जनस्वास्थ्य सेवा नियमावली, २०७७
- नेपाल राजपत्रमा प्रकाशिति मिति
- २०७७।०६।०५
- संशोधन
- मूल प्रतिमा कुनै संशोधन उल्लेख छैन
- स्रोत
- नेपाल कानुन आयोग (आयोगको पाना· सुरक्षित प्रति, २०२६-०२-०७)
यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक नियममा त्यसको पृष्ठ दिइएको छ।
विषयसूची (४६)
- ३.आधारभूत स्वास्थ्य सेवा
- ४.आकस्मिक स्वास्थ्य सेवा
- ५.विशेषज्ञ र विशिष्टिकृत सेवा
- ६.प्रेषण गर्नु पर्ने
- ७.सुसूचित सहमति लिनु पर्ने सेवाहरु
- ८.डिस्चार्ज (बहिर्गमन) सारांश
परिच्छेद–३: स्वास्थ्य संस्थाको तहगत सङ्रचना, सेवाको प्रकार तथा मापदण्ड
- ९.स्वास्थ्य संस्थाको तहगत सङ्रचना
- १०.स्वास्थ्य संस्थाले उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा
- ११.स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड
परिच्छेद–४: स्वास्थ्य संस्थाको इजाजतपत्र तथा नवीकरण
परिच्छेद–५: स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन
- १४.स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन
- १५.स्वमूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्ने
- १६.मापदण्ड बमोजिम गर्न लगाउने
- १७.कारबाहीको लागि लेखी पठाउने
परिच्छेद–६: कोष सम्बन्धी व्यवस्था
परिच्छेद–७: रक्त सञ्चार सेवा, शव परीक्षण तथा एम्बुलेन्स र शववाहन
- २०.रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र लिनु पर्ने
- २१.शव परीक्षण
- २२.बेवारिसे शवको प्रयोग
- २३.एम्बुलेन्स तथा शव वाहन सेवा
- २४.मानव मृत्युको कारण पहिचान
परिच्छेद–८: जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन तथा आपतकालीन स्वास्थ्य सेवा र सङ्क्रमणको रोकथाम
- २५.खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन
- २६.लक्षित समूहका लागि विशेष सामाजिक सुरक्षा तथा अन्य कार्यक्रम
- २७.आपतकालीन स्वास्थ्य सेवाको व्यवस्थापन
- २८.सङ्क्रामक रोगको व्यवस्थापन
- २९.उजूरी गर्न सक्ने
- ३०.निर्णय गर्ने अधिकार
- ३१.क्षतिपूर्तिको रकम निर्धारण
- ३२.औषधिको भण्डारण तथा बिक्रि वितरण
- ३३.अभिलेख राख्ने
- ३४.अनुसूचीमा हेरफेर वा थपघट
अनुसूची
परिच्छेद–१प्रारम्भिक
संक्षिप्त नाम र प्रारम्भपृ. १
यी नियमहरुको नाम “जनस्वास्थ्य सेवा नियमावली, २०७७” रहेको छ ।
यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
परिभाषापृ. १
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
“अस्पताल” भन्नाले बिरामी भर्ना गरी चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था सम्झनु पर्छ।
“आधारभूत स्वास्थ्य सेवा केन्द्र” भन्नाले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी स्वास्थ्य संस्था सम्झनु पर्छ।
“ऐन” भन्नाले जनस्वास्थ्य सेवा ऐन, २०७५ सम्झनु पर्छ।
परिच्छेद–२स्वास्थ्य सेवा
आधारभूत स्वास्थ्य सेवापृ. १
प्रत्येक नागरिकलाई ऐनको दफा ३ को उपदफा (४) बमोजिमका शीर्षक अन्तर्गतका अनुसूची-१ मा उल्लेख भए बमोजिमका आधारभूत स्वास्थ्य सेवाहरु प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा प्रदान गरिनेछ।
आकस्मिक स्वास्थ्य सेवापृ. २
आकस्मिक स्वास्थ्य सेवा अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालले कम्तीमा अनुसूची-२ मा उल्लेख भए बमोजिमको सामान्य आकस्मिक अवस्थाका स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
जनरल अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पताल तथा अन्य शिक्षण अस्पतालले अनुसूची-२ मा उल्लेख भए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
आयुर्वेद सेवा केन्द्र, विशेषज्ञ आयुर्वेद अस्पताल र होमियोप्याथी अस्पतालले सम्बन्धित चिकित्सा पद्धति बमोजिमका आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
स्वास्थ्य संस्थाले यस नियम बमोजिमको आकस्मिक स्वास्थ्य सेवा चौबीसै घण्टा उपलब्ध गराउनु पर्नेछ।
आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउँदा बिरामीको रोगको गाम्भीर्यताको आधारमा प्राथमिकता दिई उपचार गर्नु पर्नेछ।
स्वास्थ्य संस्थाले आकस्मिक स्वास्थ्य सेवाका लागि आएका बिरामीलाई आवश्यक पर्ने सबै आकस्मिक स्वास्थ्य सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभएमा उपलब्ध भएसम्मको आकस्मिक स्वास्थ्य सेवा तत्काल प्रदान गरी थप उपचारको लागि कारण खोली त्यस्तो सेवा उपलब्ध हुन सक्ने सबैभन्दा पायक पर्ने अन्य स्वास्थ्य संस्थामा तत्काल प्रेषण गर्नु पर्नेछ।
प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा आएका बिरामीलाई तत्काल आकस्मिक सेवा उपलब्ध गराउनु पर्नेछ र सो को लागि आवश्यक भएमा बिरामीलाई अस्पतालमा भर्ना गर्नु पर्नेछ।
यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आकस्मिक स्वास्थ्य सेवाका बिरामीलाई उपचार गर्दा लाग्ने खर्च कुनै कारणले बिरामीले तत्काल बुझाउन नसक्ने भएमा त्यस्ता बिरामीलाई समेत आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
यस नियम बमोजिम आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउँदा लागेको खर्च ऐनको दफा ४ बमोजिम व्यहोर्नु पर्नेछ।
विशेषज्ञ र विशिष्टिकृत सेवापृ. ३
विशेषज्ञ सेवा अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ।
उपनियम (१) बमोजिमको सेवा चिकित्सा विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तह वा सो सरहको उपाधि प्राप्त गरी सम्बन्धित परिषद्मा विशेषज्ञको रुपमा दर्ता भएको चिकित्सकद्वारा प्रदान गरिनेछ।
विशिष्टिकृत सेवा अनुसूची–४ मा उल्लेख भए बमोजिम हुनेछ।
उपनियम (३) बमोजिमको सेवा चिकित्सा विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तहभन्दा माथिको शैक्षिक उपाधि प्राप्त गरी सम्बन्धित परिषद्मा विशेषज्ञको रुपमा दर्ता भएको तथा प्रचलित कानून बमोजिम उच्च विशेषज्ञता हासिल गरेका चिकित्सकद्वारा प्रदान गरिनेछ।
मन्त्रालय वा प्रदेश सरकारले दूर चिकित्सा (टेलीमेडिसिन) मार्फत विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नेछ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले घुम्ती शिविर मार्फत समेत विशेषज्ञ सेवा उपलब्ध गराउन सक्ने छन्।
घुम्ती शिविर मार्फत विशेषज्ञ सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सम्बन्धी विषय हेर्ने मन्त्रालयबाट अनुमति लिई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी त्यस्तो सेवा सञ्चालन गर्न सक्नेछ।
प्रत्येक मेडिकल कलेजले मन्त्रालयले तोकेको कम्तीमा एउटा जिल्लाको जिल्लास्तरीय अस्पतालमा शल्य चिकित्सा सहितको विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्नेछ।
प्रेषण गर्नु पर्नेपृ. ३
ऐनको दफा ६ को उपदफा (१) बमोजिम स्वास्थ्य संस्थामा आएका बिरामीलाई आवश्यक सबै उपचार प्रदान गर्न नसकिने अवस्था भएमा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको उपचार तत्काल प्रदान गरी थप उपचारको लागि त्यस्तो थप उपचार प्राप्त हुन सक्ने स्वास्थ्य संस्थामा प्रेषण पूर्जा सहित तत्काल प्रेषण गर्नु पर्नेछ।
उपनियम (१) बमोजिम प्रेषण गर्दा सबैभन्दा नजिक वा पायक पर्ने स्वास्थ्य संस्थामा गर्नु पर्नेछ।
उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्य संस्थाले बिरामी वा निजको संरक्षक वा निजलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने व्यक्तिको लिखित सहमतिमा निजले इच्छाएको स्वास्थ्य संस्थामा प्रेषण गर्न सक्नेछ।
कुनै बिरामी वा निजको संरक्षक वा निजलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने व्यक्तिले अर्को स्वास्थ्य संस्थामा प्रेषण हुन नचाहेमा थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा प्रेषित गर्नु पर्नाको कारणबारे यथासम्भव सम्झाउनु पर्नेछ।त्यसरी सम्झाउँदा पनि प्रेषण हुन नचाहेमा निजको लिखित सहमति लिई आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको उपचारको व्यवस्था मिलाउनु पर्नेछ।
यस नियम बमोजिम प्रेषण गर्दा सम्बन्धित स्वास्थ्य संस्थाले आफूले उपलब्ध गराएको उपचार पद्धति समेत प्रेषण पूर्जामा खुलाउनु पर्नेछ।
यस नियम बमोजिम आफ्नो स्वास्थ्य संस्थामा प्रेषण भई आएका बिरामीको रोगको गाम्भीर्यताका आधारमा प्राथमिकता दिई उपचार गर्नु पर्नेछ।
उपनियम (१) बमोजिम प्रेषण भई आएको बिरामीको उपचार गरिसकेपछि प्रेषण गर्ने स्वास्थ्य संस्थालाई आफूले उपलब्ध गराएको उपचार पद्धति समेत प्रेषण पूर्जामा खुलाई पृष्ठपोषण दिनु पर्नेछ।
प्रेषण गर्ने स्वास्थ्य संस्थाले प्रेषण गरिएका बिरामीको विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ।
सुसूचित सहमति लिनु पर्ने सेवाहरुपृ. ४
स्वास्थ्य संस्थाले अनुसूची-५ मा उल्लेख भए बमोजिमका सेवा उपलब्ध गराउँदा सेवाग्राहीको लिखित रुपमा सुसूचित सहमति लिनु पर्नेछ।
उपनियम (१) बमोजिम स्वास्थ्य संस्थाले सुसूचित सहमति लिँदा बिरामीलाई गरिने उपचार र सोको पद्धतिको बारेमा जानकारी गराउनु पर्नेछ।
डिस्चार्ज (बहिर्गमन) सारांशपृ. ५
स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थामा भर्ना भई उपचार गराईरहेका बिरामीलाई डिस्चार्ज गर्दा अनुसूची-६ बमोजिमको डिस्चार्ज (बहिर्गमन) सारांश दिनु पर्नेछ।
परिच्छेद–३स्वास्थ्य संस्थाको तहगत सङ्रचना, सेवाको प्रकार तथा मापदण्ड
स्वास्थ्य संस्थाको तहगत सङ्रचनापृ. ५
स्वास्थ्य सेवा केन्द्र, अस्पताल, शिक्षण अस्पताल, प्रयोगशाला तथा अन्य स्वास्थ्य संस्थाको तहगत सङ्रचना अनुसूची-७ बमोजिम हुनेछ।
अनुसूची-७ बमोजिमका स्वास्थ्य संस्थाको भौतिक क्षमता तथा सुविधा, जनशक्ति, प्रयोगशाला, रक्तसञ्चार तथा अन्य मापदण्ड मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।
स्वास्थ्य संस्थाले उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवापृ. ५
अनुसूची-७ बमोजिमका स्वास्थ्य संस्थाले सोही अनुसूचीमा उल्लेख भए बमोजिमका स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ।
स्वास्थ्य संस्था सञ्चालनको मापदण्डपृ. ५
प्रत्येक स्वास्थ्य संस्थाले अनुसूची-८ मा उल्लेख भए बमोजिमका विषयमा मन्त्रालयले तोके बमोजिमको मापदण्ड पूरा गरी स्वास्थ्य संस्था सञ्चालन गर्नु पर्नेछ।
परिच्छेद–४स्वास्थ्य संस्थाको इजाजतपत्र तथा नवीकरण
इजाजतपत्र लिनु पर्नेपृ. ५
कसैले पनि इजाजतपत्र नलिई निजी¸ गैरसरकारी¸ सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन।
अनुसूची-९ बमोजिमका स्वास्थ्य संस्थाको लागि सोही अनुसूची बमोजिमका निकायबाट इजाजतपत्र लिनु पर्नेछ।
यो नियमावली प्रारम्भ हुँदाका बखत इजाजतपत्र नलिई सञ्चालनमा रहेका निजी¸ गैरसरकारी¸ सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ।
उपनियम (२) वा (३) बमोजिम इजाजतपत्र लिन चाहने स्वास्थ्य संस्थाले अनुसूची-१० बमोजिमको ढाँचामा उपनियम (२) बमोजिमको निकायमा निवेदन दिनु पर्नेछ।
उपनियम (४) बमोजिम निवेदन परेमा इजाजतपत्र दिने निकायले निवेदन दिने स्वास्थ्य संस्थाले अनुसूची-८ मा उल्लेख भए बमोजिमको मापदण्ड पूरा गरे नगरेको जाँचबुझ गरी वा गराई मापदण्ड पूरा गरेको पाइएमा अनुसूची-११ मा उल्लेख भए बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ।
उपनियम (५) बमोजिम इजाजतपत्र दिँदा सम्बन्धित निकायले स्वास्थ्य संस्था तथा सेवा सञ्चालन सम्बन्धमा आवश्यक शर्त तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित स्वास्थ्य संस्थाको कर्तव्य हुनेछ।
उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत कुनै निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले नियम ९ बमोजिमको मापदण्ड वा नियम ११ बमोजिमको सञ्चालनको मापदण्ड पूरा गर्न समय माग गरेमा इजाजतपत्र दिने निकायले त्यस्तो स्वास्थ्य संस्थालाई औचित्य हेरी बढीमा छ महिनाको समयावधि थप गर्न सक्नेछ। सो अवधिभित्र इजाजतपत्र नलिने स्वास्थ्य संस्थाको अनुमति स्वत: खारेज हुनेछ। यसरी खारेज भएपछि त्यस्तो स्वास्थ्य संस्थाको सम्पत्ति तथा दायित्व प्रचलित कानून बमोजिम हुनेछ।
इजाजतपत्र लिएको कुनै स्वास्थ्य संस्थाले सोभन्दा माथिल्लो तहको स्वास्थ्य संस्थाको मापदण्ड पूरा गरी सो बमोजिमको स्वास्थ्य संस्थाको इजाजतपत्र लिन चाहेमा सोही तहको स्वास्थ्य संस्थाको इजाजतपत्र लिनु पर्नेछ।
इजाजतपत्रको नवीकरणपृ. ६
नियम १२ बमोजिम जारी भएको इजाजतपत्र प्रत्येक पाँच वर्षमा त्यस्तो इजाजतपत्र जारी गर्ने निकायबाट नवीकरण गराउनु पर्नेछ।
उपनियम (१) बमोजिम इजाजतपत्र नवीकरण गर्न स्वास्थ्य संस्थाले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अघि अनुसूची-१२ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लेख भए बमोजिमका विवरण तथा कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ।
उपनियम (२) बमोजिम नवीकरणको लागि निवेदन दिएकोमा इजाजतपत्र जारी गर्ने निकायले आवश्यक जाँचबुझ गरी वा गराई अनुसूची-८ मा उल्लेख भए बमोजिमको मापदण्ड बमोजिम स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा इजाजतपत्रको अवधि सकिनु अघि इजाजतपत्र नवीकरण गरी दिनु पर्नेछ।
परिच्छेद–५स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन
स्वास्थ्य संस्थाको अनुगमन तथा नियमनपृ. ७
स्वास्थ्य संस्थाले ऐन तथा नियम ११ बमोजिमको सञ्चालनको मापदण्ड बमोजिम स्वास्थ्य संस्था सञ्चालन गरे वा नगरेको वा सेवा प्रदान गरे वा नगरेको सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमध्ये जुन तहबाट इजाजतपत्र दिइएको हो सोही तहबाट अनुगमन तथा नियमन गर्नु पर्नेछ।
उपनियम (१) बमोजिम अनुगमन तथा नियमन गर्ने प्रयोजनको लागि सम्बन्धित तहले जनस्वास्थ्य निरीक्षक तोक्न सक्नेछ।
उपनियम (२) बमोजिम जनस्वास्थ्य निरीक्षक तोक्दा स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा मन्त्रालयले तोके बमोजिमको योग्यता वा अनुभव प्राप्त व्यक्तिहरुमध्येबाट तोक्नु पर्नेछ।
उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारबाट तोकिएको जनस्वास्थ्य निरीक्षकले प्रदेश वा स्थानीय तहबाट इजाजतपत्र लिएका स्वास्थ्य संस्थाको र प्रदेश सरकारबाट तोकिएको जनस्वास्थ्य निरीक्षकले स्थानीय तहबाट इजाजतपत्र लिएका स्वास्थ्य संस्थाको समेत अनुगमन गर्न सक्नेछ।
स्वमूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्नेपृ. ७
प्रत्येक स्वास्थ्य संस्थाले आर्थिक वर्ष समाप्त भएको मितिले एक महिनाभित्र इजाजतपत्र प्रदान गरेको निकाय समक्ष मन्त्रालयले तोके बमोजिमको विवरण सहितको स्वमूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्नेछ।
मापदण्ड बमोजिम गर्न लगाउनेपृ. ७
जनस्वास्थ्य निरीक्षकले अनुगमनको क्रममा वा नियम १५ बमोजिमको स्वमूल्याङ्कन प्रतिवेदनको आधारमा कुनै स्वास्थ्य संस्थाले मापदण्ड बमोजिम स्वास्थ्य संस्था सञ्चालन नगरेको वा सेवा प्रदान नगरेको पाइएमा सम्बन्धित स्वास्थ्य संस्थालाई मापदण्ड बमोजिम गर्न आदेश दिन सक्नेछ।
कारबाहीको लागि लेखी पठाउनेपृ. ७
नियम १४ बमोजिम अनुगमन वा नियमनको क्रममा कुनै स्वास्थ्य संस्थाले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड पूरा नगरेको वा मापदण्ड बमोजिम सेवा सञ्चालन नगरेको पाइएमा जनस्वास्थ्य निरीक्षकले गुणस्तर तथा मापदण्ड कायम गर्न लगाउनु वा कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।
परिच्छेद–६कोष सम्बन्धी व्यवस्था
स्वास्थ्य कोषको स्थापना र सञ्चालनपृ. ८
ऐनको दफा २८ बमोजिम एउटा स्वास्थ्य कोषको स्थापना हुनेछ।
उपनियम (१) बमोजिमको स्वास्थ्य कोषको सञ्चालन मन्त्रालयले गर्नेछ ।
स्वास्थ्य कोषको रकम आधारभूत स्वास्थ्य सेवा,
स्वास्थ्य कोषको सञ्चालन सम्बन्धी अन्य व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ।
आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना र सञ्चालनपृ. ८
ऐनको दफा ३३ बमोजिम नेपाल सरकार र प्रत्येक प्रदेशमा छुट्टा छुट्टै आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना हुनेछ।
उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछः-
नेपाल सरकारबाट प्राप्त रकम,
सम्बन्धित प्रदेश सरकारले उपलब्ध गराएको रकम,
कुनै व्यक्ति, गैरसरकारी तथा निजी सङ्घ संस्थाबाट प्राप्त रकम,
विदेशी संस्था, सरकार वा अन्तराष्ट्रिय संस्थाबाट प्राप्त रकम।
उपनियम (२) को खण्ड (घ) बमोजिमको रकम लिनुअघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
उपनियम (१) बमोजिम नेपाल सरकारबाट स्थापना भएको कोषको सञ्चालन मन्त्रालयले र प्रदेश सरकारबाट स्थापना भएको कोषको सञ्चालन सम्बन्धित प्रदेश सरकारले तोकेको निकायले गर्नेछ।
परिच्छेद–७रक्त सञ्चार सेवा, शव परीक्षण तथा एम्बुलेन्स र शववाहन
रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र लिनु पर्नेपृ. ९
रक्त सञ्चार सेवा सञ्चालन गर्न चाहने संस्थाले मन्त्रालयले तोकेको विवरण तथा कागजात संलग्न गरी मन्त्रालय समक्ष इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ।
यो नियमावली प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका रक्त सञ्चार केन्द्रहरुले यो नियमावली प्रारम्भ भएको तीन महिनाभित्र उपनियम (१) बमोजिम इजाजतपत्रको लागि निवेदन दिनु पर्नेछ।
उपनियम (१) वा (२) बमोजिम इजाजतपत्रको लागि निवेदन दिने संस्थाले नियम ९ तथा नियम ११ बमोजिमको सञ्चालनको मापदण्ड पूरा गरेको देखिएमा मन्त्रालयले रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र दिन सक्नेछ।
उपनियम (३) बमोजिम प्रदान गरिएको इजाजतपत्रको अवधि तीन बर्षको हुनेछ।
यस नियम बमोजिम इजाजतपत्र प्राप्त संस्थाले इजाजतपत्रको अवधि समाप्त हुनुभन्दा कम्तीमा तीन महिना अघि इजाजतपत्र नवीकरणको लागि मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ।
मन्त्रालयले उपनियम (५) बमोजिम निवेदन प्राप्त भएपछि मापदण्ड बमोजिम सञ्चालन गरे वा नगरेको जाँचबुझ गरी त्यस्तो रक्त सञ्चार सेवा सञ्चालन गर्ने संस्थाको इजाजतपत्र नवीकरण गर्न सक्नेछ।
उपनियम (३) बमोजिम इजाजतपत्र प्राप्त संस्थाले अस्पतालमा रक्त सञ्चार सेवा सञ्चालन गर्न रक्त सञ्चार एकाइहरु खडा गर्न सक्नेछ।
रक्त सञ्चार सेवा सञ्चालन गर्ने संस्थाले सुरक्षित रगत मात्र सङ्कलन गर्नु पर्नेछ।
रक्त सञ्चार सेवा सञ्चालन गर्ने संस्थाले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड अनुसार रक्त सञ्चार सेवा सञ्चालन गरे वा नगरेको सम्बन्धमा मन्त्रालयले अनुगमन तथा निरीक्षण गर्नेछ।
उपनियम (९) बमोजिमको अनुगमन तथा निरीक्षणबाट कुनै रक्त सञ्चार संस्थाले ऐन तथा यस नियमावली बमोजिमको मापदण्ड अनुसार सेवा सञ्चालन गरेको नपाइएमा मन्त्रालयले त्यस्तो संस्थालाई निश्चित समय तोकी मापदण्ड पालना गराउन वा संस्थाको इजाजतपत्र खारेज गर्न सक्नेछ।
तर त्यसरी इजाजतपत्र खारेज गर्नु अघि सो संस्थालाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ।
शव परीक्षणपृ. १०
शव परीक्षण गर्ने चिकित्सकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची -१५ बमोजिमको ढाँचामा शव परीक्षण गर्नु पर्नेछ।
बेवारिसे शवको प्रयोगपृ. १०
कुनै अध्ययन अनुसन्धान गर्ने संस्थाले ऐनको दफा ३६ को उपदफा (२) बमोजिम बेवारिसे शवको अध्ययन वा अनुसन्धान गर्न चाहेमा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ।
मन्त्रालयले आवश्यक देखेमा उपनियम (१) बमोजिमको अध्ययन अनुसन्धान गर्ने संस्थालाई बेवारिसे शव हस्तान्तरण गर्न सक्नेछ।
उपनियम (१) बमोजिमको अध्ययन अनुसन्धान गर्ने संस्थाले बेवारिसे शवको प्रयोगबाट चिकित्साशास्त्रको अध्ययनमा भएको उपलब्धि सम्बन्धी प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ।
तर अध्ययन अनुसन्धानबाट प्राप्त नतिजामा बौद्धिक सम्पत्ति सम्बन्धी विषय समावेश भएमा सोको अतिक्रमण नहुने गरी मन्त्रालयले आवश्यक व्यवस्था गर्नु पर्नेछ।
एम्बुलेन्स तथा शव वाहन सेवापृ. १०
मन्त्रालयले तोकेको स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स तथा शव वाहन सेवा सञ्चालन गर्न सक्नेछ।
उपनियम (१) बमोजिमको स्वास्थ्य संस्थाले नियम ११ बमोजिम तोकिएको एम्बुलेन्स तथा शव वाहन सेवा सञ्चालन सम्बन्धी मापदण्ड पूरा गर्नु पर्नेछ।
मानव मृत्युको कारण पहिचानपृ. १०
स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थामा उपचार गराइरहेको अवस्थामा कसैको मृत्यु भएमा त्यस्तो मृत्युको कारण पहिचान गर्नु पर्नेछ।
उपनियम (१) बमोजिम मृत्युको कारण पहिचान गर्न स्वास्थ्य संस्थाले विशेषज्ञको राय, परामर्श तथा प्रतिवेदन लिन सक्नेछ।
उपनियम (२) बमोजिमको प्रतिवेदन समेतको आधारमा पहिचान गरिएको मृत्युको कारण समेतको लिखित अभिलेख सम्बन्धित संस्थाले राख्नु पर्नेछ।
परिच्छेद–८जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन तथा आपतकालीन स्वास्थ्य सेवा र सङ्क्रमणको रोकथाम
खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापनपृ. ११
प्रत्येक स्वास्थ्य संस्थाले नियम ११ बमोजिम तोकिएको खानेपानी, सरसफाई तथा फोहोरमैला सम्बन्धी मापदण्ड पूरा गर्नु पर्नेछ।
लक्षित समूहका लागि विशेष सामाजिक सुरक्षा तथा अन्य कार्यक्रमपृ. ११
ऐनको दफा ४७ को उपदफा (१) बमोजिमको लक्षित समूहका लागि दिइने स्वास्थ्य सेवा, सुविधा तथा प्रक्रिया नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
उपनियम (१) बमोजिम लक्षित समूहका लागि निर्धारण गरिएको स्वास्थ्य सेवा तथा सुविधा प्रदेश सरकार तथा स्थानीय तह मार्फत उपलब्ध गराइनेछ।
उपनियम (२) को प्रयोजनको लागि प्रदेश सरकार तथा स्थानीय तहलाई नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।
आपतकालीन स्वास्थ्य सेवाको व्यवस्थापनपृ. ११
ऐनको दफा ४८ को उपदफा (१) बमोजिमको आपतकालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवाको व्यवस्थापनका लागि मन्त्रालयले द्रुत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय समूह परिचालन गर्नेछ।
उपनियम (१) बमोजिमको द्रुत प्रतिकार्य टोली र आपतकालीन चिकित्सकीय समूहको काम, कर्तव्य, अधिकार तथा कार्यविधि मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
आपतकालीन उपचारका लागि सरकारी, गैरसरकारी, निजी, सहकारी, गैर नाफामूलक सामुदायिक, शिक्षण अस्पताल तथा अन्य स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त पूर्वाधार तथा सुविधाको व्यवस्था गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ।
सङ्क्रामक रोगको महामारी, कीट, सूक्ष्म जिवाणु आतङ्क, आकस्मिक वा अप्रत्यासित कारणबाट विपद्को अवस्था सृजना भएमा ऐनको दफा ४८ को उपदफा (४) बमोजिम नेपाल सरकार¸ सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले आवश्यक आदेश जारी गरी जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्नेछ।
उपनियम (४) बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा भएमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले जुनसुकै बखत गैरसरकारी, निजी, सहकारी, गैर नाफामूलक सामुदायिक शिक्षण अस्पताल वा अन्य स्वास्थ्य संस्थालाई आवश्यक निर्देशन दिन, सञ्चालन गर्न, त्यस्तो स्वास्थ्य संस्थाबाट सम्बन्धित स्वास्थ्य सेवा उपलब्ध गर्न लगाउन, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न वा गराउन सक्नेछ।
उपनियम (५) बमोजिम कुनै स्वास्थ्य संस्थालाई नियन्त्रणमा लिएकोमा त्यस्तो स्वास्थ्य संस्थाको सञ्चालन उपनियम (४) बमोजिम जनस्वास्थ्य विपद् घोषणा गर्ने सम्बन्धित सरकार वा तहले निर्धारण गरे बमोजिम हुनेछ।
यस नियम बमोजिम आपतकालिन स्वास्थ्य सेवा व्यवस्थापन गर्न वा जनस्वास्थ्य विपद्को अवस्थामा सम्बन्धित सरकार वा तहले कुनै पनि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसारको स्वास्थ्य संस्था वा क्षेत्रमा खटाउन सक्नेछ।
कुनै प्रदेश सरकार वा स्थानीय तहले उपनियम (४) बमोजिम जनस्वास्थ्य विपद अवस्था घोषणा गरेकोमा सो प्रदेश वा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मी नपुग भएमा स्थानीय तहले प्रदेश तथा नेपाल सरकारसँग र प्रदेश सरकारले नेपाल सरकारसँग थप स्वास्थ्यकर्मी माग गर्न सक्नेछ र त्यसरी माग भएमा नेपाल सरकार तथा प्रदेश सरकारले आफू अन्तर्गत कार्यरत जनशक्तिलाई त्यस्तो जनस्वास्थ्य विपद् क्षेत्रमा खटाउनेछ।
यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (४) बमोजिमको अवस्था नरहेमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले आवश्यक आदेश जारी गरी जुनसुकै बखत त्यस्तो जनस्वास्थ्य विपद् अवस्था घोषणा फिर्ता लिन सक्नेछ।
सङ्क्रामक रोगको व्यवस्थापनपृ. १२
सङ्क्रामक रोगको बिरामी पहिचान भएमा सम्बन्धित व्यक्तिले सोको जानकारी तत्काल सम्बन्धित स्थानीय तह, प्रदेश सरकार वा मन्त्रालयलाई दिनु पर्नेछ ।
उपनियम (१) बमोजिम जानकारी प्राप्त भएकोमा सङ्क्रामक रोगको रोकथामको लागी सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहबाट सम्भव नहुने भएमा मन्त्रालयले तत्काल द्रुत प्रतिकार्य टोली खटाई रोग नियन्त्रण गर्नु पर्नेछ।
सङ्क्रामक रोगको रोकथामको लागि सम्बन्धित सरकारले देहाय बमोजिम गर्न सक्नेछः-
स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी परिचालन गर्न¸
सङ्क्रामक रोगको उपचारको लागि छुट्टै डेडिकेटेड अस्पताल तोक्न¸
सार्वजनिक भवन तथा स्थल प्रयोग गर्न¸
सङ्क्रामक रोग लागेको वा रोग लागेको शंका लागेको व्यक्तिको रोगको अन्वेषण गर्न,
सङ्क्रमणको स्रोतबाट नमूना सङ्कलन गर्न वा नष्ट गर्न,
सङक्रमित व्यक्तिलाई खोप लगाउन तथा अन्य उपचार गर्न,
सङ्क्रमण हुन सक्ने सम्भावित व्यक्तिहरुलाई क्वारेन्टिनमा राख्न,
कुनै विशेष ठाउँमा निश्चित समयको लागि छुट्टै (आइसोलेसन) राखी उपचार गर्न।
उपनियम (३) को खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमको अवस्थामा नियम ७ बमोजिम सम्बन्धित व्यक्तिको सुसूचित सहमति आवश्यक पर्ने छैन।
सङ्क्रामक रोगको प्रकोपको प्रकृति, लक्षण, रोकथाम र नियन्त्रण तथा अन्य आवश्यक सूचनाहरु मन्त्रालय, सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहले समय समयमा सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराउनु पर्नेछ।
सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न मन्त्रालय, सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले सार्वजनिक सूचना प्रकाशन गरी आवश्यकता अनुसार आदेश जारी गर्न सक्नेछ र त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उपचारको क्रममा सङ्क्रमण हुनबाट रोक्न वा अन्य कुनै कारणबाट रोगको सङ्क्रमण हुन नदिन सरकारी स्वास्थ्य संस्थाको हकमा सम्बन्धित संस्थाको प्रमुखले र अन्य स्वास्थ्य संस्थाको हकमा व्यवस्थापकले देहाय बमोजिमको उपाय अवलम्बन गर्नु पर्नेछः-
स्वास्थ्यकर्मी तथा बिरामीको सम्पर्कमा आउने सबै कर्मचारीलाई रोगको सङ्क्रमण रोकथामको लागि आवश्यक खोप दिने,
सङ्क्रामक रोगको जैविक नमूना सङ्कलन र परीक्षण गर्ने काम गर्ने व्यक्तिले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका उपाय अनिवार्य रुपमा अवलम्बन गर्ने,
विकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीलाई विकिरण रोक्ने सामग्री तथा सङ्रचना उपलब्ध गराउने,
गर्भवती स्वास्थ्यकर्मीलाई विकिरणयुक्त तथा कुनै खास सङ्क्रमण वा जोखिमयुक्त कार्यमा नलगाउने,
कुनै खास सङ्क्रमण वा जोखिमबाट कर्मचारीलाई जोगाउन व्यक्तिगत सुरक्षाका साधन तथा कुनै खास उपाय अवलम्बन गर्नु पर्ने भए सोको प्रबन्ध गर्ने।
परिच्छेद–९विविध
उजूरी गर्न सक्नेपृ. १४
ऐनको दफा १८ बमोजिम उपचारको क्रममा कुनै बिरामीको स्वास्थ्यमा थप जटिलता देखा परेमा वा उपचारको प्रक्रियामा निजलाई कुनै आशङ्का भएमा सोही व्यहोरा खुलाई देहायका पदाधिकारी समक्ष बिरामी वा संरक्षक वा निजलाई उपचार गराउन ल्याउने व्यक्तिले लिखित रुपमा उजूरी गर्न सक्नेछः-
स्वास्थ्य संस्थाको प्रमुख बाहेकका अन्य स्वास्थ्यकर्मीले उपचार गरेको भए सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुख समक्ष,
स्वास्थ्य संस्थाको प्रमुखले उपचार गरेको भए सो स्वास्थ्य संस्थाभन्दा माथिल्लो स्वास्थ्य संस्थाको प्रमुख समक्ष।
उपनियम (१) बमोजिम उजूरी परेकोमा सम्बन्धित अधिकारीले तत्काल सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य प्रमुखसँग बुझी आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
उपनियम (२) बमोजिम जाँचबुझ गर्दा उजूरीमा उल्लेख भएको व्यहोरा साँचो देखिएमा उपनियम (१) बमोजिमको अधिकारीले त्यस्तो बिरामीको उपचारको लागि कुनै अर्को स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी समक्ष वा सोही स्वास्थ्य संस्थाको अर्को स्वास्थ्यकर्मी समक्ष उपचारको लागि पठाउन सक्नेछ।
उपनियम (२) बमोजिमको जाँचबुझको क्रममा ऐन वा यस नियमावली विपरीतको काम भए गरेको देखिएमा उपनियम (१) बमोजिमको अधिकारीले त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य प्रमुखलाई कारबाहीको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउनु पर्नेछ।
निर्णय गर्ने अधिकारपृ. १५
ऐनको दफा १४ को उपदफा (२) को खण्ड (ग) को प्रयोजनको लागि जनस्वास्थ्यमा गम्भीर असर पर्ने वा नपर्ने विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई हुनेछ।
क्षतिपूर्तिको रकम निर्धारणपृ. १५
ऐनको दफा ५७ को उपदफा (२) बमोजिम मर्का पर्न गएको पक्षलाई कसूरदारबाट भराइने क्षतिपूर्ति निर्धारणका आधार तथा अन्य व्यवस्था अपराध पीडितलाई क्षतिपूर्ति दिने सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।
औषधिको भण्डारण तथा बिक्रि वितरणपृ. १५
औषधि बिक्रेताले प्रचलित कानून बमोजिम औषधिको भण्डारण गर्नु पर्नेछ।
उपनियम (१) बमोजिम औषधि भण्डारण गर्दा त्यस्तो औषधिको गुणस्तर कायम रहने प्रबन्ध मिलाउनु पर्नेछ।
अभिलेख राख्नेपृ. १५
स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थाबाट सेवा लिएका सेवाग्राहीको व्यक्तिगत विवरण, स्वास्थ्य सम्बन्धी अवस्था, निदान तथा उपचारसँग सम्बन्धित विवरणको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ।
अनुसूचीमा हेरफेर वा थपघटपृ. १५
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ।
पृ. १६
(नियम ३ सँग सम्बन्धित)
आधारभूत स्वास्थ्य सेवा
तालिका यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ १६–२६ मा हेर्नुहोस्।
पृ. २७
नियम ४ को उपनियम (१), (२) र (३) सँग सम्बन्धित)
आकस्मिक स्वास्थ्य सेवा
तालिका यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ २७–३१ मा हेर्नुहोस्।
पृ. ३२
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
विशेषज्ञ सेवा
जनरल फिजीसियन सेवा ( Physician (Internal Medicine)),
जनरल सर्जरी सेवा (General Surgery),
स्त्रीरोग तथा प्रसूती सेवा (Gynaecology&Obstretics),
बाल तथा शिशु सेवा (Paediatrics),
एनस्थेसियोलोजी सेवा (Anaesthesiology),
हाडजोर्नी सेवा (Orthopedics),
दन्त चिकित्सा सेवा (Dentistry),
नाक, कान, घाँटी सेवा ( Ear, Nose and Throat),
चर्म तथा यौनरोग (Dermatology & Venerology),
मानसिक रोग सेवा (Psychiatrics),
रेडिएसन ओन्कोलोजी सेवा (Radiation Oncology),
रेडियोलोजी एण्ड इमेजिङ सेवा (Radiology & Imaging),
रेडियोथेरापी सेवा (Radiotherapy),
अप्थाल्मोलोजी सेवा (Opthalmology),
प्याथोलोजी सेवा (Pathology),
• Bio- Chemistry,
• माईक्रोबायोलोजी सेवा (Microbiology)
• हेमाटोलोजी सेवा (Haematology) ।
फार्मेसी सेवा (Pharmacy),
क्लिनिकल फर्माकोलोजी (Clinical Pharmacology),
फरेन्सिक मेडिसिन सेवा (Forensic Medicine),
जनरल प्राक्टिस सेवा (General Practice),
फिजियोथेरापी सेवा (Physiotherapy),
आयुर्वेद सेवा (Aurveda),
मन्त्रालयले तोकेका अन्य सेवा ।
पृ. ३४
(नियम ५ को उपनियम (३) सँग सम्बन्धित)
विशिष्टिकृत सेवा
प्लास्टिक सर्जरी (Plastic Surgery),
सर्जिकल अन्कोलोजी (Surgical Oncology),
पल्मोनोलोजी (Pulmonology),
युरोलोजी (Urology),
नेफ्रोलोजी
ट्रोपिकल मेडिसिन एण्ड इन्फेक्सियस डिजिज (Tropical Medicine and Infectious Diseases),
कार्डिओथोरासिक एण्ड भास्कुलर सर्जरी (Cardiothoracic and Vascular Surgery),
ट्रान्सप्लान्ट सर्जरी (Transplant Surgery),
इमर्जेन्सी मेडिसिन (Emergency Medicine),
इण्डोक्राइनोलोजी (Endocrinology),
रिउमाटोलोजी (Rheumatology),
जेरियाट्रिक मेडिसिन (Geriatric Medicine),
हेपाटोबिलियारी सर्जरी (Hepatobiliary Surgery),
न्यूरोलोजी (Neurology),
न्यूरोसर्जरी (Neurosurgery),
अर्थो (स्पाइन) सर्जरी (Artho Spine Surgery),
भास्कुलर सर्जरी (Vascular Surgery),
थोरासिक सर्जरी (Thoracic Surgery),
न्युक्लियर मेडिसिन (Nuclear Medicine),
ओरल मेडिसिन एण्ड रेडियोलोजी (Oral Medicine & Radiology),
ट्रान्सफ्युजन मेडिसिन एण्ड सेल थेरापी (Transfusion Medicine &Cell Therapy),
फिजीकल मेडिसिन एण्ड रिह्याबिलीटेसन (Physical Medicine & Rehabilitation),
नियोनाटोलोजी (Neonatology),
पेडियाट्रिक सर्जरी (Paediatric Surgery),
कार्डियोलोजी (Cardiology),
हेपाटोलोजी (Hepatology),
मेडिकल ओन्कोलोजी (Medical Oncology),
ग्यास्ट्रोनइन्टेरोलोजी (Gastroenterology),
ग्यास्ट्रोनइन्टेस्टिनल सर्जरी (Gastroentero Surgery),
क्रिटीकल केयर एण्ड एनेस्थेसियोलोजी (Critical Care Medicine and Anesthesiology),
पल्मोनरी क्रिटीकल केयर एण्ड स्लिप मेडिसिन (Pulmonary Critical Care and Sleep Medicine),
इन्टरभेन्सनल रेडियोलोजी एण्ड इमेजिङ (Interventional Radiology & Imaging),
मोलिक्यूलर बायोकेमिष्ट्री (Molecular Biochemistry),
इम्युनोप्याथोलोजी (Immunopathology),
मोलिक्यूलर प्याथोलोजी (MolecularPathology),
हेमाटोप्याथोलोजी (Haemato Pathology),
भ्याइरोलोजी (Virology),
ओरल एण्ड म्याक्जिलोफेसिअल सर्जरी (Oral and maxillofacial surgery ),
इन्भेट्रो फर्टिलाईजेसन (In-vitro Fertilization),
मोलिक्यूलर माइक्रोबाइलोजी (Molecular Microbiology),
स्पेसलिस्ट आयुर्वेद सर्भिस (Specialist Ayurveda Services),
अक्युपेसनल मेडिसिन (Occupational Medicine),
जेनेटिक मेडिसिन (Genetic Medicine),
मन्त्रालयले तोकेका अन्य सेवा ।
पृ. ३६
(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)
सुसूचित सहमति लिनु पर्ने सेवा
सबै प्रकारका शल्यक्रिया,
एनेस्थेसिया,
सि.टि.स्क्यान / एम.आर.आई.,
ईन्टरभेन्सनल रेडियोलोजी,
प्रसूती तथा गर्भपतन सेवा,
ईन्डोस्कोपी वा यस्तै प्रकारको उपकरणको प्रयोग गरी निदानात्मक प्रकृया,
रेडियोथेरापी,
केमोथेरापी,
बोन म्यारोएस्पिरेसन,
बायोप्सी सेवा ।
पृ. ३७
(नियम ८ सँग सम्बन्धित)
डिस्चार्ज (बहिर्गमन) सारांशको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३७–३८ मा हेर्नुहोस्।
पृ. ३९
(नियम ९को उपनियम (१),
स्वास्थ्य संस्थाहरुको तहगत सङ्रचना र उपलब्ध गराउने स्वास्थ्य सेवा
तालिका यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ३९–५१ मा हेर्नुहोस्।
पृ. ५२
(नियम ११, नियम १२ को उपनियम (५)
र नियम १३ को उपनियम (३) सँग सम्बन्धित) स्वास्थ्य संस्था सञ्चालन मापदण्ड
व्यवस्थापन सम्बन्धी,
भवन तथा पूर्वाधार सम्बन्धी,
वातावरण सम्बन्धी,
बहिरङ्ग विभाग, अन्तरङ्ग विभाग, आकस्मिक विभाग, शल्यचिकित्सा विभाग र सघन उपचार कक्ष सम्बन्धी,
जनशक्ति व्यवस्थापन सम्बन्धी,
विशेषज्ञ तथा विशिष्टकृत सेवा सम्बन्धी,
प्रयोगशाला सम्बन्धी,
रेडियो ईमेजिङ्गग सेवा सम्बन्धी,
सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी ,
जनस्वास्थ्य सेवा सम्बन्धी (पोषण, खोप, सुरक्षित मातृत्व, बाल स्वास्थ्य, परिवार नियोजन),
स्वास्थ्यजन्य तथा अन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी,
खानेपानी, सरसफाई, विद्युत आपूर्ति, गार्डेन,
अक्सिजन,
फार्मेसी सेवा सम्बन्धी,
रक्त सञ्चार सेवा सम्बन्धी,
विपद तथा महामारी व्यवस्थापन सम्बन्धी,
एम्बुलेन्स सेवा सम्बन्धी,
शव परीक्षण तथा व्यवस्थापन सम्बन्धी,
प्रेषण प्रणाली सम्बन्धी,
क्यान्टिन तथा पोषण सेवा सम्बन्धी,
सेन्ट्रल सर्भिस डिपार्टमेन्ट सम्बन्धी,
लाउन्ड्री सम्बन्धी,
सामाजिक सेवा ईकाई तथा स्वास्थ्य बीमा व्यवस्थापन सम्बन्धी,
गुनासो व्यवस्थापन सम्बन्धी,
अनुगमन तथा मूल्याङ्कन सम्बन्धी,
सुरक्षा व्यवस्था सम्बन्धी ।
पृ. ५४
(नियम १२ को उपनियम (२) सँग सम्बन्धित)
स्वास्थ्य संस्थालाई ईजाजतपत्र दिने निकाय
मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट ईजाजतपत्र लिनुपर्ने र नवीकरण गराउनु पर्ने स्वास्थ्य संस्थाः
२०० शैया माथिका जनरल अस्पताल,
विशेषज्ञ अस्पताल,
विशिष्टिकृत अस्पताल,
बाल अस्पताल,
५० शैया माथिका आयुर्वेद अस्पताल/ विशेषज्ञ आयुर्वेद अस्पताल,
निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक शिक्षण कलेजले सञ्चालन गर्ने शिक्षण अस्पताल,
होमियोप्याथी अस्पताल,
जेरियाट्रिक केयार सेन्टर,
“क श्रेणी” को रेडियो इमेजिङ्ग सेन्टर,
रक्तसञ्चार केन्द्र,
“ए” र “बी” बर्गको प्रयोगशाला,
टेस्ट ट्युब बेबी सेन्टर (IVF),
डायलासिस केन्द्र (२५ शैयाभन्दा माथि),
पुनर्स्थापना केन्द्र (२५ शैयाभन्दा माथि),
अन्य कुनै पनि तहको सूचीमा नपरेको र स्पष्ट नभएको स्वास्थ्य सेवा ।
प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट ईजाजतपत्र लिनुपर्ने र नवीकरण गराउनु पर्ने स्वास्थ्य संस्थाहरुः-
२५ देखि २०० शैया सम्मका जनरल तथा विशेषज्ञ अस्पताल,
२५ देखि ५० शैया सम्मका आयुर्वेद अस्पताल,
डेन्टल क्लिनिक, विशेषज्ञ क्लिनिक, पोलिक्लिनिक,
आँखा उपचार केन्द्र,
“सी” बर्गको प्रयोगशाला,
“ख” श्रेणीको रेडियो इमेजिङ्ग सेन्टर,
डायलासिस केन्द्र (२५ शैया सम्म),
पुनर्स्थापना केन्द्र (२५ शैया सम्म),
हस्पिस सेन्टर (Hospice Center) ।
स्थानीय तह वा स्थानीय तहले तोकेको सो तहको निकायले इजाजतपत्र दिने र नवीकरण गर्ने स्वास्थ्य संस्थाहरुः-
स्वास्थ्य क्लिनिक, आयुर्वेद क्लिनिक, सोवारिग्पा (आम्ची) क्लिनिक, होमियोप्याथी क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिकहरु,
फिजियोथेरापी केन्द्र, पुर्नस्थापना केन्द्र (मनोसामाजिक), प्राकृतिक उपचार केन्द्र, अकुपन्चर, अकुप्रेसर केन्द्र, युनानी उपचार केन्द्र, योग ध्यान तथा शारीरिक व्यायाम केन्द्र, परम्परागत सेवा क्लिनिक र यस्तै प्रकारका अन्य क्लिनिक तथा सेवा केन्द्रहरु,
जेरियाट्रिक परामर्श केन्द्र,
“डि” र “ई” वर्गको प्रयोगशाला,
१५ शैया सम्मको अस्पताल ।
पृ. ५६
(नियम १२ को उपनियम (४) सँग सम्बन्धित)
इजाजतपत्र प्राप्त गर्न दिने निवेदनको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ५६–५९ मा हेर्नुहोस्।
पृ. ६०
(नियम १२ को उपनियम (५) सँग सम्बन्धित)
इजाजतपत्रको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६०–६१ मा हेर्नुहोस्।
पृ. ६२
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
नवीकरणको लागि दिइने निवेदनको ढाँचा
फारामको ढाँचा यहाँ सारिएको छैन; मूल प्रतिको पृष्ठ ६२ मा हेर्नुहोस्।
स्रोत
- नेपाल कानुन आयोग, जनस्वास्थ्य सेवा नियमावली, २०७७ (आयोगको पाना)।
- आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०२-०७। हरेक नियमको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
- पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (७८२५/७८२५ शब्द मिले)।
- मूल प्रतिको पाठमा फन्टका कारण गलत अक्षर परेका वा छपाइमा केही छुटेका यी ठाउँ पानाकै छविसँग हेरेर सच्याइएका छन्:
- पृष्ठ ३२: •
