पोखराका मानिसहरू भन्छन्, आज जहाँ फेवा ताल छ, त्यहाँ पहिले पानी थिएन, पूरै एउटा गाउँ थियो।
साँझको पाहुना
एक दिन साँझ पर्दै गर्दा त्यो गाउँमा एक जोगी आइपुगे, अनि पहिलो घरको ढोकामा गएर उभिए।
“आज रात पर्यो। एक रातको बास पाऊँ।”
घरभित्रबाट जवाफ आयो, “यहाँ ठाउँ छैन। अर्को घरमा जानुस्।”
जोगी अर्को घरमा जाँदा त्यहाँ पनि उही जवाफ आयो। घरघर डुल्दा पनि ठुलो घर होस् वा सानो, गाउँभरि सबैतिर ढोका बन्द भए। अँध्यारो छिप्पिँदै गयो, तर कसैले उनलाई भित्र बोलाएनन्।
तर ती साधारण जोगी थिएनन्। त्यहाँका मानिसको पाप र पुण्य जाँच्न स्वयं भगवान् जोगीको भेषमा त्यो गाउँमा आएका थिए भनिन्छ।
बुढी आमाको छाप्रो
गाउँको एक छेउमा एउटी बुढी आमा एक्लै बस्थिन्। गाउँमा उनीभन्दा गरिब कोही थिएन। अरूको घरमा ढिकी कुटेर, जाँतो पिसेर उनी जेनतेन पेट पाल्थिन्।
जोगी उनको छाप्रोमा पुग्दा बुढी आमाले नाइँ भनिनन्।
“भित्र त ठाउँ छैन बाबा, यही पिँढीमा बस्नुहोस्।”
त्यसपछि उनले खाना पकाउन खोजिन्, तर घरमा धान कुट्दा निस्केको ढुटोबाहेक केही थिएन। त्यही ढुटो मुछेर पकाएको रोटी उनले जोगीको अगाडि राखिदिइन्।
जोगीले रोटी हातमा लिए, तर खाएनन्। दुवै हातले मिचेर डल्लो पारेर उनले त्यो रोटी बुढी आमालाई नै फर्काइदिए।
“यो राख्नुहोस्,” उनले भने। “अनि मेरो कुरा सुन्नुहोस्। भोलि बिहान उज्यालो हुनुअघि नै यो गाउँ छोडेर जानुहोस्।”
यति भनेर जोगी त्यही रात त्यहाँबाट हिँडे।
बिहान
जोगीको कुरामा शङ्का नगरी बुढी आमा उज्यालो हुनुअघि नै ढुटोको त्यो डल्लो बोकेर गाउँबाट निस्किइन्।
भोलिपल्ट बिहान घाम झुल्किँदा जताततै पानी थियो, सारा गाउँ पानीमुनि परेको थियो। पानीमाथि बुढी आमाको सानो छाप्रोले मात्र टाउको उठाएको थियो।
अनि बुढी आमाले आफ्नो हातमा हेरिन्, ढुटोको त्यो डल्लो त सुनको भइसकेको रहेछ!
आज फेवा तालको बिचमा रहेको सानो टापुमा तालबाराहीको मन्दिर छ। पोखराका मानिसहरूका अनुसार त्यो मन्दिर ती बुढी आमाकै छाप्रो हो। अनि तालबाराही देवी? उनी तिनै बुढी आमा हुन्।
यो कथा कुन-कुन स्रोतबाट लेखियो
- जगमान गुरुङ, नेपालको राष्ट्रिय समीकरणको परिप्रेक्ष्यमा गण्डकी प्रस्रवणक्षेत्रका तीर्थस्थलहरूको विश्लेषणात्मक अध्ययन, नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास), त्रिभुवन विश्वविद्यालय, वि.सं. २०६१, “ताल वाराही, फेवाताल”, पृ. १२८–१३१ (पूरै कथा: जोगीको भेषमा भगवान्, ढिकी जाँतो गर्ने बुढी आमा, पिँढीको बास, ढुटोको रोटीको डल्लो, उज्यालो हुनुअघि गाउँ छोड्ने, सुनको डल्लो, छाप्रो नै मन्दिर; बाँध फुटेको बेला देखिएका ठुटा र जग, फेवाली थर, ढोर बाराहीको किंवदन्ती, खरको पुरानो मन्दिर, कोजाग्रत पूर्णिमाको मेला)। Internet Archive
- वासुदेव पौडेल, “धर्म र पर्यटनलाई जोड्दै तालबाराही मन्दिर”, सेतोपाटी, वि.सं. २०७४ असोज १५ (राष्ट्रिय समाचार समिति, रासस) (संन्यासीको भेषमा देवी आएको रूप, ढिस्को मात्र बाँकी रहेको, कुलमण्डन शाहको खरको मन्दिर, राजा महेन्द्रको मन्दिर, डुङ्गामा पाँच मिनेट, कोजाग्रत पूर्णिमा र नवरात्र)। सेतोपाटी
- माथिको फोटो: Tal Barahi Temple, Fewa Lake.jpg, Shadow Ayush, Wikimedia Commons, CC BY-SA 4.0।
कथा यी स्रोतका आधारमा आफ्नै शब्दमा लेखिएको हो। संवाद कथावाचकले जसरी सुनाउँछन्, कथाकै अर्थ नबिगारी लेखिएको हो।
