Skip to content

← कक्षा ९ को अन्तिम परीक्षाका नमुना प्रश्नपत्र

अन्तिम परीक्षाको नमुना प्रश्नपत्र 3

पूर्णाङ्क: 75समय: 3 घण्टा

सबै प्रश्न अनिवार्य छन्।

पाठ्यक्रम विकास केन्द्रको विशिष्टीकरण तालिका 2078, कक्षा 9 विज्ञान तथा प्रविधि अनुसार साइन्स प्लेग्राउन्डले तयार पारेको अभ्यास प्रश्नपत्र। यो पाठ्यक्रम विकास केन्द्र वा परीक्षा सञ्चालन गर्ने निकायको आधिकारिक प्रश्नपत्र होइन; कक्षा ९ को अन्तिम परीक्षाका प्रश्न फरक हुन सक्छन्।

पहिले सबै उत्तर कापीमा लेख्नुहोस्। त्यसपछि हरेक प्रश्नको उत्तर र अङ्क विभाजन खोलेर आफ्नो उत्तर मिलाउनुहोस् र मिलेको हरेक बुँदाका लागि आफैँलाई 1 अङ्क दिनुहोस्। बहुवैकल्पिक प्रश्नमा पहिलो पटक छानेको उत्तरको मात्र अङ्क गनिन्छ।

छाप्ने प्रश्नपत्र (PDF, 4 पृष्ठ) उत्तरकुञ्जिका र अङ्क विभाजन

खण्ड (क)

10 × 1 = 10

1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस्।

क.

ग्राउन्ड स्टेसनबाट भूउपग्रहतर्फ माथि पठाइने सङ्केतलाई के भनिन्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

ख.

उनिउँ बहुकोषीय हुन्छ, यसका कोषमा कोषभित्ता र हरितकण हुन्छन् र यसले आफ्नो खाना आफैँ बनाउँछ। उनिउँ कुन जगत्मा पर्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

ग.

एउटा भिरमा देखिएका पत्रे चट्टानका तहमध्ये तलका तहमा सरल समुद्री जीवका मात्र जीवावशेष भेटिए, माथिका तहमा भने जटिल जनावरका जीवावशेष पनि भेटिए। यसबाट कुन निष्कर्ष निकाल्न सकिन्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

घ.

दुर्घटनामा टाउकाको पछाडिपट्टि चोट लागेका एक जना मानिसलाई सोझो हिँड्न र साइकल चलाउँदा सन्तुलन राख्न गाह्रो भयो। मस्तिष्कको कुन भागमा असर परेको हुन सक्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

ङ.

एउटा बसको गति–समय ग्राफ 0 s देखि 8 s सम्म 15 m/s मा समय अक्षको समानान्तर सिधा रेखा छ। यस 8 s मा बसले कति दुरी पार गर्छ?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

च.

ठाडो पहाडमा बाटो घुमाउरो बनाइन्छ। यसमा कुन सरल यन्त्रको सिद्धान्त प्रयोग भएको छ र यसको फाइदा के हो?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

छ.

विद्युत् सामर्थ्यको SI एकाइ के हो?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

ज.

युरेनियम (पारमाणविक सङ्ख्या 92) को न्युक्लियसमा जति न्युट्रोन भए पनि यसका सबै परमाणु रेडियोधर्मी हुन्छन्। यसको सबैभन्दा उचित कारण कुन हो?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

झ.

धातुबाट विद्युत् सजिलै बग्नुको कारण के हो?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

ञ.

तल एउटा कथन र दुईओटा तर्क दिइएका छन्।

कथन: मिथेन (CH₄) प्राङ्गारिक यौगिक हो।

तर्क 1: मिथेनमा कार्बन परमाणु हाइड्रोजनसँग कोभ्यालेन्ट बन्डले जोडिएको छ।

तर्क 2: मिथेन बल्छ।

तलकामध्ये कुन सही हो?

किन भनेर हेर्न एउटा उत्तर छान्नुहोस्।

खण्ड (ख)

9 × 1 = 9

2. तलका प्रश्नको अति छोटो उत्तर लेख्नुहोस्।

क.

संसारभरिका वैज्ञानिकहरूले नाप्दा एउटै एकाइ प्रणाली (SI) प्रयोग गर्छन्, किन?

उत्तर

एउटै एकाइ प्रणाली प्रयोग गर्दा एक देशमा गरिएको नाप अर्को देशका मानिसले पनि उही अर्थमा बुझ्छन्। यसले गर्दा नतिजा तुलना गर्न, जानकारी आदानप्रदान गर्न र व्यापार गर्न सजिलो हुन्छ र गलत बुझाइ हुँदैन।

अङ्क विभाजन
  • एउटै प्रणालीले नाप सबैले उही अर्थमा बुझ्ने र तुलना तथा आदानप्रदान सजिलो हुने लेखेमा।
ख.

फ्याक्स मेसिनले कागजको पानालाई टाढा कसरी पठाउँछ?

उत्तर

फ्याक्स मेसिनले पानालाई स्क्यान गरेर विद्युतीय सङ्केतमा बदल्छ र त्यो सङ्केत टेलिफोन लाइनमार्फत पठाउँछ। अर्को छेउको फ्याक्स मेसिनले सङ्केतलाई फेरि पानाको चित्रमा बदलेर प्रिन्ट गर्छ।

अङ्क विभाजन
  • पानालाई स्क्यान गरी विद्युतीय सङ्केत बनाएर टेलिफोन लाइनबाट पठाउने र अर्को मेसिनले प्रिन्ट गर्ने लेखेमा।
ग.

सुजनले इमेल, सामाजिक सञ्जाल र मोबाइल बैङ्किङ तीनैओटा अकाउन्टमा आफ्नो जन्ममिति 20680512 लाई पासवर्ड बनाएका छन्। यसमा के खतरा छ र उनले के गर्नुपर्छ?

उत्तर

जन्ममिति धेरैलाई थाहा हुने भएकाले यो पासवर्ड सजिलै अनुमान गर्न सकिन्छ, र तीनैओटा अकाउन्टमा एउटै पासवर्ड भएकाले एउटा चोरिँदा सबै अकाउन्ट खुल्छन्। उनले हरेक अकाउन्टमा अरूले अनुमान गर्न नसक्ने बलियो र फरक फरक पासवर्ड राख्नुपर्छ र दुई चरणको प्रमाणीकरण अन गर्नुपर्छ।

अङ्क विभाजन
  • पासवर्ड सजिलै अनुमान गर्न सकिने र सबैमा एउटै भएकाले जोखिम भएको लेखी हरेक अकाउन्टमा बलियो र फरक पासवर्ड राख्नुपर्ने लेखेमा।
घ.

गतिह्रास भनेको के हो?

उत्तर

समयसँगै गति घट्दै जाने दर, अर्थात् ऋणात्मक प्रवेगलाई गतिह्रास भनिन्छ।

अङ्क विभाजन
  • गति घट्ने दर (ऋणात्मक प्रवेग) लेखेमा।
ङ.

चमेराले 50 kHz आवृत्तिको अल्ट्रासाउन्ड निकाल्छ। हावामा ध्वनिको वेग 340 m/s छ भने यस तरङ्गको तरङ्ग लम्बाइ कति हुन्छ?

उत्तर

λ=vf=340 m/s50,000 Hz=0.0068 m=6.8 mm \lambda = \frac{v}{f} = \frac{340\ \text{m/s}}{50{,}000\ \text{Hz}} = 0.0068\ \text{m} = 6.8\ \text{mm}

अङ्क विभाजन
  • तरङ्ग लम्बाइ 0.0068 m (6.8 mm) निकालेमा।
च.

धातुको तारलाई तताउँदा यसको अवरोध बढ्छ, किन?

उत्तर

तताउँदा धातुका परमाणु बढी काँप्छन्। तारभित्र बगिरहेका इलेक्ट्रोन काँपिरहेका परमाणुसँग धेरै पटक ठोक्किन्छन् र तिनलाई अगाडि बढ्न गाह्रो हुन्छ, त्यसैले अवरोध बढ्छ।

अङ्क विभाजन
  • तातेका परमाणु बढी काँप्दा इलेक्ट्रोन धेरै ठोक्किने लेखेमा।
छ.

हावामा सबैभन्दा धेरै पाइने ग्यासको नाम र त्यसको प्रतिशत लेख्नुहोस्।

उत्तर

नाइट्रोजन, आयतनका हिसाबले करिब 78%।

अङ्क विभाजन
  • नाइट्रोजन र करिब 78% लेखेमा।
ज.

गौरीकी आमा आँपको अमिलो अचार आल्मिनियमको भाँडामा महिनौँसम्म राख्न खोज्दै हुनुहुन्छ। यसो गर्नुहुँदैन, किन?

उत्तर

अचारजस्ता अमिला खानेकुरामा अम्ल हुन्छ। अम्लले आल्मिनियमजस्ता धातुलाई बिस्तारै खान्छ, त्यसैले भाँडो बिग्रन्छ र धातु अचारमा मिसिन्छ। त्यसैले अचार काँच वा माटाका भाँडामा राख्नुपर्छ।

अङ्क विभाजन
  • अचारको अम्लले आल्मिनियमलाई बिस्तारै खाने र धातु अचारमा मिसिने लेखेमा।
झ.

जस्ता र बोरोनजस्ता सूक्ष्म पोषक तत्त्व बिरुवालाई धेरै थोरै मात्र चाहिए पनि नभई हुँदैन, किन?

उत्तर

सूक्ष्म पोषक तत्त्वले बिरुवाका आवश्यक काममा मदत गर्छन्, जसलाई अरू कुनै तत्त्वले पूरा गर्न सक्दैन। थोरै मात्र कमी भए पनि बिरुवा राम्ररी बढ्दैन, पात बिग्रन्छन् र उत्पादन घट्छ।

अङ्क विभाजन
  • अरू तत्त्वले नगर्ने आवश्यक काम गर्ने भएकाले कमी हुँदा बिरुवाको वृद्धि र उत्पादन घट्ने लेखेमा।

खण्ड (ग)

14 × 2 = 28

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्।

3.
[2]
  • क.राजमार्गमा एउटा बस 72 km/h को वेगमा गुडिरहेको छ। यो वेगलाई m/s मा बदल्नुहोस्।
  • ख.प्रकाशको वेग करिब 300,000 km/s हुन्छ। यसलाई m/s मा बदलेर वैज्ञानिक सङ्केतनमा लेख्नुहोस्।
उत्तर
  • क.1 km = 1000 m र 1 h = 3600 s भएकाले 72 km/h=72×1000 m3600 s= 72\ \text{km/h} = \dfrac{72 \times 1000\ \text{m}}{3600\ \text{s}} = 20 m/s।
  • ख.300,000 km/s = 300,000 × 1000 m/s = 300,000,000 m/s = 3 × 10⁸ m/s।
अङ्क विभाजन
  • क. 20 m/s निकालेमा।
  • ख. 3 × 10⁸ m/s लेखेमा।
4.
[2]

जन्तु जगत् (एनिमेलिया) का कुनै दुई विशेषता लेख्नुहोस्।

उत्तर

कुनै दुई:

  • क.यी बहुकोषीय र युक्यारियोटिक हुन्छन्।
  • ख.यिनका कोषमा कोषभित्ता हुँदैन।
  • ग.यिनमा हरितकण हुँदैन र यी परपोषक हुन्छन्: अरूले बनाएको खाना खान्छन्।
  • घ.यिनले खाना शरीरभित्र लिएर पचाउँछन्।
  • ङ.पारिस्थितिक प्रणालीमा यी उपभोक्ता हुन्।
अङ्क विभाजन
  • एउटा सही विशेषता लेखेमा।
  • अर्को एउटा सही विशेषता लेखेमा।
5.
[2]

भूपेन्द्र भन्छन्, “च्याउ पनि बिरुवाजस्तै हो, घाम पाए छिटो बढ्छ।” त्यसैले उनले कन्ने च्याउका नयाँ भरेका थैली घाम पर्ने आँगनमा राखे। एक हप्तापछि थैलीभित्रको पराल सुकेको थियो र माइसेलियम फैलिएको थिएन।

  • क.च्याउ बिरुवाजस्तै घामबाट खाना बनाउँछ भन्ने उनको भनाइ किन ठिक होइन?
  • ख.थैलीमा माइसेलियम किन फैलिएन? थैली कस्तो ठाउँमा राख्नुपर्थ्यो?
उत्तर
  • क.च्याउ ढुसी हो र यसमा हरितकण हुँदैन। त्यसैले यसले प्रकाश संश्लेषण गरेर घामबाट खाना बनाउन सक्दैन। यसको माइसेलियमले आफू उम्रिएको पराल जस्ता मरेका जैविक वस्तुबाट खाना लिन्छ, त्यसैले यसलाई बढ्न घाम चाहिँदैन।
  • ख.घामले थैली तताएर परालको ओस सुकायो। माइसेलियम बढ्न ओसिलो र ठिक तापक्रम भएको ठाउँ चाहिन्छ, त्यसैले सुक्खा र तातो थैलीमा यो फैलिन सकेन। थैलीलाई करिब सात दिन अँध्यारो कोठामा राखी आवश्यकताअनुसार पानी छर्केर ओसिलो राख्नुपर्थ्यो।
अङ्क विभाजन
  • क. च्याउमा हरितकण नहुने भएकाले प्रकाश संश्लेषण नगर्ने र परालजस्ता मरेका जैविक वस्तुबाट खाना लिने लेखेमा।
  • ख. घामले थैली सुकाएर (तताएर) माइसेलियम बढ्न नसकेको र थैली अँध्यारो, ओसिलो कोठामा राख्नुपर्ने लेखेमा।
6.
[2]

सोमाटोजेनिक र ब्लास्टोजेनिक परिवृत्तिबिच एउटा फरक लेख्नुहोस्। यीमध्ये कुन परिवृत्ति क्रमविकासका लागि महत्त्वपूर्ण हुन्छ? कारण दिनुहोस्।

उत्तर

जीवनकालमा शरीरमा प्राप्त हुने परिवृत्ति (जस्तै: व्यायामले बलिया भएका मांसपेशी, घाउको खत) सोमाटोजेनिक परिवृत्ति हो र यो सन्तानमा सर्दैन। वंशाणुमा हुने फरकले गर्दा हुने परिवृत्ति (जस्तै: छाला, कपाल र आँखाको रङ) ब्लास्टोजेनिक परिवृत्ति हो र यो सन्तानमा सर्छ।
क्रमविकासका लागि ब्लास्टोजेनिक परिवृत्ति महत्त्वपूर्ण हुन्छ। यो पुस्तादेखि पुस्तामा सर्ने भएकाले वातावरणसँग मिल्ने यस्ता परिवृत्ति धेरै पुस्तासम्म थपिँदै जान्छन् र लामो समयपछि नयाँ प्रजाति बन्छ।

अङ्क विभाजन
  • सोमाटोजेनिक परिवृत्ति जीवनकालमा प्राप्त भई सन्तानमा नसर्ने र ब्लास्टोजेनिक वंशाणुमा हुने भएकाले सन्तानमा सर्ने फरक लेखेमा।
  • ब्लास्टोजेनिक परिवृत्ति सन्तानमा सर्ने भएकाले पुस्तौँसम्म थपिएर क्रमविकास हुने लेखेमा।
7.
[2]

रोजिनाले सेतो फूलको काण्डलाई तलबाट बिचमा लम्बाइतिर दुई भागमा चिरिन्। एउटा भाग रातो रङ मिसाएको पानीमा र अर्को भाग निलो रङ मिसाएको पानीमा राखिन्। भोलिपल्ट फूलका पत्र आधा रातो र आधा निलो भए।

  • क.रङ मिसाएको पानी कुन तन्तु भएर फूलसम्म पुग्यो?
  • ख.फूल आधा रातो र आधा निलो किन भयो?
उत्तर
  • क.जाइलम। जाइलमले जराबाट पानी र खनिज पदार्थ माथि पात र फूलसम्म पुर्‍याउँछ।
  • ख.काण्डमा जाइलम जराबाट माथिसम्म लामा नलीका रूपमा जान्छ। काण्डको एउटा भागका नलीले रातो पानी र अर्को भागका नलीले निलो पानी माथि लगे र ती नली फूलका फरक फरक भागमा पुगे। त्यसैले फूल आधा रातो र आधा निलो भयो।
अङ्क विभाजन
  • क. जाइलम लेखेमा।
  • ख. जाइलमका नली काण्डबाट सिधै माथि जाने भएकाले हरेक भागको रङ फूलको आफ्नै भागमा पुगेको लेखेमा।
8.
[2]

इलास्टिसिटी र प्लास्टिसिटी भनेको के हो?

उत्तर

इलास्टिसिटी: डिफर्मिङ बल हटाएपछि वस्तु आफ्नो मूल आकार र साइजमा फर्कने पदार्थको गुणलाई इलास्टिसिटी भनिन्छ, जस्तै: रबर र स्टिलको स्प्रिङ।

प्लास्टिसिटी: डिफर्मिङ बल हटाएपछि पनि वस्तुले आफ्नो नयाँ, डिफर्म भएको आकार कायम राख्ने पदार्थको गुणलाई प्लास्टिसिटी भनिन्छ, जस्तै: भिजेको माटो र मुछेको पिठो।

अङ्क विभाजन
  • बल हटाएपछि मूल आकारमा फर्कने गुण इलास्टिसिटी भएको लेखेमा।
  • बल हटाएपछि पनि नयाँ आकार कायम राख्ने गुण प्लास्टिसिटी भएको लेखेमा।
9.
[2]

सागरले बललाई सिधा माथि फाले। उनी भन्छन्, “बल सबैभन्दा माथि पुग्दा एक क्षण रोकिन्छ, त्यसैले त्यो बेला यसको प्रवेग शून्य हुन्छ।” के उनको भनाइ ठिक हो? कारण दिनुहोस्। (हावाको अवरोध नगण्य मान्नुहोस्।)

उत्तर

ठिक होइन। सबैभन्दा माथि बलको गति मात्र शून्य हुन्छ, प्रवेग होइन। बल माथि जाँदा, रोकिँदा र तल झर्दा सधैँ पृथ्वीको गुरुत्व बलले तल तानिरहेको हुन्छ, त्यसैले यसको प्रवेग सधैँ तलतिर करिब 9.8 m/s² (g) हुन्छ। प्रवेग शून्य भएको भए बल माथि नै अडिइरहन्थ्यो, तल झर्दैनथ्यो।

अङ्क विभाजन
  • सबैभन्दा माथि गति मात्र शून्य हुने तर प्रवेग शून्य नहुने लेखेमा।
  • गुरुत्व बल सधैँ लागिरहने भएकाले प्रवेग तलतिर g (9.8 m/s²) नै रहने लेखेमा।
10.
[2]

जितेन्द्रले आफ्नो डुङ्गाको फेथोमिटरबाट अल्ट्रासाउन्डको पल्स सिधा तल पठाए। माछाको बथानबाट प्रतिध्वनि 0.04 s पछि र तालको पिँधबाट 0.2 s पछि फर्कियो। पानीमा ध्वनिको वेग 1,500 m/s छ।

  • क.माछाको बथान कति गहिराइमा छ?
  • ख.तालको गहिराइ कति छ?
उत्तर

ध्वनि तल गएर फर्कने भएकाले दुरी = वेग × समय ÷ 2।

  • क.d=1500×0.042= d = \dfrac{1500 \times 0.04}{2} = 30 m
  • ख.d=1500×0.22= d = \dfrac{1500 \times 0.2}{2} = 150 m
अङ्क विभाजन
  • क. वेग × समय ÷ 2 बाट 30 m निकालेमा।
  • ख. 150 m निकालेमा।
11.
[2]

खगोल विज्ञान र ज्योतिषबिचका कुनै दुई फरक लेख्नुहोस्।

उत्तर
खगोल विज्ञान ज्योतिष
यसले तारा, ग्रह, तारापुञ्ज र ब्रह्माण्डको अध्ययन गर्छ। यसले ग्रह र ताराको स्थितिका आधारमा मानिसको भविष्य बताउने दाबी गर्छ।
यो अवलोकन, नाप र प्रयोगमा आधारित विज्ञान हो। यसका दाबी परीक्षणबाट प्रमाणित भएका छैनन्, त्यसैले यो विज्ञान होइन।
यसका पूर्वानुमान (जस्तै: ग्रहण कहिले लाग्छ) सही हुन्छन् र जाँच्न सकिन्छन्। यसका भविष्यवाणी जाँच्दा संयोगभन्दा बढी मिल्दैनन्।
अङ्क विभाजन
  • एउटा सही फरक लेखेमा।
  • अर्को एउटा सही फरक लेखेमा।
12.
[2]

हुलाकबाट चिठी पठाउनुभन्दा इमेल पठाउनुका कुनै दुई फाइदा लेख्नुहोस्।

उत्तर

कुनै दुई:

  • क.इमेल केही सेकेन्डमै संसारको अर्को छेउसम्म पुग्छ, चिठी पुग्न धेरै दिन लाग्छ।
  • ख.इमेलसँगै कागजपत्र र फोटोजस्ता फाइल पनि जोडेर पठाउन सकिन्छ।
  • ग.एउटै इमेल एकै पटक धेरै मानिसलाई पठाउन सकिन्छ।
  • घ.यसमा कागज, खाम र टिकटको खर्च लाग्दैन।
अङ्क विभाजन
  • एउटा सही फाइदा लेखेमा।
  • अर्को एउटा सही फाइदा लेखेमा।
13.
[2]

अञ्जली “plastic pollution in Bagmati” विषयमा परियोजना कार्य गर्दै छिन्।

  • क.यो वाक्यांश ठ्याक्कै यही क्रममा भएका पेज मात्र खोज्न उनले सर्च इन्जिनमा के टाइप गर्नुपर्छ?
  • ख.यही विषयमा PDF फाइल मात्र खोज्न कुन सर्च अपरेटर प्रयोग गर्नुपर्छ? उदाहरणसहित लेख्नुहोस्।
उत्तर
  • क.वाक्यांशलाई उद्धरण चिह्नभित्र राख्नुपर्छ: "plastic pollution in Bagmati"
  • ख.filetype: अपरेटर: plastic pollution in Bagmati filetype:pdf
अङ्क विभाजन
  • क. वाक्यांशलाई उद्धरण चिह्न (" ") भित्र राखेमा।
  • ख. filetype:pdf अपरेटर सही उदाहरणसहित लेखेमा।
14.
[2]

पोटासियम (पारमाणविक सङ्ख्या 19) र अक्सिजन (पारमाणविक सङ्ख्या 8) मिलेर बन्ने यौगिकको आणविक सूत्र तिनको संयुज्यताका आधारमा लेख्नुहोस् र यसको आणविक भार निकाल्नुहोस्। (K = 39, O = 16)

उत्तर

पोटासियम: 2, 8, 8, 1, संयुज्यता 1। अक्सिजन: 2, 6, संयुज्यता 2।
क्रिसक्रस गर्दा आणविक सूत्र K₂O हुन्छ।
आणविक भार = 2 × 39 + 16 = 78 + 16 = 94

अङ्क विभाजन
  • संयुज्यताबाट आणविक सूत्र K₂O लेखेमा।
  • आणविक भार 94 निकालेमा।
15.
[2]

सानु भन्छिन्, “भट्टीमा चुनढुङ्गा पोलेर चुन बनाउनु र चुनमा पानी हाल्नु दुवै तापशोषक प्रतिक्रिया हुन्।” उनको भनाइको मूल्याङ्कन गर्नुहोस्।

उत्तर

आधा मात्र ठिक हो।
भट्टीमा चुनढुङ्गा पोल्दा निरन्तर ताप दिनुपर्छ र ताप लिएर चुन र कार्बनडाइअक्साइड बन्छन्: CaCO₃ + ताप → CaO + CO₂। यो तापशोषक प्रतिक्रिया हो।
चुनमा पानी हाल्दा भने भाँडो पानी उम्लने गरी तातो हुन्छ: CaO + H₂O → Ca(OH)₂ + ताप। यस प्रतिक्रियाले ताप दिने भएकाले यो तापदायक प्रतिक्रिया हो।

अङ्क विभाजन
  • चुनढुङ्गा पोल्नु ताप लिने भएकाले तापशोषक भएको लेखेमा।
  • चुनमा पानी हाल्दा ताप निस्कने भएकाले यो तापदायक भएको (त्यसैले भनाइ आधा मात्र ठिक) लेखेमा।
16.
[2]

सगरमाथा चढ्ने धेरैजसो पर्वतारोहीले अक्सिजनको सिलिन्डर बोक्छन्। अस्पतालमा भने अक्सिजन सिलिन्डर भएको ठाउँमा “आगो बाल्न र धुम्रपान गर्न निषेध” लेखिएको हुन्छ।

  • क.पर्वतारोहीलाई अक्सिजनको सिलिन्डर किन चाहिन्छ?
  • ख.अक्सिजन सिलिन्डरको नजिक आगो किन बाल्नुहुँदैन?
उत्तर
  • क.सगरमाथाको चुचुरोमा हावा निकै पातलो हुने भएकाले एक सासमा समुद्री सतहको करिब एक तिहाइ मात्र अक्सिजन पुग्छ। श्वासप्रश्वासबाट खानाबाट ऊर्जा पाउन अक्सिजन चाहिने भएकाले सिलिन्डरको अक्सिजनले सास फेर्न मदत गर्छ।
  • ख.अक्सिजन आफैँ बल्दैन, तर यसले अरू वस्तुलाई बल्न मदत गर्छ। अक्सिजन धेरै भएको ठाउँमा कपडा, कागज र कपालजस्ता वस्तु पनि हावामा भन्दा धेरै छिटो र ठुलो ज्वालासहित बल्छन्, त्यसैले सानो झिल्काले पनि ठुलो आगलागी हुन सक्छ।
अङ्क विभाजन
  • क. अग्लो ठाउँमा हावा पातलो भएर सासमा कम अक्सिजन पुग्ने लेखेमा।
  • ख. अक्सिजनले बल्न मदत गर्ने भएकाले आगो छिटो र ठुलो हुने लेखेमा।

खण्ड (घ)

7 × 4 = 28

तलका प्रश्नको लामो उत्तर लेख्नुहोस्।

17.
[4]

क. पिट्युटरी ग्रन्थिलाई मुख्य ग्रन्थि किन भनिन्छ? (1)
तलका नलीविहीन ग्रन्थि शरीरमा कहाँ हुन्छन् र तिनले कुन हर्मोन उत्पादन गर्छन्, लेख्नुहोस्।

  • ख.प्याराथाइरोइड (1)
  • ग.अण्डकोष (1)
  • घ.अण्डाशय (1)
उत्तर
  • क.पिट्युटरीले उत्पादन गर्ने उत्प्रेरक हर्मोनले थाइरोइड, एड्रिनल ग्रन्थि र गोनाड्सलाई नियन्त्रण गर्छन्। अरू नलीविहीन ग्रन्थिको कार्यको संयोजन र नियन्त्रण गर्ने भएकाले यसलाई मुख्य ग्रन्थि भनिन्छ।
  • ख.प्याराथाइरोइड: घाँटीमा थाइरोइडको पछाडि हुन्छ; प्याराथर्मोन उत्पादन गर्छ (रगतमा क्याल्सियम बढाउँछ)।
  • ग.अण्डकोष: पुरुषको स्क्रोटममा हुन्छ; टेस्टोस्टेरोन उत्पादन गर्छ।
  • घ.अण्डाशय: महिलाको तल्लो पेटमा हुन्छ; इस्ट्रोजेन र प्रोजेस्टेरोन उत्पादन गर्छ।
अङ्क विभाजन
  • क. अरू नलीविहीन ग्रन्थिको कार्य नियन्त्रण गर्ने भएकाले मुख्य ग्रन्थि भनिने लेखेमा।
  • ख. प्याराथाइरोइडको स्थान र प्याराथर्मोन लेखेमा।
  • ग. अण्डकोषको स्थान र टेस्टोस्टेरोन लेखेमा।
  • घ. अण्डाशयको स्थान र इस्ट्रोजेन (वा प्रोजेस्टेरोन) लेखेमा।
18.
[4]

दिइएको प्रसङ्ग पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।

शिवपुरीको जङ्गलमा घोरलले घाँस खान्छ र चितुवाले घोरल खान्छ। काफलका रुखमा फल पाक्दा कालो भालुले काफल खान्छ। भालुले रुखका धोद्रामा भएका किरा र महको चाका पनि खान्छ। किराले रुखका पात खान्छन्।

  • क.यो पारिस्थितिक पद्धतिका कुनै दुई उत्पादकको नाम लेख्नुहोस्। (1)
  • ख.कालो भालु कुन पोषण तहमा पर्छ? (1)
  • ग.घाँसमा भएको ऊर्जाको थोरै भाग मात्र चितुवासम्म पुग्छ, किन? (1)
  • घ.चोरी सिकारीले चितुवा मारेर सकाए भने जङ्गलमा के असर पर्ला? (1)
उत्तर
  • क.घाँस र काफलको रुख (रुखका पात)।
  • ख.काफल खाँदा भालु प्राथमिक उपभोक्ता (दोस्रो पोषण तह) हो र किरा खाँदा द्वितीय उपभोक्ता (तेस्रो पोषण तह) हो। यसरी भालु एकभन्दा बढी पोषण तहमा पर्छ।
  • ग.खाद्यशृङ्खलाको हरेक खुड्किलोमा एउटा तहको ऊर्जाको करिब 10% मात्र अर्को तहमा पुग्छ। बाँकी ऊर्जा सजीवले हिँडडुल गर्न, सास फेर्न र शरीर न्यानो राख्नमा खर्च गर्छन् र ताप बनेर हराउँछ। त्यसैले घाँसको ऊर्जाको धेरै सानो भाग मात्र चितुवासम्म पुग्छ।
  • घ.घोरललाई खाने कोही नहुँदा घोरलको सङ्ख्या धेरै बढ्छ। धेरै घोरलले घाँस र कलिला बिरुवा सक्छन्, त्यसैले जङ्गलका बिरुवा घट्छन् र अरू जनावरलाई खाना पुग्दैन। खाद्यजालको सन्तुलन बिग्रन्छ।
अङ्क विभाजन
  • क. दुई उत्पादक (घाँस, काफलको रुख) लेखेमा।
  • ख. भालु प्राथमिक र द्वितीय दुवै उपभोक्ता (एकभन्दा बढी तह) भएको लेखेमा।
  • ग. हरेक तहमा करिब 10% मात्र ऊर्जा अर्को तहमा जाने र बाँकी जीवन चलाउन खर्च हुने लेखेमा।
  • घ. घोरल बढेर घाँस र बिरुवा घट्ने र सन्तुलन बिग्रिने लेखेमा।
19.
[4]

दिइएको प्रसङ्ग पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।

तल्लो मुस्ताङकी छिरिङ ल्हामो होमस्टे चलाउँछिन्। कालीगण्डकी उपत्यकामा हरेक दिन दिउँसो कडा हावा चल्छ, तर साँझपख र राति हावा कम हुन्छ। उनको होमस्टेमा पाहुनाका लागि राति बत्ती बाल्नुपर्छ। उनी घरको छतमा सानो वायु टर्बाइन राख्ने विचार गर्दै छिन्।

  • क.कालीगण्डकी उपत्यकामा दिउँसो कडा हावा चल्नुको कारण के हो? (1)
  • ख.वायु टर्बाइनमा कुन ऊर्जा कुन ऊर्जामा बदलिन्छ? (1)
  • ग.राति बत्ती बाल्न उनलाई टर्बाइनसँगै अरू के चाहिन्छ? कारणसहित लेख्नुहोस्। (1)
  • घ.यहाँ वायु टर्बाइन राख्दा हुने कुनै एउटा समस्या लेख्नुहोस्। (1)
उत्तर
  • क.घामले सुक्खा र अग्लो तिब्बती पठार तताउँदा त्यसमाथिको हावा तातेर हलुका हुन्छ र माथि जान्छ। त्यसको ठाउँ लिन तलका होचा भागको हावा कालीगण्डकीको गहिरो गल्छी हुँदै माथि तानिन्छ। त्यसैले दिउँसो कडा हावा चल्छ।
  • ख.बतासको गतिको ऊर्जा → पखेटा र जेनेरेटरको घुमाइको (गतिको) ऊर्जा → विद्युत् ऊर्जा।
  • ग.ब्याट्री चाहिन्छ। हावा दिउँसो धेरै र राति कम चल्ने भएकाले दिउँसो टर्बाइनले उत्पादन गरेको बिजुली ब्याट्रीमा सञ्चित गरेर राति बत्ती बाल्नुपर्छ। (दिउँसो घाम पनि लाग्ने भएकाले सोलार प्यानल पनि सँगै राख्न सकिन्छ।)
  • घ.कुनै एक: ज्यादै तीव्र हावा वा हुरीले टर्बाइनमा क्षति पुर्‍याउन सक्छ; हावा सधैँ उत्तिकै नचल्ने भएकाले बिजुली एकनास आउँदैन; सुरुमा टर्बाइन र ब्याट्री किन्न धेरै खर्च लाग्छ।
अङ्क विभाजन
  • क. घामले पठारको हावा तताएर माथि लैजाँदा तलबाट हावा तानिने लेखेमा।
  • ख. बतासको गतिको ऊर्जा विद्युत् ऊर्जामा बदलिने लेखेमा।
  • ग. दिउँसोको बिजुली सञ्चित गर्न ब्याट्री चाहिने लेखेमा।
  • घ. एउटा सही समस्या (हुरीले क्षति, हावा एकनास नचल्ने, खर्च) लेखेमा।
20.
[4]
  • क.एक्स-रे फोटोग्राफीको कुनै एउटा उपयोग लेख्नुहोस्। (1)
  • ख.सिटी स्क्यानले साधारण एक्स-रे फोटोभन्दा बढी जानकारी कसरी दिन्छ? (1)
  • ग.अस्पतालमा शल्यक्रियाका उपकरणलाई गामा रेले निर्मलीकरण गरिन्छ। निर्मलीकरण भनेको के हो र यसका लागि गामा रे किन उपयुक्त हुन्छ? (1)
  • घ.अल्ट्रासाउन्ड भनेको के हो? (1)
उत्तर
  • क.भाँचिएका हड्डी तथा शरीरभित्रका चोटपटक चेकजाँच गर्न।
  • ख.सिटी स्क्यानमा एक्स-रेलाई शरीरको चारैतिरबाट धेरै कोणमा पठाइन्छ र ती सबै नापलाई जोडेर कम्प्युटरले शरीरको खण्ड (क्रस-सेक्सन) को चित्र बनाउँछ। धेरै खण्ड मिलाएर त्रिआयामिक चित्र पनि बनाउन सकिन्छ।
  • ग.उपकरणमा भएका सबै सूक्ष्म जीव मार्ने कामलाई निर्मलीकरण भनिन्छ। गामा रेको आवृत्ति सबैभन्दा बढी हुने भएकाले यसमा सबैभन्दा बढी ऊर्जा हुन्छ र यसले ब्याक्टेरियाजस्ता सूक्ष्म जीवका कोष नष्ट गर्छ।
  • घ.20,000 Hz (20 kHz) भन्दा बढी आवृत्ति भएको, मानिसले सुन्न नसक्ने ध्वनिलाई अल्ट्रासाउन्ड भनिन्छ।
अङ्क विभाजन
  • क. एक्स-रेको एउटा सही उपयोग लेखेमा।
  • ख. धेरै कोणका नापबाट कम्प्युटरले खण्डको (वा त्रिआयामिक) चित्र बनाउने लेखेमा।
  • ग. सबै सूक्ष्म जीव मार्ने काम (निर्मलीकरण) र गामा रेमा धेरै ऊर्जा हुने भएकाले सूक्ष्म जीव मर्ने लेखेमा।
  • घ. 20 kHz भन्दा बढी आवृत्तिको ध्वनि लेखेमा।
21.
[4]

प्रकृतिसँग 12 Ω अवरोध भएको नाइक्रोमको एउटा तार छ। उनी यसलाई 6 V को ब्याट्रीसँग जोड्छिन्। (ब्याट्रीको आफ्नै अवरोध बेवास्ता गर्नुहोस्।)

  • क.तारबाट कति विद्युत् धारा बग्छ? (1)
  • ख.उनले तारलाई बिचबाट काटेर दुई बराबर टुक्रा बनाइन्। हरेक टुक्राको अवरोध कति हुन्छ? कारणसहित लेख्नुहोस्। (1)
  • ग.दुवै टुक्रालाई समानान्तर जडानमा जोड्दा कुल अवरोध कति हुन्छ? (1)
  • घ.यो समानान्तर जडानलाई उही 6 V ब्याट्रीसँग जोड्दा ब्याट्रीबाट कति विद्युत् धारा बग्छ? (1)
उत्तर
  • क.I=VR=6 V12 Ω= I = \dfrac{V}{R} = \dfrac{6\ \text{V}}{12\ \Omega} = 0.5 A
  • ख.उही पदार्थ र मोटाइको तारको अवरोध यसको लम्बाइसँग समानुपातिक हुन्छ। आधा लम्बाइको हरेक टुक्राको अवरोध 122= \dfrac{12}{2} = 6 Ω हुन्छ।
  • ग.1R=16+16=26 \dfrac{1}{R} = \dfrac{1}{6} + \dfrac{1}{6} = \dfrac{2}{6} , त्यसैले R = 3 Ω।
  • घ.I=6 V3 Ω= I = \dfrac{6\ \text{V}}{3\ \Omega} = 2 A। (उही तारबाट अहिले पहिलेको चार गुणा विद्युत् धारा बग्छ।)
अङ्क विभाजन
  • क. 0.5 A निकालेमा।
  • ख. अवरोध लम्बाइसँग समानुपातिक भएकाले हरेक टुक्रा 6 Ω हुने लेखेमा।
  • ग. कुल अवरोध 3 Ω निकालेमा।
  • घ. 2 A निकालेमा।
22.
[4]
  • क.कोभ्यालेन्ट बन्ड भनेको के हो? (1)
  • ख.एमोनिया (NH₃) को अणुमा कतिओटा साझा इलेक्ट्रोन जोडी हुन्छन्? नाइट्रोजन (2, 5) का आधारमा व्याख्या गर्नुहोस्। (1)
  • ग.कार्बनडाइअक्साइड (CO₂) को अणुमा कुन किसिमका बन्ड हुन्छन्? (1)
  • घ.कोभ्यालेन्ट यौगिकका कुनै दुई विशेषता लेख्नुहोस्। (1)
उत्तर
  • क.दुई परमाणुले इलेक्ट्रोन साझा गरेर बनाउने बन्डलाई कोभ्यालेन्ट बन्ड भनिन्छ।
  • ख.नाइट्रोजनको बाहिरी सेलमा 5 इलेक्ट्रोन छन् र अक्टेट पूरा गर्न 3 इलेक्ट्रोन चाहिन्छ। तीनओटा हाइड्रोजन परमाणुसँग एक एक जोडी इलेक्ट्रोन साझा गरेर यसले तीनओटा साझा जोडी (तीनओटा एकल कोभ्यालेन्ट बन्ड) बनाउँछ।
  • ग.कार्बनको बाहिरी सेलमा 4 इलेक्ट्रोन हुन्छन्। यसले हरेक अक्सिजन परमाणुसँग दुई दुई जोडी इलेक्ट्रोन साझा गर्छ, त्यसैले CO₂ मा दुईओटा डबल बन्ड (O=C=O) हुन्छन्।
  • घ.कुनै दुई: यी दुई वा दुईभन्दा बढी अधातु मिलेर बन्छन्; तिनको पग्लने र उम्लने विन्दु न्यून हुन्छ र धेरैजसो कोठाको तापक्रममा ग्यास वा तरल हुन्छन्; यी आयोनमा छुट्टिँदैनन्, त्यसैले अधिकांशमा विद्युत् प्रवाह हुँदैन; अधिकांश पानीमा अघुलनशील हुन्छन्।
अङ्क विभाजन
  • क. इलेक्ट्रोन साझा गरेर बन्ने बन्ड लेखेमा।
  • ख. तीनओटा साझा जोडी कारणसहित लेखेमा।
  • ग. दुईओटा डबल बन्ड लेखेमा।
  • घ. दुई सही विशेषता लेखेमा।
23.
[4]

दिइएको प्रसङ्ग पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्।

कैलालीकी सरस्वती आफ्नो खेतमा मकै लगाउने तयारीमा छिन्। पोहोर साल मकैका धेरै बोट हावाहुरीमा ढलेका थिए र घोगा पनि साना लागेका थिए। कृषि प्राविधिकले उनलाई पहिले माटो परीक्षण गराउन र मकैसँगै सिमी लगाउन सल्लाह दिए।

  • क.मल हाल्नुअघि माटो परीक्षण गराउनुको फाइदा के हो? (1)
  • ख.माटो परीक्षणले पोटासियमको कमी देखायो। उनले कुन मल हाल्नुपर्छ र पोटासियमले बोट ढल्नबाट कसरी जोगाउँछ? (1)
  • ग.मकैसँगै सिमी लगाउनुको फाइदा के हो? (1)
  • घ.माटो परीक्षणले फस्फोरस पनि कम देखायो। फस्फोरसयुक्त मलको एउटा उदाहरण लेखी फस्फोरसले मकैलाई कसरी मदत गर्छ, लेख्नुहोस्। (1)
उत्तर
  • क.माटामा कुन पोषक तत्त्वको कमी छ र माटो कति अम्लीय छ भन्ने थाहा हुन्छ। त्यसैले किसानले चाहिने मल मात्र चाहिनेजति थप्न सक्छन्: खर्च बच्छ र धेरै मलले माटो बिग्रँदैन।
  • ख.पोटासियमयुक्त मल (पोटास मल), जस्तै: पोटासियम क्लोराइड (KCl, म्युरिएट अफ पोटास)। पोटासियमले डाँठ र जरा बलिया बनाउने भएकाले बोट हावाहुरीमा सजिलै ढल्दैनन्।
  • ग.यो मिश्रित खेती हो। सिमी दलहन बाली भएकाले यसले माटामा नाइट्रोजन थप्छ र मकैलाई फाइदा हुन्छ। एउटै खेतबाट दुई बाली पनि पाइन्छन्।
  • घ.डाइएमोनियम फस्फेट (DAP) वा सुपर फस्फेट। फस्फोरसले जराको विकास गर्छ र फूल, फल र बिउ (घोगा र दाना) बन्न र समयमै पाक्न मदत गर्छ।
अङ्क विभाजन
  • क. माटामा कुन पोषक तत्त्वको कमी छ र माटो कति अम्लीय छ भन्ने थाहा भएर चाहिनेजति मात्र मल हाल्न सकिने लेखेमा।
  • ख. पोटासियमयुक्त मल (KCl) र पोटासियमले डाँठ र जरा बलियो बनाउने लेखेमा।
  • ग. सिमी (दलहन) ले माटामा नाइट्रोजन थप्ने लेखेमा।
  • घ. फस्फोरसयुक्त मलको एउटा उदाहरण (DAP) र फस्फोरसले जरा तथा फल र बिउ बन्न मदत गर्ने लेखेमा।

जम्मा प्राप्ताङ्क

0 / 75

40 प्रश्नमा अझै अङ्क दिइएको छैन

खण्ड (क)–पूर्णाङ्क 10
खण्ड (ख)–पूर्णाङ्क 9
खण्ड (ग)–पूर्णाङ्क 28
खण्ड (घ)–पूर्णाङ्क 28

एकाइअनुसार कटेका अङ्क

प्रश्नमा अङ्क दिएपछि प्राप्ताङ्क यहाँ देखिन्छ।

गल्ती भेटे हामीलाई भन्नुहोस्।

0 मध्ये 0 अङ्क 40 मध्ये 0 प्रश्न जाँचियो बाँकी समय: 3:00:00