहत् शब्दकोशमा गवाउनु (गाउन लगाउनु) पनि छ, तर अधिकारीको व्याकरणले गाउनु मा प्रेरणार्थक प्रत्यय नलाग्ने भनेको छ।
अरू केही धातु। अधिकारीको व्याकरणअनुसार यी धातुमा पनि -आउ लाग्दैन, र -न लगाउनु नै प्रयोग हुन्छ: पहिलो अक्षरमा आ भएका केही सकर्मक (तान्नु, ताक्नु, फ्याँक्नु, च्याप्नु), -आल् वा -आर् मा टुङ्गिने धातु (हाल्नु, पाल्नु, पखाल्नु, पछार्नु) र दुई अक्षरका व्यञ्जनान्त धातु (निचोर्नु, बटुल्नु, चिमोट्नु): ‘दिदीले भाइलाई भिजेको लुगा निचोर्न लगाइन्।’
एउटै धातुका दुई प्रेरणार्थक। केही धातुका प्रेरणार्थकका दुई वैकल्पिक रूप चल्छन्, र दुवै शुद्ध छन्: खसाउनु / खसाल्नु, बसाउनु / बसाल्नु, चुँडाउनु / चुँडाल्नु, पियाउनु / पिलाउनु, सियाउनु / सिलाउनु, खुवाउनु / ख्वाउनु। ‘हजुरबुबाले नातिलाई काखमा बसाल्नुभयो।’ र ‘…बसाउनुभयो।’ को अर्थ एउटै हो। कतै भने एउटै धातुबाट बनेका दुई क्रियाको अर्थ फरक हुन्छ: चल् बाट चाल्नु (चालनीले छान्नु: ‘आमाले चालनीमा बालुवा चाल्नुभयो।’) र चलाउनु (‘दाइ ट्याक्टर चलाउँछन्।’)।
-आउ बिना बनेका सकर्मक। मर्नु → मार्नु, तर्नु → तार्नु, निस्कनु → निकाल्नु मा पनि अकर्मकबाट सकर्मक बनेको छ, तर -आउ लागेको छैन; धातुको स्वर वा अक्षर फेरिएको मात्र छ। पाठ्यपुस्तकले -आउ लागेर बनेकालाई प्रेरणार्थक भनेकाले यिनलाई सकर्मक धातु भनिन्छ। यिनको बनोट मूल र व्युत्पन्न धातु मा छ। (अधिकारीको व्याकरणमा यी सबै व्युत्पन्न एककर्मक वा व्युत्पन्न द्विकर्मक क्रिया हुन्, र -आउ लागेका क्रिया पनि सधैँ प्रेरणार्थक अर्थमा आउँदैनन् भनिएको छ।)
रूपले प्रेरणार्थक, अर्थ आफ्नै। सुनाउनु (सुन्), देखाउनु (देख्), सिकाउनु (सिक्), जगाउनु (जाग्) बनोटले प्रेरणार्थक हुन्, तर तिनको अर्थ अब आफ्नै भइसकेको छ: सुनाउनु लाई हामी ‘भन्नु’, देखाउनु लाई ‘अगाडि राखेर हेर्न दिनु’ का अर्थमा बोल्छौँ। त्यसैले नेपाली बृहत् शब्दकोशले सुनाउनु, देखाउनु लाई सकर्मक र प्रेरणार्थक दुवै भनेको छ, र सिकाउनु, जगाउनु लाई सकर्मक मात्र। तैपनि अर्थ ‘सुन्न लगाउनु’, ‘देख्न लगाउनु’ नै भएकाले परीक्षामा यिनलाई प्रेरणार्थक भन्न मिल्छ।
परीक्षामा
- कक्षा ७: परीक्षा प्रायः कक्षा ८ कै विशिष्टीकरण तालिकाको ढाँचामा बनाइन्छ।
- कक्षा ८ (आधारभूत तहको परीक्षा): प्रश्न ८, वाक्य परिवर्तन (३ अङ्क)। तीन वाक्यमध्ये एउटा करण-अकरण वा प्रेरणार्थकबाट आउँछ, १ अङ्क।
- कक्षा ९ र १० (एसइई): प्रश्न ९, वाक्यान्तरण (४ अङ्क)। चार वाक्यमध्ये एउटा प्रेरणार्थकमा बदल्ने हुन्छ, १ अङ्क। नमुना प्रश्न: ‘तिमी कथा पढ्दै छौ। (प्रेरणार्थक)’; तालिकाको नमुना उत्तर: ‘शिक्षक तिमीलाई कथा पढाउँदै हुनुहुन्छ।’ नयाँ कर्ता जुनसुकै राख्न सकिन्छ, तर काल र पक्ष उही रहनुपर्छ र क्रियापद नयाँ कर्ताअनुसार हुनुपर्छ।
- कक्षा ११ र १२: विशिष्टीकरण तालिकामा प्रेरणार्थकको छुट्टै प्रश्न छैन; कक्षा ११ को पाठ्यपुस्तकको अभ्यासमा भने प्रेरणार्थ र अप्रेरणार्थमा बदल्ने काम छ।
अभ्यास
तलका धातुबाट प्रेरणार्थक धातु बनाउनुहोस्: पढ्, गर्, बस्, खा।
उत्तर
तलका वाक्यलाई प्रेरणार्थकमा बदल्नुहोस्:
- क.भाइ नुहायो।
- ख.बहिनी चित्र कोर्छे।
- ग.खेलाडीहरू मैदानमा दौडे।
सङ्केत
उत्तर
तलका वाक्यलाई अप्रेरणार्थक (सामान्य) वाक्यमा बदल्नुहोस्:
- क.बुबाले छोरालाई साइकल चलाउन सिकाउनुभयो।
- ख.डाक्टरले बिरामीलाई ओछ्यानमा सुताए।
उत्तर
तलका धातुको प्रेरणार्थक रूप लेख्नुहोस्: हाँस्, रु, धु, पिउ, नाच्, दि।
उत्तर
तलका वाक्य प्रेरणार्थकमा बदल्नुहोस्:
- क.दाइले भाइलाई किताब दिए।
- ख.हामी तपाईँलाई गीत सुनाउँछौँ।
सङ्केत
उत्तर
तलको अनुच्छेदबाट प्रेरणार्थक र सामान्यार्थक क्रिया छुट्याउनुहोस्:
‘बिहान आमाले नानीलाई जगाउनुभयो। नानी उठी र दाँत माझी। दिदीले उसलाई दुध पिलाइन्। त्यसपछि नानी विद्यालय गई।’
उत्तर
तलका वाक्यमा प्रेरक र प्रेर्य छुट्याउनुहोस्:
- क.हजुरआमाले नातिनीलाई दाल भात खुवाउनुभयो।
- ख.गाउँपालिकाले ठेकेदारलाई बाटो बनाउन लगायो।
उत्तर
व्याकरण अभ्यासमा अभ्यास गर्नुहोस्: प्रेरणार्थक क्रिया र नाम धातु (कक्षा ९–१०)
पाठ्यपुस्तकमा
यी तथ्य कहाँबाट लिइएका हुन्
- कक्षा ७ (७): नेपाली, कक्षा ७, पाठ २, पृष्ठ २१ (पाठ्यक्रम विकास केन्द्र): खा → खुवाउ, पढ् → पढाउ, लेख् → लेखाउ; नाम धातु लजाउ, दुब्लाउ।
- कक्षा ८ (८): नेपाली, कक्षा ८, पाठ २, पृष्ठ २२ (खुवाउ, भनाउ, जिताउ, बोकाउ, किनाउ, सिकाउ, फेराउ र अरू; पहिचानको अभ्यासमा दिलाउ); पाठ १३, पृष्ठ १५५ (नयाँ कर्ता र लाई; भर्न लगाउनु, बनाउन लगाउनु; अप्रेरणार्थकमा बदल्ने अभ्यास)।
- कक्षा ९ (९): नेपाली, कक्षा ९, पाठ ११, पृष्ठ १२७–१२९ (प्रेरणानगर, हँसाउँछन्, रुवाउँदै); कक्षा ९ को शिक्षक निर्देशिका, पाठ ११ (पढ्, बस्, रु, पिउ बाट पढाउ, बसाउ, रुवाउ, पियाउ; सीताद्वारा बहिनीलाई रोटी दिलाउनुभयो जस्तो द्वारा भएको वाक्य; पाल्न लगाउनु), PDF पृष्ठ २६२: प्रेरणार्थकमा बदल्दा प्रेरक कर्ता थप्ने, अकर्मक भए सकर्मक र सकर्मक भए द्विकर्मक बनाउने, दुई कर्म भए द्वारा राख्ने; -न लगाउनु को प्रयोग। ‘प्रेरक’ शब्द निर्देशिकाकै हो; ‘प्रेर्य’ परम्परागत व्याकरणको।
- कक्षा १० (१०): नेपाली, कक्षा १०, पाठ ११, पृष्ठ १५५–१५८।
- कक्षा ११ (११): नेपाली, कक्षा ११, पाठ १२, भाषिक संरचना, अभ्यास ११ (PDF पृष्ठ १७४)।
- परीक्षा: कक्षा ८ को विशिष्टीकरण तालिका र नमुना प्रश्न (२०८०), प्रश्न ८; कक्षा ९–१० अनिवार्य नेपालीको विशिष्टीकरण तालिका, प्रश्न ९; कक्षा ११ (२०७७) र कक्षा १२ (२०७८) का विशिष्टीकरण तालिका।
- शब्दकोश: नेपाली बृहत् शब्दकोश (गवाउनु, धुवाउनु, छुवाउनु, दिलाउनु, जँचाउनु, बँधाउनु प्रेरणार्थक; पठाउनु, सुनाउनु, देखाउनु सकर्मक र प्रेरणार्थक; सिकाउनु, जगाउनु, उठाउनु सकर्मक; पढवाउनु, लेखवाउनु जस्ता रूप छैनन्)।
- थप (+): हेमाङ्गराज अधिकारी, समसामयिक नेपाली व्याकरण, अध्याय १३ (पृ. २५९: प्रेरणार्थकमा प्रेर्य क्रियाको -न कृदन्त, जस्तै पढ्न लगायो), अध्याय ६ (पढाउ प्रेरणार्थक धातु); अध्याय ४, पृ. ११९–१२३ (व्युत्पन्न एककर्मक र द्विकर्मक: -आउ लागेका क्रिया कतै प्रेरणार्थक कतै होइनन्; स्वर परिवर्तनले बन्ने सकर्मक; खसाउनु / खसाल्नु जस्ता वैकल्पिक रूप; एउटै धातुका फरक अर्थका दुई व्युत्पन्न)। अध्याय ९ (प्रेरणार्थक, पृ. १९६–२०२) पढिएको: प्रेरक-प्रेर्य (प्रयोज्य) सम्बन्ध लिने र नलिने स्थिति, वैकल्पिक प्रेरणार्थक, अकर्मक-सकर्मक-प्रेरणार्थकका तीन तह, माध्यमका रूपमा द्वारा लागेको प्रेर्य, जानु र पठाउनु, वाक्यात्मक प्रेरणार्थक (-न लगाउनु, -ने बनाउनु, गराउनु) र त्यसको अर्थभेद, प्रेरणार्थक रूप नलिने धातु (गाउनु, आउनु, सघाउनु आदि), प्रथम र द्वितीय प्रेरणार्थक। उदाहरण हाम्रै हुन्। गाउन लगाउनु: कक्षा ९ का शिक्षा र गणितका पाठ्यपुस्तक। हिज्जे: नेपाली बृहत् शब्दकोश।
गल्ती भेटे हामीलाई भन्नुहोस्।
