← कक्षा ८ नेपालीका नमुना प्रश्नपत्र
कक्षा ८ नेपालीको नमुना प्रश्नपत्र ६
पूर्णाङ्क: ५०समय: २ घण्टा
सबै प्रश्न अनिवार्य छन्।
नेपाली, कक्षा ८। विद्यार्थीले उत्तर दिँदा सिर्जनात्मक र मौलिक तरिकाले दिनुपर्ने छ। विकल्प दिइएका प्रश्नमा कुनै एकको मात्र उत्तर लेख्नुहोस्।
पाठ्यक्रम विकास केन्द्रको विशिष्टीकरण तालिका २०८०, कक्षा ८, नेपाली अनुसार साइन्स प्लेग्राउन्डले तयार पारेको अभ्यास प्रश्नपत्र। यो पाठ्यक्रम विकास केन्द्र वा परीक्षा सञ्चालन गर्ने निकायको आधिकारिक प्रश्नपत्र होइन; BLE का प्रश्न फरक हुन सक्छन्।
पहिले सबै उत्तर कापीमा लेख्नुहोस्। त्यसपछि हरेक प्रश्नको उत्तर र अङ्क विभाजन खोलेर आफ्नो उत्तर मिलाउनुहोस् र मिलेको हरेक बुँदाका लागि आफैँलाई १ अङ्क दिनुहोस्। बहुवैकल्पिक प्रश्नमा पहिलो पटक छानेको उत्तरको मात्र अङ्क गनिन्छ।
छाप्ने प्रश्नपत्र (PDF, ३ पृष्ठ) उत्तरकुञ्जिका र अङ्क विभाजन
शब्दार्थ
२ अङ्कदिइएका अर्थसँग मिल्ने शब्द छानी खाली ठाउँमा लेख्नुहोस्:
वञ्चित, गोपनीयता, खबरदारी, अनुमोदन, निर्मम
- क.मायारहित ...............
- ख.निजी कुरा गोप्य राख्ने काम ...............
- ग.ध्यान दिन र सच्याउन गरिने सचेतना ...............
- घ.पाउनुपर्ने कुरा नपाएको ...............
उत्तर
- क.निर्मम
- ख.गोपनीयता
- ग.खबरदारी
- घ.वञ्चित
‘अनुमोदन’ (स्वीकृति) बढी दिइएको शब्द हो।
अङ्क विभाजन
- प्रतिशब्द ०.५ का दरले ‘निर्मम’ र ‘गोपनीयता’ सही लेखेमा।
- प्रतिशब्द ०.५ का दरले ‘खबरदारी’ र ‘वञ्चित’ सही लेखेमा।
शब्द पहिचान
२ अङ्कखाली ठाउँमा मिल्दो शब्द राखी वाक्य पूरा गर्नुहोस्:
- क.‘घर’ को उस्तै अर्थ दिने शब्द ............... हो। (आँगन, गृह, चोक)
- ख.‘प्रकाश’ को उल्टो अर्थ दिने शब्द ............... हो। (किरण, अन्धकार, उज्यालो)
- ग.‘कूल’ शब्दको अर्थ ............... हो। (वंश, जम्मा, किनारा)
- घ.‘टोकरो’ को सानो रूप जनाउने लघुतावाची शब्द ............... हो। (टोकरी, डोको, थुन्से)
उत्तर
- क.गृह
- ख.अन्धकार
- ग.किनारा
- घ.टोकरी
अङ्क विभाजन
- प्रतिशब्द ०.५ का दरले ‘गृह’ र ‘अन्धकार’ राखी वाक्य पूरा गरेमा।
- प्रतिशब्द ०.५ का दरले ‘किनारा’ र ‘टोकरी’ राखी वाक्य पूरा गरेमा।
वाक्य रचना
२ अङ्कअर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्:
मन कटक्क दुख्नु, भूपरिवेष्टित
उत्तर
- मन कटक्क दुख्नु (मनमा पीडा हुनु): बाटामा भोकाएका बालबालिका देख्दा मेरो मन कटक्क दुख्यो।
- भूपरिवेष्टित (समुद्रसँग नजोडिएको, चारैतिर जमिनले घेरिएको): नेपाल भूपरिवेष्टित देश भएकाले यसको व्यापार छिमेकी देशका बन्दरगाहमा भर पर्छ।
अङ्क विभाजन
- ‘मन कटक्क दुख्नु’ लाई अर्थ खुल्ने गरी शुद्ध वाक्यमा प्रयोग गरेमा।
- ‘भूपरिवेष्टित’ लाई अर्थ खुल्ने गरी शुद्ध वाक्यमा प्रयोग गरेमा।
शुद्ध शब्द
२ × ०.५ = १४. शुद्ध शब्द छानेर लेख्नुहोस्: (०.५ × २ = १)
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।
वाक्य सम्पादन
२ अङ्कदिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्:
ग्यानले मान्छेको जिवन सूखी बनाउँछ,
उत्तर
ज्ञानले मान्छेको जीवन सुखी बनाउँछ।
अङ्क विभाजन
- प्रतिशुद्धि ०.५ का दरले ‘ग्यानले’ लाई ‘ज्ञानले’ र ‘जिवन’ लाई ‘जीवन’ बनाएमा।
- प्रतिशुद्धि ०.५ का दरले ‘सूखी’ लाई ‘सुखी’ बनाएमा र अन्त्यमा अल्पविरामको ठाउँमा पूर्णविराम (।) राखेमा।
शब्दवर्ग
२ अङ्कगाढा अक्षरमा लेखिएका शब्दको पदवर्ग छुट्याउनुहोस्:
उनी बजार गए र तरकारी किने।
उत्तर
| शब्द | पदवर्ग |
|---|---|
| उनी | सर्वनाम |
| बजार | नाम |
| र | संयोजक |
| किने | क्रियापद |
अङ्क विभाजन
- प्रतिशब्द ०.५ का दरले ‘उनी’ र ‘बजार’ को पदवर्ग सही छुट्याएमा।
- प्रतिशब्द ०.५ का दरले ‘र’ र ‘किने’ को पदवर्ग सही छुट्याएमा।
काल / पक्ष र भाव / अर्थ
२ अङ्कदिइएका धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस्:
- क.हजुरबुबा हरेक बिहान खेतमा ............... । (जा : सामान्य वर्तमान)
- ख.म घर पुग्दा बहिनी चित्र ............... । (कोर् : अपूर्ण भूत)
- ग.भाइ, कोठाको झ्याल ............... । (खोल् : आज्ञार्थ)
- घ.बिहान चाँडै ............... बस भेटिन्छ। (उठ् : सङ्केतार्थ)
उत्तर
- क.हजुरबुबा हरेक बिहान खेतमा जानुहुन्छ।
- ख.म घर पुग्दा बहिनी चित्र कोर्दै थिई।
- ग.भाइ, कोठाको झ्याल खोल।
- घ.बिहान चाँडै उठे बस भेटिन्छ।
अङ्क विभाजन
- प्रतिवाक्य ०.५ का दरले ‘जानुहुन्छ’ (वा ‘जान्छन्’) र ‘कोर्दै थिई’ (वा ‘कोरिरहेकी थिई’) लेखी वाक्य पूरा गरेमा।
- प्रतिवाक्य ०.५ का दरले ‘खोल’ (वा ‘खोल्नुहोस्’) र ‘उठे’ (वा ‘उठेमा’) लेखी वाक्य पूरा गरेमा।
वाक्य परिवर्तन
३ अङ्कदिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्:
- क.तिमी गीत गाउँछौ। (प्रथम पुरुष)
- ख.दिदी हाँस्छिन्। (प्रेरणार्थक)
- ग.घाम लाग्यो। हिउँ पग्ल्यो। (संश्लेषण)
उत्तर
- क.म गीत गाउँछु।
- ख.दिदी हँसाउँछिन्।
- ग.घाम लागेपछि हिउँ पग्ल्यो।
अङ्क विभाजन
- क: ‘तिमी’ लाई ‘म’ (वा ‘हामी’) र ‘गाउँछौ’ लाई ‘गाउँछु’ (वा ‘गाउँछौँ’) बनाएमा।
- ख: ‘हाँस्छिन्’ लाई ‘हँसाउँछिन्’ बनाएमा (‘भाइलाई हँसाउँछिन्’ जस्ता वाक्य पनि मान्य)।
- ग: दुई वाक्यलाई ‘लागेपछि’ वा ‘लाग्दा’ जस्ता असमापक क्रियाले जोडेर एउटै वाक्य बनाएमा।
व्याकरणिक
३ अङ्कदिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस्:
देशको आर्थिक अवस्था बलियो बनाउन वैदेशिक व्यापारको ठुलो भूमिका हुन्छ। मल्ल कालमा नेपाली व्यापारीले ल्हासा र पटनासम्म कोठी खोलेका थिए। घर घरमा बुनिएको कपडा र धातुका भाँडाकुँडा बाहिर बिक्थे। अहिले भने बाहिरबाट धेरै सामान आउँछ। देशमै उद्योग खुले बेरोजगार युवाले काम पाउँछन् र आमाबुबासँगै बस्न सक्छन्। किसानले नयाँ बिउको प्रयोग गरे उत्पादन बढ्छ। गुणस्तरीय सामान बनाउन सके विश्व बजारमा पनि नेपालको प्रगति हुन्छ।
- क.अनुच्छेदबाट एउटा उपसर्ग र एउटा प्रत्यय लागेर बनेको शब्द पहिचान गरी लेख्नुहोस्।
- ख.अनुच्छेदबाट एउटा द्वित्व भएर बनेको शब्द र एउटा समस्त शब्द पहिचान गरी लेख्नुहोस्।
- ग.गाढा अक्षरमा लेखिएको शब्दको कारक र विभक्ति पहिचान गरी तिनको नाम लेख्नुहोस्।
उत्तर
- क.उपसर्ग लागेका शब्द (कुनै एक): बेरोजगार, प्रयोग, प्रगति, उद्योग, उत्पादन, अवस्था। प्रत्यय लागेका शब्द (कुनै एक): आर्थिक, वैदेशिक, गुणस्तरीय।
- ख.द्वित्व भएर बनेका शब्द (कुनै एक): घर घर, भाँडाकुँडा। समस्त शब्द: आमाबुबा।
- ग.व्यापारीले: कर्ता कारक, प्रथमा विभक्ति।
अङ्क विभाजन
- प्रतिशब्द ०.५ का दरले उपसर्ग लागेको एउटा र प्रत्यय लागेको एउटा शब्द पहिचान गरी लेखेमा।
- प्रतिशब्द ०.५ का दरले द्वित्व भएर बनेको एउटा र समस्त एउटा शब्द पहिचान गरी लेखेमा।
- कारकको मात्र नाम लेखेमा ०.५ र विभक्तिको मात्र नाम लेखेमा ०.५ गरी दुवै सही लेखेमा।
बोध प्रश्नोत्तर
४ अङ्कदिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
गाउँका धेरै विद्यालयमा पाठ्यपुस्तकबाहेक अरू किताब हुँदैनन्। यो समस्या समाधान गर्न केही ठाउँमा घुम्ती पुस्तकालय चलाइन्छ। घुम्ती पुस्तकालय भनेको किताब बोकेर गाउँ गाउँ पुग्ने पुस्तकालय हो। कतै गाडीमा, कतै खच्चडमा र कतै मान्छेले डोकोमा बोकेर किताब पुर्याइन्छ। तोकिएको दिन बालबालिका चौतारीमा भेला हुन्छन्। उनीहरू मन परेको किताब लिन्छन् र अघिल्लो पटक लगेको किताब फिर्ता गर्छन्। कसैले पढेको कथा साथीलाई सुनाउँछ, कसैले चित्र कोर्छ। यसरी पढ्ने बानी बस्छ र भाषा पनि सुध्रिन्छ। कतिपय ठाउँमा आमाबुबाले पनि खेती र स्वास्थ्यका किताब पढ्न थालेका छन्। एउटै किताब धेरै जनाले पढ्ने भएकाले खर्च पनि थोरै लाग्छ। किताब आफैँ घरनजिक आएपछि पढ्ने चाहना पनि बढ्छ।
- क.घुम्ती पुस्तकालय भनेको के हो?
- ख.किताब कसरी पुर्याइन्छ? कुनै दुई तरिका लेख्नुहोस्।
- ग.घुम्ती पुस्तकालयमा खर्च किन थोरै लाग्छ?
- घ.तपाईँको गाउँ वा टोलमा पढ्ने बानी बढाउन के गर्न सकिन्छ? आफ्नो विचार लेख्नुहोस्।
उत्तर
- क.किताब बोकेर गाउँ गाउँ पुग्ने पुस्तकालयलाई घुम्ती पुस्तकालय भनिन्छ।
- ख.गाडीमा र खच्चडमा किताब पुर्याइन्छ।
- ग.एउटै किताब धेरै जनाले पढ्ने भएकाले खर्च थोरै लाग्छ।
- घ.टोलमा साथीहरूले किताब साटासाट गर्न सकिन्छ। चौतारीमा हप्ताको एक दिन कथा वाचन गरे सानादेखि ठुलासम्म पढ्न थाल्छन्।
अङ्क विभाजन
- क: किताब बोकेर गाउँ गाउँ पुग्ने पुस्तकालय भनी लेखेमा।
- ख: गद्यांशमा दिइएका कुनै दुई तरिका लेखेमा।
- ग: एउटै किताब धेरै जनाले पढ्ने कुरा लेखेमा।
- घ: गद्यांशका कुरालाई आधार बनाई आफ्नो विचार लेखेमा।
बुँदा टिपोट र सारांश
४ अङ्कदिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी शीर्षकसहित एक तृतीयांशमा सारांश लेख्नुहोस्:
कीर्तिपुर जितेपछि गोरखाली सेना कान्तिपुरतिर बढ्न थाल्यो। डराएका जयप्रकाश मल्लले अङ्ग्रेजसँग सहयोग मागे। गोल्डिङले व्यापार र भूमिको लोभमा सहयोगको सिफारिस गरे। पृथ्वीनारायण शाहले यो कुरा जासुसबाट थाहा पाएर सिन्धुलीमा पहिले नै सेना राखे। गोरखाली सेनाले बाटोको रसदपानी पनि हटायो। कप्तान किनलकको फौज वर्षामा चिप्लो उकालो चढ्दै गढीनजिक पुग्यो। साँझ पर्न लाग्दा दुई दिशाबाट आक्रमण भयो। वंशु गुरुङले राँको बालिएका अर्ना छोडे र अरिङ्गालका गोला फोरे। सिस्नाको घारीमा पोलिएको फौज हतियार छाडेर भाग्यो। राजाले जितको श्रेय सेनालाई दिए। यसरी भूगोलको ज्ञान र तयारीले सानो शक्तिले पनि ठुलो फौजलाई रोक्यो।
उत्तर
बुँदा
- जयप्रकाश मल्लले अङ्ग्रेजसँग सहयोग मागे र गोल्डिङले स्वार्थका लागि सिफारिस गरे।
- पृथ्वीनारायण शाहले जासुसबाट थाहा पाएर सिन्धुलीमा तयारी गरे।
- किनलकको फौजमाथि अर्ना, अरिङ्गाल र सिस्नासहित आक्रमण भयो।
- फौज भाग्यो र राजाले जितको श्रेय सेनालाई दिए।
सारांश: सिन्धुलीको जित
जयप्रकाश मल्लको अनुरोधमा आएको अङ्ग्रेज फौजलाई गोरखाली सेनाले सिन्धुलीमा अर्ना, अरिङ्गाल र सिस्नाको सहायताले धपायो। आफ्नो भूगोलको ज्ञान र पहिल्यैको तयारीले सानो शक्तिले पनि ठुलो फौजलाई रोक्न सक्छ भन्ने कुरा यसले देखायो।
अङ्क विभाजन
- प्रतिबुँदा ०.५ का दरले गद्यांशका मुख्य कुरा समेटेका पहिला दुई बुँदा लेखेमा।
- प्रतिबुँदा ०.५ का दरले गद्यांशका मुख्य कुरा समेटेका अर्का दुई बुँदा लेखेमा।
- उपयुक्त शीर्षक दिएर अनुच्छेदको मूल भाव समेटेको सारांश लेखेमा।
- सारांश करिब एक तृतीयांशमा आफ्नै शब्दमा शुद्ध भाषामा लेखेमा।
निर्देशित रचना
३ अङ्ककुनै एक प्रश्नको उत्तर दिनुहोस्:
क. दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी उपयुक्त शीर्षक दिनुहोस्:
बर्दियाको एउटा थारू गाउँ — बर्खामा खोला बढ्नु — सबै सुतेको बेला बुधनीले पानीको आवाज सुन्नु — बुबालाई उठाउनु — थाल ठोकेर गाउँ ब्युँझाउनु — मान्छे अग्लो ठाउँमा जानु — बिहान घर डुबेको देख्नु — शिक्षा
ख. ‘मञ्चमा पहिलो पटक बोल्नुअघि’ विषयमा एउटा मनोवाद तयार पार्नुहोस्।
उत्तर
क. बुधनीको सतर्कता
बर्दियाको एउटा थारू गाउँमा बर्खाभर पानी परिरहेको थियो। कक्षा आठकी बुधनी राति ढिलोसम्म पढिरहेकी थिई। सबै सुतिसकेका थिए। अचानक उसले खोलाको आवाज अरू दिनभन्दा चर्को भएको सुनी। टर्च बालेर बाहिर हेर्दा पानी आँगननजिकै आइसकेको थियो।
ऊ दौडेर बुबालाई उठाउन गई। बुबाले एकै छिनमा कुरा बुझ्नुभयो। दुवैले थाल ठोक्दै घर घर गएर मान्छे उठाए। केही गाउँलेले पहिले त झर्को माने, तर पानी देखेपछि बालबालिका र बुढापाकालाई बोकेर अग्लो ठाउँमा रहेको विद्यालयतिर लागे।
बिहान हेर्दा गाउँका धेरै घर पानीमा डुबेका थिए, तर कसैको ज्यान गएको थिएन। सबैले बुधनीलाई धाप मारे। सतर्क एक जना मान्छेले सिङ्गो गाउँ जोगाउन सक्छ भन्ने कुरा त्यस दिन सबैले बुझे।
ख.
(मञ्चको छेउमा पालो कुर्दै)
अब मेरै पालो! हातखुट्टा किन काँपेका होलान्? घरमा त कति राम्रो बोलेको थिएँ।
(कागज हेर्दै)
पहिलो वाक्य के थियो? हो, ‘आदरणीय गुरुवर्ग’। ओहो, सबै त याद रहेछ। तर त्यति धेरै मान्छे देखेपछि बिर्सेँ भने? सबै हाँसे भने?
(लामो सास फेर्दै)
शिक्षकले भन्नुभएको थियो, “सुरुमा डर सबैलाई लाग्छ, बोल्न थालेपछि डर आफैँ भाग्छ।” गल्ती भए पनि के भयो र? सिक्ने ठाउँ त यही हो।
(टाउको उठाएर मञ्चतिर हेर्दै)
ल, नाम बोलाए। म बिस्तारै बोल्छु, अगाडि हेर्छु। आज नबोले कहिले बोल्ने? डरलाई यहीँ छाडेर म मञ्च चढ्छु।
अङ्क विभाजन
- क: विषयवस्तुको आदि, मध्य र अन्त्य क्रमैसँग मिलाई उपयुक्त शीर्षक दिएमा; ख: एउटै पात्रले मनका कुरा आफैँलाई सुनाउने ढाँचा र कोष्ठकका काम मिलाएमा।
- क: बुँदाका सबै घटना मौलिक ढङ्गले प्रस्तुत गरेमा; ख: मनका भाव क्रमैसँग मौलिक ढङ्गले प्रस्तुत गरेमा।
- दुवैमा: रचना शिक्षा वा निचोडमा टुङ्ग्याई वाक्य गठन र भाषा शुद्ध राखेमा।
व्यावहारिक लेखन
३ अङ्ककुनै एक प्रश्नको उत्तर लेख्नुहोस्:
क. विद्यालयको करेसाबारीका लागि तरकारीका बिउ मगाउँदै कृषि पसलका प्रबन्धकलाई विद्यालयका तर्फबाट एउटा व्यावसायिक चिठी तयार पार्नुहोस्।
ख. राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेर फर्केकी विद्यालयकी पूर्व विद्यार्थीलाई विद्यालयका तर्फबाट दिइने बधाई पत्र तयार पार्नुहोस्।
उत्तर
क.
सगरमाथा आधारभूत विद्यालय
सोलुखुम्बु
मिति: २०८३।०७।०२
विषय: तरकारीका बिउ पठाइदिने सम्बन्धमा।
श्री प्रबन्धकज्यू,
हरियाली कृषि पसल, सल्लेरी।
महोदय,
यस विद्यालयको करेसाबारीका लागि तपसिलका बिउ आवश्यक परेको बेहोरा अवगत गराइन्छ। बिउ यही महिनाभित्र पठाइदिनुहुन अनुरोध छ। रकम बैङ्कमार्फत बुझाई भौचर पठाइने छ।
तपसिल: काउलीको बिउ १ प्याकेट, रायोको बिउ २ प्याकेट, मुलाको बिउ २ पाकेट।
भवदीय
सुशील
करेसाबारी संयोजक
खाममा: बायाँ माथि विद्यालयको नाम र ठेगाना, दायाँ तल पसलको नाम र ठेगाना, दायाँ माथि हुलाक टिकट।
ख.
राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेर आफ्नो जिल्ला र विद्यालयको गौरव बढाउनुभएकामा यस विद्यालयकी पूर्व विद्यार्थी लाक्पालाई हार्दिक बधाई ज्ञापन गरिन्छ। आगामी प्रतियोगितामा अझ ठुलो सफलता मिलोस् भन्ने शुभकामना छ।
सगरमाथा आधारभूत विद्यालय
अङ्क विभाजन
- क: विषय, मिति, सम्बोधन, अन्त्यको नाम र खामको नमुना मिलाएमा; ख: बधाई पत्रको संरचना (शीर्षक, अवसर, पाउने र दिनेको नाम) मिलाएमा।
- क: मध्य भागमा चाहिएको कुरा स्पष्ट र क्रमैसँग लेखेमा; ख: बधाईको कारण एउटै प्रवाहमा स्पष्ट लेखेमा।
- क: व्यावसायिक भाषामा विषयवस्तुको पुष्ट्याइँ गरेमा; ख: शुभकामनासहित उपयुक्त भाषाशैलीमा प्रस्तुत गरेमा।
भाव विस्तार वा व्याख्या
३ अङ्ककुनै एकको भाव विस्तार गर्नुहोस्:
क. अभाव, चुनौती र प्रतिकूलतासँग सिँगौरी खेल्दै सफलताको शिखर चुम्नु महान् व्यक्तिको लक्षण हो।
ख. नेपालका कैयौँ पदमार्ग प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन्।
उत्तर
क. प्रस्तुत पङ्क्ति ‘जुन्को ताबेई’ जीवनीबाट लिइएको हो। यसमा दुःख र अप्ठ्यारासँग जुध्दै अगाडि बढ्नु नै महान् मान्छेको पहिचान हो भन्ने भाव छ।
सिँगौरी खेल्नु भनेको डटेर सामना गर्नु हो। ताबेई सानैमा निमोनियाले थलिइन्, धेरैले उनको उत्साहलाई हाँसोमा उडाए र ६,३०० मिटरमा हिमस्खलनले उनलाई पुर्यो। तैपनि एक एक पाइला चाल्दै उनी शिखर पुगिन्। हाम्रो जीवनमा पनि रोग, अभाव र असफलता आइपर्छन्। विद्यार्थीले पनि असफल भएर नरोकिई अभ्यास गरे सफलता पाउँछ।
त्यसैले अप्ठ्यारो देखेर नहार्ने मान्छे नै अन्त्यमा सफल हुन्छ भन्ने भाव यस पङ्क्तिमा छ।
ख. प्रस्तुत भनाइ ‘पदमार्ग’ संवादबाट लिइएको हो। यसमा नेपालका पैदल बाटाको महत्त्व हिँड्नमा मात्र सीमित छैन भन्ने भाव छ।
अन्नपूर्ण पदमार्गमा हिमाल र प्रकृतिको सुन्दरता देखिन्छ, त्यसैले यसको प्राकृतिक महत्त्व छ। बडिमालिका पुग्ने बाटो श्रद्धालुका लागि धार्मिक यात्रा हो। सिम्रौनगढको बाटोले नान्यदेवको राज्यको इतिहास चिनाउँछ। यसरी एउटै यात्रामा प्रकृति, धर्म र इतिहास तीनै कुरा जान्न पाइन्छ। यिनको प्रचार गरे पर्यटक बढ्छन् र गाउँमा रोजगारी पनि आउँछ।
त्यसैले पदमार्ग हाम्रो सम्पदा हुन् र तिनलाई जोगाउनुपर्छ भन्ने भाव यस भनाइमा छ।
अङ्क विभाजन
- पङ्क्तिको सन्दर्भ र सोझो अर्थ खुलाई विषयवस्तु बुझेको देखाएमा।
- उदाहरणसहित अर्थ विस्तार गरी विषयवस्तुसँग तालमेल मिलाएमा।
- पङ्क्तिको भावलाई निष्कर्षमा टुङ्ग्याएमा।
अतिसङ्क्षिप्त उत्तर
४ अङ्क‘प्यारो प्रकृति’ कविताका आधारमा सोधिएका प्रश्नको एक दुई वाक्यमा उत्तर लेख्नुहोस्:
- क.बिहान हिमाल हाँसेझैँ देखिँदा को ब्युँझन्छन्?
- ख.कविले प्रकृतिलाई कसको रूपमा देखाएका छन्?
- ग.‘पानी’ र ‘लगानी’ लाई कसरी दाँजिएको छ?
- घ.कविले अन्त्यमा जीवन कस्तो बनोस् भन्ने कामना गरेका छन्?
उत्तर
- क.बिहान हिमाल हाँसेझैँ देखिँदा चेतनशील जगत् अर्थात् चेतना भएका सबै प्राणी ब्युँझन्छन्।
- ख.कविले प्रकृतिलाई आदर्श जीवन सिकाउने गुरुको रूपमा देखाएका छन्।
- ग.बिरुवाले पर्याप्त पानी पाए अग्लो बोट बने जस्तै समयमै राम्रो लगानी गरे उद्यमशीलता फल्छ भनी दाँजिएको छ।
- घ.कविले जीवन सधैँ ऊर्जायुक्त, सशक्त र निर्भय बनोस् भन्ने कामना गरेका छन्।
अङ्क विभाजन
- क: चेतनशील जगत् वा चेतना भएका प्राणी भनी लेखेमा।
- ख: गुरु भनी लेखेमा।
- ग: बिरुवालाई पानी र उद्यमशीलतालाई लगानी चाहिने कुरा लेखेमा।
- घ: ऊर्जायुक्त, सशक्त र निर्भयमध्ये कुनै दुई लेखेमा।
लामो उत्तर
५ अङ्ककुनै एक प्रश्नको उत्तर लेख्नुहोस्:
क. ‘स्वामी प्रपन्नाचार्य’ जीवनीका आधारमा प्रपन्नाचार्यको व्यक्तित्वको चर्चा गर्नुहोस्।
ख. ‘सहिदहरूको सम्झनामा’ कविताको मूल भाव प्रस्ट पार्नुहोस्।
उत्तर
क. ‘स्वामी प्रपन्नाचार्य’ जीवनी हो। यसमा पाँचथरका काले राई डा. स्वामी प्रपन्नाचार्य बनेको कथा छ। उनको जीवन वि.सं. १९८० देखि २०७२ सम्मको हो।
प्रपन्नाचार्यको पहिलो गुण अठोट हो। उनी बाल्यकालमा खेतीपाती र गाईवस्तुको कामले पढ्न पाएनन्। कुनै आश्रमले नराख्दा पनि हार नखाई उनले ३० वर्षको उमेरमा अक्षर चिन्न थाले। उनको सिक्ने क्षमता छिटो थियो: एक महिनामा स्वर र तीन महिनामा व्यञ्जन सिके। ५६ वर्षमा विद्यावारिधि गरेका उनले झन्डै चार दर्जन किताब लेखे। ठुलो विद्वान् बनेपछि पनि उनले ‘काले राई’ नाम बिर्सेनन्, त्यसैले उनी विनम्र थिए। वेद सबैले पढ्न पाउनुपर्छ भन्ने उनको विचारले समानताको सोच देखाउँछ। कठिन ग्रन्थ सबैले बुझ्ने गरी बताउने उनी सरल शिक्षक पनि थिए।
मेरो विचारमा उनको सबैभन्दा ठुलो गुण हार नमान्नु हो। अभावले रोक्न नसकेको उनको जीवन पढ्न अल्छी गर्ने हामीलाई ठुलो पाठ हो।
ख. ‘सहिदहरूको सम्झनामा’ भूपी शेरचनको देशभक्तिपरक गीति कविता हो। देश सहिदको बलिदानबाट बनेको हो, त्यसैले त्यसको मान राख्नु हाम्रो कर्तव्य हो भन्ने यसको मूल भाव हो।
कविले तारा झरेर नगएसम्म बिहान नहुने कुरा देखाउँदै दुईचार असल सन्तान मरेर नगएसम्म देश नबन्ने कुरा भनेका छन्। बिउ नछरे बोट नउम्रे जस्तै सहिदको बलिदान पनि देशको बिउ हो। वीरले रगतको भेटी चढाउँदा संसारको ओठमा हाँसो आउँछ र फाँसीको डोरी उनीहरूका लागि माला बन्छ। हाम्रो गाँस, सास र खुसीमा तिनैको योगदान छ। त्यसैले कर्तव्य बिर्स्यौँ भने इतिहास र लासले धिक्कार्ला र धर्तीले लाजले मुख छोप्ला भनी कविले चेतावनी दिएका छन्।
मेरो विचारमा सहिदको सम्झना फूलमाला चढाउनुमा मात्र सीमित हुनु हुँदैन। आफ्नो काम इमानदारीसाथ गरेर देशको उन्नति गर्नु नै उनीहरूप्रतिको साँचो सम्मान हो।
अङ्क विभाजन
- पाठको विधा र विषयको परिचय दिई प्रश्नमा प्रवेश गरेमा।
- पाठका मुख्य कुरा वा घटनालाई प्रमाणका रूपमा क्रमैसँग प्रस्तुत गरेमा।
- कुरा वा घटनाको विश्लेषण गरी तर्क दिएमा।
- आफ्नै शैलीमा निष्कर्ष दिएर मौलिकता देखाएमा।
- वाक्य गठन, वर्णविन्यास, लेख्य चिह्न र पदसङ्गति शुद्ध भएमा।
निबन्ध लेखन
५ अङ्ककुनै एक शीर्षकमा १२५ शब्द नघटाई निबन्ध लेख्नुहोस्:
क. मेरो गाउँ
ख. कृषिको महत्त्व
ग. वातावरण प्रदूषण
उत्तर
क. मेरो गाउँ
मेरो गाउँ एउटा हरियो डाँडाको काखमा छ। यहाँ बिहान चराको आवाजले निद्रा खुल्छ। म जहाँ गए पनि मेरो मन यही गाउँमा फर्कन्छ।
गाउँको बिचमा ठुलो पिपलको चौतारी छ। साँझ बुढापाका त्यहीँ बसेर गफ गर्नुहुन्छ र हामी केटाकेटी छेउको चौरमा खेल्छौँ। तल सानो खोला बग्छ र माथिको धारामा गाउँभरिका मान्छे पानी भर्न आउँछन्। यहाँका धेरैजसो मान्छे खेती गर्छन्। धान रोप्ने बेला सबै घरले पालैपालो एकअर्कालाई सघाउँछन्। दसैँमा विदेश गएका दाजुहरू फर्कँदा गाउँ नै रमाइलो हुन्छ।
तर गाउँमा दुःख पनि छन्। धेरै युवा कामका लागि बाहिर गएकाले कतिपय बारी बाँझै छन्। बर्खामा बाटो बिग्रन्छ र स्वास्थ्य चौकी पुग्न गाह्रो हुन्छ। म ठुलो भएपछि यही गाउँमा बसेर केही राम्रो काम गर्ने सपना देख्छु।
मेरो गाउँ सानो छ, तर यहाँको माया ठुलो छ। यसैले मलाई यो संसारको सबैभन्दा प्यारो ठाउँ लाग्छ।
ख. कृषिको महत्त्व
कृषि मानिसको जीवनको आधार हो। हामीले खाने अन्न, तरकारी, फलफूल, दुध र मासु सबै कृषिबाटै आउँछन्। त्यसैले नेपाल जस्तो देशमा कृषिको विशेष महत्त्व छ।
नेपालका धेरै मान्छे अहिले पनि खेतीकिसानीमा लागेका छन्। तराईमा धान र गहुँ, पहाडमा मकै र कोदो तथा हिमाली क्षेत्रमा आलु र फापर फल्छ। चिया, अलैँची र कफी जस्ता बाली बेचेर किसानले राम्रो आम्दानी गर्न सक्छन्। पशुपालन र माछापालन पनि कृषिकै भाग हुन्। कृषिले उद्योगलाई कच्चा पदार्थ दिन्छ र गाउँमै रोजगारी सिर्जना गर्छ।
तर नेपालको खेती अझै आकाशे पानीमा धेरै भर पर्छ। सिँचाइको कमी, समयमा मल नपाउनु र युवा विदेश जानुले उत्पादन घटेको छ। त्यसैले खाद्यान्न बाहिरबाट किन्नुपर्ने अवस्था छ।
आधुनिक प्रविधि, राम्रो बिउ र बजारको सुविधा भए कृषि आम्दानीको बलियो बाटो बन्न सक्छ। किसान खुसी भए मात्र देश आत्मनिर्भर बन्न सक्छ, त्यसैले कृषिलाई माया गर्नु हामी सबैको काम हो।
ग. वातावरण प्रदूषण
हामी बाँचेको वरिपरिको हावा, पानी, माटो र रुखबिरुवा नै वातावरण हो। यिनमा हानिकारक कुरा मिसिएर वातावरण बिग्रनु प्रदूषण हो। आज यो संसारकै ठुलो समस्या बनेको छ।
गाडी र कारखानाको धुवाँले हावा प्रदूषित हुन्छ। काठमाडौँ जस्ता सहरमा हिउँदमा धुलो र धुवाँले सास फेर्न गाह्रो हुन्छ। फोहोर र ढलका कारण बागमती जस्ता नदीको पानी दूषित भएको छ। प्लास्टिक र रासायनिक मलले माटो बिगार्छन्। चर्को हर्न र मेसिनको आवाजले ध्वनि प्रदूषण बढाउँछ।
प्रदूषणले दम, छाला र पेटका रोग निम्त्याउँछ। जीवजन्तु र बालीमा पनि असर गर्छ। धुवाँले बढाएको तापक्रमले हिमाल पग्लिँदै छन् र मौसम अनियमित बन्दै छ।
यसबाट बच्न धेरै रुख रोप्नुपर्छ, फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्छ र प्लास्टिकको प्रयोग घटाउनुपर्छ। सार्वजनिक यातायात र साइकल चलाउँदा पनि धुवाँ घट्छ। वातावरण हाम्रो साझा घर हो, त्यसैले यसको रक्षा हामी सबैको जिम्मेवारी हो।
अङ्क विभाजन
- परिचय दिएर विषयमा प्रवेश गरेमा।
- विषयवस्तुको ज्ञान स्पष्ट रूपमा देखाएमा।
- आदि, मध्य र अन्त्य क्रमैसँग मिलाई निष्कर्ष दिएमा।
- आफ्नै मौलिक प्रस्तुतीकरण र उदाहरण दिएमा।
- वाक्य गठन, वर्णविन्यास, लेख्य चिह्न र पदसङ्गति शुद्ध भएमा।
जम्मा प्राप्ताङ्क
० / ५०
१८ प्रश्नमा अझै अङ्क दिइएको छैन
| शब्दार्थ | – | पूर्णाङ्क २ |
| शब्द पहिचान | – | पूर्णाङ्क २ |
| वाक्य रचना | – | पूर्णाङ्क २ |
| शुद्ध शब्द | – | पूर्णाङ्क १ |
| वाक्य सम्पादन | – | पूर्णाङ्क २ |
| शब्दवर्ग | – | पूर्णाङ्क २ |
| काल/पक्ष र भाव/अर्थ | – | पूर्णाङ्क २ |
| वाक्य परिवर्तन | – | पूर्णाङ्क ३ |
| व्याकरणिक (दृष्टांश) | – | पूर्णाङ्क ३ |
| बोध प्रश्नोत्तर (अदृष्टांश) | – | पूर्णाङ्क ४ |
| बुँदा टिपोट र सारांश | – | पूर्णाङ्क ४ |
| कथा/जीवनी र दैनिकी/संवाद/मनोवाद | – | पूर्णाङ्क ३ |
| घरायसी चिठी/निवेदन/व्यावसायिक/सम्पादकलाई चिठी, बधाई/सम्मान/निमन्त्रणा पत्र | – | पूर्णाङ्क ३ |
| भाव विस्तार वा व्याख्या | – | पूर्णाङ्क ३ |
| सन्दर्भमा आधारित अतिसङ्क्षिप्त उत्तर | – | पूर्णाङ्क ४ |
| सन्दर्भमा आधारित लामो उत्तर | – | पूर्णाङ्क ५ |
| स्वतन्त्र रचना | – | पूर्णाङ्क ५ |
भागअनुसार कटेका अङ्क
प्रश्नमा अङ्क दिएपछि प्राप्ताङ्क यहाँ देखिन्छ।
गल्ती भेटे हामीलाई भन्नुहोस्।
