Skip to content

← हाम्रो स्थानीय तह

नेपाल नागरिकता ऐन, २०६३

नागरिकता सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

ऐन नं.
२०६३ सालको ऐन न. २५
प्रमाणीकरण र प्रकाशन मिति
२०६३।०८।१०
संशोधन
२०८२।०६।०५ सम्मका ४ संशोधनसहित

यो पढ्न र लिङ्क गर्न सजिलो होस् भनेर राखिएको प्रति हो, अक्षर नबदली। आधिकारिक पाठ नेपाल कानुन आयोगको प्रति नै हो; हरेक दफामा त्यसको पृष्ठ दिइएको छ।

संशोधन भएका ठाउँमा अहिले लागु भएको पाठ देखाइएको छ। चिह्नले कुन ऐनले बदलेको भन्ने जनाउँछ; पुरानो पाठ यहाँ छैन।

विषयसूची (२८)
  1. १.संक्षिप्‍त नाम र प्रारम्भ
  2. २.परिभाषा
  3. ३.वंशजको नाताले नेपाली नागरिकता प्राप्‍ति
  4. ४........
  5. ५.अङ्गीकृत नेपाली नागरिकता प्राप्‍ति
  6. ६.सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सकिने
  7. ७.क्षेत्र गाभिँदाको नागरिकता
  8. ७क.गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने
  9. ८.नागरिकताको प्रमाणपत्र प्राप्‍तिको लागि निवेदन दिनु पर्ने
  10. ८क.पहिचान सहितको नागरिकता दिने
  11. ९.नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार
  12. १०.नेपाली नागरिकता कायम नरहने
  13. ११.पुनः नेपाली नागरिकता कायम हुने
  14. १२.नागरिकताको प्रमाणपत्र रद्द गर्ने
  15. १३.दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने
  16. १४.नेपाली नागरिकताबाट हटाउने
  17. १५.नागरिकताको प्रमाणपत्रको अभिलेख राख्ने
  18. १६.अधिकार, कर्तव्य र दायित्व लोप नहुने
  19. १७.विवरण सच्याउने
  20. १८.निवेदन दिन सक्ने
  21. १९.नामावली प्रकाशन
  22. २०.अधिकार प्रत्यायोजन
  23. २१.दण्ड सजाय
  24. २२.नागरिकता टोली खटाउन सक्ने
  25. २२क.नाबालक परिचयपत्र प्रदान गर्ने
  26. २३.नियम बनाउने अधिकार
  27. २४.खारेजी र बचाउ

अनुसूची

  1. अनुसूची

प्रस्तावना

ऐतिहासिक जनआन्दोलनको परिणाम स्वरुप नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको र राज्यशक्तिको स्रोत नेपाली जनता नै रहेको विद्यमान अवस्थामा विगतमा नेपाली नागरिकहरुले नागरिकताको प्रमाणपत्र प्राप्‍त गर्न नसक्दा अप्ठेरो परिरहेको अवस्थालाई महसूस गरी प्रतिनिधिसभाको घोषणा, २०६३ ले नेपाल राज्यभित्रको नागरिकता सम्बन्धी समस्याको समाधान यथाशीघ्र गर्ने सङ्कल्प लिए अनुरुप २०६३ साल कार्तिक २२ गते भएको राजनीतिक सहमतिको आधारमा नेपालको नागरिकता प्राप्‍ति, समाप्‍ति र तत्सम्बन्धी अन्य कुराको व्यवस्था गर्नका लागि प्रचलित कानूनी व्यवस्थालाई समयानुकूल संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ।

संक्षिप्‍त नाम र प्रारम्भपृ. १

(१)

यस ऐनको नाम “नेपाल नागरिकता ऐन, २०६३” रहेको छ।

(२)

यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

परिभाषापृ. १

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क)

“नाबालक” भन्‍नाले सोह्र वर्ष उमेर पूरा नभएको व्यक्ति सम्झनु पर्छ।

(ख)

“व्यक्ति” भन्‍नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ।

(ग)

“तोकिएको” वा “तोकिए बमोजिम” भन्‍नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।

वंशजको नाताले नेपाली नागरिकता प्राप्‍तिपृ. २

(१)

कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ।

(२)

उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गर्ने नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा दफा ५ को उपदफा (२) बमोजिम हुनेछ।

१(३)

नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ र निजले सोह्र वर्ष उमेर पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता लिन सक्नेछ।

२(४)

संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्‍त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्‍त गर्नेछ।

३(४क)

उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्‍त गरेको र अर्कोको नेपाली नागरिकता प्राप्‍त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन रहेको व्यक्तिको हकमा दफा ५ को उपदफा (५क) बमोजिम हुनेछ।

२(५)

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्‍त गर्नेछ।

३(५क)

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा (५) बमोजिम वंशजको आधारमा नागरिकता प्राप्‍त गर्नेछ।

२(६)

उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मिएको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।

२(७)

उपदफा (५) बमोजिम नागरिकता प्राप्‍त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्‍त नगरेको भनी तोकिए बमोजिम स्वघोषणा गरी वंशजको आधारमा प्राप्त गरेको नागरिकताको प्रमाणपत्र बुझाएमा अङ्गिकृत नागरिकता प्राप्त गर्नेछ।

२(८)

उपदफा (३) बमोजिम नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु वा आमा पत्ता लागेमा निजले प्राप्त गरेको नागरिकता सम्बन्धमा देहाय बमोजिम गर्नु पर्नेछ:-

(क)

यस ऐन बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त हुने भएमा सोही बमोजिमको विवरण अद्यावधिक गरी निजको नागरिकता कायम गर्ने,

(ख)

यस ऐन बमोजिम नेपालको अङ्गिकृत नागरिकता प्राप्त हुने भएमा निजले वंशजको आधारमा प्राप्त गरेको नागरिकता खिची निजलाई अङ्गिकृत नागरिकता प्रदान गर्ने।

४ .......पृ. ३

अङ्गीकृत नेपाली नागरिकता प्राप्‍तिपृ. ३

(१)

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्‍त गर्न चाहेमा तोकिएको अधिकारी समक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आपू:ले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेश गर्नु पर्नेछ।

(२)

विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा ५....... नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गीकृत नागरिकता प्रदान गर्न सकिनेछ।

(३)

उपदफा (२) बमोजिम अङ्गीकृत नागरिकता प्राप्‍त गर्न चाहने व्यक्तिले देहायका कागजात संलग्न गरी तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ :-

(क)

आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ख)

नेपालमा ५....... स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित ६गाउँपालिका वा नगरपालिकाको सिफारिस,

(ग)

बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको १भनी ७निज र निजको आमाले तोकिए बमोजिम गरेको स्वघोषणा।

३तर निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेकोमा सोको प्रमाण वा होस ठेगानमा नरहेकोमा सोही व्यहोरा खुलाई चिकित्सकले प्रमाणित गरेकोमा आमाको स्वघोषणा आवश्यक पर्ने छैन।

(४)

देहायका शर्त र अवस्था पूरा गरिसकेका विदेशी नागरिकमध्ये विज्ञान, दर्शनशास्त्र, कला, साहित्य, विश्‍वशान्ति, मानव कल्याण वा नेपालको औद्योगिक, आर्थिक वा सामाजिक उन्‍नतिमा विशेष योगदान पुर्‍याएको वा पुर्‍याउन सक्ने भनी मनासिब आधारमा नेपाल सरकारले ठहर्‍याएको व्यक्तिलाई तोकिए बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्न सकिनेछ :-

(क)

नेपाली वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्‍न जानेको,

(ख)

नेपालमा कुनै व्यवसाय गरी बसेको,

(ग)

अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको,

(घ)

कम्तीमा पन्ध्र वर्षसम्म नेपालमा बसोबास गरेको,

(ङ)

नेपाली नागरिकलाई अङ्गीकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको,

(च)

असल चालचलन भएको,

(छ)

मानसिक रुपले स्वस्थ भएको।

(५)

उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि अङ्गीकृत नेपाली नागरिकता प्राप्‍त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्‍त गर्नुभन्दा पहिले जन्मेको सन्तानले तोकिए बमोजिम अङ्गीकृत नेपाली नागरिकता प्राप्‍त गर्न सक्नेछ।

३(५क)

दफा ३ को उपदफा (४क) बमोजिमको व्यक्तिले सो बमोजिमको स्वघोषणा गरेमा तोकिए बमोजिम अङ्गीकृत नागरिकता प्राप्‍त गर्न सक्नेछ।

३(५ख)

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्ति र निजको आमाले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्‍त गर्न सक्नेछ।

(६)

यस दफा बमोजिम अङ्गीकृत नेपाली नागरिकता पाउने व्यक्तिलाई अनुसूची बमोजिमको शपथग्रहण गराई तोकिएको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ र त्यस्तो प्रमाणपत्र पाएको मितिदेखि त्यस्तो व्यक्ति नेपालको अङ्गीकृत नागरिक हुनेछ।

सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सकिनेपृ. ५

दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले अन्तर्राष्ट्रिय ख्यातिप्राप्‍त व्यक्तिलाई सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सक्नेछ।

क्षेत्र गाभिँदाको नागरिकतापृ. ५

नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्‍त भएमा त्यस क्षेत्रभित्रको व्यक्ति यस ऐनको अधीनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम सोही सूचनामा तोकेको मितिदेखि नेपालको नागरिक मानिनेछ।

२ गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेपृ. ५

(१)

विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।

(२)

उपदफा (१) बमोजिम गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी तोकिएको अधिकारी समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछः-

(क)

निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण,

(ख)

सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग)

विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ)

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,

(ङ)

नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र।

(३)

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली नागरिकताको लागि उपदफा (२) बमोजिम निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ।

(४)

उपदफा (२) बमोजिम निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैर आवासीय नेपाली नागरिकता दिनेछ।

(५)

उपदफा (४) बमोजिम गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्नेछ।

(६)

यस दफा बमोजिम गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्ठो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैर आवासीय नेपाली नागरिकता रद्द गर्नेछ।

नागरिकताको प्रमाणपत्र प्राप्‍तिको लागि निवेदन दिनु पर्नेपृ. ६

(१)

दफा ३ बमोजिम वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले तोकिएको अधिकारी समक्ष देहायका कागजातका प्रतिलिपि संलग्न राखी निवेदन दिनु पर्नेछ :-

(क)

बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र, ५.......।

२(क१)

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा, तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नु पर्नेछ।

(ख)

जन्मस्थान र नाता खुल्ने गरी ६गाउँपालिका वा नगरपालिकाले गरिदिएको सिफारिस।

२(ग)

खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालभित्र फेला परेको र पितृत्व र मातृत्व ठेगान नभएको देहायको व्यक्तिको हकमा देहायका कागजात:-

(१)

बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस,

(२)

कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस,

(३)

अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस।

२(१क)

उपदफा (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३ को उपदफा (४) र (६) बमोजिम नागरिकताको प्रमाणपत्र लिन निवेदन दिँदा बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ।

(२)

५ .......

(३)

उपदफा (१) ५....... बमोजिम निवेदन प्राप्‍त भएपछि तोकिएको अधिकारीले प्राप्‍त प्रमाणका आधारमा छानबिन गरी निजलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनेछ।

२(३क)

उपदफा (१) बमोजिमको प्रमाण पेश हुन नसकेमा तोकिएको अधिकारीले परिवारको सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाई सनाखत गर्न लगाउनु पर्नेछ।

स्पष्‍टीकरण: यस दफाको प्रयोजनको लागि “परिवारको सदस्य” भन्‍नाले बाबु, आमा, पति, पत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु, देवर सम्झनु पर्छ।

१(४)

कुनै व्यक्तिले उपदफा (१) बमोजिमको प्रमाण पेश गर्न नसकेमा वा दफा (३क) बमोजिम परिवारको सदस्यबाट सनाखत हुन नसकेमा तोकिएको अधिकारीले स्थलगत सरजमिन गरी निवेदकलाई चिन्‍ने सोही वडामा बसोबास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिईसकेको व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्यले सरजमिनस्थलमा नै गरेको सनाखत र सम्बन्धित वडा समितिले गरेको सिफारिसको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।

(५)

उपदफा (४) बमोजिम स्थलगत सरजमिन गर्दा निवेदक नेपालमा जन्म भई निरन्तर रुपमा स्थायी बसोबास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको हुनु पर्नेछ।

(६)

उपदफा (३) वा (४) बमोजिम छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा तोकिएको अवधिभित्र सोही व्यहोराको निर्णय गरी निजलाई सोको जानकारी दिनु पर्नेछ।

२ पहिचान सहितको नागरिकता दिनेपृ. ८

(१)

यस ऐन बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिनेछ।

३(१क)

कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा आमा वा बाबुमध्ये कुनै एकको नाम, थर र ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा निजले उल्लेख गर्न नचाहेको आमा वा बाबुको नाम, थर र ठेगाना उल्लेख नगरी दिनु पर्नेछ।

(२)

उपदफा (१) ३र (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि नागरिकताको अभिलेखमा आमा, बाबु दुवैको नाम र विवरण राख्‍नु पर्नेछ।

(३)

यस ऐन बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा तोकिए बमोजिम लैङ्गिक पहिचान समेत खुलाउनु पर्नेछ।

नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकारपृ. ९

वंशजको नाताले ५....... वा अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने अधिकार तोकिएको अधिकारीलाई हुनेछ।

नेपाली नागरिकता कायम नरहनेपृ. ९

(१)

नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्‍त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन।

(२)

नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिए बमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन।

(३)

दफा १४ बमोजिम कुनै व्यक्तिलाई नेपाली नागरिकताबाट हटाइएकोमा त्यसरी हटाइएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता कायम रहने छैन।

(४)

कुनै व्यक्तिलाई एकैसाथ नेपालको र विदेशी मुलुकको नागरिकता प्राप्‍त हुने अवस्था भएमा त्यस्तो व्यक्तिले सोह्र वर्ष उमेर पुगेको दुई वर्षभित्र कुनै एक मुलुकको नागरिकता रोज्नु पर्नेछ।त्यसरी नागरिकता नरोजेको अवस्थामा सो म्याद नाघेपछि निजको नेपाली नागरिकता कायम रहने छैन।

(५)

नेपालको नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्‍त गरेको छ वा छैन भन्‍ने प्रश्‍न उठेमा तोकिएको अधिकारीले प्रचलित कानून बमोजिम निर्णय गर्नेछ।

पुनः नेपाली नागरिकता कायम हुनेपृ. ९

कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्‍त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ।

नागरिकताको प्रमाणपत्र रद्द गर्नेपृ. ९

कुनै नेपाली नागरिकले झुठो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्नेछ।

दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुनेपृ. ९

कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन।

तर बसाइँ सरेको आधारमा कुनै व्यक्तिले चाहेमा सम्बन्धित कार्यालयबाट निजले पहिले लिएको नागरिकता खिची अर्को नागरिकताको प्रमाणपत्र जारी गर्न बाधा पर्ने छैन।

नेपाली नागरिकताबाट हटाउनेपृ. ९

(१)

कुनै विदेशी व्यक्तिले झुठो विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्‍त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिनेछ।

(२)

यस दफा बमोजिम नेपाल सरकारले कुनै व्यक्तिलाई नेपालको नागरिकताबाट हटाउने गरी दिएको आदेश उपर पैंतीस दिनभित्र सम्बन्धित ६उच्च अदालतमा पुनरावेदन लाग्न सक्नेछ।

नागरिकताको प्रमाणपत्रको अभिलेख राख्नेपृ. १०

नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख राख्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

अधिकार, कर्तव्य र दायित्व लोप नहुनेपृ. १०

कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्‍त भएमा नेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकार, कर्तव्य र दायित्व त्यसरी नागरिकता समाप्‍त भएको कारणले मात्र लोप भएको मानिने छैन।

विवरण सच्याउनेपृ. १०

८(१)

कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित थर वा उमेर शैक्षिक योग्यताको प्रमाणपत्रमा फरक पर्न गई वा नागरिकताको प्रमाणपत्रमा सानातिना त्रुटी भई सो विवरण सच्याउन चाहेमा आवश्यक प्रमाण सहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। स्पष्‍टीकरण : यस उपदफाको प्रयोजनको लागि “सानातिना त्रुटी” भन्‍नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणमा तात्विक अन्तर नपर्ने जस्तैः “कुमारी”, “देवी”, “बहादुर”, “प्रसाद” जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटीलाई जनाउनेछ।

(२)

उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुत प्रमाण र आवश्यकता अनुसार साक्षी सरजमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।

(३)

विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्नेछ।

७ निवेदन दिन सक्नेपृ. ११

(१)

यस ऐनमा अन्यथा लेखिएकोमा बाहेक कुनै अधिकारीले यो ऐन बमोजिम दिएको आदेश वा गरेको निर्णयबाट मर्का पर्ने व्यक्तिले त्यस्तो आदेश थाहा पाएको मितिले पैँतिस दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत वा सोझै नेपाल सरकार, गृह मन्त्रालयको सचिव समक्ष निवेदन दिन सक्नेछ।

(२)

उपदफा (१) बमोजिमको निवेदन प्राप्‍त भएमा गृह मन्त्रालयको सचिवले आदेश दिने वा निर्णय गर्ने अधिकारीबाट तिस दिनभित्र प्रतिवेदन प्राप्‍त गरी त्यस्तो प्रतिवेदन प्राप्‍त भएको तिस दिनभित्र निवेदनउपर आफ्नो निर्णय वा आदेश दिनु पर्नेछ र निजले गरेको सो निर्णय वा आदेश अन्तिम हुनेछ।

(३)

उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम नेपाल सरकारले गरेको आदेश वा निर्णय उपर यस दफा बमोजिम निवेदन दिन पाइने छैन।

नामावली प्रकाशनपृ. ११

दफा १४ बमोजिम नेपाली नागरिकताबाट हटाइएका व्यक्तिहरुको नामावली प्रत्येक वर्ष नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

अधिकार प्रत्यायोजनपृ. ११

(१)

नेपाल सरकारले यस ऐन बमोजिम आफूलाई प्राप्‍त अधिकार नेपाल सरकारको कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर, दफा १४ बमोजिम नेपाली नागरिकबाट हटाउने अधिकार प्रत्यायोजन हुने छैन।

(२)

यस ऐन बमोजिम नागरिकताको प्रमाणपत्र वितरण गर्न तोकिएको अधिकारीले ७आफूलाई प्राप्‍त अधिकार मध्ये केही अधिकार कुनै अधिकृत कर्मचारी वा कार्यालय प्रमुख भई काम गर्ने कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

दण्ड सजायपृ. ११

(१)

कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्‍त गरेमा एक वर्ष देखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुठो विवरण दिई नागरिकता प्राप्‍त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्‍त गरेको नागरिकता स्वतः रद्द हुनेछ।

(२)

कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिना देखि तीन वर्षसम्म कैद वा पच्चीस हजार देखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(३)

कसैले नेपाली नागरिकताको झुठो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्ष देखि पाँच वर्षसम्म कैद वा बीस हजार देखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

२(३क)

कसैले दफा ३ को उपदफा (७) वा दफा ५ को उपदफा (३) को खण्ड (ग) ३वा उपदफा (५क) वा उपदफा (५ख) बमोजिम गरेको स्वघोषणा झुट्टो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई छ महिनादेखि एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्‍त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्‍त गरेको नागरिकता स्वतः रद्द हुनेछ।

२(३ख)

कसैले झुट्टा विवरण दिई दफा ७क. बमोजिम गैर आवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ। झुट्टो विवरण दिई गैर आवासीय नेपाली नागरिकता प्राप्‍त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्‍त गरेको गैर आवासीय नेपाली नागरिकता स्वतः रद्द हुनेछ।

२(३ग)

कसैले दफा ८ को उपदफा (१) को खण्ड (क१) बमोजिम गरेको स्वघोषणा झुट्टो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। झुट्टो स्वघोषणा गरी नागरिकता प्राप्‍त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्‍त गरेको नागरिकता स्वतः रद्द हुनेछ।

२(३घ)

कुनै व्यक्ति मनासिब कारण बेगर दफा ८ को उपदफा (३क) बमोजिम जारी गरिएको म्यादमा उपस्थित नभएमा तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(४)

कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

(५)

दफा १२ बमोजिम झुठो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्‍त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुठो प्रमाणित भएमा त्यस्तो झुठो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(६)

नेपाली नागरिकताको प्रमाणपत्र दिने अधिकारीले जानी-जानी वा बदनीयत राखी यस ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विपरीत हुने गरी नागरिकताको प्रमाणपत्र दिएमा वा नागरिकताको प्रमाणपत्रको विवरण सच्याएमा त्यस्तो पदाधिकारी वा कर्मचारी उपर प्रचलित कानून बमोजिम विभागीय कारबाही हुनेछ।

(७)

उपदफा (१), (२) र (३) अन्तर्गत सजाय हुने कसूर गर्न उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई सोही उपदफामा तोकिएको सजायको आधा सजाय हुनेछ।

नागरिकता टोली खटाउन सक्नेपृ. १३

(१)

नेपाल सरकारले आवश्यक देखेमा नागरिकताको प्रमाणपत्र वितरण गर्नका लागि नागरिकता प्रमाणपत्र वितरण टोली खटाउन सक्नेछ।

(२)

उपदफा (१) बमोजिम खटाइएको टोलीले नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही नागरिकताको प्रमाणपत्र वितरण गर्नेछ।

३ नाबालक परिचयपत्र प्रदान गर्नेपृ. १३

बाबु वा आमामध्ये एकजना नेपाली नागरिक रहेको वा दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमको नाबालकलाई दफा २० बमोजिमको अधिकारीले तोकिएको ढाँचामा नाबालक परिचयपत्र प्रदान गर्नेछ।

नियम बनाउने अधिकारपृ. १३

यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।

खारेजी र बचाउपृ. १३

(१)

नेपाल नागरिकता ऐन, २०२० खारेज गरिएको छ।

(२)

उपदफा (१) बमोजिम खारेज भएको ऐन बमोजिम भएगरेका कामकारबाही यसै ऐन अन्तर्गत भएगरेको मानिनेछ।९

पृ. १४

(दफा ५ को उपदफा (६) सँग सम्बन्धित)

म .......................................... ईश्वरको नाममा शपथ लिन्छु÷सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि नेपाल राज्य, प्रचलित संविधान र कानूनप्रति बफादार रही श्रद्धा एवं निष्ठापूर्वक नेपाली नागरिकको रुपमा आफ्नो कर्तव्य पालना गर्नेछु।

दस्तखत :-

नाम :-

मिति :- वतन :-

संशोधन टिप्पणी

मूल प्रतिमा चिह्न लगाइएका शब्द यस प्रतिमा यसरी देखाइएका छन्; टिप्पणी मूल प्रतिकै हुन्।

  1. १. पहिलो संशोधनद्धारा संशोधित।
  2. २. पहिलो संशोधनद्धारा थप।
  3. ३. दोस्रो संशोधनद्वारा थप।
  4. ४. पहिलो संशोधनद्धारा खारेज।
  5. ५. पहिलो संशोधनद्धारा झिकिएको।
  6. ६. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ द्वारा संशोधित।
  7. ७. दोस्रो संशोधनद्वारा संशोधित।
  8. ८. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६४ द्वारा संशोधित।
  9. ९. द्रष्‍टव्यः न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर भएका शब्दहरूः- “पुनरावेदन अदालत ” को सट्टा “उच्च अदालत”।
स्रोत
  • नेपाल कानुन आयोग, नेपाल नागरिकता ऐन, २०६३ (आयोगको पाना)।
  • आयोगको PDF प्रति; इन्टरनेट आर्काइभमा सुरक्षित प्रति, मिति २०२६-०७-१८। हरेक दफाको शीर्षकको दायाँपट्टिको “पृ.” आयोगको PDF प्रतिकै पृष्ठ हो; त्यसले सुरक्षित प्रतिको त्यही पृष्ठ खोल्छ (सरकारी साइट धेरैजसो खुल्दैन)।
  • पाठ लिइएको मिति: २०२६-११-२१। PDF का अक्षर फन्टबाटै पढिएका हुन्, र हरेक शब्द सोही फन्टमा फेरि लेखेर मूलसँग मिलाइएको छ (३३१४/३३१४ शब्द मिले)।