गोनू झा धनी भए रे भन्ने हल्ला चारैतिर चलेको थियो, अनि गाउँघरमा मात्र होइन, चोरहरूको कानसम्म पनि पुगेको थियो।
गोनूलाई पहिल्यै अनुमान थियो, अब चोर आउँछन्।
त्यो रात
रात परेर गाउँ सुनसान भयो। गोनू झाको घरपछाडि केही छाया टुक्रुक्क बसे। चोरहरू सबै सुते कि सुतेनन् भनेर भित्रको आहट लिँदै थिए।
तर गोनू त सुतेका थिएनन्, उनले पनि बाहिरको आहट पाइसकेका थिए।
उनले केही गरेनन्। न कराए, न लौरो खोजे। बरु घरपछाडिसम्म सुनिने गरी ठुलै स्वरमा श्रीमतीलाई बोलाए:
“ए, सुन्यौ? आजकल चोरको बडो आतङ्क छ। तिमीले कसैलाई भनेकी त छैनौ नि, हाम्रो सबै धन हामीले इनारमा लुकाएका छौँ भनेर?”
बाहिर छायाहरू एकाएक स्थिर भए।
“इनार निकै गहिरो छ,” गोनूले भनिरहे। “त्यसको सबै पानी नझिकी कसैको हात धन पर्दैन। तर कसैलाई नभन्नू है!”
श्रीमतीले केही बुझिनन्, गोनू के भनिरहेका छन्, किन भनिरहेका छन्, केही पत्तो पाइनन्।
तर चोरहरूले सबै बुझे।
इनारमा
सुटुक्क इनारमा पुगेका चोरहरूले आफ्ना थप साथीहरू पनि बोलाएर ल्याए, अनि पानी झिक्न थाले।
एक बाल्टिन, अर्को बाल्टिन, अनि अर्को। झिक्दै खन्याउँदै, झिक्दै खन्याउँदै घण्टौँ बिते। धनको लोभमा उनीहरूले रातभरि पानी झिकिरहे।
धन त भेटिएन, भेटिने कुरै थिएन।
बिहान
बिहान गोनू झा इनारतिर आए। इनारको चारैतिर गोनूकै खेत थियो, अनि त्यो खेतमा पानी लगाउनै पर्ने भएको थियो। रातभरि झिकिएको पानीले खेत टन्नै सिँचिइसकेको थियो।
गोनूले आसपासका मानिसले सुन्ने गरी ठुलो स्वरले भने:
“वाह, चोर दाजुभाइ हो! एक पैसा ज्याला नलिई मेरो खेत सिँचिदियौ। धन्यवाद है, दाजुभाइ हो!”
यो कथा कुन-कुन स्रोतबाट लेखियो
- तारानन्द वियोगी, गोनू झा के किस्से, चित्र: सुभाष राय, नवताक्षर साहित्यमाला (प्रकाशन वर्ष पुस्तकमा भेटिएन), हिन्दी (माथिको कथा: धनको हल्ला, इनारमा धन लुकाएको कुरा, रातभरि पानी झिक्ने चोर, सिँचिएको खेत, धन्यवाद)। Internet Archive
- अशोकजी, गोनू झा की अनोखी दुनिया (प्रकाशक र वर्ष उल्लेख भएको पाना भेटिएन), हिन्दी, कथा ३३ “खेत की सिंचाई” (हराएका अशर्फी, इनारमा थैली, कोतवाल, श्रीमतीको भनाइ) र कथा ९ “खेत जोत गए चोर” (बाँझो जग्गा, सात ठाउँमा गाडिएका मोहरका घैँटा, खनेर गएका चोर)। Internet Archive
- माथिको फोटो: Simroungarh well restored by Massimo Vidale.jpg, Scyfie, Wikimedia Commons, CC BY-SA 4.0।
कथा यी स्रोतका आधारमा आफ्नै शब्दमा लेखिएको हो। संवाद कथावाचकले जसरी सुनाउँछन्, कथाकै अर्थ नबिगारी लेखिएको हो।
