परीक्षा अभ्यास
हरेक एकाइको अन्त्यमा दिइएका सबै प्रश्न, सङ्केत र उत्तरसहित। उत्तर हेरेपछि आफ्नो उत्तर मिल्यो कि मिलेन, चिनो लगाउनुहोस्। नमिलेका प्रश्न पछि फेरि अभ्यास गर्नुहोस्।
15 प्रश्न
एकाइ 5 · हाम्रो विगत
छाप्न मिल्ने PDF
- कार्यपत्र 4 पृष्ठ उत्तरकुञ्जिका
पाठ १: नेपाल शब्दको उत्पत्ति
अभ्यास
मञ्जुश्रीले उपत्यकाको पानी कसरी बाहिर पठाए, लेख्नुहोस्।
उत्तर
किंवदन्तीअनुसार मञ्जुश्रीले चोभारको गल्छी खड्गले काटे। उपत्यकाको पानी त्यहीँबाट बाहिर बग्यो।
लिम्बु भाषाका आधारमा नेपाल शब्दको अर्थ लेख्नुहोस्।
उत्तर
लिम्बु भाषामा नेपालको अर्थ समथर भूमि हुन्छ। उपत्यका ठुलो समथर मैदान भएकाले यो नाम रहेको मानिन्छ।
“नीप” जातिका आधारमा नेपालको नाम कसरी रहन गएको थियो?
उत्तर
प्राचीन कालमा उपत्यकामा “नीप” जाति बस्थे। पछि उनीहरूलाई “नेप” भनियो। “नेप” मा “आल” प्रत्यय अर्थात् शब्दको पछाडि जोडिने अंश लागेर नेपाल शब्द बनेको मानिन्छ।
पाठ २: हाम्रा ऐतिहासिक वस्तु
अभ्यास
कस्ता वस्तुलाई ऐतिहासिक वस्तु भनिन्छ?
उत्तर
विगतको जानकारी दिने पुराना वस्तुलाई ऐतिहासिक वस्तु भनिन्छ। जस्तै: दरबार, मठमन्दिर, पाटीपौवा, धारा, चौतारा, अभिलेख, मूर्ति र सालिक।
ऐतिहासिक वस्तुको संरक्षण किन आवश्यक छ, छोटकरीमा लेख्नुहोस्।
उत्तर
ऐतिहासिक वस्तुले हाम्रो विगत र पहिचान बताउँछन्। नयाँ पुस्ताले यिनबाट इतिहास सिक्छ। यसले गर्व गर्ने अवसर दिन्छ। पर्यटक पनि यिनलाई हेर्न आउँछन्। एकपटक नासिए फेरि पाइँदैनन्। त्यसैले संरक्षण आवश्यक छ।
ऐतिहासिक वस्तुको संरक्षण गर्ने उपाय लेख्नुहोस्।
उत्तर
- क.नयाँ पुस्तालाई ऐतिहासिक वस्तु चिनाउने
- ख.ऐतिहासिक वस्तुमा नलेख्ने र नबिगार्ने
- ग.बिग्रेका भागको समयमै मर्मत गर्ने
- घ.समुदाय, स्थानीय तह र सङ्घसंस्था मिलेर काम गर्ने
- ङ.पुराना वस्तु सङ्ग्रहालयमा जोगाएर राख्ने
सिन्धुलीगढीमा रहेका ऐतिहासिक वस्तुको सूची तयार पार्नुहोस्।
उत्तर
- क.ढुङ्गाले घेरिएको गढी र तोप कोठा
- ख.पुरानो दरबारको भग्नावशेष
- ग.पुरानो मन्दिर
- घ.वीर योद्धा र पृथ्वीनारायण शाहका सालिक
- ङ.खानेपानीको कुवा
- च.तोप, गोलाबारुद र अङ्ग्रेजबाट खोसिएका हतियार
- छ.पल्टाइएका ढुङ्गा, गुलेली, मटेङ्ग्रा, अरिङ्गालको गोलो र सिस्नोका नमुना
पाठ ३: हाम्रो समुदायको विगत र वर्तमान
अभ्यास
तपाईँको समुदायका सडक, यातायात, सञ्चारको विगत र वर्तमान अवस्था छोटकरीमा टिपोट गर्नुहोस्।
उत्तर
यो उत्तर समुदायअनुसार फरक हुन्छ। नमुना:
- सडक: पहिले साँघुरा र कच्ची थिए। अहिले फराकिला र पक्की भएका छन्।
- यातायात: पहिले पैदल हिँडिन्थ्यो। अहिले बस र मोटरसाइकल चल्छन्।
- सञ्चार: पहिले चिठी पठाइन्थ्यो। अहिले मोबाइल र इन्टरनेट छन्।
पहिले पहिले खबर आदानप्रदान कसरी गरिन्थ्यो, लेख्नुहोस्।
उत्तर
पहिले पहिले चिठीबाट खबर पठाइन्थ्यो। चिठी हुलाकबाट जान्थ्यो। देशभित्रै पनि चिठी पुग्न महिनौँ लाग्थ्यो।
वर्तमान समयमा फोहोरमैला र प्रदूषण बढ्नुका कुनै दुई कारण लेख्नुहोस्।
उत्तर
- क.मानिस बसाइँ सरेर सहर आउँदा भिडभाड बढेको छ।
- ख.धेरै मानिस भएको ठाउँमा जथाभावी फोहोर फाल्दा प्रदूषण बढेको छ।
पाठ ४: सामाजिक संरचना र रहनसहन
अभ्यास
कस्तो परिवारलाई संयुक्त परिवार भनिन्छ, लेख्नुहोस्।
उत्तर
हजुरबुबा, हजुरआमा, बुबाआमा, काकाकाकी र छोराछोरी जस्ता धेरै पुस्ता र दाजुभाइका परिवार एउटै घरमा, एउटै भान्सामा बस्ने परिवारलाई संयुक्त परिवार भनिन्छ।
पहिलेको समुदायमा प्रचलनमा रहेका दुई दुईओटा राम्रा र नराम्रा चालचलनको सूची बनाउनुहोस्।
उत्तर
राम्रा चालचलन:
- क.पर्म र ऐँचोपैँचोले एकअर्कालाई सहयोग गर्ने
- ख.चाडपर्वमा आफन्त भेला भएर सरसहयोग गर्ने
नराम्रा चालचलन:
- क.महिलालाई घरको काममा मात्र सीमित राख्ने
- ख.जातजातिअनुसार पेसा तोक्ने
पहिलेका मानिसको जनजीवन किन कठिन थियो, उदाहरणसहित प्रस्ट पार्नुहोस्।
उत्तर
पहिले सेवासुविधा कम थिए। त्यसैले जीवन कठिन थियो। उदाहरण:
- क.बाटो र गाडी कम भएकाले धेरै ठाउँ पैदलै जानुपर्थ्यो।
- ख.पानी लिन टाढाको कुवा र पँधेरोमा जानुपर्थ्यो।
- ग.बिजुली नहुँदा टुकी बालेर काम गर्नुपर्थ्यो।
- घ.चिठी पुग्न महिनौँ लाग्थ्यो।
- ङ.खेतीका धेरै काम हातैले गर्नुपर्थ्यो।
स्वप्रतिबिम्बन
आफ्नो गाउँको नाम रहनाका कारणबारे भानु मा.वि.का विद्यार्थीले समूहमा छलफल गरी यो तालिका बनाए। यो तालिका पढ्नुहोस्। आफ्नो गाउँ वा ठाउँको यस्तै तालिका बनाउनुहोस्।
| गाउँको नाम | कारण |
|---|---|
| डाँडागाउँ | माथि उठेको डाँडामा बस्ती बसेकाले |
| मास्टार | पहिले यस ठाउँमा मास धेरै फल्ने भएकाले |
| नेपाल थोक | नेपाल थर भएका मानिसको बाक्लो बस्ती भएकाले |
| बाघखोर | पहिले बाघले गाईवस्तु मार्ने र मानिसलाई आक्रमण गर्न थालेपछि बाघ थुन्न खोर बनाइएकाले |
उत्तर
यो तालिका ठाउँअनुसार फरक हुन्छ। ठाउँको नाम धेरैजसो त्यहाँको भूगोल, बाली, बसोबास गर्ने मानिस वा कुनै घटनाबाट रहन्छ। जेष्ठ नागरिकलाई सोधेर लेख्नुहोस्।
यी ऐतिहासिक सम्पदा कहाँ कहाँ रहेका छन्, अध्ययन गर्नुहोस्।
| ऐतिहासिक सम्पदा | रहेको ठाउँ |
|---|---|
| अमरगढी | डडेलधुरा |
| रसुवागढी | रसुवा |
| गोरखा दरबार | गोरखा |
| चाँगुनारायण | भक्तपुर |
| पञ्चदेवल | अछाम |
| गढीमाई | बारा |
| लुम्बिनी | रुपन्देही |
| चौदण्डीगढी | उदयपुर |
| रानीमहल | पाल्पा |
| काँक्रेविहार | सुर्खेत |
उत्तर
तलको नक्सामा यी ठाउँ थिचेर हेर्नुहोस्। सबै सम्पदा एकै ठाउँमा छैनन्, देशभरि छरिएका छन्।
