Skip to content

← नेपालका लोककथा

छिछिम लामा

सिन्जा उपत्यका, जुम्लाको कथा

जुम्लाको सिन्जा उपत्यका, बिचबाट बगेको खोला र दुवैतिर डाँडा
जुम्लाको सिन्जा उपत्यका। यही उपत्यकाको लामाथाडामा सिन्जाका पुराना राजाहरूको राजधानी थियो। Photo: Priyankar Chand, CC BY-SA 3.0

उहिले उहिले जुम्लाको सिन्जामा जालन्धरी नाउँका राजा राज्य गर्थे।

एक दिन भोटतिरबाट एक जना लामा आइपुगे। सिन्जा खोला तर्नुपर्ने थियो, तर उनलाई न पुल चाहियो न डुङ्गा। लामाथाडाको छेउमा उनले एकसरो सुतको धागो वारिपारि टाँगे, अनि त्यही धागोमाथि हिँडेर वारि तरे, पारि तरे, फेरि वारि तरे।

यो कुरा राजाको कानमा पुग्न के बेर? जालन्धरी राजाले ती लामालाई दरबारमा बोलाएर आफ्नै सभामा राखे। ती लामाको नाउँ थियो छिछिम लामा।

सभामा हाँसो

एक दिन सभा चलिरहेको बेला सबै गम्भीर भएर बसेका थिए। अचानक छिछिम लामा खित्का छोडेर हाँस्न थाले।

राजाले भौँ खुम्च्याए। “किन हाँसेको, लामा?”

“हजुर, यहाँबाट धेरै टाढा, गडकुमाउँका राजाको दरबारमा अहिले पातर नाचिरहेकी छ,” लामाले हाँसो थाम्दै भने। “नाच्दानाच्दै उसको लहँगा फुस्कियो। त्यसैले हाँसो उठ्यो।”

सभाभरि सबै एकअर्काको मुख हेर्न थाले। गडकुमाउँ त कति पहाड, कति खोला पारि थियो!

“तिमीले यहीँ बसेर त्यो कसरी थाहा पायौ?” राजाले सोधे।

“मेरो ज्ञानले थाहा पाएँ, हजुर।”

राजालाई पत्याउन गाह्रो भयो। “कुरा के रहेछ, बुझेर आओ,” भन्दै उनले दुई जना सिपाही गडकुमाउँ पठाए।

बाहुलाबाट पानी

सिपाही गएको केही दिनपछि फेरि सभा बसेको थियो। लामाले अचानक आफ्नो बख्खुको बाहुला समातेर दुवै हातले बटारेर निचोरे।

बाहुलाबाट पानीको धारा पो छुट्यो!

सभाका मानिस अचम्ममा परे। सुक्खा सभामा बसेका लामाको बाहुलाबाट यत्रो पानी कहाँबाट आयो?

“यो पानी कहाँको हो?” राजाले सोधे।

“हजुरका सिपाही फर्कंदै गर्दा बाटोमा दुवै कर्णालीमा खसे,” लामाले शान्त भएर भने। “मैले तानेर निकालिदिएँ। यो कर्णालीकै पानी हो।”

“तिमी त यहीँ बसेका छौ। कर्णालीमा बगेका मानिसलाई कसरी निकाल्यौ?”

“निकालेँ, हजुर। उनीहरू आइपुगेपछि आफैँ थाहा हुन्छ।”

केही दिनपछि दुवै सिपाही दरबार आइपुगे। राजाले सबैभन्दा पहिले यही सोधे, “तिमीहरू कर्णालीमा खसेका थियौ कि थिएनौ?”

“हो प्रभु! हामी दुवै कर्णालीमा खस्यौँ,” सिपाहीहरूले भने। “यिनै लामाले निकाले, अनि हामी बाँचेर आयौँ।”

अनि गडकुमाउँको दरबारको कुरा? त्यो पनि लामाले भनेजस्तै ठ्याक्कै साँचो रहेछ।

रङ्ग र कुरङ्ग

राजा दङ्ग परे। यस्ता लामा त कसको दरबारमा होलान्! लामाका रङ्ग हेर्दाहेर्दा उनको मन भरिँदैनथ्यो।

तर मान्छेको मन न हो। हेर्दाहेर्दै राजालाई अर्कै कुराको रहर लाग्यो।

एक दिन उनले भने, “लामा, तिमीले सधैँ रङ्ग मात्र देखायौ। अब एक पटक कुरङ्ग पनि गरेर देखाऊ।”

लामाको अनुहार गम्भीर भयो। “हजुर, त्यो नमाग्नुहोस्। कुरङ्ग राम्रो हुँदैन।”

“केही हुँदैन। देखाऊ।”

लामाले पटकपटक सम्झाए, तर राजा मानेनन्। जति सम्झाइयो, उति जिद्दी गर्न थाले।

अन्त्यमा लामाले भने, “ठिकै छ, हजुर। हेर्नुहोस्।”

अनि लामाथाडा हल्लिन थाल्यो, भुइँचालो गयो। माथि आकाशबाट सेता र काला सिउबाघ जोडीजोडी झरेर एकआपसमा जुधे। जताततै हाहाकार मच्चियो।

त्यस दिनपछि जालन्धरी राजाको राज्य भताभुङ्ग भयो।

यो कथा कुन-कुन स्रोतबाट लेखियो
  • प्रदीप रिमाल, कर्णाली लोक-संस्कृति, खण्ड ५: साहित्य, सङ्गीत, कला, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, वि.सं. २०२८, “छिछिम लामा”, पृ. ६०–६१ (पूरा कथा, सिन्जाली बोलीमा र छोटो सारांश)। Internet Archive
  • प्रयागराज शर्मा, “पश्चिमी नेपालको हिमालयमा पुजिने केही देवताहरू तथा त्यस भेकको धार्मिक रूपको एउटा सामान्य चर्चा”, जीवनचन्द्र कोइराला र हरि मञ्जुश्री (सम्पा.), नेपालमा मस्टो परम्परा, हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास), काठमाडौँ विश्वविद्यालय, वि.सं. २०७९, पृ. १५१ (रङ्ग र कुरङ्गको अर्को रूप, लेकपरका लामाज्यू, शिवबाघ, “ऐतिहासिक नाम होइन”)। Internet Archive
  • रत्नाकर देवकोटा, “कुलदेवताका रूपमा पुजिने मस्टो र यसका विविध पक्ष”, उही पुस्तक, पृ. १७३ (भिक्षु र तीन भूत पहरेदारको कथा)। Internet Archive
  • सत्यमोहन जोशी, कर्णाली लोक-संस्कृति, खण्ड १: इतिहास, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, वि.सं. २०२८, चौथो परिच्छेद र लामा धर्मसम्बन्धी खण्ड (लामाथाडा, कनकासुन्दरी, जालन्धरी राजा र वंशावली, लेकपरका लामा विष्णु, लामा ओडार र माटाका चक्का, मल्ल राज्यको पतन, जितारि मल्लको पालाको रूप, सिउबाघका ढुङ्गे मूर्ति, आवरणको सिउबाघ)। Internet Archive
  • माथिको फोटो: Sinja Valley.JPG, Wikimedia Commons, CC BY-SA 3.0।

कथा यी स्रोतका आधारमा आफ्नै शब्दमा लेखिएको हो। संवाद कथावाचकले जसरी सुनाउँछन्, कथाकै अर्थ नबिगारी लेखिएको हो।

← नेपालका लोककथा