हामीलाई असल मानिस के ले बनाउँछ? ठुलो घर वा धेरै पैसाले होइन। असल बानी, सहयोग गर्ने मन र आफ्नो संस्कृतिको मायाले बनाउँछ।
हाम्रा पुर्खाले धेरै राम्रा चलन छोडेर गएका छन्। झगडा मिलाउने चलन छ। मिलेर चाड मनाउने चलन छ। यिनै कुरालाई हामी मूल्य र मान्यता भन्छौँ। मूल्य भनेको हामीले राम्रो र महत्त्वपूर्ण ठानेका कुरा हो, जस्तै: सत्य बोल्नु र सहयोग गर्नु। मान्यता भनेको समाजले ठिक मानेको चलन हो।
यस एकाइमा परम्परागत प्रचलन, वेशभूषा र रहनसहन पढिन्छ। मेलापर्व र जात्रा पढिन्छ। प्रेरणादायी मानिस र राष्ट्रिय विभूतिहरू चिनिन्छ। अनुशासन, फुर्सदको सदुपयोग र सहयोगबारे पनि जानिन्छ।
पाठ १: हाम्रा परम्परागत प्रचलनहरू
परम्परागत प्रचलन भनेको पुस्तौँदेखि चल्दै आएको चलन हो। पुस्ता भनेको हजुरबुबा, बुबा र छोराजस्तै एकपछि अर्को आउने पिँढी हो।
कक्षा पाँचका विद्यार्थीलाई शिक्षकले एउटा परियोजना कार्य दिनुभयो। शीर्षक थियो: समुदायका राम्रा परम्परागत प्रचलन। विद्यार्थी पाँच समूहमा बाँडिए। हरेक समूहले समुदायमा सोधखोज गरेर यो विवरण ल्यायो।
समूह क: सामूहिक काममा सहभागिता
बाटो, चौतारी र पार्क बनाउने काममा समुदायका प्रायः सबै सदस्य सहभागी हुन्छन्।
- सरसफाइ र स्वास्थ्य शिविर चलाउने काममा सबै अभिभावक सक्रिय हुन्छन्।
- मठमन्दिर र पाटीपौवा बनाउने काममा अधिकांश सदस्य सहभागी हुन्छन्।
- वृक्षारोपणमा पनि सबै जुट्छन्।
- नदी, पोखरी, इनार र ढुङ्गेधारा सफा गर्ने र जोगाउने काममा पनि उनीहरू सहभागी हुन्छन्।
सबै मिलेर काम गर्दा काम छिटो हुन्छ। सामुदायिक सम्पत्तिमा सबैको अपनत्व हुन्छ। त्यसैले बनेका कुरा धेरै समय टिक्छन्। यसलाई दिगोपना भनिन्छ। सामूहिक कामले मेलमिलाप, सहयोग र सहकार्य पनि बढाउँछ। यो देखेर समूहका विद्यार्थीलाई पनि भविष्यमा यस्ता काममा भाग लिने प्रेरणा मिल्यो।
समूह ख: झगडा मिलाउने स्थानीय चलन
समुदायमा कहिलेकाहीँ विवाद हुन्छ। विवाद भनेको झगडा वा मतभेद हो। धेरै समुदायमा यस्ता विवाद अदालत नगई गाउँमै मिलाउने आफ्नै चलन छ।
| समुदाय | चलन | के काम गर्छ? |
|---|---|---|
| नेवार | गुठी | साना विवाद मिलाउने र सामाजिक सहयोग गर्ने |
| तामाङ | मुली चुन्ने | शान्तिसुरक्षा र मेलमिलाप राख्ने, विवाद मिलाउने |
| धिमाल | माझी | सामाजिक सङ्गठनको प्रमुख भई विवाद समाधान गर्ने |
| धेरै समुदाय | आमा समूह | मदिरा र जुवातास नियन्त्रण गर्ने |
यी मौलिक चलन निकै प्रभावकारी देखिए। मौलिक भनेको आफ्नै, अरूबाट नसारेको भन्ने हो। त्यसैले यस्ता चलन जोगाउन हामी पनि सक्रिय हुनुपर्छ भन्ने समूहले महसुस गर्यो।
तामाङ समुदायमा गाउँको विवाद मिलाउन कसलाई चुनिन्छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
समूह ग: चाडपर्वमा सहभागिता
दसैँमा घटस्थापनाका दिन जमरा राखिन्छ। घर र नजिकको मन्दिरमा दुर्गापूजा गरिन्छ।
- दसैँमा मठमन्दिर मर्मत र सफा गरिन्छ।
- लिङ्गेपिङ हालिन्छ। सांस्कृतिक र मनोरञ्जनका कार्यक्रम चलाइन्छन्।
- दशमीका दिन आफ्नो घर र मान्यजनका घरमा गएर टीका र आशीर्वाद लिइन्छ।
- छठ, ल्होसार, बिस्केट जात्रा, इद, म्ह पूजा, उँधौली, उँभौली र माघीमा शुभकामना साटिन्छन्। विभिन्न कार्यक्रम पनि गरिन्छन्।
- मुस्लिम समुदायमा आफ्नो आम्दानीको केही रकम दान गर्ने चलन छ। यसलाई जकात भनिन्छ।
- मेला र जात्रामा सबै सहभागी हुन्छन्। मिठामिठा परिकार खान्छन् र रमाउँछन्।
चाडपर्व र जात्रा सबै मिलेर मनाइन्छन्। त्यसैले यसले सामाजिक सद्भाव राख्न मदत गर्छ।
समूह घ: असल नेता छान्ने चलन
नेतृत्व भनेको अरूलाई अगाडि बढाउँदै काम गराउने जिम्मा हो। यो समूहले समुदायमा असल नेता कसरी छानिन्छ भनेर सोधखोज गर्यो।
- समुदायका काममा समय दिने असल व्यक्ति छानिन्छ।
- नेता हुन चाहनेलाई आफ्ना योजना सुनाउन लगाइन्छ।
- थारू समुदायमा बडघर छान्ने चलन छ। बडघर समुदायको मुली वा नेता हो। उनले सामाजिक सम्बन्ध, परम्परा र संस्कृति जोगाउने काममा अगुवाइ गर्छन्।
- नेता छान्दा समावेशिता ख्याल गरिन्छ। यसको अर्थ महिला, पुरुष र सबै समूहका मानिसलाई ठाउँ दिनु हो।
- काम सामूहिक निर्णयका आधारमा चलाइन्छ।
- काम र खर्चको साँचो हिसाब राख्न सक्ने व्यक्ति छान्ने नियम समूहलाई राम्रो लाग्यो।
- कतिपय समुदायमा आमा समूह बनाएर आमाहरूकै नेतृत्वमा सामाजिक काम भइरहेका छन्।
नेता छान्दा चारओटा कुरा हेरिन्छन्: उसको इच्छा, उसले गर्न सक्ने काम, सदस्यको मन जित्ने क्षमता र समावेशिता। छलफल र समझदारीबाट नेता छान्दा नयाँ नेता तयार हुन्छन्। सिङ्गो समुदायको विकास पनि हुन्छ।
टोलको बाटो बनाउने समितिको नेता कस्तो मानिस हुनुपर्छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
समूह ङ: राम्रो कामको सम्मान
राम्रो काम गर्ने व्यक्तिलाई समुदायले हौसला दिन्छ। यो प्रशंसायोग्य काम हो।
- सामाजिक संस्था र क्लबले असल काम गर्ने व्यक्तिलाई समय समयमा सम्मान गर्छन्।
- सहयोग, हौसला र सम्मान पाएपछि ती व्यक्ति अझ उत्साहित हुन्छन्। अरूले सिक्ने खालको काम गर्छन्।
यसबाट अरूलाई पनि राम्रो काम गर्ने प्रेरणा मिल्छ। सिङ्गो समाज अनुशासित र सभ्य बन्छ। त्यसैले अहिलेदेखि नै राम्रो काम गर्नुपर्छ भन्ने प्रेरणा समूहले पायो।
गुरुआमाले सबै समूहलाई धन्यवाद दिनुभयो। उहाँले राम्रा चलन खोज्न, जोगाउन, सम्मान गर्न र आफूले पनि अपनाउन भन्नुभयो। यसो गर्दा राम्रा चलन पछिसम्म जोगिन्छन्।
क्रियाकलाप
अभ्यास
तपाईँको समुदायमा रहेका राम्रा परम्परागत प्रचलनको सूची बनाउनुहोस्।
उत्तर
समुदायका कार्यहरूमा सहभागी हुँदा के के फाइदा हुन्छ, लेख्नुहोस्।
उत्तर
समुदायमा चाडपर्वहरू कसरी मनाउनुपर्छ, छोटकरीमा लेख्नुहोस्।
उत्तर
असल व्यक्तिमा कुन कुन गुणहरू हुन्छन्, उल्लेख गर्नुहोस्।
उत्तर
पाठ २: वेशभूषा र रहनसहन
वेशभूषा भनेको लगाउने लुगा र गहना हो। रहनसहन भनेको बस्ने, खाने र जिउने तरिका हो। नेपालमा यी दुवै ठाउँअनुसार फरक छन्। यो कविता पढौँ।
धेरै छन् वेशभूषा फरक रहनसहन
विविधतामा एकता छ रम्छ त्यसै यो मन
रङ्गीचङ्गी फूलहरूको फूलबारी राम्रो
अनेक भाषा वेशभूषा सम्पत्ति हो हाम्रो।
बक्खु, पाङ्देन, दोचा आदि हिमालतिर लाउने
दौरा सुरुवाल गुन्यु चोलो पहाडमा सुहाउने
तराईमा धोती कुर्ता लेहङ्गा नै हुन्छ
विविधतामा रम्ने मेरो देश जस्तो कुन छ?
तिलहरी, शिरबन्दी, टिकटिक पायलमा
नेपालीलाई सुहाएको आफ्नै मौलिकतामा
बुझेका छौँ महत्त्व नि राष्ट्रियता छ मनमा
सबै मिली नाचौँ गाऔँ रमाऔँ आफ्नै पनमा।
हिमालमा तातो थुक्पा रिल्दुक सुप खाइने
पहाडमा भात ढिँडो गुन्द्रुक खान पाइने
भात रोटी दाल अचार तराईमा खाइने
ठाउँअनुसार खाना अनेक पौष्टिक तत्त्व पाइने।
खुसी लाग्छ यसै पनि देख्दा मन रम्ने
संस्कृतिलाई नजोगाए अस्तित्व नै गुम्ने
धेरै थरी चाडपर्व फरक रीतिथिति
भुल्न हुन्न नेपालीले आफ्नो संस्कृति।
कविताका शब्द
| शब्द | अर्थ |
|---|---|
| विविधता | धेरै थरीका कुरा हुनु |
| बक्खु | ऊनको लामो बाक्लो कोट |
| पाङ्देन | शेर्पा महिलाले कम्मरमा बाँध्ने धर्से बाक्लो कपडा |
| दोचा | घुँडासम्म आउने जुत्ता |
| गुन्यु चोलो | महिलाले लगाउने गुन्यु र चोलो |
| तिलहरी | पोतेको माला, जसको बिचमा सुन जडिएको हुन्छ |
| शिरबन्दी | सिउँदोदेखि टाउकोमा लगाइने सुनको गहना |
| टिकटिक | हिमाली भेगका महिलाले लगाउने एक किसिमको गहना |
| पायल | खुट्टामा लगाउने गहना |
| थुक्पा | चाउचाउ र मासु वा तरकारी भएको झोल खाना |
| रिल्दुक | उसिनेको आलु कुटेर बनाएका डल्ला हालिएको शेर्पा सुप |
| ढिँडो | पिठो पकाएर बनाइने बाक्लो खाना |
| गुन्द्रुक | सागका पात अमिल्याएर सुकाएको खानेकुरा |
कविताको मुख्य सन्देश यस्तो छ: फूलबारीमा धेरै रङका फूल हुँदा बगैँचा राम्रो हुन्छ। त्यस्तै धेरै भाषा, लुगा र खाना हुँदा नेपाल राम्रो भएको छ। धेरै थरी भए पनि हामी सबै नेपाली हौँ। यसैलाई विविधतामा एकता भनिन्छ।
किन ठाउँअनुसार फरक हुन्छ? हिमालमा जाडो हुन्छ। त्यसैले बाक्लो ऊनका लुगा लगाइन्छ र तातो झोल खाइन्छ। तराईमा गर्मी हुन्छ। त्यसैले पातलो र खुकुलो लुगा लगाइन्छ। खेतमा जे फल्छ, त्यही खाना बन्छ।
“संस्कृतिलाई नजोगाए अस्तित्व नै गुम्ने” भन्नुको अर्थ के हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
तपाईँको समुदायका मानिसले लगाउने वेशभूषाको नाम लेख्नुहोस्।
उत्तर
तपाईँको परिवार र समुदायका व्यक्तिले लगाउने वेशभूषाका नाम यस्तो तालिकामा लेख्नुहोस्।
| परिवारका सदस्यले लगाउने | समुदायका व्यक्तिले लगाउने |
|---|---|
उत्तर
हामीले आफ्नो संस्कृति किन जोगाउनुपर्छ?
उत्तर
हिमाल, पहाड र तराईमा बस्ने मानिसले लगाउने दुई दुईओटा वेशभूषा र गरगहनाको नाम लेख्नुहोस्।
उत्तर
पाठ ३: हाम्रा मेलापर्व र जात्राहरू
मेला भनेको धेरै मानिस एक ठाउँमा भेला हुने उत्सव हो। जात्रा भनेको देवता वा परम्परा मानेर टोल टोल घुमाइने उत्सव हो। नेपालका विभिन्न समुदायमा धेरै मेला, नाच र जात्रा मनाइन्छन्। तीमध्ये केही कहाँ कहाँ मनाइन्छन्, नक्सामा हेरौँ।
- १धान नाच: ताप्लेजुङ र पूर्वी पहाड
- २सतार नाच: झापा
- ३होली: जनकपुर र तराई
- ४बिस्केट, इन्द्रजात्रा, गाईजात्रा: काठमाडौँ उपत्यका
- ५मकर मेला: देवघाट
- ६गौरा पर्व: सुदूरपश्चिम
धान नाच
धान नाच लिम्बू समुदायको नाच हो। लिम्बू समुदायका मानिस मेला, हाटबजार र चाडपर्वमा एकअर्काको हात समाएर नाच्छन्। युवायुवती जोडी जोडीमा नाच्छन्। यसमा पालम गीत गाइन्छ। आजकल अरू जातजाति पनि यो नाचमा सहभागी हुन्छन्।
यस्ता क्रियाकलापले मित्रता, स्नेह र सहकार्य बढ्छ। यसले हाम्रो मौलिक संस्कृति जोगाउन पनि सघाउँछ।
होली
फागु पूर्णिमाको बेला तराईका विभिन्न समुदायका मानिस मिलेर होली मनाउँछन्। एकअर्कालाई रङ लगाउँछन्। होरी गीत गाएर नाच्छन्। भजन कीर्तन गर्छन् र मिठा परिकार खान्छन्। होली सद्भाव, मेलमिलाप र रङको पर्व हो। यसले सामाजिक सद्भाव बढाउन ठुलो सहयोग गरेको छ।
नेवार समुदायका जात्रा
नेवार समुदायमा धेरै जात्रा र उत्सव मनाइन्छन्। बालबालिका, युवायुवती र जेष्ठ नागरिक सबै सहभागी हुन्छन्। बिस्केट जात्रा, भोटो देखाउने जात्रा, इन्द्रजात्रा, गाईजात्रा र घोडेजात्रा यसका उदाहरण हुन्।
गाईजात्राका दिन मृत्यु भएका मानिसका घरबाट जात्रा निकालिन्छ। मृत आत्माको चिरशान्तिको कामना गरिन्छ र टोल टोल घुमाइन्छ। कतिपय जात्रामा टोल टोल घुम्दै परम्परागत बाजा बजाइन्छ र लाखे नाच नाचिन्छ। परम्परागत पोसाक लगाइन्छ र मिठा परिकार खाइन्छन्। अहिले अरू समुदायका मानिस पनि यी जात्रामा सहभागी हुन्छन्।
हाम्रो देश कला र संस्कृतिमा धेरै अगाडि छ। जात्रा र पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्न सघाएका छन्। जगेर्ना भनेको जोगाएर राख्नु हो। यस्ता जात्राको संरक्षणमा हामी सबै सहभागी हुनुपर्छ।
दसैँको मेला र सतार नाच
धेरै समुदायमा दसैँलगायतका चाडपर्वमा मेला लाग्छ। मानिस लिङ्गेपिङ खेल्छन्। सतार जातिका मानिस मौलिक वेशभूषामा सजिन्छन्। बाँसुरी, ढोलक, झ्याली र लट्ठी बजाउँदै घर घर जान्छन्। गीत गाउँदै रमाइलो नाच देखाउँछन्। यो नाच हेर्न सबै भेला हुन्छन् र सँगै नाच्छन्। यस बेला उनीहरू मौलिक परिकार बनाएर आफन्त र छिमेकीसँग खान्छन्।
हरेक ठाउँ र समुदायका रीतिरिवाज, परम्परा र चाडपर्वको आफ्नै महत्त्व छ। हामी सबै मिलेर यी जोगाउनुपर्छ।
गौरा पर्व
सुदूरपश्चिमका समुदायमा गौरा पर्व धुमधामसँग मनाइन्छ। महिला र पुरुष भेला भएर शिव र पार्वतीको पूजा गर्छन्। देउडा गाउँछन्। रमाइलो गर्छन् र प्रसाद लिन्छन्। यो पर्वमा नारीलाई शक्ति र सम्मानको प्रतीक मानिन्छ।
हाम्रा जात्रा, पर्व र चाडले विविधताबिचको एकता देखाउँछन्। यसले हामीलाई एकअर्कासँग घुलमिल गराउँछ। सामाजिक सद्भाव राख्न पनि मदत गर्छ।
मृत्यु भएका मानिसको सम्झनामा टोल टोल घुमाइने जात्रा कुन हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
गौरा पर्वमा कुन गीत गाइन्छ?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
तपाईँको समुदायमा मनाइने मेलापर्व र जात्राहरूको सूची तयार गर्नुहोस्।
उत्तर
तपाईँ स्थानीय समुदायमा प्रचलित कुन कुन मेलापर्व र जात्रामा सहभागी हुनुभएको छ, नाम लेख्नुहोस्।
उत्तर
हाम्रो मौलिक पहिचान जोगाउन मेलापर्व र जात्राहरूले कसरी सहयोग पुर्याएका छन्, लेख्नुहोस्।
उत्तर
गौरा पर्वमा के के गरिन्छ, लेख्नुहोस्।
उत्तर
गाईजात्रामा के के गरिन्छ?
उत्तर
समुदायमा मनाइने मेलापर्व र जात्राहरूको महत्त्व लेख्नुहोस्।
उत्तर
पाठ ४: प्रेरणादायी व्यक्तित्व
प्रेरणादायी व्यक्ति भनेको आफ्ना असल कामले अरूलाई पनि राम्रो गर्न मन जगाइदिने मानिस हो। प्रसिद्ध मानिस मात्र प्रेरणादायी हुँदैनन्। हाम्रो गाउँटोलमै पनि त्यस्ता मानिस हुन्छन्।
विद्यार्थीलाई आफ्नो समुदायका प्रेरणादायी व्यक्ति खोजेर चार्ट बनाउन भनिएको थियो। हरिहर, जानकी र दावाले बनाएको चार्ट कक्षाको बुलेटिन बोर्डमा टाँसियो। त्यसमा लेखिएका कुरा पढौँ।
गोपीनाथ हजुरबुबा
गोपीनाथ हजुरबुबा गाउँमा समाजसेवीका रूपमा चिनिनुहुन्छ। समाजसेवी भनेको समाजको भलाइका लागि काम गर्ने मानिस हो।
- उहाँले विद्यालय बनाउन आफ्नो जग्गा दान गर्नुभयो।
- गाउँमा शिक्षा र चेतना बढाउने काममा उहाँको ठुलो योगदान छ।
- गाउँको बिचमा मन्दिर र पाटीपौवा बनाउन आर्थिक सहयोग गर्नुभयो।
- मन्दिर निर्माण समितिको अध्यक्ष भएर पूजाआजा व्यवस्थित बनाउनुभयो।
हर्क दाजु
हर्क दाजु सहर बसेर स्नातक तहसम्म पढ्नुभयो। गाउँबाट सहर पढ्न गएका धेरै विद्यार्थी गाउँ नफर्केको देखेर उहाँलाई दुःख लाग्थ्यो। त्यसैले पढाइ सकेर उहाँ गाउँ फर्कनुभयो।
- जिल्लामा अलैँची खेती बढाउन ठुलो भूमिका खेल्नुभयो।
- पर्यटन क्षेत्र पहिचान गर्न र पूर्वाधार बनाउन पहल गर्नुभयो।
- यस कामको कदर गर्दै पर्यटन बोर्डले उहाँलाई अभिनन्दन गर्यो।
जिल्लावासीले उहाँको खुलेर प्रशंसा गर्छन्। दावालाई पनि उहाँजस्तै जिल्लामा राम्रो काम गर्ने रहर जागेको छ।
छिरिङ काकी
छिरिङ काकी समुदायका धेरै मानिसको प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँले अन्धविश्वास र कुरीति विरुद्ध युवालाई समेटेर स्वयम्सेवी समूह बनाउनुभयो। अन्धविश्वास भनेको प्रमाणबिना पत्याइएको गलत कुरा हो। कुरीति भनेको समाजलाई हानि गर्ने नराम्रो चलन हो।
- चेलीबेटी बेचबिखन, बालविवाह र घरेलु हिंसाविरुद्ध मानिसलाई सचेत बनाउनुभयो।
- भोजभतेरमा हुने फजुल खर्च रोक्न योगदान गर्नुभयो।
- बेरोजगार युवालाई स्वरोजगारका सिप सिक्न प्रेरित गर्नुभयो।
हर्क दाजु किन गाउँ फर्कनुभयो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
सबैको प्रशंसा पाउन के कस्ता काम गर्नुपर्छ, लेख्नुहोस्।
उत्तर
हर्क दाजु किन सबैको प्रेरणाको स्रोत बन्न पुग्नुभयो? दुई कारण लेख्नुहोस्।
उत्तर
असल काम गर्ने व्यक्तिलाई किन सबैले सम्मान गर्छन्, लेख्नुहोस्।
उत्तर
छिरिङले गरेका प्रेरणादायी कार्यहरूको सूची बनाउनुहोस्।
उत्तर
पाठ ५: अनुशासित बनौँ
अनुशासन भनेको नियम र असल बानी आफैँ पालना गर्नु हो। कसैले नहेर्दा पनि ठिक काम गर्नु नै अनुशासन हो। आचरण भनेको हाम्रो बोली र व्यवहार हो। यी दुई घटना पढेर छलफल गरौँ।
घटना एक: राधिका
राधिका कक्षामा अनुशासित विद्यार्थीका रूपमा चिनिन्छिन्। उनका बानी यस्ता छन्।
- साथीसँग मिलेर बस्छिन्, पढ्छिन् र खेल्छिन्।
- समयमा विद्यालय जान्छिन् र आउँछिन्।
- गृहकार्य र कक्षाकार्य समयमै सक्छिन्। जिम्माको काम तोकिएकै समयमा पूरा गर्छिन्।
- नजान्ने साथीलाई सिकाउँछिन्। आफूले नजानेको कुरा सोध्छिन्।
- नम्र भएर मिठो बोली बोल्छिन्।
- झगडा गर्दिनन्। झगडा गर्ने साथीलाई सम्झाउँछिन्।
- होहल्ला गर्दिनन्। अरूलाई पनि होहल्ला नगर्न सम्झाउँछिन्।
- अपाङ्गता भएका साथीलाई सहयोग र सम्मान गर्छिन्।
प्रथम त्रैमासिक परीक्षामा राधिकाको अङ्ग्रेजीको ग्रेड सोचेजस्तो आएन। उनी आत्तिइनन्। “अर्को परीक्षामा राम्रो गर्छु,” उनले प्रण गरिन्। शिक्षकलाई पनि मिहिनेत गर्ने वाचा गरिन्। उनले धेरै मिहिनेत गरिन्। अर्को परीक्षामा त्यही विषयमा अरू विषयभन्दा राम्रो गरिन्।
धैर्य भनेको अप्ठेरोमा नआत्तिई लागिरहनु हो। संयम भनेको रिस र आवेगमा नबगी आफूलाई थाम्नु हो। शिक्षकले बेला बेला भन्नुहुन्छ, “धैर्य र संयम राधिकाबाट सिक्नुपर्छ।”
घटना दुई: सरोज
सरोज पढाइमा अब्बल छन्। विद्यालयका सबै क्रियाकलापमा सक्रिय हुन्छन्। साथीको समस्या आफ्नै जस्तो गरी महसुस गर्छन्। गत हप्ता हेमन्तलाई सन्चो भएन। सरोजले शिक्षकलाई भनेर उनलाई स्वास्थ्यचौकी लैजान सघाए।
- साथीको दुःख र खुसीमा साथ दिन्छन्। त्यसैले उनका धेरै साथी छन्।
- घरपरिवार र छिमेकमा सक्ने सहयोग गर्छन्।
- ठुला मान्यजनको सम्मान र आज्ञापालन गर्छन्।
- साना भाइबहिनीको रेखदेख र माया गर्छन्।
सबैले उनको शिष्ट, सभ्य र सहयोगी स्वभावको प्रशंसा गर्छन्। आमाबुबा खुसी हुनुहुन्छ। उहाँहरू छोरालाई सधैँ असल बन्न प्रोत्साहन गर्नुहुन्छ।
यी दुवै घटना अनुशासन र असल आचरणसँग जोडिएका छन्। हामी पनि राधिका र सरोजजस्तै अनुशासित, सहयोगी, धैर्यवान् र आज्ञाकारी बन्नुपर्छ। यस्ता बानी आजैदेखि बसालौँ।
परीक्षाको नतिजा राम्रो नआउँदा राधिकाले के गरिन्?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
असल व्यवहारअन्तर्गत पर्ने कुनै चारओटा बानी व्यवहार उल्लेख गर्नुहोस्।
उत्तर
अरूलाई दुःख वा अप्ठेरो परेका बेला तपाईँ के गर्नुहुन्छ, उल्लेख गर्नुहोस्।
उत्तर
कस्तो आचरण भएका मानिसलाई सबैले मन पराउँछन्? आफ्नो विचार प्रस्तुत गर्नुहोस्।
उत्तर
तपाईँलाई अनुशासित हुन र असल आचरण देखाउन केले प्रेरित गर्छ, लेख्नुहोस्।
उत्तर
राधिका र सरोजको बानी व्यवहारमध्ये तपाईँलाई सबैभन्दा मन परेको बानी कुन हो र किन?
उत्तर
पाठ ६: फुर्सदको सदुपयोग
फुर्सद भनेको पढाइ र घरको काम सकेपछि बाँकी रहेको समय हो। सदुपयोग भनेको राम्रो काममा प्रयोग गर्नु हो। शिक्षक नैना विद्यार्थीलाई फुर्सदमा सिर्जनात्मक काम गर्न प्रेरित गर्नुहुन्छ। सिर्जनात्मक काम भनेको आफैँ केही नयाँ बनाउने वा सोच्ने काम हो। एक दिन उहाँले विद्यार्थीलाई गत शनिबार फुर्सदको समय कसरी बिताए भनेर सोध्नुभयो। विद्यार्थीले फरक फरक काम गरेका थिए।
मिनाक्षीले विज्ञानको परियोजना कार्य सकेर चित्र बनाइन्। साँझ भान्सामा बुबालाई तरकारी केलाएर सघाइन्। मनोजलाई खेल्न मन पर्छ। उनले गृहकार्य सकेर साथीहरूसँग खेले। खेल शरीर र मन दुवैका लागि राम्रो हो। यसले शरीर फुर्तिलो बनाउँछ।
प्रमोदलाई कहिलेकाहीँ मोबाइल र कम्प्युटरमा खेल खेल्न मन पर्छ। तर उनी धेरैजसो नयाँ कुरा खोज्छन् र पढाइका भिडियो हेर्छन्। त्यो दिन उनले पढाइका चित्र डाउनलोड गरे। साँझ बजारबाट सामान ल्याउन आमालाई सघाए। शिक्षकका अनुसार यसरी पढाइमा प्रविधि चलाउनु ठिक हो, तर लामो समय मोबाइल र कम्प्युटरमा मात्र बस्नु हुँदैन। यसले पढाइमा बाधा पुर्याउँछ। मोबाइल र टिभीमा धेरै समय बिताउने कतिपय बालबालिका एक्लै बस्न रुचाउँछन्। आफन्तसँग घुलमिल हुँदैनन्। अभिभावकसँग रिसाउँछन्। त्यसैले प्रविधिको सही प्रयोग सिक्नुपर्छ।
आकृतिलाई गीत गाउन र बाजा बजाउन मन लाग्छ। शनिबार पढेपछि उनले गितार र मादल बजाउँदै गीत गाइन्। बुबा र दिदीले पनि साथ दिनुभयो। आफ्नो रुचि चिन्न सके त्यही क्षेत्रमा भविष्य बनाउन पनि सकिन्छ।
समीर आफ्नै गाउँमा भएका बालक्लबका कार्यक्रममा गए र धेरै कुरा सिके। बालक्लबले एकअर्कालाई सहयोग गर्ने बानी बसाल्छन्। अनुशासित हुन र राम्रो काम गर्न प्रोत्साहन दिन्छन्।
मनिषा घ्याम्पेडाँडामा पिकनिक गइन्। टोलका धेरै मानिस आएका थिए। खानपिन र नाचगान गरेर रमाइलो भयो। नयाँ ठाउँ घुम्दा धेरै कुरा थाहा हुन्छ। पिकनिकमा चिनजान बढ्छ र नयाँ साथी बन्छन्। त्यसैले राम्रा र सिर्जनशील काम गरेर फुर्सद बिताउनुपर्छ।
मोबाइल र कम्प्युटरबारे शिक्षकको भनाइ कुन हो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
फुर्सदको समयलाई तपाईँ कसरी सदुपयोग गर्नुहुन्छ?
उत्तर
तपाईँले फुर्सदको समयमा गरेका सिर्जनशील कार्यहरूको सूची बनाउनुहोस्।
उत्तर
बालक्लबमा सहभागी हुँदा प्राप्त गर्न सकिने कुनै चारओटा फाइदा उल्लेख गर्नुहोस्।
उत्तर
नयाँ ठाउँ घुम्दा के के कुराको जानकारी पाउन सकिन्छ, लेख्नुहोस्।
उत्तर
पाठ ७: सहयोगी बनौँ
सहयोग भनेको अरूको काम वा दुःखमा साथ दिनु हो। गरिमाको कथा पढौँ।
एक दिन गरिमा आमालाई खाना बनाउन सघाउन भान्सामा गइन्। आमा खुसी हुनुभयो। गरिमाले यसअघि पनि तरकारी केलाउन, पानी थाप्न र चिया बनाउन सघाएकी थिइन्। आमाका अनुसार गरिमाले सघाएकाले उहाँहरूलाई बाहिरको काम गर्न सजिलो भएको छ। गरिमाका दाजु पनि बिहान उठेर घर सफा गर्न, कोठा मिलाउन र सजाउन सघाउँछन्। आमा आफ्ना सन्तानप्रति गर्व गर्नुहुन्छ।
आफूले सक्ने काममा सघाउनु हाम्रो कर्तव्य हो भन्ने गरिमालाई थाहा छ। उनकी साथी मन्दिरा बिदामा खेतबारीमा सघाउँछिन्। फूलबारीमा पानी हाल्छिन्। गाईबाख्रा चराउन जान्छिन्। मन्दिराकी आमा उनको तारिफ गर्नुहुन्छ। मन्दिराको यही बानी देखेर गरिमालाई पनि घरमा सघाउन मन लागेको हो।
हजुरबुबाको औषधी खाने समय भएको आमाले बिर्सनुभएको थियो। गरिमाले आमालाई सम्झाइन् र हजुरबुबालाई मनतातो पानीसँग औषधी खुवाइन्। बिरामी र वृद्धको ख्याल गर्ने नातिनी देखेर हजुरबुबा साह्रै खुसी हुनुभयो।
गरिमा विद्यालय जाँदा ह्विलचेयर चढ्ने साथी निरोजलाई गाह्रो हुँदा पछाडिबाट धकेलिदिन्छिन्। कोरोना महामारीका बेला उनले साथी तृष्णालाई छुटेका पाठ र गृहकार्यमा सघाइन्। पोहोर विपत्मा उनी हजुरबुबासँग राहत बाँड्न पनि गइन्। हजुरबुबाका अनुसार सबै बालबालिका गरिमाजस्तै भए समाज र देशको प्रगति हुन्छ।
गरिमाको सहयोग घरभित्र मात्र छैन। उनले घर, विद्यालय र समुदाय तीनै ठाउँमा सघाएकी छन्।
| कहाँ? | गरिमाले के गरिन्? |
|---|---|
| घरमा | तरकारी केलाइन्, पानी थापिन्, चिया बनाइन्, हजुरबुबालाई औषधी खुवाइन् |
| विद्यालयमा | निरोजको ह्विलचेयर धकेलिन्, तृष्णालाई पढ्न सघाइन् |
| समुदायमा | विपत्मा राहत बाँड्न गइन् |
गरिमालाई घरमा सघाउने मन कसरी लाग्यो?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
कस्ता मानिसलाई सबैले माया गर्छन्?
उत्तर
माथिको कथा पढेर तपाईँले के सन्देश पाउनुभयो?
उत्तर
गरिमाले गरेका कुन कामबाट तपाईँ ज्यादै प्रभावित हुनुभयो र किन?
उत्तर
तपाईँले आफ्नो घरका कुन कुन काममा सहयोग गर्नुभएको छ?
उत्तर
पाठ ८: हाम्रा राष्ट्रिय विभूतिहरू
राष्ट्रिय विभूति भनेको देशका लागि ठुलो योगदान गरेका र सरकारले सम्मानित गरेका व्यक्ति हुन्। उनीहरूले वीरता, साहित्य, शिक्षा वा साहसबाट देशको नाम राखे। शिक्षकले कक्षामा विभूतिहरूका तस्बिर देखाएर उहाँहरूको परिचय दिनुभयो।
यो पाठका दश विभूति कहिले बाँचे, समयरेखामा हेरौँ।
उहाँहरू कहाँ जन्मनुभयो, नक्सामा हेरौँ।
- १अमरसिंह थापा, भीमसेन थापा: गोरखा
- २बलभद्र कुँवर: काभ्रेपलाञ्चोक
- ३भक्ति थापा: लमजुङ
- ४भानुभक्त आचार्य: तनहुँ
- ५मोतीराम भट्ट, त्रिभुवन: काठमाडौँ
- ६पासाङ ल्हामु शेर्पा: सोलुखुम्बु
- ७फाल्गुनन्द लिङ्देन: इलाम
- ८जयपृथ्वीबहादुर सिंह: बझाङ
अमरसिंह थापा
अमरसिंह थापाको जन्म वि.सं. १८०८ मा जनै पूर्णिमाका दिन गोरखाको सिरानचोकमा भयो। उनका बुबाको नाम भीमसिंह थापा र आमाको नाम उमादेवी थियो।
उनले नेपालको एकीकरण अभियान अघि बढाए। नेपालको सिमाना काँगडासम्म पुर्याए। नेपाल-अङ्ग्रेज युद्धका बेला उनी पश्चिमी किल्लाका कमान्डर थिए। सुदूरपश्चिमी भूभागको रक्षाको जिम्मा उनलाई थियो। उनको वीरता देखेर अङ्ग्रेजले ठुलो प्रलोभन देखाए। प्रलोभन भनेको लोभमा पार्ने कुरा हो। तर उनी लोभमा परेनन्। देशको हितलाई ठुलो ठानेर वीरतासाथ लडे। त्यसैले उनी राष्ट्रिय विभूति हुन्।
बलभद्र कुँवर
बलभद्र कुँवरको जन्म वि.सं. १८४५ मा काभ्रेपलाञ्चोकको पाँचखाल भमरकोटमा भयो। उनी नेपाली सेनाका कप्तान थिए। नेपाल-अङ्ग्रेज युद्धमा उनी नालापानीको सबैभन्दा अग्लो ठाउँको खलङ्गा किल्लामा खटिए।
उनले सिपाही, महिला र बालबालिका गरी करिब ६०० जनासँग मोर्चा सम्हाले। अङ्ग्रेजको ठुलो फौज र आधुनिक हतियारविरुद्ध वीरतासाथ लडे। देशका लागि यही योगदानले उनी राष्ट्रिय विभूति मानिन्छन्।
भक्ति थापा
भक्ति थापाको जन्म वि.सं. १७९९ मा लमजुङमा भयो। उनी देशप्रेमी, साहसी र वीर पुरुष थिए। ७३ वर्षको उमेरमा अङ्ग्रेजविरुद्धको लडाइँमा सेनापति भएर लडे। यति बुढो उमेरमा पनि उनले साहस छोडेनन्। नेपालको सिमाना बढाउन पनि उनको ठुलो भूमिका थियो।
भीमसेन थापा
भीमसेन थापाको जन्म वि.सं. १८३२ मा गोरखाको बोर्लाङमा भयो। उनी लामो समय नेपालका प्रधानमन्त्री भए। उनले सैनिक, कानुनी, सामाजिक र आर्थिक क्षेत्रमा सुधार गरे। एकीकरण अभियान अघि बढाउँदै सिमाना चारैतिर फैलाए। काठमाडौँको धरहरा पनि उनले नै बनाउन लगाएका हुन्।
भानुभक्त आचार्य
भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ मा तनहुँको चुँदी रम्घामा भयो। उनी नेपाली साहित्यका आदिकवि हुन्। आदिकवि भनेको सुरुका ठुला कवि हो। उनले संस्कृतमा लेखिएको रामायण नेपाली भाषामा अनुवाद गरे। उनले भक्तमाला र वधूशिक्षा पनि लेखे। नेपाली साहित्यको यही योगदानले उनी राष्ट्रिय विभूति हुन्।
मोतीराम भट्ट
मोतीराम भट्टको जन्म वि.सं. १९२३ मा काठमाडौँको भोसिको टोलमा भयो। उनी नेपाली साहित्यका पहिलो गजलकार, जीवनीकार र समालोचक थिए। उनलाई युवाकवि भनिन्छ। उनले भानुभक्तका रचना छापेर भानुभक्तलाई सबैसामु चिनाए। मोतीमण्डली स्थापना गरे। भारत जीवन प्रेससँग पनि उनको नाम जोडिन्छ। साहित्य बढाउन उनले धेरै काम गरे। यो योगदानको कदर गर्दै देशले उनलाई राष्ट्रिय विभूतिको सम्मान दियो।
त्रिभुवन वीरविक्रम शाह
त्रिभुवन वीरविक्रम शाहको जन्म वि.सं. १९६३ मा भयो। उनी नेपालका शाहवंशीय राजा थिए। राणा शासनविरुद्ध क्रान्ति हुँदा उनले आन्दोलनलाई सहयोग गरे। यसरी १०४ वर्षको राणा शासन अन्त्य भयो। वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र आयो। प्रजातन्त्र स्थापनामा उनको ठुलो भूमिका थियो।
पासाङ ल्हामु शेर्पा
पासाङ ल्हामु शेर्पाको जन्म वि.सं. २०१८ मा सोलुखुम्बुमा भयो। उनी सगरमाथा चढ्ने पहिलो नेपाली महिला हुन्। सगरमाथाअघि उनले चोयु, माउन्ट ब्लाङ्क र अरू हिमाल चढिसकेकी थिइन्।
चौथो प्रयासमा उनी वि.सं. २०५० वैशाख १० गते सगरमाथाको चुचुरोमा पुगिन्। तर फर्कँदा खराब मौसममा फसेर उनको मृत्यु भयो। उनको साहसको सम्मान गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गर्यो। मृत्युपछि नेपाल तारा पदक पनि दियो।
फाल्गुनन्द लिङ्देन
फाल्गुनन्द लिङ्देनको जन्म वि.सं. १९४२ मा इलाममा भयो। उनी किराँत धर्मका महागुरु र समाजसुधारक थिए। जीवनको अन्तिमसम्म भाषा, लिपि, संस्कार र संस्कृति जोगाउन लागे। शिक्षा, समाजसुधार र किराँत धर्मको उत्थानमा योगदान दिए। हत्या हिंसा गर्नुहुँदैन, झुटो बोल्नुहुँदैन र नारीलाई उच्च सम्मान गर्नुपर्छ भन्ने कुरा फैलाए।
जयपृथ्वीबहादुर सिंह
जयपृथ्वीबहादुर सिंहको जन्म वि.सं. १९३४ मा बझाङमा भयो। उनको बाल्यकालको शिक्षा काठमाडौँको थापाथली दरबारमा भयो। उनले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। उनले प्राकृत व्याकरण पनि लेखे।
वि.सं. १९६३ मा उनले नक्सालको आफ्नै दरबारमा सत्यवादी पाठशाला खोले। त्यहाँ पढाइने पुस्तक आफैँ लेखे। नेपालको पुरानो पत्रिका गोरखापत्रको सम्पादन गरेर जनचेतना जगाए। भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य र समाजसुधारमा उनको अग्रणी भूमिका थियो। त्यसैको कदर गर्दै नेपाल सरकारले वि.सं. २०७९ असार ६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गर्यो। उनको निधन वि.सं. १९९७ असोज १ गते भारतको बेङ्गलोरमा भयो।
नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिने अक्षराङ्क शिक्षा कसले लेखेका हुन्?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
नालापानीको खलङ्गा किल्लामा करिब ६०० जनासँग कसले लडे?
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
क्रियाकलाप
अभ्यास
अमरसिंह थापाको योगदान उल्लेख गर्नुहोस्।
उत्तर
भानुभक्त आचार्यले नेपाली साहित्यमा के के योगदान दिएका थिए?
उत्तर
फाल्गुनन्द लिङ्देनको परिचय दिनुहोस्।
उत्तर
पासाङ ल्हामु शेर्पा आँट र साहसकी प्रतिमूर्ति हुन्, स्पष्ट पार्नुहोस्।
उत्तर
जयपृथ्वीबहादुर सिंहलाई किन राष्ट्रिय विभूति भनिएको हो?
उत्तर
स्वप्रतिबिम्बन
कविता पढौँ
तलको कविता वाचन गरेर प्रश्नको उत्तर दिनुहोस्।
किताबले ज्ञान दिन्छ बुद्धिविवेक दिन्छ
सबैलाई असल देख्ने आँखा खोली दिन्छ।
घरको काम गर्दाखेरि सानो हुन्न कोही
मन पराउँछन् सबले उसलाई प्रिय हुन्छ उही।
असल ज्ञान जानेका छौ, फोहोरी बन्नु हुन्न
मान्यजनलाई आदर गर्न पछि पर्नु हुन्न।
गाउँघरमा सक्दो सहयोग सबले गर्नुपर्छ
सहयोगीलाई हामी सबले प्रोत्साहन गर्नुपर्छ।
अतिथि र पाहुनाको स्वागत सत्कार गर्दै
पछ्याउनु छ हामी सबले पुर्खाहरूलाई सधैँ
असल भई अघि बढौँ संसारलाई जितौँ
दीनदुखी असहायलाई सहयोग गर्न सिकौँ।
सहयोग गर्ने बानी राखी दुःख सुख साटौँ
दुःख सुख साट्दै सबमा माया बाँडौँ।
माथिको कविताले के सन्देश दिन खोजेको छ? छलफल गरेर टिप्नुहोस् र कक्षामा सुनाउनुहोस्।
उत्तर
अभिभावकको सहायता लिएर सन्देशमूलक गीत, कविता वा कथा तयार गर्नुहोस्। कक्षामा पालैपालो सुनाउनुहोस्।
उत्तर
राम्रा घटना छानौँ
तलका घटनामध्ये तपाईँलाई राम्रा लागेका घटना छानेर चार्ट वा तालिका बनाउनुहोस्।
क. हरिश्चन्द्र आफ्नो कोठाको सरसफाइ आफैँ गर्छन्।
ख. शशिकला बिरामी हजुरआमाको स्याहार गर्छिन्।
ग. शेषकान्त बाटामा भेटेका बालबालिकालाई जिस्क्याउँछन्।
घ. रोहित घरको काममा चासो राख्दैनन्। “मलाई पढ्नु मात्र छ,” भन्छन्।
ङ. बाढीले मनोजको घर भत्काउँदा सबै छिमेकीले सहयोग गरेर अस्थायी घर बनाइदिए।
उत्तर
छाप्न मिल्ने PDF
यस विषयक्षेत्रको क्विज खेल्नुहोस्: समाज र संस्कृति (कक्षा ६–१०) →
पुस्तकका सबै प्रश्नको अभ्यास गर्नुहोस्; नमिलेका प्रश्न छुट्टै देखिन्छन् →
यो पाठ्यपुस्तकको सहायक सामग्री हो, पाठ्यपुस्तकको सट्टा होइन। विद्यालयमा पढाइने पुस्तक नै पढ्नुहोस् र कुनै कुरा फरक परे शिक्षकको कुरा मान्नुहोस्। गल्ती भेटे हामीलाई भन्नुहोस्।
