पृथ्वीको सतहको करिब २९ प्रतिशत भाग जमिन र ७१ प्रतिशत भाग पानीले ढाकेको छ। जमिनका ठुला भाग महादेश र पानीका ठुला भाग महासागर हुन्।
महादेश
पृथ्वीको जमिनलाई सात महादेशमा बाँडिएको छ। क्षेत्रफलका आधारमा ठुलोदेखि सानोसम्म: एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप, अस्ट्रेलिया।
- एसिया सबैभन्दा ठुलो महादेश हो। यसको अधिकांश भूभाग उत्तरी गोलार्धमा पर्छ। युराल पर्वतले एसिया र युरोपलाई छुट्याएको छ।
- अफ्रिका दोस्रो ठुलो महादेश हो; भूमध्यरेखाले यसलाई झन्डै बिचबाट काटेको छ।
- उत्तर अमेरिका तेस्रो र दक्षिण अमेरिका चौथो ठुलो महादेश हुन्।
- अन्टार्कटिका पाँचौँ ठुलो महादेश हो; यहाँ मानिसको स्थायी बसोबास छैन।
- युरोप दोस्रो सानो महादेश हो; यसको पूरै भूभाग उत्तरी गोलार्धमा पर्छ।
- अस्ट्रेलिया सबैभन्दा सानो महादेश हो; यो दक्षिणी गोलार्धमा पर्छ र मकर रेखा यसको बिच भाग भएर गएको छ।
विस्तृतमा: कक्षा ६ सामाजिक, एकाइ ७ →
महासागर
पृथ्वीमा पाँच महासागर छन्:
- प्रशान्त महासागर: सबैभन्दा ठुलो र सबैभन्दा गहिरो महासागर। यसको सबैभन्दा गहिरो भाग मरियाना ट्रेन्च हो।
- आन्ध्र महासागर (अट्लान्टिक): दोस्रो ठुलो महासागर; व्यापारका दृष्टिले महत्त्वपूर्ण।
- हिन्द महासागर: तेस्रो ठुलो। यहीँबाट मनसुनी वायु चलेर वर्षा हुने भएकाले यसलाई मनसुनी महासागर पनि भनिन्छ।
- कुमेरु महासागर (दक्षिणी महासागर): अन्टार्कटिका महादेशलाई घेरेर रहेको।
- सुमेरु महासागर (आर्कटिक): उत्तरी ध्रुवको वरिपरि फैलिएको, सबैभन्दा सानो र सबैभन्दा कम गहिरो।
ध्रुव
- दक्षिणी ध्रुव अन्टार्कटिका महादेशको जमिनमाथि छ; त्यो जमिन बाक्लो हिउँले ढाकिएको छ।
- उत्तरी ध्रुवमा जमिन छैन: यो सुमेरु महासागरको बिचमा, समुद्रमा जमेको र सधैँ सरिरहने हिउँमाथि पर्छ।
- ध्रुवतारा पृथ्वीको उत्तरी ध्रुवको लगभग सिधा माथि हुन्छ, त्यसैले यो उत्तरी गोलार्धबाट मात्र देखिन्छ। भूमध्यरेखाबाट यो क्षितिजमा देखिन्छ, र उत्तरी गोलार्धको कुनै ठाउँबाट ध्रुवतारा क्षितिजबाट जति डिग्री माथि देखिन्छ, त्यस ठाउँको अक्षांश त्यति नै हुन्छ। दक्षिणी गोलार्धको अक्षांश यसबाट निकाल्न सकिँदैन।
अक्षांश
- उत्तरी र दक्षिणी ध्रुवको ठिक बिचबाट पृथ्वीको वरिपरि खिचिएको रेखा भूमध्यरेखा (०° अक्षांश) हो। भूमध्यरेखाबाट उत्तर वा दक्षिणतिरको कोणिक दुरीलाई अक्षांश भनिन्छ; यो दुवैतिर ९०° सम्म हुन्छ। उत्तरी ध्रुव ९०° उत्तर र दक्षिणी ध्रुव ९०° दक्षिण हो।
- अक्षांश रेखा एकअर्कासँग कहीँ जोडिँदैनन्, त्यसैले तिनलाई समानान्तर रेखा पनि भनिन्छ। ध्रुवतिर जाँदा यी वृत्त साना हुँदै जान्छन् र ध्रुवमा विन्दुमात्र रहन्छ।
- पृथ्वीलाई ठिक दुई बराबर भागमा बाँड्ने वृत्तलाई बृहत् वृत्त भनिन्छ। अक्षांश रेखामध्ये बृहत् वृत्त भूमध्यरेखा मात्र हो।
- कर्कट रेखा २३.५° उत्तर र मकर रेखा २३.५° दक्षिण अक्षांश हुन्। जुन २१ तिर मध्याह्नको सूर्य कर्कट रेखामाथि, डिसेम्बर २२ तिर मकर रेखामाथि, र मार्च २१ र सेप्टेम्बर २३ तिर भूमध्यरेखामाथि हुन्छ।
मध्याह्नको सूर्यबाट अक्षांश: शिरको ठिक माथिको आकाशको विन्दु शिरोबिन्दु हो। मध्याह्नको सूर्यको उचाइ ९०° बाट घटाउँदा शिरोबिन्दु दुरी आउँछ। मार्च २१ वा सेप्टेम्बर २३ मा सूर्य भूमध्यरेखामाथि हुने भएकाले त्यस दिनको अक्षांश शिरोबिन्दु दुरीबराबर हुन्छ। सूर्य शिरोबिन्दुभन्दा दक्षिणतिर देखिए ठाउँ उत्तरी गोलार्धमा हुन्छ। जस्तै: त्यस दिन सूर्य दक्षिणतिर क्षितिजबाट ७०° माथि देखियो भने अक्षांश ९०° − ७०° = २०° उत्तर हुन्छ। अरू दिन यसमा सूर्यको दिक्पात (बढीमा २३.५°) जोड्नुपर्छ वा घटाउनुपर्छ।
विस्तृतमा: कक्षा ९ सामाजिक, एकाइ ६ →
देशान्तर र दुरी
- उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोड्ने अर्धवृत्ताकार रेखालाई देशान्तर रेखा वा मध्याह्न रेखा भनिन्छ। बेलायतको ग्रिनविच भएर जाने ०° को रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ। त्यसको पूर्वतिर १८०° सम्म पूर्वी देशान्तर र पश्चिमतिर १८०° सम्म पश्चिमी देशान्तर हुन्छ।
- सबै देशान्तर रेखा ध्रुवमा गएर मिल्छन्, त्यसैले दुई देशान्तरबिचको दुरी भूमध्यरेखामा सबैभन्दा बढी हुन्छ र ध्रुवतिर घट्दै जान्छ। भूमध्यरेखाको परिधि करिब ४०,००० किलोमिटर भएकाले त्यहाँ एक डिग्री देशान्तरबिचको दुरी करिब ४०,००० ÷ ३६० = १११ किलोमिटर हुन्छ।
- प्रतिलोम: पृथ्वीको केन्द्र भएर ठिक अर्कोपट्टि पर्ने ठाउँ। प्रतिलोमको अक्षांश उत्तिकै तर अर्को गोलार्धको हुन्छ; देशान्तर १८०° बाट घटाएर निकालिन्छ र पूर्व भए पश्चिम, पश्चिम भए पूर्व हुन्छ; समय १२ घण्टाको फरकमा हुन्छ। जस्तै: ३०° उत्तर, ६०° पूर्वको प्रतिलोम ३०° दक्षिण, १२०° पश्चिम हो।
समय
- पृथ्वी आफ्नो अक्षमा पश्चिमबाट पूर्वतिर घुम्छ र २४ घण्टामा ३६०° पार गर्छ। त्यसैले १ घण्टामा १५° र १° मा ४ मिनेट। पूर्वतिरका ठाउँमा सूर्य पहिले उदाउँछ, त्यसैले पूर्वको समय चलाख (अगाडि) र पश्चिमको ढिलो हुन्छ।
- सूर्य कुनै ठाउँको मध्याह्न रेखामाथि आइपुग्दा त्यहाँ दिउँसो १२ बज्छ; यसरी निकालिएको समय स्थानीय समय हो, र यो हरेक देशान्तरमा फरक हुन्छ।
- एउटा मध्याह्न रेखाको स्थानीय समयलाई देशभरि एकै रूपमा चलाइने समय प्रमाणिक समय हो। नेपालको प्रमाणिक समय गौरीशङ्कर हिमालको चुचुरो भएर जाने ८६° १५′ पूर्व देशान्तरको स्थानीय समय हो; यो ग्रिनविचको समयभन्दा ५ घण्टा ४५ मिनेट चलाख छ (८६.२५ × ४ = ३४५ मिनेट)। नेपालभरि घडीमा एउटै समय चल्छ, तर स्थानीय समय फरक हुन्छ: काँकडभिट्टामा प्रमाणिक समयभन्दा करिब ८ मिनेट चाँडो र महेन्द्रनगरमा करिब २४ मिनेट ढिलो।
- हिसाबको तरिका: दुई ठाउँको देशान्तरको फरक (दुवै पूर्व वा दुवै पश्चिम भए घटाउने, एउटा पूर्व र अर्को पश्चिम भए जोड्ने) लाई ४ ले गुणन गर्दा मिनेटमा समयको फरक आउँछ। खोजेको ठाउँ पूर्वमा भए समय जोड्ने, पश्चिममा भए घटाउने। जस्तै: ८५° पूर्वमा बिहान ९ बज्दा ८०° पूर्वमा ५ × ४ = २० मिनेट ढिलो, अर्थात् बिहान ८:४० हुन्छ।
विस्तृतमा: कक्षा ६ सामाजिक, एकाइ ७ →
अन्तर्राष्ट्रिय तिथि रेखा
- पूर्वी र पश्चिमी देशान्तर १८०° मा गएर मिल्छन्। प्रशान्त महासागरको बिचबाट लगभग यही १८०° देशान्तरलाई पछ्याउँदै उत्तर–दक्षिण गएको रेखा अन्तर्राष्ट्रिय तिथि रेखा हो; यसका दुईतिर मिति एक दिनले फरक हुन्छ।
- एउटै देशका टापु र भूभागमा मिति फरक नपरोस् भनी यो ठिक १८०° मा नगई बाङ्गोटिङ्गो भएर जान्छ; पूर्वी रुस र अलास्काका एलुसियन टापुतिर यो बाङ्गिएको छ।
- तिथि रेखा पार गरेर पश्चिमतिर जाँदा भोलिपल्टको मिति हुन्छ (सोमबारबाट मङ्गलबार); पूर्वतिर जाँदा अघिल्लो दिनको मिति हुन्छ (मङ्गलबारबाट सोमबार)।
पर्वतशृङ्खला
- एन्डिज: दक्षिण अमेरिकाको पश्चिमी भागमा उत्तर–दक्षिण फैलिएको; जमिनमाथिको संसारकै सबैभन्दा लामो पर्वतशृङ्खला।
- रकी: उत्तर अमेरिकाको पश्चिमी भागमा उत्तर–दक्षिण फैलिएको।
- आल्प्स: युरोपको दक्षिणी पर्वतीय क्षेत्रमा, फ्रान्स, स्विट्जरल्यान्ड भएर।
- एटलस: अफ्रिकाको उत्तर–पश्चिम भागमा।
- हिमालय: एसियामा; संसारको सबैभन्दा अग्लो।
मरुभूमि
- सहारा संसारको सबैभन्दा ठुलो उष्ण (तातो) मरुभूमि हो; यो अफ्रिकाको उत्तरी भागमा छ।
- केही मरुभूमि: अफ्रिकामा सहारा र कालाहारी; एसियामा थार र गोबी; दक्षिण अमेरिकामा चिलीको अटाकामा; अस्ट्रेलियामा ग्रेट भिक्टोरिया।
भूकम्प
- पृथ्वीको बाहिरी तह साना ठुला प्लेटमा टुक्रिएको छ। प्लेट ठोक्किँदा, टाढिँदा वा घसिँदा जम्मा भएको शक्ति एक्कासि निस्केर सतहमा आउने कम्पन भूकम्प हो।
- भूकम्प सुरु हुने भित्री ठाउँ उद्गमविन्दु र त्यसको ठिक माथि सतहको ठाउँ केन्द्रविन्दु हो। भूकम्प सिस्मोग्राफले नापिन्छ।
- तरङ्ग: सबैभन्दा पहिले प्राथमिक (P) तरङ्ग आइपुग्छ; यो ठोस र तरल दुवैबाट हिँड्छ र थोरै क्षति गर्छ। केही सेकेन्डपछि द्वितीयक (S) तरङ्ग आउँछ। अन्तमा सतहबाट हिँड्ने सतही तरङ्ग आउँछन्, र सबैभन्दा बढी क्षति यिनैले गर्छन्।
- समुद्रमुनि ठुलो भूकम्प जाँदा सुनामी आउन सक्छ।
विस्तृतमा: कक्षा १० सामाजिक, एकाइ ६ →
ज्वालामुखी
- पृथ्वीभित्रको पग्लिएको तातो चट्टान म्याग्मा हो; यो बाहिरी तहको कमजोर चिराबाट सतहमा निस्केपछि त्यसलाई लाभा भनिन्छ। लाभा थुप्रिएर बनेको पहाड ज्वालामुखी पहाड हो; म्याग्मा निस्कने मुखलाई क्रेटर भनिन्छ। विस्फोटले मुख धेरै चौडा भएर बनेको ठुलो खाल्डो काल्डेरा हो।
- लाभाका दुई प्रकार: सिलिका बढी भएको एसिडिक लाभा बाक्लो हुन्छ, बिस्तारै बग्छ, टाढा पुग्दैन र ठुलो जोडले विस्फोट गराउँछ; यसले मुखनजिक ठाडो भिरालो बनाउँछ। सिलिका कम भएको बेसिक लाभा पातलो हुन्छ, चाँडो र टाढासम्म बग्छ, बिस्तारै निस्कन्छ र कम भिरालो बनाउँछ।
- प्रशान्त महासागरको किनारमा धेरै सक्रिय ज्वालामुखी छन् र भूकम्प पनि धेरै जान्छ; त्यसैले त्यस क्षेत्रलाई आगोको औँठी (Ring of Fire) भनिन्छ।
नदी
- अमेजन (दक्षिण अमेरिका) संसारमा सबैभन्दा धेरै पानी बगाउने नदी हो: पृथ्वीका नदीले समुद्रमा पुर्याउने पानीको करिब १८ प्रतिशत यसैले पुर्याउँछ।
- नाइल (अफ्रिका) लम्बाइका लागि चिनिन्छ, तर अमेजनभन्दा धेरै कम पानी बगाउँछ। भिक्टोरिया ताललाई नाइलको मुहान मानिन्छ।
- अरू ठुला नदी: उत्तर अमेरिकामा मिसिसिपी, एसियामा याङ्सी।
हिमनदी
- अग्ला पहाड र उच्च अक्षांशमा थुप्रिएको हिउँ थिचिएर बरफ बन्छ, र गुरुत्वाकर्षणले त्यो बरफ चट्टानसहित ओरालोतिर बिस्तारै बग्छ; यसलाई हिमनदी भनिन्छ। यसको गति अत्यन्त मन्द हुन्छ, भिरालोमा केही छिटो।
- पृथ्वीको मिठो पानीको करिब ६९ प्रतिशत हिउँ, हिमनदी र बरफका विशाल तहमा जमेर छ; करिब ३० प्रतिशत जमिनमुनि छ; ताल, नदी र वायुमण्डलमा धेरै थोरै छ।
- जमेर रहेको मिठो पानीको ९९ प्रतिशतभन्दा बढी अन्टार्कटिका र ग्रिनल्यान्डलाई ढाक्ने बरफका दुई विशाल तह (Ice sheet) मा छ।
- हिमनदीले बनाउने स्थलाकृति: हिउँको दबाबले गहिरो बनेको आरामकुर्सीजस्तो खाल्डो सर्क (Cirque); पहाडको चारैतिरबाट सर्क बढ्दा बिचमा बनेको चुचुरो (Horn); दुईतिरबाट मात्र सर्क बढ्दा बनेको पर्वतको धुरी (Arete); हिउँको थुप्रो फुटेर वा च्यातिएर बनेको खाडल खर्पस (Crevasse), जसलाई पर्वतारोही पासो पनि भन्छन्।
ताल
- क्यास्पियन सागर: नाम सागर भए पनि जमिनले घेरिएको ताल; क्षेत्रफलमा संसारको सबैभन्दा ठुलो ताल। यसको पानी खारा छ।
- सुपेरियर (उत्तर अमेरिका): क्षेत्रफलमा संसारको सबैभन्दा ठुलो मिठो पानीको ताल।
- बैकाल (रुस, साइबेरिया): संसारको सबैभन्दा गहिरो र सबैभन्दा पुरानो ताल।
- भिक्टोरिया (अफ्रिका): अफ्रिकाको सबैभन्दा ठुलो ताल, नाइलको मुहान मानिने।
हावापानी
- कुनै ठाउँको लामो समयको मौसमको औसत अवस्था हावापानी (जलवायु) हो। यसलाई अक्षांश, उचाइ, समुद्रबाटको दुरी, पहाडको अवस्थिति र वायुको स्वभावले प्रभाव पार्छ।
- समुद्रको नजिक: जमिन चाँडो तात्छ र चाँडो सेलाउँछ, पानी ढिलो तात्छ र ढिलो सेलाउँछ। त्यसैले समुद्रनजिकका ठाउँमा जाडो र गर्मीको तापक्रममा थोरै फरक हुन्छ, र महादेशको भित्री भागमा धेरै।
- पहाडको अवस्थिति: बाफिलो वायु आउने मोहडामा धेरै वर्षा हुन्छ र पहाडपछाडिको भाग सुक्खा रहन्छ। हिमालयले बङ्गालको खाडीबाट आउने बाफिलो वायुलाई नेपालमै रोकेर वर्षा गराउँछ, त्यसैले तिब्बतको पठारमा थोरै वर्षा हुन्छ।
विस्तृतमा: कक्षा १० सामाजिक, एकाइ ६ →
वायुका पेटी र व्यापारिक वायु
पृथ्वीमा हावाको चापका पेटी छन्: भूमध्यरेखाको वरिपरि भूमध्यरेखीय न्यून चाप, दुवै गोलार्धमा त्यसपछि उपोष्ण उच्च चाप, त्यसपछि उपध्रुवीय न्यून चाप र ध्रुवतिर ध्रुवीय उच्च चाप। हावा उच्च चापबाट न्यून चापतिर बहन्छ। यसरी वर्षभरि एकै दिशामा बहने वायुलाई स्थायी वा ग्रहीय वायु भनिन्छ:
- व्यापारिक वायु (भूगोल कक्षा १० मा “वाणिज्य वायु”): उपोष्ण उच्च चापबाट भूमध्यरेखाको न्यून चापतिर बहन्छ; उत्तरी गोलार्धमा उत्तरपूर्वबाट दक्षिणपश्चिमतिर, दक्षिणी गोलार्धमा दक्षिणपूर्वबाट उत्तरपश्चिमतिर। पाल लगाएका पानीजहाज यही वायुको सहाराले चल्ने भएकाले यो नाम परेको हो।
- दुवैतिरका व्यापारिक वायु भूमध्यरेखाको न्यून चापमा मिल्छन्। त्यो शान्त, कमजोर हावा भएको क्षेत्रलाई डोलड्रम भनिन्छ; यहाँ हावा माथि उठेर संवाहनिक वर्षा हुन्छ।
- पश्चिमी वायु: उपोष्ण उच्च चापबाट उपध्रुवीय न्यून चापतिर बहन्छ (उत्तरी गोलार्धमा दक्षिणपश्चिमबाट)। दक्षिणी गोलार्धमा जमिन थोरै र समुद्र धेरै भएकाले यो करिब ४०° अक्षांशतिर जोडले बहन्छ; त्यसैले यसलाई गर्जने चालिसे (Roaring Forties) भनिन्छ।
- ध्रुवीय पूर्वी वायु: ध्रुवीय उच्च चापबाट उपध्रुवीय न्यून चापतिर पूर्वबाट बहन्छ। यो धेरै चिसो हुने भएकाले पश्चिमी वायुसँग मिल्दा चक्रवात बनाउँछ।
मनसुन
- गर्मी र जाडोमा जमिन र समुद्र फरक तात्ने भएकाले ऋतुअनुसार दिशा फेर्ने वायु मनसुनी वायु हो। यसको राम्रो उदाहरण दक्षिण एसिया हो।
- ग्रीष्ममा महादेशको भित्री भाग तातेर न्यून चाप बन्छ, र हिन्द महासागरबाट बाफिलो वायु जमिनतिर आएर धेरै वर्षा गराउँछ।
- हिउँदमा महादेशको भित्री भाग चिसो भएर उच्च चाप बन्छ, र मध्य एसियाबाट सुक्खा वायु समुद्रतिर बहन्छ; त्यसैले हिउँद सुक्खा हुन्छ।
विस्तृतमा: कक्षा ९ सामाजिक, एकाइ ६ →
स्रोत
- भूगोल कक्षा १०, खण्ड २, पाठ ५ (अक्षांश, देशान्तर, समय र प्रतिलोम), पाठ ८ (ज्वालामुखी, भूकम्प, हिमनदी), पाठ १० र ११ (चापका पेटी, वायु, मनसुन) (पाठ्यक्रम विकास केन्द्र)
- सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा कक्षा ६, पाठ २ र ३ (अक्षांश र देशान्तर, महादेश, महासागर)
- सामाजिक अध्ययन कक्षा ९, एकाइ ६ (प्रमाणिक समय, तिथि रेखा, एसिया, युरोप, अस्ट्रेलिया) र कक्षा १०, एकाइ ६ (हावापानी, उत्तर र दक्षिण अमेरिका, अफ्रिका, भूकम्प)
- NOAA, International Date Line
- USGS Water Science School, How much water is there on Earth?
- NSIDC, Ice sheet quick facts
- NASA, Which pole is colder?
- NASA Earth Observatory, Global accounting of Earth's rivers
- NASA, Satellites see Saharan dust from space
- USGS, Lake Baikal from space
- NASA Earth Observatory, Caspian Sea
- US National Park Service, Lake Superior
