Skip to content

← नेपालका लोककथा

इन्द्र र पारिजात

काठमाडौँको नेवार कथा, इन्द्रजात्रा (येँयाः) सँग जोडिएको

काठमाडौँको साँघुरो गल्लीमा सेतो हात्तीको रूपको पुलुकिसी र वरिपरि छाता ओढेका मानिसको भिड
इन्द्रजात्रामा पुलुकिसी, मालिक खोज्दै सहर डुल्ने इन्द्रको हात्ती। Photo: Arnav shk, CC BY-SA 4.0

स्वर्गका राजा इन्द्रलाई केही कुराको कमी थिएन। तर एक दिन उनलाई पृथ्वीमै झरेर ल्याउनुपर्ने एउटा चिज चाहियो। उनकी आमालाई पूजाका लागि पारिजातको फूल चाहिएको थियो।

आमाको इच्छा छोराले कसरी टार्नु? तर स्वर्गका राजा भनेर चिनिनु पनि थिएन। उनी साधारण किसानको भेष धारण गरेर चुपचाप काठमाडौँ झरे।

मरुहिटीको रुख

काठमाडौँको मरुमा मरुहिटी नामको एउटा गहिरो ढुङ्गेधारा थियो, त्यहीँ एउटा पारिजातको रुख फुलिरहेको थियो।

इन्द्र रुखमुनि पुगेर एउटा, दुईवटा गर्दै मुठीभरि फूल टिप्न थाले।

तर काठमाडौँमा पारिजातको फूल टिप्नु पाप मानिन्थ्यो भन्ने कुरा उनलाई थाहा थिएन। सहरको कुनै मानिसले यस्तो गर्दैनथ्यो। गर्ने त कि परदेशी हुन्थ्यो, कि चोर।

टोलका मानिसले देखिहाले।

“ए! को हो त्यो? फूल चोर्दै छ!”

मानिसहरूले दौडिँदै आएर इन्द्रले केही भन्न नपाउँदै उनलाई समाते, अनि डोरीले कसेर बाँधे।

“चोर! चोर समातियो!”

बाँधिएका राजा

सहरभरिका मानिसले चोर हेर्न पाउन् भनेर उनीहरूले फूलचोरलाई मरुको चोकमा उभ्याए। बाँधिएका इन्द्र दिनभरि त्यहीँ उभिए। मानिसहरू आउँथे, हेर्थे, औँला ठड्याउँथे।

एक दिन बित्यो, दुई दिन बिते, तर इन्द्र फर्केनन्।

स्वर्गमा आमा आत्तिन थालिन्। “मेरो छोरा कहाँ गयो?”

अन्त्यमा उनी आफैँ काठमाडौँ झरिन्, अनि गल्ली-गल्ली, टोल-टोल छोरा खोज्दै डुलिन्। इन्द्रको हात्ती पनि मालिक खोज्दै सहरभरि यताउता कुद्न थाल्यो।

छोरा खोज्दै हिँडेकी अनौठी आमा, बौलाहाझैँ कुदिरहेको हात्ती, अनि चोकमा बाँधिएको त्यो अनौठो चोर, यो सब देखेर काठमाडौँका मानिसले बिस्तारै कुरा बुझ्न थाले।

यी त चोर होइनन्, स्वर्गका राजा इन्द्र पो रहेछन्!

माफ

मानिसहरूको सातो गयो। हतारहतार डोरी खोलेर सबैले हात जोडे, शिर झुकाए, माफ मागे।

छोरा भेट्टाएर खुसी भएकी आमाले काठमाडौँका मानिसलाई वचन दिइन्, “तिमीहरूले मेरो छोरालाई छाडिदियौ, त्यसको बदलामा म जाडोभरि तिम्रा खेतमा शीत झार्नेछु, अनि तिमीहरूको बाली राम्रो हुनेछ।”

इन्द्र आमासँगै स्वर्ग फर्के।

तर काठमाडौँले त्यो दिन बिर्सेन। जुन राजालाई उनीहरूले चोर भनेर बाँधेका थिए, उनैको सम्मानमा हरेक वर्ष जात्रा गर्न थाले। एक दिन काठमाडौँले स्वर्गका राजालाई जसरी चोर भनेर देखाएको थियो, आज पनि इन्द्रजात्रामा ठिक उसै गरी डोरीले बाँधिएका इन्द्रको मूर्ति सहरमा राखिन्छ।

यो कथा कुन-कुन स्रोतबाट लेखियो
  • Rishikesh Pandey, “Religion, Rainfall and Rice: Social-Ecological Interpretation of Festivals in Kathmandu Valley, Nepal”, QUEST: Studies on Religion & Culture in Asia ३, सन् २०१८, पृ. १६–१८ (किसानको भेष, मरुहिटी, पारिजात टिप्नु पाप, मरुमा देखाइएको, आमा र डागिन, पुलुकिसी, शीतको वरदान र कुहिरोको अर्थ)। QUEST
  • मुनीन्द्ररत्न वज्राचार्य, “Indra Jatra”, गोरखापत्र संस्थानको वेबसाइट (शुक्रबारे परिशिष्ट), वेब्याक मेसिनमा सन् २०१२ मा सुरक्षित (आमाको पूजाका लागि पारिजात, डोरीले बाँधिएको, मरुमा पुजिने मूर्ति, जात्राका दिन, नालाको लिङ्गो, आकाश भैरव, पुलुकिसी, लाखे)। Wayback Machine
  • “Indra, Kumari jatras: two different events”, The Kathmandu Post, सन् २०१२ (बसन्तपुरका एक बुढापाकाको भनाइ: मर्न लागेकी आमा डाकिनी, आठ दिन खाँबोमा बाँधिएका इन्द्र, पानीको वरदान)। Wayback Machine
  • नगेन्द्र शर्मा, Nepal: Some Tales, Some Truths, सन् १९८७ (आमाबिनाको छोटो रूप)। Internet Archive
  • माथिको फोटो: Pulukisi in the streets.jpg, Wikimedia Commons, CC BY-SA 4.0।

कथा यी स्रोतका आधारमा आफ्नै शब्दमा लेखिएको हो। संवाद कथावाचकले जसरी सुनाउँछन्, कथाकै अर्थ नबिगारी लेखिएको हो।

← नेपालका लोककथा